दीर्घ अवरोधात्मक श्वासप्रश्वास सम्बन्धी रोग (सीओपिडी) जीवनभरी रही रहने फोक्सोको रोग हो, जसको कारण बिरामीलाई प्रश्वास श्वासमा गाह्रो हुन्छ। विश्व स्वास्थ्य संगठनको प्रक्षेपणअनुसार सन २०३० सम्ममा संसारमा तेस्रो धेरै मृत्यु गराउने कारण मध्येमा यो रोग पर्नेछ।
सीओपिडीका कारण मृत्यु हुने संख्या विकसितभन्दा अल्पविकसित देशहरुमा धेरै छ। हाम्रोजस्तो अल्पविकसित देशमा त स्वाथ्यसँग सम्बन्धित ज्ञान र जनचेतनाको कमीले धेरै यस्ता बिरामीहरुको सही पहिचान हुन सकेको छैन। त्यसकारण ती बिरामीहरु थप उपचारबाट बन्चित हुनुपरेको छ।
पछिल्लो एक अनुसन्धानअनुसार नेपालमा सीओपिडीको व्यापकता ११.७% पाइएको छ। साथै नसर्ने रोगहरुमध्ये यो रोगको व्यापकता बढ्दै गैरेहेको छ। यस रोगबाट पीडित नेपालीहरुको संख्या बढ्दो रुपमा छ। त्यसकारण यसले देशको स्वास्थ्य व्यवस्था र आर्थिक प्रगतीमा प्रतिकुल प्रभाव पारीरहेको छ।
यस रोग पूर्णरुपमा निको नहुने भएकोले यो रोग लाग्न नदिन र लागि हालेमा उचित व्यवस्थापन गर्नु नै यसलाई नियन्त्रन गर्ने बलियो उपाय हो। झन् हाम्रोजस्तो शिक्षा र स्वाथ्यको आधारभूत सुविधा सर्वसुलभ नभएको देशमा यस नसर्ने रोगको व्यवस्थापन चुनौतिपूर्ण हुन जान्छ। त्यसैले यस रोगमा स्व-व्यवस्थापन (सेल्फ म्यानेजमेन्ट) को निकै महत्व हुन्छ।
यसै बारेमा अस्ट्रेलियामा अनुसन्धान गर्दै विधावारधी गरिरहेको छु। मैले सुनसरी जिल्लाको दुई वटा ग्रामीण गाउँपालिकामा रहेका सीओपिडी बिरामीहरुलाई कसरी आँफैले यस रोगको व्यवस्थापन गर्न सकिन्छ भनेर सोध अनुसन्धान गर्दैछु।
अनुसन्धानले दुई वटा महत्वपूर्ण उपायहरु बारेमा चर्चा गरेको छ। जसमा पहिलो बिरामीको सशक्तिकरण/सक्रियता, र दोस्रो बिरामीको स्वास्थ्य साक्षरता पर्दछन। सो दुई कुराहरुले सीओपिडी बिरामीमा रोगको स्व-व्यवस्थापनमा ठूलो भूमिका खेल्न सक्छ। सशक्तिकरण/सक्रियता भनेको बिरामी आफै आफ्नो रोगको उपचार तथा व्यवस्थापनमा सीप विकास र मानसिक रुपमा आत्मविश्वासी हुनु हो।
अनुसन्धानमा सुनसरीका दुई वटा गाउँपालिकाबाट २३८ सीओपिडीका बिरामीहरुसँग अन्तर्क्रिया गरिएको थियो। पारिवारिक आय कम भएका र औपचारिक शिक्षा नलिएका, महिला वा आदिवासी र दलित समुदायबाटका बिरामीहरुले यस रोगको स्व-व्यवस्थापन कम गर्ने गरेको पाइएको थियो। ती बिरामीहरुमा आफैले यस रोगलाई व्यवस्थापन गर्न सक्छु भन्ने ज्ञान र आत्मविश्वास, मानसिक र शरीरिक दुवै तवरले एकदमै कम रहेको पाइएको छ।
साथै ग्रामीण क्षेत्रका सीओपिडी बिरामीहरुले उनीहरुको हेरचाह गर्ने परिवारको सदस्यबाट र स्वास्थ्य सेवा प्रदायकहरुबाट पनि पूर्णरुपमा सहयोग र सेवा नपाएको गुनासो गरेका थिए। महत्वपूर्ण तथ्य के पत्ता लाग्यो भने धेरै जस्तो सीओपिडीका बिरामीहरुलाई रोग पहिचान गर्न नै औसतमा ५ वर्ष लाग्ने देखिएको छ। यसको मुख्य कारण बिरामीमा यस रोगलाई सम्बन्धित स्वास्थ्य संस्थामा गएर उपचार लिन जाने ज्ञान कम हुनु हो।
नेपालमा यस्ता बिरामीहरुलाई स्वास्थ्य सेवा प्रदायकहरुले प्रत्यक्ष रुपमा सेवा र सुविधा दिने र बिरामी आफैलाई सेवा लिन सहभागी गराउने गर्नुपर्ने आवश्यकता रहेको छ। सीओपिडीको बेलैमा पहिचान गर्न जरुरी हुन्छ, जसले बिरामीको जीवनको गुणस्तर सहज बनाउन र बिरामीको आयु बढाउन मद्दत गर्दछ।
यसका लागि बिरामी र बिरामीका परिवार, स्वास्थ्य स्वयंसेवक, स्वास्थ्य सेवा प्रदायक संस्था, समाज, स्थानीय नेताहरु, स्थानीय सरकार र अन्य सरोकारवालाहरुको सामुहिक प्रयास अत्यन्त आवश्यक हुन आउछ। कोभिड-१९ को माहामारी भैरहेको सन्दर्भमा, श्वासप्रश्वास र अन्य दीर्घ रोग भएका व्यक्तिहरुको स्व-व्यवस्थापन विशेषगरी हाम्रो जस्तो ग्रामीण भेगमा अझ महत्त्वपूर्ण हुन्छ।
नेपाल सरकार र स्वाथ्य मन्त्रालय अन्तर्गतका निकायहरुले सीओपिडी बिरामीहरुको स्थानीय समुदायमा उचित पहिचान गरी उनीहरुमा आफ्नो रोगसँग लड्न सक्ने क्षमता वृद्धि गराउने खालका कार्यक्रमहरु आयोजना गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
(लेखक अस्ट्रेलियाको सिड्नीस्थित युनिभर्सिटी अफ न्यू साउथ वेल्समा विद्यावारिधी गर्दैछन्।)