जति सुक्ष्म हाम्रो अस्तित्व
त्यति विशाल हाम्रो उडान
यही कलिला पाखुरामा अडिएको छ देशको शान, बालक।।
शरीरमा चम्किलो विद्यालय पोषाक, काँधमा विद्याको भारी अनि सिक्ने रहर बोकेका पाखुरा। बाध्यता र रहर एक सिक्काको दुई पाटा भएता पनि बाध्यताको खटनले रहरलाई नझुकाउने पक्कै पनि होइन।
नेपालको जनसांख्यिकी संरचना अनुसार लगभग ४० प्रतिशत बालबालिकाहरु १८ वर्षभन्दा कम उमेरका रहेका छन् जसमध्ये १.६ मिलियन श्रम रोजगारीमा आवद्ध भएको देखिन्छन् (श्रोतः युनिसेफ नेपाल र आईएल्व नेपाल)। कलिला ओठमा जुँगा रेखि बस्न नपाउँदै काम र मामका लागि कैयौँ बालबालिकाहरु आफ्नो सामर्थ्यभन्दा बढी मिहिनेत गर्न बाध्य छन्।
दुई दशक यता नेपालले बालबालिकाको विकास अनि गुणस्तरीय जीवनका लागि प्रशंसनीय सफलताको ढोकाहरु खोलिसकेको छ। सहश्राब्दि विकास लक्ष्यलाई सारथी बनाउँदै बालबालिकाको मौलिक हक अनि विकासको सुनिश्चिततालाई मध्यनजर गर्दै 'बालबालिकाको लागि एक सहज संसार' भन्ने सोचलाई अग्रसर बनाएर कार्यक्रमहरु ल्याइयो।
न्यायको पानामा कुँदिएका परिवर्तनका गाथा अनि वास्तविक भोगाइमा फरक त अवश्य नै हुन्छ। अनि यहाँ एउटा प्रश्न चिह्न उठ्छ 'त्यो सहज संसारमा सबै बालबालिका सहजै अटाए त?' यदि पहलको गति यति नै सिमित रह्यो भने २०२५ सम्ममा बालश्रमलाई पूर्ण रुपमा हटाउने दिगो विकासको लक्ष्य पनि अजकल्टो नहोला भन्न सकिन्न।
बालश्रम कत्तिको गम्भीर छ त? यो हामी आफ्नै आँखाले मापन गरौँ त। टाढा जानु नै पर्दैन, हाम्रो दैनिक जीवनमा कति पटक ती कलिला श्रमिकहरुसँग ठोकिन्छौँ। अफिसबाट घर फर्कदा बसको कन्डक्टर बच्चा हुन्छ, त्यही बसको ताँतीको बीचमा दिदी/दाइ पानी खानुहुन्छ भन्दै पानीको बोत्तल बेच्ने बच्चा हुन्छ, बाल अधिकारको भाषण घन्काउदैँ गर्दा त्यो सभामा शब्दको र विचारको लहरलाई चियाको चुस्किले रंगाउने पनि त्यही बच्चा हुन्छ।
चाहे होटल होस् वा होस्टल अनि साथि/आफन्तको घर होस् वा आफ्नै घरमा भाँडा धुने नानी, यी सबै कुरालाई हामी आफैले सहज बनाई राखेका छौँ अनि त्यही सहजता भित्रको संसारमा बच्चाहरु अटाउनै सकेका छैनन्। दैनिक रुपमा आइरहने समाचार अनि बालबालिकाकै लागि तयार पारिएको कार्यक्रम, बजेट र सभा/सम्मेलनहरुको बारेमा सुन्दा त आनन्द लाग्छ तर बालश्रम हट्यो रे भन्ने समाचार कहिले सुन्ने होला भन्दै गिन्ति सुरु गर्न मन लाग्छ।
धेरै टाढा पनि त छैन त्यो दिन, होइन र? तर नजिक ल्याउने पनि त कसरी? जुन कुरा पनि प्रश्न चिह्नमा नै किन टुङ्गिन्छ। सायद अब पूर्ण बिराम खोज्नै पर्छ।
अथक प्रयास अनि सहयोगका बावजुद पनि अझै त्यो बाध्यताको जरो कहाँनिर छ भनेर समाउन सकिएको छैन। त्यसो भए के गर्न सकिन्छ त? सबैको सोचलाई एकै ठाँउमा जम्मा पारेर मन्थन गरौँ न।
समस्या छ भने त आखिर समस्यालाई नै उखलेर फाल्ने त हो होनि, बालश्रमको जरै नरहे कस्तो होला?
तर एकछिन! बाध्यता अनि विभिन्न परिस्थितिहरुको गाँठोले जेल्लिएर श्रमिक बन्न पुगेका निर्दोष बच्चाहरुको के नै दोष छ र? उनीहरुको पेट नै मार्दिने र? हो, त्यसैले अब सोच अर्को दिशामा मोड्न आवश्यक छ।
हामीले ती कैयौँ परिस्थिति खोतल्नु छ जसले श्रमलाई डोरायो। श्रमलाई भन्दा पनि त्यो गरिबीलाई हटाऔँ जसले बच्चाहरुको पढ्ने, लेख्ने, रमाइलो गर्ने अनि संसार चिन्ने अवसरलाई अल्झायो र त्यहाँ पुरायो जहाँ उनीहरु अट्ने संसार नै छैन।