भूतपूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई ज्यू, रुकुम घटनापछि हालै तपाईले दलितमाथिको विभेदको अन्त्य गर्ने उपायहरुमध्ये एउटा उपाय सबैले आफ्नो नामको पछाडि कामी जात लेख्नुपर्छ र तपाईले पनि लेख्छु भन्नुभयो। तर, मेरो विचारमा तपाईले त्यसो नगर्नुहोस्।
किनकि, भाग्यले तपाईलाई तथाकथित उच्च जात र शुद्ध कुलमा जन्म दिएकै छ। तपाईहरुले कर्म गरे पनि नगरे पनि समाजले उच्च सम्मान, मान मर्यादा, प्रतिष्ठा र धनद्यौलत दिएकै छ। यो समाजले पात्रोदेखि कात्रोसम्म तपाईहरुले भनेको मानेकै छ। तपाईहरुले नै यो समाजलाई आफूलाई जुगौंजुग र पुस्तौं पुस्तासम्म लाभैलाभ हुने खालको संस्कार, चलन र परिपाटी बसाली दिनु भएकै छ।
तपाईहरुले जे गरे पनि, जसो गरे पनि, दण्ड दिए पाप लाग्छ भन्ने सामाजिक मान्यता र विश्वास धर्म शास्त्रमा घुसाएर सधैं सुरक्षित भएर बस्नु नै भएको छ। घरपरिवार, छरछिमेक, समाज र देश विदेशमा हालीमुहाली गरेर बस्न पाउनु नै भएको छ।
आहा! हेर्नुहोस् त, तपाई कति भाग्यमानी जातमा जन्मनु भएको रहेछ।
अनि, तपाईले किन 'कामी' लेख्ने डा. साब?
तपाईले 'कामी' लेख्नु हुँदैन।
कथम कदाचित तपाईले 'कामी' लेखी नै हाल्नुभयो भने के हुन्छ?
तपाईलाई यो समाजले तत्कालै बिना कारण अछुत बनाई दिन्छ। तपाईको केवल रगत र श्रम चल्छ तर पानी चल्दैन। पानीको धारा, कुवा, इनार छुन पाइँदैन। छोइहाले तपाईलाई तथाकथित शुद्ध समाजले कुट्छ, मार्न पनि सक्छ।
तपाई हिन्दू नै भएपनि तपाईलाई मन्दिरमा गएर पूजाआजा गर्न दिइँदैन। कथम् कदाचित, तपाई मन्दिरभित्र प्रवेश गरे 'भगवान पनि अशुद्ध हुन्छन्' भन्ठान्छ यो समाजले। र, परम्परादेखि चलिआएको रीतिथितिमा खलल पुर्याएको मिथ्या दोष लगाई तथाकथित शुद्धहरुले तानाबुना बुनी तपाईलाई दिनदहाडै पशुलाई झैं कुटिन्छ, उस्तै परे मारिन्छ पनि।
त्यसपछि, मन्दिरलाई शुद्ध बनाउन पण्डितहरुबाट भव्य पुजाआजा गरिन्छ र मन्दिरमा उनीहरु कदापि पस्न दिनुहुँदैन भन्ने सन्देश समाजलाई खुल्लेआमरुपमा दिइन्छ।
अनि, तपाईले कसरी 'कामी' लेख्न सक्नुहुन्छ? के तपाई अब आफ्नो आस्था छोड्न थाल्नु भएको हो र?
त्यसो नगर्नुहोस् डा. साब, त्यो मूर्खता नदेखाउनुहोस्। यो समाजले पटक-पटक 'तपाई कसमा हुनुहुन्छ' भनेर तपाईको जात सोध्छ। जब तपाईले 'कामी' भनेर आफ्नो जात बताउनु हुन्छ, त्यही घडीबाट अब तपाईको दुखको दिनहरु सुरु हुन्छ। तपाईले पलपलमा दुःख पाउनु हुन्छ। ठाउँठाउँमा तपाई अपहेलित हुनुपर्दछ।
तपाईलाई हेयको दृष्टिले हेरिन्छ र पशुलाई जस्तै दुरदुर र छुरछुर गराइन्छ। मान्नुहोस् या नमान्नुहोस्, तपाई अब मान्छे नै होइन। यो समाजले तपाईलाई चेतनशील प्राणीको रुपमा चिन्दैन। र, चिन्ने कोशिस पनि गर्दैन। यो समाजले तपाईलाई मानवताको व्यवहार गर्न छोड्छ। तपाई यो समाजको सदस्य बन्न लायक नै ठानिनु हुन्न, अरु त कुरै छोडिदिनुहोस्।
लौ भन्नुहोस्, अझै पनि के तपाईले 'कामी' लेख्नु हुन्छ?
लेखी हाल्नुभयो भने यो समाजले तपाईलाई तुच्छ शब्द प्रयोग गरेर बोलाउन थाल्नेछ। तपाईले जति ज्ञानज्ञुनका कुरा जानेबुझे, पढे पनि त्यो सुनि दिने, बुझी दिने कोही हुने छैनन्। तपाईको विज्ञताको कुनै अर्थ हुँदैन। कुनै मान्यता नै रहँदैन। मान्नुहोस् कि तपाईको विज्ञता, डक्टरेटको उपाधी पनि तल्लो दर्जाको मानिन थाल्छ। जेएनयू विश्वविद्यालयले मान्यता दिए पनि यो समाजले त्यो दर्जा दिन चाहँदैन। शंकाको नजरले हेर्छ, केवल शंकाको।
अनि, किन 'कामी' लेख्न रहर गर्नुभएको, भन्नुस् त डा. साब?
तपाईले कामी लेखे तपाईको मात्र होइन, तपाईको श्रीमती, छोरीको पनि सामाजिक हैसियत घट्छ। उनीहरुलाई पनि यो समाजले छिछी–घिनघीन गर्दछ। सके नाकै अगाडि, नसके पछाडिबाट भएपनि कुरा काट्न थाल्दछ। 'खुबै, कसैनभाको डाक्टरको बुढी, छोरी हुँ भन्छे' भन्छ। नाक खुम्च्याउँछ। आँखा तर्काउँछ। छड्के नजरले हेर्छ। छेंड हानेर बोल्छ। निको मान्दैन। सराप्छ। सामाजिक कार्यबाट बच्चित गराइन्छ। अनि, त्यसपछि उनीहरुको हालत यो समाजमा के होला? कल्पना गर्नुहोस् त डा. साब!
लौ भन्नुहोस्, के तपाई आफ्नो श्रमती, छोरीको यही विचल्ली हेर्नको लागि 'कामी' लेख्छु भन्नु भएको हो?
अहँ, त्यसो नगर्नुहोस् डा. साब। कदापि त्यसो नगर्नुहोस्।
तपाई परिवर्तन हुन चाहेर के गर्नुहुन्छ? यो समाज टसकोमस गर्न चाहँदैन। तपाईले समानताको कुरा गरेर के हुन्छ र? यो समाजले असमानतामा नै रमाउन चाहन्छ। ऊसँग यत्ति मात्रै छ, भन्छ। तपाईले उनीहरुलाई माथि उठाउन चाहेर कहाँ हुन्छ र! यो समाजले हरपल तलै झार्न खोज्छ। र, झारी पनि रहेको छ। तपाईले मानवीय व्यवहार गर्छु भनेर कहाँ हुन्छ र? यो समाजले अमानवीयता गर्न सिकाउँछ र त्यसै गर्न निर्देशन पनि दिन्छ। तपाई उनीहरु माथिको विभेदको अन्त्य गरौँ भन्नु हुन्छ। यो समाजले त्यसैको मलजल गरी फलाउन फूलाउन चाहान्छ- धर्म, संस्कृति, परम्परा र चालचलनको नाममा।
सबै समान भयो भने त 'आफ्नो कुलदेउता रिसाउँछन् र कुलवंशमा अनिष्ट हुन्छ' भनेर आफ्ना दरसन्तानलाई मानसिक डर, त्रास देखाई झन कडाइका साथ विभेद गर्न सिकाएको छ, यो समाजले। अनि, कसरी आउँछ समानता यो समाजमा डा. साब?
नविन विश्वकर्मा
होस् गर्नुहोस्। तपाईको साढे चार अक्षरको जातिबाट दुई वटा अक्षरको जाति लेख्दा तपाईको सर्वस्व गुम्छ। तपाईको जातमा रहेर बाँचेको जिन्दगी र 'कामी' जात लेखेपछिको जिन्दगी आकाश पाताल फरक फर्दछ। तपाई तथाकथित छुतबाट अछुतमा गनिनु हुन्छ। उच्चबाट निचमा झर्नुहुन्छ। शुद्धबाट अशुद्धमा पर्नुहुन्छ। विद्धानबाट बुद्धुमा चिनिनुहुन्छ। हुनेखानेबाट हुँदाखाने भइन्छ।
आदेश/उपदेश दिनेबाट आज्ञा लिनेमा पुग्नुहुन्छ। मान, सम्मान पाउनु पर्नेमा उल्टै टक्र्याउनेमा परिन्छ। माथि हात हुनुपर्नेमा तल हात हुन्छ। ठाडो शिर हुनुपर्नेमा निहुरेको शिर गर्नुपर्दछ। सिंहजस्तै शान देखाएर, छाती फुलाएर हिंड्नुपर्नेमा स्यालजस्तै बाटोमुनी लुरुलुरु हिंड्नुपर्छ। चुलाचौकोबाट बाहिर सरी बलेनीमा बस्नुपर्दछ। उफ्! के-के हो के-के? सक्नुहुन्छ त डा. साब यी सब सहन?
फेरि डा. साब, खास कुरा त के हो भने कामी लेखेर 'अकामी' हरुसँग समान हैसियतमा भइने पनि होइन। 'कामी' लेख्दैमा अकामीहरुले विभेद गर्न छाड्छन् भन्ने पनि छैन। तपाईलाई थाहा नहोला कामीहरुले कामी जात लेख्दा अपहेलित ठान्दछन्। आफ्नो मान मर्दन भएको अनुभूति गर्दछन्। उनीहरु आफूलाई सकभर कामी भनेर परिचित गराउन चाहँदैनन्। उनीहरुले आफ्नो थर लेख्न खोजीरहेका छन्।
अरुको जात होइन। पटक्कै होइन। त्यो पनि आफ्नो पहिचानको लागि। तर उनीहरुको थरले स्पष्टसँग हिन्दु वर्णाश्रम व्यवस्थाको कुनै जाति बताउन सकेन भने यो समाजले फलाना थर कसमा (कुन जातमा) पर्छ भनेर सोध्ने गर्दछ। त्यो किन सोधिन्छ भने उनीहरुको वास्तविक जाति थाहा पाउने र त्यसपछि सबैथोक त्यही जातिको आधारमा गर्ने भन्ने हो।
यही हैन त डा. साब, 'तपाई कसमा हुनुहुन्छ' भनेर सोधिनाको रहस्य? तर के गर्नु, यो समाजले त्यसै गरिरहेको छ। उनीहरुसँग नतमस्तक हुनु बाहेक अरु के नै पो छ र?
त्यसैले डा. साब, अब म मेरो कुरालाई छोट्याउन चाहान्छु। यो समस्या 'कामी' लेखेर वा नलेखेर समाधान हुने होइन। बरु समाजले उनीहरुलाई हेर्ने दृष्टिकोण बदल्नु पर्दछ। विचार, चिन्तन, मूल्य, मान्यता, संस्कार, संस्कृति र व्यवहारलाई समयसापेक्ष परिस्कृत गराउँदै उच्चकोटीमा लैजानुपर्दछ। यो समाजले समस्या केवल कामीहरुमा देख्ने दृष्टिकोणलाई परिवर्तन गरी अकामीहरुमा बढी छ भन्ने बुझ्नुपर्यो।
उनीहरुले यो समाजलाई जिवित र परिवर्तन गर्दैगर्दा आर्जेको ज्ञान, सीप, कला र योगदानलाई उच्च कदर गर्ने संस्कारको विकास गनुपर्दछ। जातीय द्वन्द होइन, जातीय एकता र सदभाव कायम गर्न ढिलो भसेको छ। र, अन्त्यमा ती कामीहरु पनि अकामीहरुसंग सामाजिक, आर्थिक र राजनैतिक आधारमा समान हैसियतमा बाँच्न सकुन् र विश्व मानव जाति एक हौँ भन्ने भावना संसारभर फैलाउन सकुन्।
के यो सम्भाव छ, त डा. साब? तपाईको प्रतिउत्तरको पर्खाइमा।