कोरोना संक्रमणको प्रकोपले विश्वव्यापी महामारीको रूप लिएसंँगै नेपाल सरकारद्वारा सोको तीव्र फैलावट नियन्त्रण एवं रोकथामका लागि जारी गरिएको लकडाउनको ७६ दिन बितिसकेको छ। यस विषम् परिस्थितिमा अग्रपंक्तिमा रहेर काम गर्ने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरूको भूमिका अतुलनीय छ।
तीबाहेक अत्यावश्यक रूपमा निरन्तर प्रवाहित भइरहेका अन्य सार्वजनिक सेवा पनि त्यत्तिकै महत्वपूर्ण छन्।
जसमध्येको एउटा हो-विमानस्थल उडान अपरेशन गर्न हवाई यातायातको सुरक्षित सञ्चालन व्यवस्थापनका लागि २४ सै घण्टा तल्लिन एयर ट्राफिक कन्ट्रोल सेवा।
आवश्यक सेवा सञ्चालन ऐन, २०१४ ले हवाई मार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा तथा हवाई अड्डाको सञ्चालनसँग सम्बन्धित अन्य सेवाहरूलाई 'आवश्यक सेवा' को रूपमा परिभाषित गरेको छ। सोही आधारमा नेपाल राजपत्रमा समेत यी सेवालाई सोहीअनुसारको सूचीमा राखिएको छ।
धेरैलाई लाग्नसक्छ लकडाउनको अवधिमा विमानस्थलमा खासै काम छैन। तर योबीचमा पनि विमानस्थल सेवा जारी छ। यहाँको चाप घटेको होला तर संवेदनशीलता झन् बढेको छ।
लकडाउन सुरू भइसकेपछि हालसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आकस्मिक उडान, उद्दार उडान, चार्टर्ड उडान, सैनिक उडान लगायत गरी करिब ८५० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानका सफल व्यवस्थापन गरिसकेको छ।
यसैगरी सरकारद्वारा विभिन्न राष्ट्रबाट ल्याइएका अधिकांश स्वास्थ्य सामग्री एवं उपकरण देशका अन्यत्र भागमा पुर्याउन साथै कतिपय दुर्गम भू-भागमा खाद्यान्न लगायतका अत्यावश्यक सामग्री ढुवानीमा पनि हवाई यातायातकै प्रयोग भइरहेको छ। सो प्रयोजनार्थ प्रयोग गरिने हेलिकप्टर एवं विमान तथा अन्य आपतकालीन उडानका व्यवस्थापनमा देशैभरका विमानस्थलले समेत आफ्नो सेवा जारी राखेका छन्।
एयर ट्राफिक कन्ट्रोल सेवा शून्य-गल्ती सिद्धान्तमा आधारित रही वायुयानलाई आवश्यक सूचना आदानप्रदान एवं निर्देशनमार्फत् दिशानिर्देश गर्ने अत्यन्तै संवेदनशील साथै हवाई यातायात सञ्चालनार्थ अग्रपङ्तीय अपरिहार्य सेवा हो।
तर पनि कतिपय सम्बन्धित सार्वजनिक निकायलाई नै यस सेवाको गाम्भीर्यता एवं अत्यावश्यकता सम्बन्धमा स्पष्टता नहुँदा यदाकदा व्यवहारिक एवं प्रशासनिक समस्या पर्ने गरेका छन्।
यसको एउटा दृष्टान्तको रूपमा लकडाउनको सुरूआती दिनमा विमानस्थल व्यवस्थापनले सम्बन्धित निकायसँग गरेको समन्वयका बावजुद् अपरेसन सेवाका कर्मचारीले विमानस्थल आवतजावतमा व्यहोर्नुपरेको जटिलतालाई लिन सकिन्छ। जुन पछिल्लो समयमा गृह प्रशासनको निर्णयानुसार उड्डयन क्षेत्रको नियामक निकायको हैसियतले नागरिक उड्डयन प्राधिकरण आफैंले आवश्यकतानुसार लकडाउन पास जारी गरेपछि तुलनात्मक रूपमा सहज बनेको छ।
कोभिड-१९ जस्ता अप्रत्यासित प्रकोपका प्रतिकूल समयमा मात्र नभएर बन्द, हड्ताल, निषेधाज्ञा लगायतका विषम् परिस्थिति तथा सार्वजनिक बिदामा समेत निरन्तर कार्यक्षेत्रमा खटिने विमानस्थल अपरेसन सेवाका कर्मचारीमा पछिल्लो समयमा भने नेपाल सरकारको सार्वजनिक खर्चमा मितव्ययिताको नाममा खाइपाइ आएको सेवा-सुविधामा हुनसक्ने सम्भाव्य कटौतीको विषयलाई लिएर केही हदसम्म निरुत्साह पैदा भएको छ।
सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतलाई प्रोत्साहनको व्यवस्थामा लागिपरेको सरकारले सोही अनुरूपले आफ्नो जिम्मेवारी वहनको क्षेत्रमा संक्रमणको पर्वाह नगरी अहोरात्र तल्लीन अपरेसन सेवाका कर्मचारीलाई अन्य सार्वजनिक सेवाका कर्मचारीसरह एउटै तुलामा राखी गरिन सक्ने सम्भाव्य सुविधा कटौती न्यायोचित देखिन्न।
महँगी, पोशाक बापतजस्ता सुविधा नकाटिने विषयमा अर्थ मन्त्रालयले नै प्रष्टोक्ति दिइसकेको सन्दर्भमा अब बन्ने नीतिगत मार्गदर्शन निर्देशिकामा प्राधिकरणका विशेष प्रकृतिका विद्यमान सेवा-सुविधाका सन्दर्भमा सम कार्यप्रकृतिका अन्तर्राष्ट्रिय मूल्य र मान्यताका साथै सम्बन्धित सेवाको कार्य विशिष्टता एवं संवेदनशीलतालाई समेत ध्यानमा राखिनु आवश्यक छ।
यसैगरी निकट भविष्यमै नेपाल सरकारको सम्भाव्य निर्णयबाट सामान्यीकृत हुनसक्ने उड्डयन सेवाको सन्दर्भमा विमानस्थल व्यवस्थापनले हवाई यात्रुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी त्रि.अ.वि. टर्मिनल लगायतको क्षेत्रमा गरिरहेको उदाहरणीय तयारीझैं विमानस्थल अपरेसन भवन तथा कर्मचारी अहोरात्र कार्यरत रहने अन्य सम्पूर्ण कार्यस्थल साथै देशैभरका सम्पूर्ण विमानस्थलमा समेत उच्चस्वास्थ्य सतर्कता अपनाउन यथाशिघ्र थप प्रयास हुनु आवश्यक देखिन्छ।
सुरूआती चरणमा नेपाल प्रवेश गरेका अधिकांश कोरोना संक्रमित विमानस्थलको मार्ग भई प्रवेश गरेको पाइएकोले समेत अबको दिनमा सुचारु हुनसक्ने हवाई सेवाको सन्दर्भमा विमानस्थलको भौतिक पक्ष सँगसँगै उक्त संवेदनशील सेवाअन्तर्गत कार्यरत सम्पूर्ण कर्मचारीहरूको स्वास्थ्य सतर्कता र अविचलित मनोबल सहितको जिम्मेवारीबोधको विषयले प्राथमिकता पाउनुपर्दछ।
यीबाहेक जटिल परिस्थितिमा समेत सुरक्षित उडान सञ्चालन व्यवस्थापनमा कटिबद्ध एवं अन्य प्रतिकूलता र राष्ट्रिय संकटको घडीमा समेत निरन्तर सेवा प्रवाहमा तल्लीन सिंगो विमानस्थल उडान अपरेसन सेवालाई राज्यस्तरबाटै एक विशिष्टिकृत सेवाको रूपमा विकास गराई सोही बमोजिमको पेशागत अत्यावश्यकता पहिचान एवं औचित्यता स्थापित गराइनु अपरिहार्य देखिन्छ।
(लेखक देशैभरका हवाई यातायात नियन्त्रकहरूको साझा पेशागत संस्था 'नाट्का' का कोषाध्यक्ष हुन्।)