सर्वविदित यथार्थ हो, पूरै दुनियाँ कोरोना महामारीसँग घुडा धसेर मैदानमा खटिदैछ। सामान्य दैनिकी तहसनहस पार्दैछ महामारीले। यहीबीच जीवन उपयोगी कैयन स्थापित मान्यता, सभ्यता र रहन-सहनहरुमाथि प्रश्न चिन्ह खडा पनि गराईदियो यो महामारीले।
सदियौँदेखि अभ्यासमा आएका कति प्रचलनहरु पनि असफल घोसित गरिदियो यसले। र दुनियाँ हिजोका हाम्रा प्रयोगहरुको विकल्प खोज्न बाध्य भएको छ।
जीविकोपार्जनसँग सम्बन्धित कयौँ विषयहरुको परमपरागत विकल्पहरुको खोजीसँगै, शिक्षा जगतमा पनि नयाँ विकल्पको खोजीको उपज स्वरुप चर्चामा आयो 'अनलाइन शिक्षा'। तर सामाजिक संजालहरुमा छ्यापछ्याती छिरल्लिएको अनलाइन शिक्षाको प्रचारवाजी कति हकिगत, कति विज्ञापन र कति यथार्थ हो? मसिनो गरि केलाउन जरुरी भैसक्यो।
स्वभाविक हो, हाम्रा दैनिक क्रियाकलापहरुको विकल्प खोजिदा शिक्षा जगतमा स्थापित अभ्यासहरुको पनि विकल्प खोजिनु पर्छ। तर यति लागिरहँदा, हाम्रा अरु दैनिकीहरु र शिक्षण सिकाई क्रियाकलाप नितान्त फरक विषयहरु हुन् भन्ने कुरा मनन् गरिनु पनि उत्तिकै आवश्यक हुन्छ। सामान्य दैनिकी र शिक्षण एउटै तराजुमा मापन गर्न खोजियो भने, त्यसको दूरगामी प्रभाव प्रत्युद्पादक बन्न सक्छ।
हाल जुन ढङ्गबाट अनलाइन शिक्षाको प्रचारवाजी हुँदैछ, त्यसको पछाडि कि कुनै अमुक व्यक्ति वा संस्था नितान्त आफ्नो लाभको सपना साचेर लागि रहेको छ, कि त सिकाई क्रियाकलापलाई निकै हलुको पारामा बुझिएको र बुझाउन समस्या हामीले अभ्यास गरिहको शिक्षण सिकाई क्रियाकलापको आफ्नै खाले एउटा मार्गचित्र (पाठ्यक्रम) बनिसकेको छ र त्यसलाई भुलेर अघि बढ्ने प्रयत्न गर्दै छौँ हामी।
निर्धारित पाठ्यक्रम सम्पुर्ण सिकाई क्रियाकलापको केन्द्र हो भन्ने कुरा भुलेर गरिएको अभ्यास कति अर्थपूर्ण होला?
शिक्षा र शिक्षणसँग निकै पातलो दूरी राख्नेहरुलाई पनि थाह हुनुपर्ने हो सिकाई प्रकृया कुन विधिद्वारा, कुन अवधिभित्र, कति शैक्षिक सामाग्रीहरुको प्रयोगले, कुन स्थानमा संचालन गरिन्छ भन्ने कुराको आधिकारिक दस्तावेज हो पाठ्यक्रम।
स्वभाविक हो महामारीको अनुमान गरि तयारी अवस्थामा कुनै मुलुक थिएनन्। झन् हाम्रो देश त हुने कुरै भएन। कोरोना महामारी नदेखिएको भए, हाम्रा विद्यालय, क्याम्पस, विश्वविद्यालयहरु अझै कति समय परम्परागत शैलीमा घिस्रिन्थे? सहजै अनुमान लागाउन सकिने विषय हो। यो महामारीमा विकसित मुलुकहरुको प्रविधिको उदाहरण दिएर नथाक्ने हाम्रा शिक्षाविद्हरुले परिस्थिति सहज हुँदा, अनलाइन शिक्षाको परिकल्पना पनि गर्न जरुरी ठानेनन्।
यदि हिजो शिक्षाको मार्गचित्र तयार गरिदै गर्दा यति कुराको सामान्य परिकल्पना मात्रै गरिदिएको भए पनि हाल अवस्था निकै सहज हुने थियो। हिजो आफै हिड्ने मार्ग निर्माण गर्ने बेला अनलाइन शिक्षालाई परिकल्पना भित्र पनि राख्न भुलेपछि, महामारीको बीच अनलाई शिक्षालाई प्रयोगमा ल्याउन खोज्नु कतिको जायज होला?
शिक्षण क्रियाकलापको मार्ग चित्रण गरिदै गर्दा, यति कुराको कल्पनासम्म गरिएको भए परिस्थिति बेग्लै हुने थियो यतिबेला। हिजो आफैले कोरेको मार्गचित्रमा अनलाइन शिक्षणलाई कोरा कल्पनामा पनि राख्न जरुरी नठान्नेहरुले महामारीबीच हतार-हतार, बिना पुर्वयोजना, बिना पूर्वाधार, खाए खा, नखाए घिचको शैलीमा अनलाइन शिक्षणलाई अभ्यासमा उतार्न खोज्नु कुन हदसम्म स्वीकार्य होला?
दोस्रो विषय, हामी विगत निकै लामो समयदेखिको हाम्रा अभ्यासहरुलाई अचानक परिवर्तन गर्ने प्रयत्न गर्दैछौँ। एउटा कुरा निश्चित छ, यो महामारी आईनलागेको भए अनलाइन शिक्षाको प्रयोग कसैको परिकल्पना मात्रैमा पनि आउनेवाला थिएन निकै समय। आज जतिजना विज्ञहरु यसका फाइदा र वेफाइदा, सहजता र असहजतामा बहस गरेर आफ्नो वौद्धिकता खर्चिदै छन्, सबैलाई लकडाउनको अघिल्लो दिन, पहिलो हप्ता वा पहिलो महिनै भनौ पछि फर्केर हेर्न अनुरोध छ।
ती सहज दिनहरुमा अनलाइन शिक्षाको प्रयोगको आवश्यकता तपाईहरुका मगजमा कत्तिको खेल्थ्यो? कुनै दिन यसको प्रभावकारी कार्यान्वयनको खातिर घोरिनु भयो तपाई? पक्कै घोरिनु भएन। अब जवाफ दिनुहोस्, आज लागाउनु भएको एक जोडी सर्ट पाइन्ट, भोलि लागाउने कि परिवर्तन गर्ने भनेर प्रत्येक बिहान एकैछिन भए पनि सोचनीय बन्ने तपाईहरु महामारीको चेपुवामा परेर शिक्षण सिकाई क्रियाकलापलाई बिना कुनै स्थास्पित आधार अनि बिना तयारी हठातमा परिवर्तन गर्न सक्छौँ र गर्नु पर्छ भन्नु कत्तिको जायज होला?
धेरै पछि फर्किनै पर्दैन, एकैछिन सोचौ। लकडाउन सुरु हुने अघिल्लो दिन देशभरमा कति विद्यार्थीले शिक्षकबाट सजाय पाए होलान्? कतिले उठबस गरे होलान्? कतिले नमिठो गाली खाए होलान्? कति मूर्गा बने होलान्? र तपाईलाई देख्ने बित्तिकै, तपाईकै डरले हतारिदै कति विद्यार्थी क्लासरूम छिरे होलान् वा तपाईलाई छल्न कति विद्यार्थीले तपाईको क्लास बङ्क गरे होलान्? यी प्रश्नहरुको जवाफ अनलाइन शिक्षणको प्रभावकारिता र असफलतासँग सोझो सम्पर्क राख्छन्।
भनाईको तात्पर्य, हामीले अभ्यासमा लागू गरिरहेको शिक्षण क्रियाकलापमा कक्षाकोठामा शिक्षकको भौतिक उपस्थिति अनिवार्य छ। क्लासमा शिक्षकको उपस्थिति नहुने दिन छुट्टी हो भन्ने मानसिकतासँगै विकसित भएका हुन हाम्रा विद्यार्थीहरु। तपाईं क्लासमा भौतिक रुपमा उपस्तिथित भएर विद्यार्थीहरुलाई फकाएर, धम्काएर, लोभ्याएर, कुटेर, मुर्गा बनाएर, क्लास बाहिर निकालेर र के-के गरेर हुन्छ, आफ्नै उपस्तिथितिमा सिक्न बाध्य वा अभ्यस्त बनाउनु भएका तपाईका विद्यार्थीहरुले घर बसेर मोबाइलको स्क्रीनमा (एकाध ल्यापटपमै पनि) किरमिर र किरमिर देखिएको तपाईको पासपोर्ट साईजको चलयमान फोटो हेरेर कति मिनेट पढ्ने धैर्यता राख्लान्?
होमवर्क नगर्दा सिँगै कक्षाको अगाडि उभ्याउदा र कुट्दा र उठबस गराउँदा, मूर्गा बनाउँदा, गाली गर्दा, अटेरी गरेको तपाईको विद्यार्थीले तपाईले इनबक्स तिर छोड्नु भएको गृहकार्य गर्ला कि नगर्ला? सिकाई क्रियाकलाप सुरु गर्नु अघि पन्ध्र मिनेट अनुशासनको भाषण ठोकेर चुप बनाउने बानी लागेका तपाईका विद्यार्थीहरु मन लागे मात्रै आउन मिल्ने तपाईका क्लासमा आउलान कि नआउलान्?
भर्ना दर कम भयो भनेर सरकार प्रत्येक वर्ष विद्यार्थी लोभ्याउन कहिले खाजा देखाउछ। कहिले नयाँ कपडा देखाउँछ। नयाँ किताब-कापी दिन्छु भन्छ। दिन्छ पनि। र पनि विद्यार्थीहरुलाई क्लास रूम भित्र्याउन नसकी रहेको परिवेशमा महामारीले सिकाईदिएको अनलाइन कक्षामा कति जना हाजिर होलान्? खाजा खाने लोभले विद्यालय जानेहरुको ल्यापटप कुन ब्राण्डको होला? तिनको घरमा कुन स्पिडको इन्टरनेट होला? कि ति विद्यार्थी नै होइनन? तिनीहरुले नपढे पनि हुने पो हो कि?
थोरै विश्वविद्यालयको पनि प्रसँग जोडौँ। यतिखेर अनलाइन क्लासको प्रमुख हतारोमा छन् दुईटा निकाया, विश्वविद्यालय र निजी स्कूलहरु। समग्रमा परिवेश र यथार्थता सरकारी विद्यालय, निजी विद्यालय र विश्वविद्यालयको पनि एकै एकै खाले हो। सबै संस्थामा जाने विद्यार्थी र पढाउने शिक्षक पनि उनै-उनै हुन्। सबैको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक धरातल पनि उस्तै-उस्तै नै हो।
एकाध पुँजीपतिहरुको छोराछोरी पढ्ने निजी विद्यालयलाई छोड्ने हो भने बाँकी सबैलाई एकै विश्लेषण भित्र समेट्न सकिन्छ। हामी आफैलाई थाहा छ, हाम्रा विद्यार्थीहरुको वास्तविक धरातल। हामी शिक्षकहरु पनि आफ्नै धरातलदेखि बेखबर हुने त सवालै भएन। हामी सबैलाई दिलैदेखि थाहा छ, यो तयारीले संचालन हुने हाम्रा शैक्षिक गतिविधिहरु कति दिन टिक्छन् भन्ने पनि।
शिक्षण सिकाईलाई प्रभावकारी रुपले डोहोर्याउन घण्टाभरको वेबिनार पर्याप्त छैन भन्ने पनि बुझिराछौँ हामी। प्राविधिक साक्षरता शिक्षा दिनेको मात्रै आवश्यकता होइन, लिनेहरुको पनि हो। विश्वविद्यालयसँग जोडिएका हाम्रा विद्यार्थीहरुलाई प्राविधिक रुपले सक्षम बनाएर अनलाइन क्लासमा हाजिर गराउन प्रचार गरे जति सजिलो छदै छैन।
सेमेस्टरमा गएका केही सय विद्यार्थीलाई मुस्किलले समेट्न सक्ला तर त्यो बाहेकका बाँकी विद्यार्थीको हकमा वेखबर जस्तै छ अनलाइन शिक्षा। सबैलाई समान रुपले सम्बोधन गर्न असम्भव छ यो छोटो समयको योजना बिहीन तयारीले।
प्रसंग व्यक्तिगत अवस्थामा लगेर टुङ्ग्याउन चाहन्छु। विश्वविद्यालयकै एउटा आङ्गिक क्यामसको आंशिक शिक्षक हुँ म। अलि नमिठो भाषामा, शैक्षिक मजदूर हुँ। मजदूरी मजबुरीमा गरिने कुरो हो। भन्नाले मजदुरी रहरले होइन, करले गरिन्छ। आज लकडाउन तेस्रो महिन पूरा गर्ने तयारीमा छ। यसको मतलब मजदुरी बन्द भएको तीन महिना हुन लाग्यो।
कुरो अझै प्रष्ट राखौँ, मजदुरी बन्द भएको लगभग तीन महिना पुग्न लागेपछि ज्याला नपाएको पनि उति नै समय भयो। विश्वविद्यालयको शैक्षिक मजदुरीको राम कहानी लगभग मेरै उमेर जतिको होला। परिस्थिति सहज हुँदा शैक्षिक मजदुरीबाट मुक्त गराईदिन असङ्ख्य अर्जिहरु हालिए। उति नै सङ्ख्यामा आश्वासनहरु पनि पाइयो। तर समाधान कहिल्यै भएन।
सालभरको मजदुरीले एक थान ल्यापटप किन्ने ज्याला आउदैन। त्यही पनि अरु अघाएर बाँकी भए हाम्रो पालो आउँछ। समान कामको लागि समान पारिश्रमिक दिन नसक्ने विश्वविद्यालय, महामारीको बीचमा अनलाइन क्लास चलाउन तम्सिदै छ। शिक्षणको लागि आवश्यक आधारभूत सामाग्रीहरु विश्वविद्यालय आफैले उपलब्ध गराउनु पर्छ भन्ने मेरो विचार हो।
हिजो क्लास जाँदा मार्कर र डस्टर दिने क्याम्पस, अनलाइन कक्षा संचालन गर्ने हिम्मत गर्ने हो भने आवश्यक सामाग्री, ल्यापटप पनि दिनु पर्यो, राम्रो गतिको इन्टरनेट सेवा उपलब्ध गराउनु पर्यो। होइन भने खाली हात अनलाइन शिक्षण गर भन्नु र कोरोनाको उपचारमा बिना पिपिई लाग भन्नु उस्ता-उस्तै कुरा हुन्।
हतियार बिना युद्धमा पठाइएको सिपाहीको मनोबल कस्तो होला? विचार गरियोस्। तितो यथार्थ सालभर मजदुरी गर्दा एक थान ल्यापटप किन्ने ज्याल नदिने विश्वविद्यालयले आज आफ्नै खर्चमा ल्यापटप किन, नेट जोड अनि विद्यार्थी पढा भनेर आदेश दिन अलिकति पनि किन नहिच्किचाएको होला?
तसर्थ विद्यार्थी पढाउने कुरामा दुईमत छैन। हिजो पनि पढाइएकै हो भोलि पनि पढाइन्छ। तर खालिहात सम्पूर्ण व्यवस्थापन आफैले गरेर अनलाइन शिक्षणमा सहभागी हुन सक्दिन म।
त्यसो त यो शिक्षणबाट लाभान्वित हुने विद्यार्थीको प्रतिशत र प्रभावकारिता घाम जत्तिकै छर्लङ्ग छ। कसैलाई प्रविधिमा खुंखार देखिनको लागि महामारीमा पनि म रोक्किइन भन्ने जुटाईदिनको लागि घरखेत बेचेर ल्यापटप किन्न सक्दिन म। सके पनि किन्दिन। धेरै पुरानो इतिहास खोतल्नै पर्दैन, मात्रै एक दशक अघि फर्किए पुग्छ। उ बेला अठार महिना बितेपछि वार्षिक परीक्षा दिएको हुँ मैले।
एउटै वर्षमा तीन-तीन ब्याज पनि खप्टिएकै हो। यो महामारीमा दुई/चार महिना ढिला भएर आकाशै खसि नहाल्ला।
सरोकारवाला निकायहरु वास्तवमै विद्यार्थीको पढाइलाई लिएर चिन्तित भएकै हुन् भने, हालकै सुविधाहरु प्रयोग गरि सबैलाई समेट्न सक्ने केही अभ्यास अवश्य गर्न सकिन्छ। विद्यालय स्तरका विद्यार्थीहरुको लागि एसइई परीक्षा केन्द्रित सिकाई जस्तै सबै विषयहरुको शिक्षणको भिडियो बनाएर सामाजिक संजालमार्फत सबैमा पुर्याउन सकिन्छ। उक्त भिडियो विद्यार्थीहरुले आफूलाई मिल्ने समयमा हेर्न सक्छन्।
हैसियत हुने विद्यालयहरुले आफ्नै श्रम र सीप प्रयोग गरेर, आफ्नै खाले मौलिक भिडियो बनाएर विद्यार्थी माझ पुर्याउन पनि सक्छन्। पुर्व प्राथमिक तहका बालबालिकाहरुको लागि मनोरञ्जनात्मक श्रव्य (दृश्य सामाग्री निर्माण गरि सामाजिक संजालमार्फत अभिभावक सम्म पुर्याउन सकिन्छ।
गृहकार्यभन्दा पनि खोजमूलक प्रोजेक्टहरु दिएर विद्यार्थीहरुलाई रचनात्मक क्रियाकलापमा व्यस्त राख्न सके निकै ठूलो उपलब्धि हुन सक्छ। क्याम्पस तहका विद्यार्थीको हकमा पनि कोर्शकै विषयवस्तुभन्दा पृथक अनुसन्धान एवं खोजमूलक प्रोजेक्ट तयार पारि सम्बन्धित क्याम्पसहरुको वेबसाइटमा राखि अधिकतम् विद्यार्थीहरुलाई सहभागी हुन प्रोत्साहित गर्न सकिन्छ।
कोर्शकै हकमा पनि क्याम्पस विश्वविद्यालयका अनुभवी प्राध्यापकहरुको शिक्षणको श्रव्य/दृश्य सामाग्रीहरु बनाई विद्यार्थीमाझ सजिलै पुर्याउन सकिन्छ। यति गर्न सकियो भने विद्यार्थीहरु अनलाइन शिक्षणमा छुट्ने सवालै हुँदैन। सबै विद्यार्थीहरु आफूलाई अनुकूल हुने समयमा उक्त सामाग्रीहरु सुनेर र हेरेर लाभान्वित हुन सक्छन्।
अनलाइन शिक्षण प्रभावकारी नै भए पनि निकै छिट्टो एउटा बिन्दुमा पुगेर रोक्किन पर्ने छ। किनकि अनलाइन शिक्षणलाई जसोतसो घिसार्न सक्ला विद्यालय र विश्वविद्यालयले तर अनलाइन परीक्षा गराउने हिम्म्त त पक्कै पुग्दैन। परीक्षा नलिईकन अर्को तह अथवा सेमेस्टर सुरु गर्न पनि नमिल्ला।
भोलि लकडाउन खुलेको हप्तादिन वा दुई हप्तापछि नै पनि कोर्श अनलाइन शिक्षणमा सकियो अब परीक्षामा सामेल हुन आउ भनेर भन्न सक्छ र पाउछ विश्वविद्यालयले? तसर्थ केहीछिन हिँडेपछि जसै रोक्किनु पर्ने भएपछि, अनलाइन शिक्षण भनेर ढोल पिट्दै विद्यार्थी एवं अभिभावकहरुलाई मानासिक र आर्थिक बोझ थपिनु कुनै पक्षबाट पनि वैज्ञानिक र व्यवहारिक देखिदैन।
तसर्थ यो विषम परिस्थितिमा सबै शैक्षिक संस्थाहरुले आफ्ना विद्यार्थीहरुलाई मनोवैज्ञानिक रुपमा मात्रै बलियो रहन सहयोग गर्न सक्यो भने ठूलै उपलब्धि मान्नु पर्छ।
तसर्थ, अनलाइन शिक्षाको नाम सिर्जना गरिएको हाउगुजी तत्काल बन्द गरिनु पर्छ। एउटै संस्थामा पढ्ने एकै तहका विद्यार्थी बीच असमानताको खाडल खन्ने यो विभेदी प्रचार तुरुन्त बन्द होस्। सिमित वर्ग लक्षित अनलाइन शिक्षण सुगरकोटेड विज्ञापनभन्दा बेसी केही हुन सक्दैन। निजी संस्थाहरुलाई मासिक फी लाद्ने नाम मात्रैको अनलाई शिक्षा विभेदको बीउ रोपिने धरातल बन्न लाग्यो।
शैक्षिक संस्थाहरुले आफ्ना विद्यार्थी र अभिभावकहरुलाई मानसिक रुपले बलियो बनाउने बेला हो यो। तसर्थ अनावश्यक आर्थिक र मानसिक बोझ नथपियोस्। मानसिक रुपले विक्षिप्त भएको बेला नआत्तिनु, जुन दिन शैक्षिक संस्थाहरु खुल्छन त्यही दिनदेखि जहाँ रोक्किएको हो त्यहीबाट शैक्षिक गतिविधि संचालन हुन्छन।
प्रधान कुरो ज्यान हो, ज्यान रहे ज्ञान हासिल गर्दै गरौँला। तिर्नु पर्ने फी, पढ्न बाँकी कोर्श सम्झिएर मानोबल कमजोर नबानाउ भन्नु पर्ने बेला, अनावश्यक आर्थिक र मानसिक भार थपेर कुन प्रगती गर्न खोजिएको हो? अलमलमा छु म।
(लेखक पृथ्वीनारायण क्याम्पसमा अध्यापन पेशामा आवद्ध छन्।)