विगत केही दिनदेखि सामाजिक संजाल र केही प्रचलित मिडिया पोर्टलहरुमा समेत नेपालमा कोरोना विरुद्ध खोप बनेको भनेर समाचारहरु आइरहेका छन्। त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डा. ललितकुमार दासले विकास गरेको भनिएको उक्त खोप (वा औषधी) के साच्चिकै नै वैज्ञानिक रुपमा औषधी वा ‘खोप’ भन्न लायक छ त?
डा. दासले दिएको अन्तर्वार्ता र सामाजिक संजालमा फिजिएका केही फोटोहरु हेर्दा कतै हाम्रा वेज्ञानिकदेखि नागरिक सबैमा ‘खोप’ र ‘औषधी’ का बीचमा हुने भिन्नता बीचमा द्विविधा त छैन भबन्ने प्रश्न उत्पन्न भएको छ। उनको सो दाबीलाई वाहवाही गर्नु अगाडि सबैले पहिले केही वैज्ञानिक तथ्य तथा प्राथमिक धरातल बुझ्नुपर्ने हुन्छ।
खोप/भ्याक्सिन के हो र कसरी काम गर्छ?
हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणाली अन्तर्गत काम गर्ने केही विशेष खालका कोषहरुले शरीर बाहिरबाट शरीरमा प्रवेश गर्ने कुनै पनि खालका जैविक तत्व (चाहे ब्याक्टेरिया, भाइरस, ढुसी वा अन्य) लाई ‘बाहिरी’ भनेर चिन्नका लागि ती जैविक तत्वहरुमा हुने आन्तरिक आणविक संरचनाको पहिचान गर्छन् र यदि सो पहिचान अनुरुप ती बाहिरी जैविक तत्वहरु शारीरिक सन्तुलन खलबल्याउने खालका छन् भने यिनबाट हुनसक्ने जैविक हानी न्यूनीकरणका लागि प्रतिरोधात्मक अन्तर्क्रियाहरुको सुरुआत गर्ने गर्छन्।
यस्ता अन्तर्क्रियाहरु या त क्षणिक (सर्ट टर्म) हुन्छन्, या त दीर्घकालिन (लङ टर्म)। कोषिय स्तरमा हुने दीर्घकालिन आन्तरिक आणविक संशोधन कै उपज केही विशेष कोषहरुले कोषीय स्मरणको प्रयोग गरेर भविष्यमा हुन सक्ने यस्तै किसिमका अन्य संक्रमणका विरुद्ध प्रतिपिण्डको निर्माण गर्छन्।
सरल भाषामा बुझ्नु पर्दा एण्टिबडी भनेका हाम्रा प्रतिरोधात्मक कोषहरुले तयार गर्ने एक खालका प्रोटिनहरु हुन् जसलाई रोगजन्य बाहिरी तत्वका विरुद्ध लड्न एक सैन्य जस्ता जसरी निर्माण गरिन्छ।
हरेक व्याक्टेरिया, भाइरस वा अरु रोगजन्य किटाणुको आ-आफ्नो आणविक विशेषता हुने गर्छ। प्रायः जसो हामीलाई रोगी बनाउने किटाणुहरु दुई भाग मिलेर बनेका हुन्छन्- एउटा भागले हाम्रा शरीरका कोषहरुसँग संसर्ग गर्छ भने अर्को भागले रोग जन्य गतिविधिहरु उत्पन्न गराउँछ।
प्रचालित भ्याक्सिनहरु यसरी निर्माण गरिएका हुन्छन् कि यिनमा रोगरहित संसर्गयुक्त भाग क्रियाशिल हुन्छ भने रोगजन्य भाग मोलिकुलर इन्जिनियरिङको प्रयोग गरेर निष्क्रिय गरिएको हुन्छ। हामीले भ्याक्सिन लगाइसकेपछि हाम्रो शरीरका कोषहरुले सो भ्याक्सिन ‘बाहिरी तत्व’ भनेर पहिचान गर्छन्, र भविष्यमा हुनसक्ने वास्तविक संक्रमण विरुद्ध एन्टिबडीहरुको जत्था निर्माण गर्छन्। यसरी हामीलाई वास्तविक संक्रमणको बेलामा रोगबाट संरक्षण मिल्छ।
विभिन्न समाचार माध्यममा 'नेपालमा बिरुवाबाट खोप निकालिएको' भनिएको छ जुन् यो सन्दर्भमा लगभग असम्भव नै छ। बिरुवाबाट भ्याक्सिन बनाउनै नसकिने भन्ने हैन तर सैद्धान्तिक र प्रयोगात्मक नजरमा बिरुवाबाट भ्याक्सिन बनाउने कार्य अहिले प्रचलित भ्याक्सिन विज्ञानभन्दा पनि अझै जटिल छ र विकसित रास्ट्रका विकसित प्रयोगशालाहरुलाई पनि यो प्रविधि विकास गर्न हम्मे-हम्मे परिरहेको छ।
'मोलिकुलर फ्रेमिङ' भनिने उक्त प्रविधिमा पहिले किटाणुको अणुवंशको अध्ययन गरिन्छ, अनि सोको कुन भाग खोपका लागि उपयुक्त छ भन्ने पहिचान गरेपछि बिरुवाको अणुवंशसँग 'जेनेटिक इन्जिनियरिङ' को प्रयोग गरि जोड्ने काम गरिन्छ। यो सुरुआती कार्यपछि बिरुवालाई उमारेर बिरुवाले उत्पादन गरेको सो खोपजन्य पदार्थ (जुन प्रायः प्रोटिन हुने गर्छ) लाई सुद्धिकरण पछि परीक्षणका लागि अगाडि बढाइन्छ।
के वन बिज्ञान क्याम्पस हेटौडाको ल्याबमा यस्तो प्रविधि होला त? जुन रुपमा एउटा पेय पदार्थको बोत्तलमा सो झोल संग्रहित गरिएको देखिन्छ, पत्याउने कुनै आधार छैन।
यो मान्दै गर्दा हामीले खोप र अन्य औषधी जन्य पदार्थ बीच फरक बुझ्नु अति नै जरुरी छ।
डा. लालले तैयार गरेको भनिएको १५ प्रकारका बिरुवाबाट निकालिएको झोल एक सामान्य वनस्पतीय झोल मात्रै हो या यसमा औषधीजन्य पदार्थ छन् भनेर सुरुमै भन्न सकिदैन। बिरुवाहरुमा हुने माध्यमिक तत्व (सेकेन्डरी मेटाबोलाइट) हरुमा औषधीजन्य गुण हुन्छ (जसलाई एन्टीभाइरल वा एन्टीब्याक्टेरीयल भनेर भन्न सकिन्छ) र अहिले प्रचलित मध्ये धेरै औषधीहरु वनस्पती जन्य स्रोतहरुबाट लिइएका पनि छन्।
यी रसायनशास्त्रीले तयार पारेको वनस्पती जन्य झोल (एक्स्ट्र्याक्ट) मा औषधीजन्य गुण छ या छैन भनेर पहिचान गर्ने पनि निश्च्चित प्रक्रियागत प्रणाली छ। अहिले प्रचलित प्रक्रिया हेर्ने हो भने एचपिएलसी (हाइ पर्फमेन्स लिक्विड क्रोम्याटोग्राफी), एमएस (मास स्पेक्ट्रोमेट्री) जस्ता विधिहरुबाट यो झोलमा ठ्याक्कै कुन-कुन मिश्रित तत्व (कम्पाउन्ड) छन् भनेर पहिचान गर्न सकिन्छ।
र यदि त्यस्ता तत्व भएको खण्डमा यिनले किटाणू' विरुद्ध कसरी काम गर्न सक्छन् भनेर अर्को छुट्टै जैविक अनुसन्धानको आवश्यकता पर्न जान्छ (जुन कम्तिमा करिब एक/दुई साल लाग्न सक्छ)। यदि प्रयोगशालामा गरेको अनुसन्धानले पनि सो झोलमा रहेका यी-यी कम्पाउण्डले गर्दा यी-यी किटाणु विरुद्ध उपयोगी हुन सक्छन् भनेर पत्ता लाग्यो भने अब यी कम्पाउण्डहरुलाई सुद्धिकारण गरेर मानिसकै जस्तै प्रणाली हुने मुसा, खरायो वा अन्य जनवार मा इन-भिभो (शारीरिक) अनुसन्धान गरिन्छ।
यदि यसमा पनि आशातित परिणाम आएको खण्डमा लामो प्रक्रियागत र नैतिक अवकास पछि यी औषधीजन्य पदार्थ क्लिनिकल ट्रायलका लागि अनुमोदन गरिन्छ। क्लिनिकल ट्रायलमा बिरामीहरुमा अनपेक्षित असरहरु नदेखिएको उचित प्रमाण जुटाउन सकेपछि मात्र ‘यो बिरुवाको यो भागको यो तत्वलाई यसरी यो रोग विरुद्ध प्रयोग गर्न सकिन्छ है’ भनेर भन्ने वैज्ञानिक तथ्य निर्माण हुन्छ।
साथै सो तत्त्व औषधीका रुपमा स्थापित हुन्छ। स्मरण रहोस्, यदि यो सबै प्रक्रिया पार गरेर सफल नै भए पनि सो औषधी खोप नभएर एउटा एन्टिभायरल मात्र हुनेछ। यत्रो लामो प्रक्रियालाई उपेक्षा गर्दै सिधै ‘भ्याक्सिन बनाए’ भनेर प्रचार बाजी गर्नु कतिसम्मको अनैतिक, अवैज्ञानिक र घातक कार्य हो, सजिलै अनुमान लगाउन सकिन्छ।
यो सम्बन्धमा हाम्रा विभिन्न मिडियाहरुमा आएका समाचार र फेसबुकदेखि युट्यूब सबैतिर हेर्नेहो भने हाम्रा मिडियाकर्मी र हाम्रो समाज वैज्ञानिक रुपमा अति अचेत छन् त भनेर प्रष्ट हुन्छ। विश्व स्वास्थ्य संगठनले चासो दिएको भन्दै प्रश्रय दिईरहेको यो ओझिलो दाबीलाई अहिलेसम्म कसैले पनि विश्लेशणात्मक रुपमा हेर्ने कोशिस गरेको पाइदैन।
डब्लुएचओले १६ पृष्ठ लामो सुझाव दिएको भन्ने बाहेक अरु केही ठोस् प्रमाण उल्लेखित छैन। डब्लुएचओको कुन विभागले कहिले, कसरी, यो दाबीको अधययन गर्यो, र कुन वैज्ञानिक तथ्यका आधारमा ‘अगाडि बढ्न’ सुझायो भन्ने कुराको उत्तर खोजिनु जरुरी छ।
जुन २ तारिकमा विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको 'कोभिड-१९ विरुद्धका सम्भावित खोपहरु' नामक दस्ताबेजमा रहेको सूचिमा कहीँकतै, न त त्रिभुवन विश्वविद्यालयको नाम छ, न त हेटौडा वन क्याम्पस कै नाम छ। यसले पनि यो दाबी कतै नियोजित प्रचारबाजी मात्रै त हैन भनेर शंका पैदा भएको छ।
हो, विज्ञान र प्रविधिको नयाँ खोज र अनुसन्धानलाई हामीले साथ र सहयोग गर्नै पर्छ, नभए बहुआयामिक सामाजिक रुपान्तरण सम्भव छैन। तर यसको मतलब कुनै उचित प्रमाण र धरातलीय आधार नभएका, झुट्टा सुन्दा वैज्ञानिक लाग्ने तर आधारभूत वैज्ञानिक प्रणाली नै नअपनाएका दाबीहरुलाई सिधै सामाजिक-राजनीतिक वैधानिकता दिने भन्ने होइन।
यदि त्यसरी कुनै आधार बिना नै हामीले दाबीहरुलाई वाहवाही दिन थाल्ने हो भने यसले कालान्तरमा झनै नकारात्मक असर पार्ने देखिन्छ। यति भन्दै गर्दा यति पढेलेखेको वैज्ञानिकले किन भ्रामक दाबी गर्यो त भन्ने प्रश्न उठ्न सक्छ। यसका पछाडि बहुआयामिक कारण हुन सक्छन्।
एक रसायन विज्ञले जैविक अनुसन्धानभित्र पर्ने कुराको दाबी गर्नुले उनको अन्तरविभागीय चेतमा अलि कमि भएको हो कि भन्ने अनुमान गर्न सकिन्छ। साथसाथै कसैले एक विधामा लामो समय बिताइसकेपछि आफूले गरेका वा जानेका कामलाई समसामयिक विश्व घटनासँग प्रतक्ष जोड्न चाहने एक मानवीय भावनाले गर्दा तार्किक त्रुटि पनि भएको हुन सक्छ।
अर्को तर्फ हाम्रो राज्यले वैज्ञानिक अनुसन्धान तर्फ उचित ध्यान नदिईरहने ऐतिहासिक तथ्यका कारण आफ्नो वैज्ञानिक सम्भाव्यता प्रमणित गर्ने एक छरितो प्रयास पनि हुन सक्छ।
भलै जे होस, यस्ता तथ्यहीन दाबीहरु सिधै स्वीकार्नुभन्दा पनि तार्किक रुपमा प्रमाणित वा अप्रमाणित गर्न अघिल्लो पाइला के हुन सक्छ भनेर ध्यान दिनु समग्र औषधी विज्ञान, चिकित्साशास्त्र र समाजकै उन्नतिका लागि अपरिहार्य छ।
(लेखक साउथ एसियन युनिभर्सिटी, नयाँ दिल्लीमा जैविक प्रविधिमा स्नातकोत्तर अध्ययनरत छन्)