यो लेख तयार गर्दाको समयसम्म नेपालमा तीन हजार २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ र ती मध्ये १३ जनाले मृत्युवरण गर्न पुगेका छन्। त्यसमा पनि अधिकांशमा मृत्यु पश्चात् कोरोना परीक्षण गर्दा बल्ल कोरोना पोजिटिभ भन्ने थाहा भएको थियो।
त्यसैले के यी सबै मृत्युलाई कोरोना भाइरसकै कारण भएको मृत्यु मान्न मिल्ला? के यी मृत्युमा सरकार कहीँकतै जिम्मेवार छैन र? के यो संक्रमण र मृत्यु रोक्न सकिदैनथ्यो? यदि सकिन्थ्यो भने यी सबै संक्रमित र मृत्यु भएकाहरुको जिम्मेवारी कसले लिनुपर्छ? यदि सकिदैनथ्यो भने हामीले कहाँ कति गल्ति गर्यौँ र निर्दोष नागरिकहरूको जीवन रक्षा गर्न असफल भयौँ?
प्रारम्भिक सफल चरण
गत वर्ष चैत्र ६ गतेबाट सुरु हुने भनिएको एसइई (माध्यमिक शिक्षा) परीक्षा जब अन्तिम घडीमा बिना कुनै भावि मिति स्थगित गर्ने निर्णय सरकारले गर्यो र समाचार बाहिर आयो, यसले देशभरी नै सनसनी मच्चायो। यसले लगभग पाँच लाख विद्यार्थीहरूको भविष्यलाई अनिश्चिततामा छोड्यो जसले वर्षभरी यही परीक्षाको लागि तयारी गरिरहेका थिए।
त्यो समयमा प्रायः अभिभावक र विद्यार्थीहरूको साझा सोच के थियो भने सरकारले कम्तिमा पनि यी परीक्षाहरू सञ्चालन हुन दिनु पर्ने थियो किनकि यो परीक्षा लगभग पन्ध्र दिनमा सकिने थियो। त्यसपछि नेपाल सरकारले चैत्र १० गते साँझ निर्णय गरेर ११ गतेबाट लागू हुने गरि राष्ट्रब्यापी बन्दाबन्दीको घोषणा गर्यो, जसमा अत्यावश्यक सेवा र व्यवसायहरुलाई मात्र खोल्न र सञ्चालन गर्न दिइने अनुमति थियो।
अहिले फर्केर हेर्दा हाम्रो समुदायमा भाइरसको प्रारम्भिक संक्रमण सिमित गर्न र स्वयम् भाइरसको बारेमा बुझ्नको लागि ती निर्णयहरु अत्यन्त महत्त्वपूर्ण र प्रभावकारी सावित भएका मान्न सकिन्छ। यो सुरुआती बन्दाबन्दीले हामीलाई विश्वका अरु विकासशील र विकसित राष्ट्रहरूको अनुभवबाट भाइरसको बारेमा थप पाठ सिक्नको लागि मूल्यवान समय र अवसर पनि उत्तिकै प्रदान गरेको थियो।
जब बन्दाबन्दी सुरु भयो, तब हामीले सबैभन्दा खराब अवस्थाको सामना गर्नुपर्छ कि भन्ने ठूलो डर थियो। किनभने कोरोना भाइरसले गर्दा इटाली जस्तो विकसित देशले चीनको भन्दा पनि ठूलो दुर्घटना भोग्नु परिरहेको दृश्य हामीले आफ्नै आँखा अगाडि टेलिभिजन पर्दामा दैनिक देखिराखेको थियौँ।
सुरुका केही दिनमा हाम्रो आफ्नै देशमा भाइरसको संक्रमण देखा पर्न थालेपछि आम जनमानसमा हाम्रो देशको स्थिति पनि इटाली जस्तै हुने हो कि भन्ने ठूलो डर थियो। त्यसमा झन् हाम्रो स्वास्थ्य सेवाको नाजुक अवस्थाले हामीलाई कुनै सान्त्वना प्रदान गर्न सक्ने अवस्था थिएन। मानिसहरूले भाइरसको अत्यन्त जोखिम रहेका ठाउँहरुमा पनि सामाजिक दूरी कायम गर्न सकेका थिएनन्। यी सबैले हाम्रो अगाडि टार्न नसकिने गम्भीर स्वास्थ्य संकट आइलाग्दै छ भन्ने भान दिएको थियो।
जब दिन बित्दै जाँदा मानिसहरूले बन्दाबन्दीका नियमहरूको अनुसरण गर्न थाले र सँगै नबस्ने मनिससँग सामाजिक दूरी कायम गर्न थाले। पहिलो ३/४ हप्तामा संक्रमितहरुको संख्या बन्दाबन्दी सुरु हुनु अघि आँकलन गरिएजस्तो डरलाग्दो दरले बढेन। बन्दाबन्दी सुरु भएको पूरै दुई साता पछि चैत्र २६ गतेसम्ममा पनि देशभरी जम्मा ९ जना कोरोना भाइरस संक्रमित भेटिएका थिए।
बन्दाबन्दीको पूरै एक महिना पश्चात् वैशाख १० गतेसम्म यो संख्या बढेर जम्मा ४५ पुगेको थियो। हल्का संख्या बढेको भएता पनि फर्केर हेर्दा हामीले भाइरसको प्रभाव निकै नियन्त्रण गरेका थियौँ भन्न सकिन्छ। त्यो अवस्थालाई हेर्दा सरकारले चालेका कदमहरु चुनौतिपूर्ण भएतापनि निकै प्रशंसनीय थिए र त्यसका लागि सरकार धन्यवाद र बधाई दुवैको हकदार छ।
गल्ती कहाँ भयो त?
बन्दाबन्दीको दोस्रो हप्ता बितिसकेपछि र घटनाहरू डराउनु पर्ने तहसम्म नपुगेको कारणले सरकारले मानिसहरुको देशभित्रको आवागमन र भारतबाट नेपाल आउने नेपालीहरुको उचित व्यवस्थापन नगरिकन अनौपचारिक रूपमा बन्दाबन्दीको सहजीकरण गर्यो। साथै नेपाल छिर्न नपाएका नेपालीहरुको ठूलो भीड सीमा नाकामा खडा हुन पनि दियो।
यहाँ सरकारले यी सबै मानिसहरुलाई यत्तिकै नेपाल छिर्न दियो भने यिनीहरुले हाम्रो समुदायमा संक्रमण फैलाउन सक्छन् भनेर उचित निर्णय र कदम चाल्न पछि परेको देखिन्छ। तर यहाँ सरकारले यो महशुस गर्न सकेन कि भाइरस यसै पनि यी भीडमा परालको आगो झैं फैलिन सक्छ भनेर। साथै सरकारले यो पनि महशुस गरेन कि यहाँ रोकिएका मानिसहरुलाई अन्तत कुनै पनि हालतमा देश भित्र प्रवेश गराई उनीहरुको गृहस्थल तर्फ पुर्याउनु पर्नेछ भनेर।
यहाँ सरकारले आफूसँग भएको साधनस्रोतको उचित प्रयोग नगरेको र उपलब्ध भएको महत्वपूर्ण समय खेर फालेर हेल्चक्रयाईं गरेको प्रष्ट रूपमा देख्न सकिन्छ। यही हेल्चक्रेर्याईं अहिले घातक सावित भएको छ।
वसन्त ऋतुको अन्त्य र बढ्दो गर्मीसँगै दक्षिणी सीमा नाकाहरुमा आफ्नो देश र घर फर्कने भनेर कुरेर बसेकाहरुलाई विस्तारै कोरोना भाइरसको भन्दा भोक, प्यास, बढ्दो तापक्रम, औलो, डेंगू आदिले गर्दा मृत्यु हुने डर बढ्न थाल्यो। यसरी यहाँ अड्किएर बसेकाहरुमध्ये कति अवश्य पनि पहिले नै संक्रमित थिए र कति संक्रमित भएर पनि संकेत नदेखिएकाहरु थिए।
यो अवस्थामा भाइरसले सजिलै धेरै जनामा फैलने अवसर पायो। अनि जो जति नेपाल भित्रिएका थिए उनीहरुलाई पनि न उचित क्वारेनटाइनको व्यवस्था थियो, न पर्याप्त मात्रामा परिक्षण गरेर कोरोना भाइरसको पुष्टि गर्ने स्वास्थ्य सेवा नै। न त सीमा नाकाबाट टाढा घर भएकाहरुलाई उनीहरुको घरसम्म पुर्याउने यातायात व्यवस्था नै गतिलो थियो।
धेरै ठाउँहरुमा क्वारेनटाइन व्यवस्था र परीक्षण किटको अभावमा सरकारले उनीहरुको सम्पर्क नम्बर र ठेगाना मात्र लिएर आएकाहरुलाई आ-आफ्नो घर प्रस्थान गर्न दिएको थियो। टाढा घर भएका कति मानिसहरु व्यवस्था गरिएका सिमित बसहरुमा भीड गर्दै आफ्नो गृहस्थल तर्फ लागे।
यहाँ सरकारले भाइरसबारे सबै कुरा बुझेर पनि मानिस आवतजावतको उचित व्यवस्थापनमा ठूलो हेल्चक्रयाईं गरेको देखिन्छ। सरकारको यही लापरवाहीले गर्दा कति नेपाली यस्तै यात्राको दौरान संक्रमित भए होलान्।
यसै समयमा कोरोना भाइरसको डरले वा बन्दाबन्दीको बेलामा दिन काट्न गाह्रो हुने भएर काठमाडौं उपत्यकाबाट बाहिर गएका मानिसहरू तराईका सहर तथा गाउँहरूबाट हजारौंको संख्यामा विस्तारै काठमाडौं उपत्यकामा फर्कन थाले। यसरी फर्कनेहरु मध्ये केही कोरोना सक्रमितहरुको सम्पर्कमा पुगेकाले यिनै मानिसहरुबाट पछि काठमाडौँमा भाइरसको दोश्रो लहर देखा पर्छ र उपत्यका नजिकै धुलिखेल अस्पतालमा एक जना सुत्केरी महिलाले कोरोना सक्रमणका कारण ज्यान गुमाउन पुग्छिन्।
त्यस बेला उपत्यका प्रवेश गर्दा न क्वारेनटाइन पूरा गर्नु पर्ने व्यवस्था थियो न कुनै परिक्षणको व्यवस्था नै गरिएको थियो। यसपछि सरकारले पछाडि फर्केर हेर्दै कदम चाल्न थाल्यो। त्यो बेलासम्म सरकार र हामी सबैलाई थाहा भइसकेको कुरा हो कि यो भाइरसले संक्रमण भएको केही दिनपछि मात्र संक्रमित व्यक्तिमा संक्रमणको लक्षण देखाउन थाल्दछ जसलाई अंग्रेजीमा इनक्यूबेसन पिरियड पनि भनिन्छ।
यहाँ नेर हामीले बुझ्नु पर्ने कुरा के हो भने संक्रमण भइसकेपछि चालेका सरकारका कदमहरुले त्यति महत्वपूर्ण भूमिका निर्वाह गर्दैनन्, जति संक्रमण हुनुअघि चाल्दा गरेका हुन्छन्। यहाँ पनि सरकारले भाइरस नियन्त्रण गर्न सक्ने महत्वपूर्ण समय र अवसर खेर फालेको प्रष्ट देखिन्छ।
यहाँ काठमाडौं उपत्यकामा पहिलो केही हप्तापछि उल्लेखनीय मात्रामा संक्रमितहरुको संख्या नबढेपछि सरकारले काठमाडौँ उपत्यकामा बाहिरबाट आउने अत्यावश्यक सेवामा कार्यरत मानिसहरु बाहेक सबैलाई निषेध गर्नुपथ्र्यो। यसो गर्नाले काठमाडौँ उपत्यकामा संक्रमणको दर न्यून रहन्थ्यो र काठमाडौं उपत्यकामा कोरोना भाइरस रोकथामको लागि प्रयोग भएका साधनस्रोतहरुलाई तराईका ती जिल्लाहरुमा पठाउन सकिन्थ्यो जहाँ ती साधनस्रोतहरुको अति आवश्यकता थियो।
सरकारको जिम्मेवारी र उत्तरदायित्व
पछिल्ला हप्ताहरुमा एक ठाउँबाट अर्को ठाउँमा मानिसहरुको आवतजावत बढेसँगै भाइरसको संक्रमण पनि फैलिँदै गयो। हामीसँग बन्दाबन्दीको पहिलो २ हप्तापछि भाइरस लगभग पूर्ण नियन्त्रणमा थियो र एक महिनापछि पनि संक्रमितहरुको संख्या ५० भन्दा कम थियो। तर पछिल्लो समयमा सरकारले लापरबाही गरेर हाम्रा सहरहरु, सहर पस्ने नाकाहरु र भारतसँगको नाकाहरुमा मानिसहरुको आवतजावत व्यवस्थापन गर्नमा ठूलो हेल्चक्रयाँइ गरेको छ।
यसले के देखाउँछ भने मानिसहरुको आवतजावतको व्यवस्थापनमा सरकारले गरेको लापरबाही कै कारण धेरैले कोरोना भाइरसबाट संक्रमित हुनुपरेको छ र सरकारको यही लापरवाही कै कारण केहीले ज्यान पनि गुमाउनु परेको छ। जबकी ती अधिकांश कोरोनाका मृत्यु र संक्रमण सरकारसँग भइरहेका साधनस्रोतको उचित प्रयोग र त्यसको चुस्त व्यवस्थापनले सजिलै टार्न सकिनु पर्ने थियो।
महामारी विज्ञान मेरो विशेषज्ञताको क्षेत्र होइन तर हामी सबैले सजिलै भन्न सक्दछौँ कि हामीले पछिल्लो समय देखेका सबै संक्रमणहरु भाइरसको दोस्रो लहर हुन्। यो दोस्रो लहर सरकारले कोरोनाको व्यवस्थापनका लागि, खासगरी जनताको आवागमनको व्यवस्थापनमा उचित र समयबद्ध कदम नचालेका कारण उत्पन्न भएको हो। सरकारले समयमै उचित व्यवस्थापन गरेको भए हामीलाई यसको नियन्त्रण र रोकथाममा अर्बौँ रुपैयाँको बजेट आवश्यकता नै पर्दैनथ्यो।
सरकारले गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा भनेको एक ठाउँबाट अर्को ठाउँमा मानिसहरुले गर्ने आवतजावतलाई व्यवस्थित गर्नु पर्ने थियो। भारतबाट आएकाहरु सबैलाई क्वारेनटाइनमा उचित व्यवस्था गर्न सकिने थिएन भने उनीहरुलाई सामाजिक दूरी कायम गर्न मिल्ने गरि सवारी साधनको व्यवस्था गरी घरसम्म पुर्याई घरमै क्वारेनटाइनमा बस्न अनुरोध गर्नु पर्ने थियो।
सरकारले कुनै पनि ठाउँमा मानिसहरूलाई भीडमा जम्मा हुन दिनु हुने थिएन. चाहे त्यो भारतसँगको सीमा नाकामा होस् या नेपाल आएर घर फर्कदा सवारी साधनमा होस्। यहाँ विश्वव्यापी महामारीलाई हाम्रो देशमा समुदायको महामारी हुन यति सजिलै दिएकोमा सरकारको ठूलो कमजोरी देखिएको छ।
यदि एक निर्वाचित सरकारले जनतालाई सबैभन्दा बढी आवश्यकताको घडीमा आफ्नो उपस्थिति देखाउन र समयमै उचित निर्णय लिन सक्दैन भने हाम्रो समाजलाई त्यो सरकार के का लागि आवश्यक हुन्छ त? कुनै पनि देशको सरकार यस्तै परिस्थितिहरूको लागि भनेर बनाइएको हुन्छ। तर यहाँ सरकारले विश्वव्यापी महामारीलाई हाम्रो समुदायको महामारी बनाउन आफ्नो गलत व्यवस्थापन, आवश्यक स्थानहरुमा गतिलो उपस्थितिको कमि, र सही समयमा सही निर्णय नलिएर ठूलो भूमिका खेलेको छ।
यी सबै दुरावस्था र क्रियाकलापहरुबाट हामी एउटा के निष्कर्षमा पुग्न सक्छौँ भने हामीले अहिलेसम्म भाइरसको कारण मृत्यु भएका हाम्रा निर्दोश नेपालीहरुको ज्यान सजिलै बचाउन सक्थ्यौँ तर समय छदैँ सरकारले उचित कार्य गर्न नसक्दा त्यो हुन सकेन। सरकार परीक्षण किटहरू र अन्य महङ्गो साधनस्रोतहरू किन्न र विस्तार गर्नमा मात्र केन्द्रित भयो जहाँ ठूलो बजेटको प्रयोग हुने थियो।
तर सरकारले जनताको आवागमनलाई व्यवस्थित गर्नेतर्फ कत्ति पनि सोचेन, जबकी यस कदमले भाइरसलाई नयाँ समुदायमा फैलिनबाट रोक्न उत्तिकै महत्त्वपूर्ण भुमिका खेल्दथ्यो।
यी सबै क्रियाकलाप हेर्दा कसरी विश्वास गर्ने कि सरकारले भने अनुसार कोरोना भाइरसबाट हालसम्म मृत्यु भएका व्यक्तिहरुको मृत्युको कारण कोरोना भाइरस नै हो भनेर? सरकारले सही समयमा सही निर्णय लिएर उचित कार्यका लागि कदम चलेको भए सरकारले देखाएको खर्च भएको बजेट भन्दा धेरै कममा नै हामीले उनीहरुको ज्यान जोगाउन सक्थ्यौं।
यी मृत्यु भएका मध्ये कतिलाई त हामीले संक्रमित हुनबाट नै सजिलै जोगाउन सक्ने स्थितिमा थियौँ। यी बाँच्नु पर्ने र सजिलै बचाउन सकिने मानिसहरुको मृत्युलाई सरकारले आफ्नै नागरिकलाई मारेर गरेको अनैच्छिक हत्या कसरी नभन्ने? यहाँ सरकारले ठूलो मानवीय अपराध गरेको सजिलै देख्न सकिन्छ। त्यसैले अबका दिनहरुमा यस्तो घटना दोहोरिन नदिनका लागि यी सबै घटनाहरुमा सरकार उत्तरदायी हुनुपर्छ र मृतकका परिवार तथा आफन्तजनले असामयिक रूपमा आफ्नो मान्छे गुमाएकोमा उचित न्याय पाउनु पर्छ।
सरकारले बन्दाबन्दीको पहिलो एक महिनामा जम्मा ४५ जना संक्रमित भएको ठाउँमा आज बन्दाबन्दीको ३ महिना पुग्न लाग्दा ३,५०० बढी संक्रमित हुनु पर्ने र १३ जनाले ज्यान गुमाउनु पर्ने अवस्था किन आयो भन्ने प्रश्नको जवाफ दिनु एकदम जरुरी छ।
अब के त?
यहाँ धेरै प्रश्नहरू छन् जुन सरकारका विभिन्न मन्त्रालयहरू तिनका विभागहरू र त्यहाँका मुख्य–मुख्य पदमा आसीन निर्णय लिने र कार्यान्वयन गराउने अधिकारीहरुले जवाफ दिनुपर्नेछ ताकी आगामी दिनहरुमा सरकारबाट यस्ता कमि कमजोरीहरु फेरि नदोहोरिउन् र सर्वसाधारणहरुले यो महामारीको समयमा सरकारले मानव आवागमन र उपलब्ध साधनस्रोतको उचित व्यवस्थापन गर्न नसकेकै कारण कोही संक्रमित हुन नपरोस् र कसैले पनि आफ्ना प्यारा आफन्तजन गुमाउन नपरोस्।