मृत्यु र जिवनको दोसाँधको ढोकामा बिताएका ती सिकिस्त अवस्थाका दिनहरु। प्राणमा आक्रमण हुँदाको कहर, पीडा कस्तो हुन्छ होला भन्ने एउटा जीवन र मृत्युको ढोकामा २२ दिन अस्पतालको बसाइभित्र सात दिनको कठोर कहरलाई कुरेर फर्केपछि अनुभव पाएँ।
म अन्तिम ढोकाको धेरै नजिक पुगेर त्यो कोरोनाको कहरसँग संघर्ष गर्दै बस्न बाध्य थिएँ। नाकमुख सुख्खा र तितो हुने, ज्वोरो अनि टाउको दुख्ने, श्वास लिन गाह्रो हुने, छाती दुख्ने जस्ता प्राण नै चुँडाउनेगरि खोकी लाग्ने लक्षणहरु थिए। यो खोकी नै मेरो अन्तिम श्वास हो भन्ने शंकामा खोक्नु पर्दथ्यो।
स्वास्थ्यकर्मी बच्चा नर्सहरु थिए। तिनले म सिकिस्त अवस्थामा पीडाले छट्पटाउँदा पटक-पटक कानमा आएर भगवानको प्रार्थना गर्नु बाबा (बाबा, प्रे टु गड) भन्दै गर्दा काँचो धागोको सहारामा प्राणलाई झुण्ड्याएझैँ प्रत्येक पललाई गनेर बिताएँ।
आज अन्तिम ढोकासम्मको मृत्युको कहर काट्दै दिनहरु कुरेर फर्किन सफल भएको छु। र अब उप्रान्तको लागि मेरो यो नाफाको जीवन भन्ने भान भएको छ।
म अहिले वैदेशिक रोजगारिको शिलशिलामा कतारमा कार्यरत छु। म यहाँ अहिलेको विश्वभरी फैलिएको महामारी कोभिड-१९ बाट पूर्णत: ग्रस्त भएँ। र त्यो कहर काटेर बाँच्न सफल पनि भएको छु।
यसमा यो देश कतारको सिस्टम, यहाँको जिम्मेवारी, लगानी, आजको उच्च टेक्नोलोजी लगायत अति जिम्मेवार, धर्म, कर्तव्य, आफ्नो कार्यमा पूर्णत: निष्ठावान भएका स्वास्थ्यकर्मीहरु, डाक्टर नर्सहरुको पूरै मेहनतको लगानीले मात्र मलाई पनि बचाउन सफल भए।
यो मेरो मुटु नेपालको हो। त्यसैले, थ्यांक यू कतार!
वास्तविक भावना अनि अनुभवका कुरा...
ती पेशाले डाक्टर र नर्स नै हुन्। त्यो तिनीहरुको नितान्त तिनको काम अनि ड्युटी नै हो। तर तिनीहरुले एउटा धर्म, कर्तव्य, अनि आफ्नो कामको निष्ठा पूरा गर्दैजाँदा हामी ग्रस्त बिरामीहरुले आफ्नो पीडा सहन नसकी पटक-पटक तिनै नर्सहरुलाई दुख्यो, मरेँ आमा, मरेँ बाबा, सिस्टर, पानी भन्दै पुकार्थ्यौँ।
त्यहाँ हामीले पुकार्ने आफ्नो भन्ने कोही हुँदैनथ्यो। तिनले पनि उमेरअनुसार बाबा भनेरै पुकार्थे, तर तिनीहरु विदेशी छोरीहरु थिए। उमेरले साह्रै साना लाग्दथे भने कर्तव्यले महान् थिए। हामी कराउँदै र खोकीको पीडाले छट्पटाउँदा पटक-पटक कानमा आएर भगवानको प्रार्थना गर्नु बाबा भनिरहन्थे।
हामी विचलित बिरामीहरुले त्यही प्रार्थनामा एकोहोरिएर प्राणलाई पर्खिने बाटो पाएका हुन्थ्यौँ। आफनै परिवारको सदस्यको जस्तै महशुस पनि गराउँथे। हामी सबै बिरामीहरुलाई दवाइ, पानी र खानाको सम्पूर्ण व्यवस्था उनीहरुले नै गर्नुपर्दथ्यो। त्यहाँ अरु कोही आउन भेट्न पाउँदैन थियो। हाम्रा रक्षक भनेका तिनीहरु मात्रै हुन्थे।
हामीले अन्तिम घडीको रुपमा श्वास लिएका बेलामा कहिल्यै नरिसाएर नझिजिएर नरम तरिकाले हाम्रा पीडामा सहभागी हुँदै थकाई नमानी दौडिरहन्थे। हाम्रो उपचारमा भागिरहन्थे। हामी बिरामीहरुको अलिकति पीडा लगिदिएर आराम दिएको जस्तो लाग्दथ्यो।
त्यति बेलासम्म कतारमा कोरोनाको बिरामीहरु ३४ हजार संख्या पुगेको थियो। मेरो बेड नजिकैका दुई जना बिरामी उभिन खोज्दा बेहोस भएर पल्टिएका थिए। ती कोरोनाका बिरामीलाई पाँच जना नर्स र डाक्टर आएर आफ्नो काखमा लिएर उठाइ निकै आराम र सावधानिसँग बेडमा सुताए।
जो कोरोनाको बिरामी थियो, तिनी स्वास्थ्यकर्मीहरु त्यो बिरामीसित टाढा भागेनन्। त्यति बेला तिनी स्वास्थ्यकर्मीको धर्म देखेर मलाई पनि विश्वास र बाच्ने आशा पलाउँथ्यो। एउटा असल स्वास्थ्यकर्मीहरुको धर्म पूरा गरेको देखेँ। तिनको सम्मानमा मेरा पीडित अवस्थाका भावनाका दुई थोपा आँसु कसैले देखेन तर रोकिएन।
कोरोनाको बिरामीहरु सबैलाई टाउको, हात र पाखुरा समाएरै हामी ग्रस्त बिरामीलाई जाँचेर बाँच्न सिकाउने ती महान डाक्टर र नर्सहरु मलाई पनि बचाएँ। हामीलाई कोरोना पोजेटिभको बिरामी हुँ भन्नेसम्म बिल्कुलै अनुभूति हुन दिएनन् ती स्वास्थ्यकर्मीहरुले। अति नजिकबाट हाम्रो हेरचाह र उपचार गरियो।
त्यसैले एउटा सिकिस्त बिरामीलाई चार किलो दवाइ खुवाएर हुने आरामभन्दा बढी, ती स्वास्थ्यकर्मीहरुको नरम अनि आशावादी दृढ विश्वासको बोलीमा प्राण फर्काउने शक्तिशाली दवाइ हुन्छ भन्नेसम्मको अनुभूति गरियो।
दु:ख लाग्छ, जो कता एक समाचार पढ्दा र सुन्दा। मेरो आफ्नै देशमा कति स्वास्थ्यकर्मीहरु दूरीको नाममा सिकिस्त कोरोना बिरामीको नजिकसम्म पर्दैनन रे भन्ने समाचार पढ्दा मानवता हराएको या त पढेका अशिक्षितहरु हुन् भन्ने मेरो बुझाइमा आएको छ।
फेरि पनि व्यक्तिगत सावधानी पिपिई हुनैपर्छ भने अर्कोपट्टी आम मानिसहरुले आफ्नै घरमा बसेका इश्वरका रुपमा रहेका स्वास्थ्यकर्मीहरुलाई बसेको ठाउँ, घर र टोलबाट बाहिरिन भन्दै दुख र अपमान गरेर इश्वरकै अपमान गरेको सुन्दा मुटु पोल्दै दुखेर आउँछ।
यति नजिकबाट सहारा दिँदै मेरो र हाम्रो प्राणपखेरु फर्किने बाटो बनाइदिने तिनै इश्वर रुपि स्वास्थ्यकर्मीहरु नै थिए। उनीहरु आवश्यक आफ्ना पिपिई (व्यक्तिगत सुरक्षाका सामानहरु) उचित तवरले लगाएका हुन्थे।
ती नर्सरुपि छोरीहरु प्रति मेरो सम्मान छ। छोरी त घर-घरमै जन्मिन्छिन्। एउटा घरको छोरी बन्न सजिलो नै छ होला। तर आफ्नो कर्तव्य, धर्म, कामको निष्ठाले जो संसारको छोरी बन्न कठोर तपस्या अनि त्यागले मात्र बन्न सक्छिन्। र तिनी नै सफल र असल छोरी हुनेछिन्। मैले तिनी उमेरले बच्चा नर्सहरुबाट यो बुझ्ने अवसर पाएँ। र त्यस्ता कर्तव्यशिल छोरिहरु जन्माउने बाबुआमा पनि भग्यमानी हुन्।
जति भयो कर्तव्यको नाता बाहेक तिनको वास्तविक नाम र ठाम, ठेगाना जान्ने अवसर नै पाइएन अनि त्यो स्थिति पनि थिएन। तर पनि जुगौ जुग भुल्नै नसक्ने अचम्मको गहिरो मायाको अनुभूति मेरो मनमा छाडिदिए।
उपचार प्रकृया
कतारमा कोरोनाका बिरामीहरुको लागि हमद अस्पताल मार्फत यहाँको सरकारले नै सम्पूर्ण जिम्मा लिएको छ। यहाँ इमर्जेन्सिमा आउने कोरोना पोजेटिभ बिरामीहरुको लागि उपचार गरेको ठाउँमा दुई पटक नेगेटिभ रिपोर्ट आएपछि बल्ल खाने, बस्ने सम्पूर्ण व्यवस्था सहित अस्पतालकै रोहवरमा सरकारी क्वारेन्टाइनमा पठाउने सिस्टम बनाएको रहेछ।
क्वारेन्टाइनमा १४ दिन बसेपछि फेरि कोरोना टेस्ट हुने रहेछ। त्यहाँ पनि लगातार नेगेटिभ रिपोर्ट आएपछि बल्ल बिरामीलाई डिस्चार्ज गर्छ। यहाँ एउटा इमर्जेन्सीमा आउने बिरामीको चार पटक टेस्ट गरेपछि बल्ल प्रकृया पूरा हुन्छ। र कम असर परेकाहरु जो क्वारेन्टाइनमा हुन्छन्, तिनको दुई पटक टेस्ट हुन्छ।
त्यसमा पछिल्लो टेस्टमा नेगेटिभ देखाएपछि मात्र घर पठाउँछ। यदि त्यति बेला पनि पोजेटिभ देखायो र अवस्था पहिलेको भन्दा बढी भएको जस्तो भएमा उपचारका लागि अस्पताल भर्ना गर्छ। हुन त कोरोना लाग्दैमा मरिँदैन, तर त्यस्तै अवस्थामा परे मर्न पनि सकिन्छ।
हामीलाई कोरोना नलागेसम्म यो सबैका लागि एउटा सामान्य मजाक जस्तो हुनसक्छ। लागिसकेपछि यस कहरसँग लड्नु बाहेक अरु कुनै विकल्प छैन। त्यसैले कोरोना लागेर यसको कहरसँग संघर्ष गर्नुभन्दा कोरोना लाग्नै नदिन बाटो रोक्न सके हरसम्भव कोसिस गरौँ।
आफू पनि सुरक्षित रहनुहोस् र अरुलाई पनि सुरक्षित राख्न मद्दत गर्नुस्।