कोभिड-१९ ले पारेको प्रभाव र त्यसबाट जनसमुदायलाई कसरी जोगाउने भन्ने सन्दर्भमा गाउँपालिकाको निर्णयअनुसार विभिन्न कामहरु भैरहेका थिए।
विभिन्न विकास निर्माण कार्यको अनुगमन र निरीक्षण, क्वारेन्टाइनको व्यवस्थापन, कृषि तथा पशुपालन सम्बन्धी कार्य, चालु वर्षको आयोजनाहरुको कार्य प्रगति, राहत वितरण, कार्य स्थलमा जानेहरुको उद्दार, लगायतका गाउँपालिका भित्रका नियमित कामकाजमा म लगायत उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सबै वडा अध्यक्ष, अन्य जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक स्वयमसेवक लगायत हामी सबै महामारी नियन्त्रणमै लागि परेका थियौँ।
त्यसै क्रममा नेपालका विभिन्न जिल्लाहरुमा कोरोना भाइरस संक्रमणको दर तीव्र हुँदै थियो। हाम्रो जिल्लाकै मदाने गाउँपालिकाका एक जना शिक्षकमा संक्रमणबाट मृत्यु समेत भयो। त्यसमा पनि हामी छिमेकी गाउँपालिका भएकोले गर्दा समेत हामीहरुले थप उच्च सतर्कता अपनाउदै कामकाज गरिरहेका थियौँ। म सबै ठाँउहरुमा जादा मास्क प्रयोग गर्थे, भौतिक दूरी पनि राख्थे।
कार्यालयमा पनि सुरक्षाको सबै प्रबन्ध मिलाएर नै काम गथ्ये। लकडाउनको बीचमा पनि विकास निर्माणका काम रोकिएका थिएनन्। भौतिक दूरी कायम गर्दै कामदारलाई कार्यस्थल मै बसाइको व्यावस्थापन गरिएको थियो। यसै क्रममा हामीहरु कामकाजमा कार्यलयभन्दा बाहिर धेरै समयदेखि व्यस्त भैरहेको र छिमेकी गाउँपालिकामा संक्रमण देखिएकोले हाम्रो कामको जोखिमलाई मध्यनजर गर्दा केही जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय व्यापारी लगायतको जेठ १० गते धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा आरडिटि परीक्षण गरियो।
उक्त परीक्षणमा एक जनाको रिपोर्ट पोजेटिभ देखियो। अर्को दिन अर्थात जेठ ११ गते मेरो र आरडिटी रिपोर्ट पोजेटिभ देखिएका व्यक्तिको स्वाब संकलन गरी भैरहवा पठाइयो। भारतबाट आई जैशिथोक र वाग्लाको क्वारेन्टाइनमा बसेका तीन जनाको समेत स्वाव संकलन गरी जेठ ९ गते पठाइएको थियो।
जेठ ११ गते जिल्ला समन्वय समिति गुल्मीले भारतबाट आएका दाजुभाइ दिदिबहिनीहरुको व्यवस्थापन लगायतका विषय र जिल्लाको कोभिड-१९ प्रतिकार्य योजना निर्माणका लागि जिल्लामा बैठक राखेको थियो। त्यो बैठकमा सहभागी भई म ११ गते कार्यस्थल, बर्वोट फर्किए। १२ गते दिनभर भैरहवा पठाएको स्वाबको रिपोर्ट पर्खाइमा कोठामै बसेको थिए। दिनको करिब ५:३० बजेको थियो, जिल्ला अस्पतालका प्रमुख डा. उत्तम पच्याको फोन आयो।
उहाँले तपाई कता हो? भन्नुभयो, मैले कोठामै छु भनेँ। उहाँले तपाईहरु छुट्टाछुट्टै बस्नुस् भन्नु भयो। फोन राखे, त्यसपछि मनमा अनेकन कुरा खेल्न थाले। उच्च सतर्कता अपनाउँदा अपनाउँदै कसरी कोरोना लाग्यो होला भन्ने प्रश्नहरु मनमा उब्जिए। त्यसको केही समय पहिला उपाध्यक्षसँग पनि फोनमा के रिपोर्ट आउने हो भन्दै कुरा भइरहेको थियो।
कोभिड-१९ को शन्दर्भमा जिल्ला प्रतिकार्य योजनामा धुर्कोटमा २० वेडको आइसोलेसन निर्माण गर्ने निर्णय भएकोले वडा नं. ४ को बर्वोट नजिकै रहेको देविस्थान प्राथमिक विद्यालयमा आइसोलेसनको निर्माण कार्य द्रुत गतिमा अगाडि बढाइरहेका थियौँ। उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरुलाई फोनमा पहिले त हामीहरु नै बस्नु पर्ने जस्तो छ भन्दै वडा नं. ४ का वडा अध्यक्ष मानबहादुर कुँवरसँग फोनमा हाँसो समेत भयो। तर त्यो ठट्टा र हाँसो एकैछिनमा यथार्थमा परिणत भयो।
डाक्टरको भनाई र मनमा उब्जेका अनेकन प्रश्नको एउटै मात्र उत्तर थियो भोलिदेखिको बसाई आइसोलेसनमा हुनेभयो। स्थानीय रुपमा बनाइरहेको आइसोलेसनको निर्माण कार्य भने सम्पन्न भइसकेको थिएन, तर म जिल्ला स्थित आइसोलेसनमा भने जाने मनस्थितिमा थिइन। त्यसै शिलसिलामा पूर्व मन्त्री गोकर्ण विष्ट, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल, प्रदेश सभा सदस्य दिनेश पन्थी लगायतका व्यक्तित्वहरुको फोन आयो।
फोनमा कुरा गर्दै सभाहलसम्म पुगेको थिए। सबैको एउटै प्रश्न थियो कति जनाको स्वाव संकलन गरी पठाउनु भएको हो? क-कसको हो भन्नुभयो, तर सबैले मेरो पोजेटिभ भनेर भन्न सक्नु भएन तर कोरोनाको बारेमा मलाई सम्झाउन थाल्नु भयो। त्यतिबेला बेलुकाको करिब ७:३० भैसकेको थियो। मैले जिल्ला जनस्वास्थ्य प्रमुखलाई फोन गरेँ। सर रिपोर्ट के आयो? उहाँको जवाफ थियो- तपाई लगायत दुई जनालाई पोजेटिभ देखियो छुट्टै बस्नुहोस्।
म ११ गते साँझदेखि छुट्टै बसेको थिएँ। म आफैले मलाई कुनै लक्षण नदेखिएको र आइसोलेसनको निर्माण कार्य सम्पन्न नभइसकेको हुँदा डाक्टरहरुको प्रत्यक्ष सम्पर्कमा रहेर आफू बसिरहेको ठाउँमा बस्ने निर्णय गरे र सल्लाह समेत लिएँ। आफू संक्रमित भएपछि मैले मेरो परिवार, उपाध्यक्ष तथा मसँग सम्पर्कमा आउनुभएका जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सबैलाई छुट्टै बस्न अनुरोध गरेँ।
साथै आइसोलेसनको कार्य तीव्र रुपमा अगाडि बढाउने समेत सल्लाह गर्यौँ। त्यसैगरी स्वास्थ्यकर्मीहरुलाई फोन गरि म संक्रमित भएको र थप संक्रमण फैलिन नदिन आवश्यक तयारीमा लाग्न आग्रह गरे। घर परिवारका सबै सदस्यलाई आफू संक्रमित भएको खबर सुनाएँ। सबै परिवारका सदस्यहरुले उच्च मनोबलका साथ बस्न सुझाव दिनुभयो। जसबाट पनि मलाई थप उर्जा प्राप्त भयो। आफै संक्रमित भएपछि दैनिकी फरक बनाउने सोच बनाएँ। यो समयसम्म पनि म एक्लै नै थिए।
त्यसपछिको मेरो दैनिकीः
हरेक दिन म बसहान ५:३० मा उठेर आफ्नो दैनिकी कर्म सुरु गर्थेँ। ६ बजेदेखि ६:३० सम्म समाचार सुन्थेँ। समाचार सुनेपछि म योगा गर्न सुरु गर्थेँ। करिब-करिब ७:३० सम्म योगा गर्नमा व्यस्त हुन्थेँ। अनि ७:३० देखि ८ बजेसम्म मेरो चिया तथा खाजा (अण्डा, चना, रोटी) खानमा समय व्यतित हुन्थ्यो। ८ बजेपछि बिहानको खाना बनाउन तयारी गर्थेँ, १० बजे बिहानको खाना खाइ सक्थे। खानामा हरियो तरकारी, दाल, भात, सलाद लगायतको प्रयोग गर्थे।
मनोबल र कौतुहलताः
संक्रमित हुँदाको दिनदेखि आजसम्म मैले कहिले पनि म संक्रमित छु, के होला? कसो होला? भन्ने सोचिनँ। सधै उच्च मनोबल बनाएँ। सुभचिन्तकहरुबाट विभिन्न सामाजिक सञ्जालमा लेखिएका कविता, लेख, विभिन्न सुझाव तथा सान्त्वनाले झनै उत्साहित भएँ। मैले धेरै विदेशमा रहनुहुने साथीहरुसँग त्यहाँको कोरोना व्यवस्थापनको विषयमा पनि जानकारी लिएँ।
धेरै ठाँउहरुमा मैले अपनाएको विधि पनि प्रयोगमा रहेछ। रहस्यमय रुपमा मलाई देखिएको यो संक्रमण मेरो सम्पर्कमा आउनुभएका अरुमा होला वा नहोला भन्ने कौतुहलता मेरो मनमा छाइरहन्थ्यो। म आफै सुरक्षित भएर हिँड्ने भएकोले मबाट अरुमा संक्रमण भएको छैन भन्नेमा धेरै विश्वस्त थिएँ। दिनहरु बित्दै गए कुनै लक्षण बिना नै मेरा दुई वटा रिपोर्ट नेगेटिभ आए। साथीहरूलाई भन्थेँ, मैले एक जनालाई पनि सारेको छैन।
नभन्दै मेरो कन्ट्याक ट्रेसिङ्मा आएका सबैको रिपोर्ट नेगेटिभ आयो। कोभिड-१९ को एक मात्र उपचार उच्च मनोबल भएकोले म त्यसैमा लागि रहेँ। मेरो निश्कर्ष, कोरोनाको उपचार भनेको उच्च मनोबल र शाहस नै हो भन्ने अनुभव रहेको छ।
संक्रमण र गाउँको बसाईः
म अचम्मित पर्थेँ सुरुमा कोरोना आउदा चीन, युरोप, अमेरिकामा संक्रमितको उपचारमा प्रयोग भएका सम्पन्न हस्पिटल, भेन्टिलेटर देख्दा र नेपालमा यस्तै गरि उपचारको सम्भावना सोच्थेँ। हुनत नेपालमा अन्य देशको जस्तो माहामारी र भाइरसको प्रकृति फरक छ। तै पनि भनिन्छ तर सुरुको गाउँको आतंक वर्णन गर्न सकिन्न।
संक्रमित भएपछि पनि गाउँमै बस्दा समाजमा रहेको कोरोनासम्बन्धि त्रास र आतंक धेरै मात्रामा कम भएको महशुस मैले गरे। कोरोनाको बारेमा धेरैले बुझ्न नसक्दा सामाजिक रुपमा बहिष्कार गर्ने, हेर्न समेत हुन्न भन्ने सोचाई थियो। अहिले भने त्यो सोचाईको अन्त्य भएको छ। संक्रमितको नजिक समेत जान हुँदैन भन्ने भय थियो, गाउँमै बस्दा छिमेकी बुबा-आमा, दाजुभाई तथा दिदि बहिनीहरु समेत भेटघाट गर्न आउदा स्वयं मेरो मनोबल उच्च भयो नै, आउनेहरुमा पनि कोरोना सामान्य रहेछ भन्ने बुझाई भयो।
मलाई परैबाट भेटेर फर्किनुहुनेहरु कोही आँसु पुच्छ्दै पनि जानु हुन्थ्यो। मलाई यो कुराले मन छुन्थ्यो,नरमाइलो लाग्थ्यो सायद उहाँहरु म छिटोभन्दा छिटो निको होस् भन्ने निस्वार्थ सोच्न्नुहुन्थ्यो। केही होइन, भुपाल त झन् फुर्तिलो हुनुभाछ भन्नु हुन्थ्यो रे घरमा गएर। यसरी मैले कोरोनाबारे बढीरहेको त्रासलाई कम गराएको महशुस गँरे। सामाजिक र पारिवारिक सहयोग पनि यसको महत्त्वपूर्ण औषधी रहेछ।
गाउँको बसाइँ ठूलो उपलब्धिमूलक रहन पु्ग्यो। त्यसैगरी गाउँमै बस्दा स्थानीय उत्पादन ताजा र अर्गानिक खाना खान पाउँदा त्यसको आनन्द बेग्लै हुँदो रहेछ। त्यसैले संक्रमित हुँदैमा आत्तिएर अस्पताल जानु पर्दैन। कुनै लक्षण देखिएको छैन भने भौतिक दूरी कायम गरेर घरमा छुट्टै बस्दा दुई हप्तामा निको हुन्छ। गाउँको हावापानी, समाज, घर परिवार तथा छिमेकीको ठूलो भूमिका हुँदो रहेछ।
गाउँले जडिबुटीको प्रयोगः
यो रोगको औषधी नभएको हुँदा मलाई आत्मबल र गाउँले जडिबुटीलाई औषधीको रुपमा लिए। म संक्रमण हुँदाको दिनदेखि बेसार, नुन पानी धेरै पिएँ। त्यसको साथमा समुदायबाट ल्याइदिनु भएका विभिन्न जडिबुटीहरु कागतीको फल र पात, गुर्जो, बोझो, तुलसीको पात, बामरी, पुदिना, अदुवा, लसुन लगायतका जडिबुटीहरुलाई दैनिक रुपमा प्रयोग गरे। यि जडिबुटीहरुको प्रयोगले रोगसँग लड्न सक्ने क्षमताको विकास गर्ने हाम्रो सामाजिक मान्यता समेत रहेको छ। जुन म आफैले अनुभव गरे।
सरसफाईः
रोगलाई जित्ने सबैभन्दा राम्रो उपाय भनेको आफ्को व्यक्तिगत सरसफाईमा ध्यान दिनु हो जस्तो मलाई लाग्यो। मैले प्रत्येक दिन सकेसम्म तातो पानी तताएर नुहाउने काम गरेँ। व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिएँ। कोठा र भान्छा कोठाको सरसफाईलाई दैनिक रुपमा निरनतरता दिएँ। सौचालयको सरसफाईलाई पनि उत्तिकै ध्यान दिएर सफा राखेँ। कोरोनालाई जित्न र फैलन नदिन सरसफाई अति महत्वपूर्ण हुँदो रहेछ। यसलाई सबैले ध्यान दिनु पर्ने आवश्यक छ।
केही कुराले दुःखी बनायोः
मदाने र धुर्कोटमा कोरोना संक्रमण देखिएपछि जिल्लाकै सदरमुकाम तम्घासमा धुर्कोट र मदानेका मानिसहरु जाँदा गरिने व्यवहारमा फरकपन, विभिन्न संघ संस्थाले गरेको बजार बन्द र मेरो गाउँको बसाईलाई लिएर केही व्यक्तिहरु जिल्लामा बसेर गरेका टिका-टिप्पणीले साच्चिकै गाउँभन्दा सहरका बुद्धिजिवीहरुमा देखिएको भय, त्रास र अहमताको व्यवहारले निकै दुःख लाग्यो। विपत्तिमा आफ्नो गाउँ-ठाउँ जति सहयोग हुन्छ अन्य ठाउँबाट कम हुँदो रहेछ। विशाल छाती र मायालु मुटु भएका व्यक्ति गाउँमा बस्दा रहेछन्। सामाजिक भावना, सहयोगी मन, दुःख सुखमा साथ त गाउँमै पाइदो रहेछ भन्ने कुरा मैले यो बसाइमा महशुस गरे।
यो समयले मलाई के सिकायो?
यो समयमका मलाई रोगसँग लड्नु नै थियो। यो अवस्थामा आफ्नो गाउँ-ठाउँ र भूमिको लागि सबै कुराले सम्पन्न बनाउन अझै प्रेरित गरायो। कृषि उत्पादनमा वृद्धि, रोजगारी सिर्जना गर्ने, गाउको आत्मनिर्भरतादेखि भावनात्मक रुपले पनि आफू बसेको ठाँउप्रती र यहाँको समग्र जनताको जिवनस्तर उकास्न र सर्वपक्षिय विकासमा लाग्न अझै उर्जावान् बनायो। हरेका बिपत्तीमा सम्भावना र चुनौती दुवै रहेका हुँदा चुनौतीको सामना गदै सम्भावनालाई अवसरको रुपमा लिएको छु।
खुशीको क्षण
यो समयमा सबैबाट पाएको माया, प्रेरणा, शाहस, सहयोगको साथमा मैले कोरोना जितेको दिनसँगै मेरो कन्ट्रयाक ट्रेसिङमा आउनु हुने सबैको रिपोर्ट नेगेटिभ आउँदा र मेरो साबधानी प्रति निकै खुशी लाग्यो।
मेरो बुझाइमा कोरोनाः
आफैले नेतृत्व गरेर आम जनसमुदायलाई संक्रमणबाट जोगाउन संघ, प्रदेश र गाउँपालिकाले गरेका विभिन्न निर्णयहरु कार्यान्वयन गर्ने क्रममा म आफै संक्रमित हुन पुगेँ। यो संक्रमणका विरुद्ध लडाइ लड्दा सजिलै जित्न सफल भएँ। यो जितका लागि पहिलो कुरा उच्च मनोबलको साथै बसाई व्यवस्थापन, गुणस्तरीय र सन्तुलित खाना, सरसफाई र स्थानीय जडिबुटीहरुनै प्रमुख हुने रहेछ।
समाजमा जुन आतंक, त्रास रहेको छ, पहिले ममा पनि थियो। तर अहिले यो त्रास मेरो मनबाट हटेको छ। यो भाइरस सामान्य नै रहेछ। संक्रमित जो-कोही पनि हुन सकिन्छ। गर्भवती, सुत्केरी दीर्घरोगी र जेष्ठ नागरिकहरुले पनि केही मेहनतका साथ जित्न सक्नुहुन्छ। तर उहाँहरुलाई संक्रमित हुनबाट जोगाउनु नै तपाई हाम्रो महत्वपूर्ण भूमिका हुनुपर्छ।
प्रचार गरिए जस्तो यो भाइरसलाई जित्न गाह्रो छैन। भौतिक दूरी कायम राख्दै सुरक्षाका सबै विधिहरु अपनाएर उच्च सतर्कताका साथ नियमित कामकाज, पेशा, व्यवसाय सञ्चालन गर्न सहज वातावरण बनाउनु पर्छ।
अन्त्यमा,
म संक्रमित भईसकेपछि नियमित रुपमा स्वास्थ्य अवस्था र थप स्वास्थ्यमा आउन सक्ने समस्याका लागि खट्नु हुने स्वास्थ्यकर्मी, मेरो अन्तर्वार्ता र विज्ञप्तीलाई आम जनसमुदायको बीचमा लैजाने सम्पूर्ण सञ्चारकर्मी, मेरो मनोबल उच्च राख्नको लागि विभिन्न कविता, लेख, शुभेच्छा राख्नुहुने व्यक्तित्वहरु, छिटो निको होस् भनेर कामना गर्नु हुने सम्पूर्ण वुबा-आमा दाजुभाइ तथा दिदीबहिनीहरु साथै सम्पूर्ण जनप्रतिनिधी, कर्मचारी, व्यसायिक, शिक्षक, राजनितिक दलका नेता कार्यकर्ता, स्वयमसेवकहरुलाई विशेष धन्यवाद।
धुर्कोट गाउँपालिका वडा नम्बर ४ का संक्रमित लगायत सम्पूर्ण संक्रमितहरुलाई छिटो निको भई कोरोनालाई जित्नु हुनेछ भन्ने आशा गरेको छु। यस रोगबाट ज्यान गुमाउनु हुने प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। धन्यवाद।
(लेखक धुर्कोट गाउँपालिका, गुल्मीका अध्यक्ष हुन्।)