वैश्विक महामारी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट बच्न धेरै देशले आ–आफ्नो क्षमता र रणनीतिका आधारमा विभिन्न उपाय अवलम्बन गरेका छन्। तीमध्ये कतिपय देश लकडाउनमा छन्। विद्यालय पनि बन्द छन्। यति लामो लकडाउनका कारण विद्यार्थीहरू विद्यालय, कक्षाकोठा, शिक्षक र साथीबाट टाढिँदै गइरहेका छन्।
लगभग चार बालबालिकामध्ये एक जना लकडाउन, सामाजिक दूरी र स्कुल बन्दका कारण चिन्ता, मानसिक तनाव र डिप्रेसनलगायत जोखिममा छन्।
सेभ द चिल्ड्रेनद्वारा हालसालै गरेको सर्वेक्षणले देखाउँछ- अमेरिका, जर्मनी, फिनल्यान्ड, स्पेन र बेलायतका करिब ६००० भन्दा बढी केटाकेटी र अभिभावक आवेगात्मक पक्षसँग संघर्ष गरिरहेका छन्। कतिपय विद्यालयले ‘अनलाइन’ कक्षा सञ्चालन गरे पनि त्यसको प्रभाव त्यति लाभदायक नआएको खबरबारे हामी अवगत छौं।
नेपालको सन्दर्भमा पनि त्यस्ता खालका मानसिक समस्या देखिन थालिसकेको छ।
‘द काठमान्डु पोस्ट’ को (मे १२) मा प्रकाशित समाचारमा उल्लेख भएअनुसार नेपालमा पनि बालबालिकामा मानसिक समस्या देखिन सुरू भइसकेको बुझिन्छ।
काठमाडौंका विशालनगरका नौ वर्षीय बालकले अनलाइन कक्षा सुरू हुनेबित्तिकै शौचालयमा छिरेर कक्षा समाप्त नभएसम्म बाहिर आउन नमानेको र आफ्नो गृहकार्य ‘नोटबुक’ पनि च्यातेको खबर सार्वजनिक भएको थियो। बालककी आमाका अनुसार आफ्ना छोराले पढ्नमा ध्यान दिन नसकेको र उसले अनलाइन कक्षा बेवास्ता गरेका थिए।
त्यस्तै, मैतीदेवीकी एघार वर्षीया बालिकाले आफ्नी आमासँग जीवनदेखि दिक्क लागेको र आफू बाँच्न नचाहेको कुरा पनि बताइन्। यिनै आधारमा के बुझ्न सकिन्छ भने लामो लकडाउनका कारण धेरै विद्यार्थीमा मानसिक समस्या देखिने सम्भावना बढी छ।
करिब दुई महिनादेखि एकोहोरो दैनिकीमा आधारित जीवन जिउँदा कतै हराएको जस्तो, कतै चुकेको जस्तो र कतै अल्मलिएको जस्तो समस्या केटाकेटीमा देखिनसक्छ। मनोवैज्ञानिक क्षेत्रमा असामान्य स्थितिमा असामान्य व्यवहार सामान्य हो भन्ने प्रचलन छ। असहायता, एक्लोपन र सामाजिक रूपबाट बहिष्कार र प्रियजनबाट छुट्टिने डर उत्पन्न हुनु सामान्य मानिन्छ। लामो तनाव, उदासीनता र सामाजिक अलगाव, साथसाथै बाहिरी खेलको अभावले केटाकेटीमा चिन्ता र डिप्रेसनजस्ता मानसिक समस्या निम्त्याउन सक्छ।
केटाकेटीले आफ्नो जीवन र दिनचर्यामा अचानक परिवर्तन अनुभव गरिरहेका छन् र उनीहरू आउने दिनका बारेमा धेरै अनिश्चितताका साथ बसिरहेका छन्। आफन्त र साथीहरूसँगको सम्पर्क घटाएर फरक जीवनशैलीमा बाँचिरहनुपरेको छ। यो अनिश्चितताले केटाकेटीलाई विभिन्न तरिकाले असर गर्नसक्छ। केही केटाकेटीहरूले चुनौतीका साथ चिन्ता र डरको राम्ररी सामना गर्न सक्छन् भने केहीले गर्न सक्दैनन्।
यस्तो बेला बालबालिकाले के हुँदैछ भन्ने प्रश्न गर्छन् भने, उनीहरूलाई उनीहरूले बुझ्न सक्ने भाषा प्रयोग गरेर वर्तमान परिस्थितिबारे बुझाउने प्रयास गर्नुपर्छ। सहयोगी तरिकामा उनीहरूको प्रश्नको जवाफ दिने प्रयत्न गर्नुपर्छ। किनभने यस बेला उनीहरूलाई अतिरिक्त माया र ध्यानको आवश्यक छ।
वर्तमान परिस्थितिबारे उनीहरूको सोचाइ के छ भनेर बुझ्न, उनीहरूलाई कस्तो लागिरहेको छ भनेर बताउन प्रोत्साहन दिने, सरल सन्देशहरू दिने गर्नाले केटाकेटीमा सकारात्मक प्रभाव पार्छ। यदि केटाकेटीले सरल सन्देश नबुझेर फेरि सोधे भने जिज्ञासालाई स्वीकार गरेर उनीहरूको चिन्ता सामान्य बनाउन मद्दत गर्ने। र धैर्यवान् भएर प्रोत्साहन र सान्त्वना दिने गरे साथीहरूबाट टाढा रहेका अवस्था केही हदसम्म सम्बोधन गर्न सकिन्छ।
लकडाउनका अवधिमा बालबालिकामा निम्न खाले समस्या देखिन सक्छन्ः
- शारीरिक लक्षणहरू, जस्तैः टाउको वा पेट दुख्ने
- उदासीनता र चिडचिडापन
- असन्तुष्टि डर, मनोग्रस्त सोचाइ र चिन्ता बढेजस्तो
- निन्द्रामा समस्या आउने
- खानपानमा समस्या आउने
- आश्वासन खोज्ने
- सामान्य बेलाभन्दा बढी झगडा गर्ने, रूने
- धेरै रिसाउने, आदि।
अभिभावक वा हेरचाहकर्ताको भूमिकाः
- अभिभावक वा हेरचाहकर्ताको रूपमा हामी कहिलेकाहीँ आफ्ना केटाकेटीको प्रश्नको जवाफ दिनुभन्दा यसबारे चिन्ता नगर भन्ने गर्छौं। तर, यस्तो भन्नुको साटो उनीहरूको कुरा सुन्ने र उनीहरूको जिज्ञासा स्वीकार गर्न सक्नुपर्छ।
- अभिभावक वा हेरचाहकर्ताले आफ्नो बालबालिकाको प्रश्न सामान्यीकरण गर्न सक्नुपर्छ। किनभने त्यस जिज्ञासाले केटाकेटीलाई डरत्रास महशुस गराइरहेको हुन्छ र अप्ठ्यारो सिर्जना गराइरहेको हुन्छ जसकारण भोलि बालबालिकामा मानसिक समस्या देखिने सम्भावना बढी हुन्छ।
- बालबालिकामा देखिने चिन्ता सामान्य बनाउन आफ्नो बाल्यकालका केही घटनालाई उदाहरणका रूपमा लिएर कुरा गर्नुपर्ने हुन्छ। जस्तैः 'मलाई त्यो बेला यस्तो डर लागेको थियो जब ...।'
- केटाकेटीले लिएका चिन्ता निर्मूल पार्न संवादको ढाँचामा परिवर्तन ल्याउने। जस्तोः 'हामीलाई घर बस्न दिक्क लागे पनि यिनै कारणहरूले गर्दा आज हामी धेरै सुरक्षित छौं।'
बालबालिकालाई समर्थन गरेर सुन्नसक्ने र उनीहरूको डर स्वीकार्न सक्ने पहिलो व्यक्ति भनेकै अभिभावक हुन्। त्यसैले, अभिभावकले आफ्ना केटाकेटीलाई प्रशस्त समय दिनुपर्ने हुन्छ।
यस संकटपूर्ण अवस्थामा अध्येयताहरूले अभिभावक वा हेरचाहकर्तालाई विभिन्न उपाय सुझाएका छन्ः
- दिनचर्याले केटाकेटीहरूलाई सुरक्षित गर्छ। त्यसैले, सम्भव भएसम्म आफ्ना केटाकेटीका लागि एउटा सामान्य तालिका बनाइदिने।
- आफ्ना बालबालिकाको अगाडि कोरोना भाइरसको कुराकानी सीमित गर्ने, किनभने यसबारेमा धेरै कुरा गर्दा सबैमा चिन्ता र डर बढाउनसक्छ।
- आफ्ना केटाकेटीलाई लकडाउनका बारेमा बुझाउने र लकडाउन अस्थायी हो भन्ने कुरा प्रस्ट पार्ने।
- बालबालिकालाई केही काम दिएर व्यस्त बनाउने र उनीहरूलाई नयाँ नयाँ सिप सिकाउने।
- कोठाभित्रभन्दा बालबालिकासँग बगैंचामा वा खुल्ला ठाउँमा समय बिताउने र उनीहरूलाई स्वस्थ राख्न व्यायाम पनि सिकाउने।
- आफ्ना बालबालिकाको मित्रता कायम राख्न उनीहरूलाई बेलाबेलामा श्रव्य–दृश्य सामग्रीमा कुरा गर्ने वातावरण मिलाउने।
- अभिभावक वा हेरचाहकर्ताले योजना बनाएर केटाकेटीलाई रमाइलो गतिविधिमा संलग्न गराउने।
- आफ्ना बालबालिका र परिवारका लागि स्वस्थ आहार बनाउने।
- केटाकेटीको सुत्ने र उठ्ने समय तालिका मिलाउने।
- आफ्ना बालबालिकालाई ती साहसी व्यक्तिका बारेमा जानकारी गराउन जो अग्रपङ्क्तिमा रहेर आफ्नो जीवन जोखिममा राखेर हाम्रो सेवामा समर्पित छन् (प्रहरी, डाक्टर, नर्स, पसले, आदि) र आफ्ना केटाकेटीलाई पनि कसरी सहायक बन्न सकिन्छ भनेर सल्लाह दिने। यो संकटका बेला कसैलाई खानाको अभाव भएको वा खाना चाहिएको खण्डमा आफ्ना केटाकेटीलाई अगाडि सारेर सुरक्षित रूपमा कसैको मद्दत गर्दा केटाकेटीलाई पनि आत्मसन्तुष्टि मिल्नेछ।
भनिन्छ, चिन्ताभन्दा तीव्र गतिमा 'भाइरस' बढ्छ। तसर्थ, शारीरिक दूरी कायम राखे पनि भावनात्मक दूरी नजिक राख्नुपर्छ। केटाकेटीसम्बन्धी काम गर्ने विभिन्न सरकारी निकाय एवं अन्य राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघसंस्थाले जारी गरेका जानकारीमूलक सूचनालाई समेत आधार मान्दै यस जटिल परिस्थितिमा केटाकेटीलाई थप समय प्रदान गर्नु अभिभावकको दायित्व हुन आउँछ।
(लेखक दाहाल साइकोलोजी विषयमा स्नातकोत्तर अध्ययनरत छन्। साथै मनो-सामाजिक परामर्शदाताका रूपमा कार्यरत छन्)