वित्तीय साक्षरता भन्नाले मुलुकको वित्तीय व्यवस्था, वित्तीय प्रणाली बैंक तथा वित्तीय संस्था, वित्तीय कारोबारका उपकरण र तिनीहरुको प्रयोग गर्न शैली बचत तथा कर्जा लगानी सम्बन्धि कार्यमा वित्तीय संस्थाहरुको व्यवस्था तथा उपाय बारेका विस्तृत जानकारी लिनु वा दिनु हो।
वित्तीय साक्षरताले मात्र आधुनिक बैंकिङ तथा आधुनिक बैकिङ व्यवस्था र वित्तीय समस्याहरुको समाधानको बाटो रोज्न सक्छ भन्ने कुरामा दुईमत नहोला। वित्तीय साक्षरतामार्फत नै वित्तीय संस्थाहरुको सेवा सुविधा बैकिङ प्रविधिका उपकरणहरुको प्रयोग गर्न तरिका र त्यसबाट हुने लाभ बारेमा जनसमुदायमा ठूलो शिक्षा दिने गर्छ।
वित्तीय साक्षरतामार्फत नै समुदायमा पैसाको महत्व, त्यसको सदुपयोग तथा बचत गर्ने बानी तथा तरिका जस्ता व्यवहारिक शिक्षा प्रदान गरि उद्यमशीलता गराउने कार्यमा सहयोग गर्छ। हरेक व्यक्तिमा भएको सिमित श्रोत साधन तथा सीपलाई परिचालन गरि स-सानो पुँजी निमार्ण गर्न ती श्रोत र साधनको सदुपयोग गरि खेर गएको पुँजीबाट आयमूलक क्षेत्रमा लगानी गरि स-सानो पुँजी परिचालन हुन सक्दछ।
समग्र देशको आर्थिक उन्नतीको लागि व्यक्ति-व्यक्ति, परिवार-परिवार, समुदाय तथा क्षेत्र हुँदै सिङ्गो राष्ट्रलाई वित्तीय साक्षरतामय बनाउन सकिन्छ। अझैँ पनि परम्परागत आर्थिक कारोबार जस्तैः साहुमहाजनबाट चर्को ब्याजदरमा कर्जा लिने, विनिमयका लागि परम्परागत विनिमय माध्यम जस्ता परम्परागत व्यवहारिक आर्थिक गतिविधि तथा क्रियाकलापले देशलाई वित्तीय साक्षरतमा प्रवाभ पारेको देखिन्छ।
त्यसको लागि वित्तीय पहुँच र त्यसमा वित्तीय सस्थांहरुले दिने प्रवाभकारी सेवाले मात्र त्यसको निवारण गर्न सकिएला। अन्यथा परम्परागत शैली परिर्वतन गर्न अर्को चुनौती हुनेछ। आर्थिक समृद्धि तीव्र दरमा हासिल गर्न र पुर्वतयारीको लागि वित्तीय साक्षरता अपरिहार्य देखिन्छ।
नेपाल एक विकासोन्मुख राष्ट्र हो। यहाँको वित्तीय साक्षरतासँगै वित्तीय पहुँचको अवस्थाले पनि वित्तीय साक्षरतामा प्रभाव पारेको छ । समुदाय तथा क्षेत्रमा वित्तीय साक्षरता बढाउन, वित्तीय पहुँचले पनि ठूलो भूमिका खेल्दछ। नेपालको वित्तीय पहुँच र वित्तीय साक्षरताको अवस्था हेर्ने हो भने करिब सबै स्थानीय स्तरमा निजी तथा सरकारी गरि बैंक तथा वित्तीय संस्थाहरुको आगमन भैसके पनि वित्तीय साक्षरता भने निकै कम देखिन्छ।
विश्व बैंकको आँकडाअनुसार विश्वमा १३ प्रतिशत देखि ७१ प्रतिशतसम्म वित्तीय साक्षरता रहेको अनुमान छ। विश्वको सबैभन्दा कम वित्तीय साक्षरतामा यमन छ भने स्विडेन, डेनमार्क, नर्वे जस्ता देशहरु धेरै वित्तीय साक्षरता हुने देशहरुमा पर्दछन्। नेपाल भने विश्व बैंकको आँकडाअनुसार निकै कमजोर नै देखिन्छ। नेपालमा करिब १९ प्रतिशत वित्तीय साक्षरता रहेको अनुमान छ।
हुन त विश्वका शक्तिशाली र विश्वको अर्थतन्त्रको दाँजोमा ठूलो हिस्सा ओगटेका राष्ट्रहरु पनि वित्तीय साक्षरताको अवस्था २४ देखि ३० प्रतिशत रहेको देखिन्छ भने विश्वकै शक्तिशाली राष्ट्र अमेरीकामा वित्तीय साक्षरताको अवस्था करिब ५८ रहेको छ। विश्वकै धेरै मुलुकहरुमा वित्तीय पहुँचको अवस्था हाल तीव्ररुपमा विस्तार भएको पाइन्छ।
वित्तीय पहुँचमा नेपालको अवस्था हेर्ने हो भने नेपालमा करिब ६० प्रतिशत जनसमुदायमा वित्तीय पहुँच रहेको राष्ट्र बैंकको तथ्याङ्कमा रहेको पाइन्छ। तर पनि वित्तीय अवस्था, वित्तीय पहुँच र वित्तीय साक्षरतालाई हेर्दा नेपाल जस्तो राष्ट्रमा यो अवस्था अति नाजुक नै हो।
वर्तमान युग, विज्ञान र प्रविधिको युग हो। विज्ञान र प्रविधिले गर्दा विश्वमा अकल्पनिय विकास भैरहेको छ। त्यसको प्रभाव प्रत्यक्ष रुपमा बैंक तथा वित्तीय संस्थामा पर्नु स्वाभिक हो। वर्तमान अवस्थामा सबै क्षेत्रमा डिजिटल प्रविधिमार्फत कार्य सम्पादन तथा कार्य व्यवस्थापन गर्न हुँदा कार्य सम्पादनमा सहज हुनुको साथै समय तथा लागतको पनि बचत भएको छ।
डिजिटल प्रविधिले बैंकिङ क्षेत्रको कारोबार समेत मितव्यायी र पारदर्शी कारोबारले ठूलो विश्वास जितेको पाइन्छ। बैंक तथा वित्तीय संस्थाहरुमा डिजिटल बैकिङबाट ग्राहकहरुले सजिलै घरबाटै आफ्नो कारोबार गर्न सक्ने हुँदा बैंक धाउन नपर्न, घरबाट खाता खोल्न सकिने कर्जाको माग, रकम ट्रान्सर्फर तथा अन्य सम्पूर्ण विद्युतिय कारोबारबाट विभिन्न सेवाहरुको शुल्क तिर्न सकिने खाताको विवरण र कारोबारको व्यहोरा एक सेकेण्डमा नै जानकारी दिने हुँदा यो प्रविधि एकदमै सु-व्यवस्थित तथा लाभदायक भएको छ।
समयको बचत, भ्रष्टाचार तथा अपराधिक क्रियाकलाप सम्पत्ति सुदृढिकरण जस्ता कार्यका समेत यसले नियन्त्रण गर्न सहयोग गर्दछ। अबको बैंकिङ, डिजिटल बैंकिङ बाहेको अन्य विकल्प नरहने आजको समय तथा परिवेशले बताईसकेको छ। यो थोरै समयमै विश्वव्यापी रुपमा विकास भईरहेको छ र हुनेछ। नेपालमा पनि यसको विकासका लागि वित्तीय पहुँच र वित्तीय साक्षरतामार्फत डिजिटल बैंकिङको महोल सिर्जना गर्नुको विकल्प रहने छैन।
यस डिजिटल प्रविधिबाट नगद रहित कारोबार गरि अर्थव्यवस्था व्यवस्थित तवरले चलायमान बनाउन सकिने छ। शाखा रहित बैंकिङ क्यूरा, पिओएस मेसिन, डेबिट/क्रेडिट कार्ड, स्मार्ट बैंकिङ, फोन पे जस्ता डिजिटल सेवाहरु भित्रिसकेको अवस्थामा जोखिम रहित बैंकिङ कारोबार गर्न सकिने छ।
नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा यस प्रविधिको अनुसरण गर्दै वित्तीय पहुँच र वित्तीय साक्षरतालाई अगाडि बडाउदै डिजिटल बैंकिङ तीव्र रुपमा विकास तथा विस्तार गर्न निजी तथा सरकारी र सरोकारवालाको अर्जुन दृष्टि जानु पर्दछ र वित्तीय जोखिम व्यवस्थापनको लागि पनि डिजिटल बैंकिङ ठूलो टेवा पुग्ने छ।
त्यसको लागि आजैबाट वित्तीय पहुँच र वित्तीय साक्षरतामार्फत डिजिटल बैंकिङको अतुलनीय फाइदाहरु जनतालाई जनताको सेवा जनताकै घरबाट दिन नसकेमा हामी धेरैपछि पर्नैछौँ।
(लेखक सनराइज बैंकमा कार्यरत छन्।)