समाजका विभिन्न व्यबस्था र प्रणालीमा बिचारका दुई धार देखिन्छन्। त्यसै गरी नै हाम्रो समाजका युवामा पनि राजनीतिको बिषयलाई लिएर एक किसिमको बिभाजन देख्न पाइन्छ।
एकथरी युवा राजनीतिलाई आफ्नो धर्म नै ठान्छन्। जसरी फरकफरक धर्मले ईश्वर प्राप्तीका फरकफरक उपाय बताउँछन्।
तर अन्तिम उद्देश्य वा गन्तब्य एउटै परमेश्वर हुन् भन्छन्। त्यसैगरी युवा पनि फरक फरक बिचार राख्ने राजनीतीक पार्टीमा आबद्द भएर अन्तिम उद्देश्य ‘साम्यबाद वा समाजबाद’ का लागि निरन्तर लडिरहन्छन्।
उनीहरु माटो सुहाउँदो सफल ब्यवस्थाको परिकल्पना गरेर देशलाई अग्रगामी बाटोतर्फ डोर्याउन निरन्तर संघर्षमा लागिरन्छन्।
उनीहरु जहाँ र जस्तो रुपमा भएपनि राजनीतिक रुपमा चेतनशील हुन्छन् र बिचार बिमर्श गर्न पनि सक्षम हुन्छन्।
यो बर्ग देशको राजनीतिको मेरुदण्ड हो। आजसम्म देशमा भएका सबै आन्दोलनहरू र ब्यवस्था परिवर्तनका लागि भएका संघर्षमा यो बर्गले निर्णायक भूमिका खेलेको छ।
राजनीतिलाई माहुरी को घारसँग तुलना गर्दा यो बर्गलाई फूलको रस संकलन गर्ने कामदार माहुरी भन्न सकिन्छ जो दिनरात बिकास र परिवर्तनका लागि खट्टिन्छन्।
त्यसैगरी अर्को बर्ग छ जसलाई राजनीतिमा कुनै चासो छैन। उनीहरु आफ्नो भविष्य राजनीतिको परिधीभन्दा बाहिर रहेर कल्पना गर्छन्। उनीहरु राजनीतिलाई फोहरी खेलको संज्ञा दिन्छन र आफूलाई यसको उल्झनमा फसाउन चाँहदैनन्।
कतिपयलाई त सामान्य स्तरको राजनीतिक चेतना पनि हुँदैन। देशमा कस्तो ब्यवस्था थियो र छ? राजनीतिक प्रणाली कस्तो छ?, देशको संघर्ष, राष्ट्रिय मुद्दा लगायतका विषयमा उनीहरु खासै चासो राख्दैनन्।
यो बर्गलाई त्यही घारका भाले माहुरीसँग तुलना गर्न सकिन्छ। जो रस लिन त जाँदैनन् तर ल्याएको रस भोगचलन गर्छन्। अर्थात् राजनीतिक परिवर्तनका संवाहक बन्न चाँहादैनन् तर त्यसका सुबिधाभोगी अवश्य बन्छन्।
कतिपयको नियत हुनसक्छ र कतिपयको नियती। यो बर्गका धेरै जनाले आफ्नो भविष्य युरोप, अमेरिका र अस्ट्रेलियाका रङ्गिन शहरमा खोज्छन् र नेपाल मै रहे पनि खासै राजनीतिसँग जोडिन चाहाँदैनन्।
साथै निम्न बर्गीय युवा जो आफ्नो परिवारको पेट पाल्न दिन रात मजदुरीमा अल्झिएको छ र दुई छाक खानालाई नै नागरिकता, झण्डा र ब्य्वस्था ठान्छ, ऊ पनि यही बर्गमा पर्छ।
यसरी देशका युवा राजनीती अर्थात् राज्यको नीतिमा दुई धारमा बाँडिनु ठूलो संघर्ष पछि प्राप्त भएको ब्यवस्थाका अवयबलाई खोक्र्याउने दिशातर्फ डोर्याउनु हो। आफ्ना पार्टीका नेतालाई सर्वश्रेष्ठ गुरु ठानेर क्यामपस र चोकमा खुकुरी नचाउने युवा हुन् या देशका कुरिती र बिसंगती बुरुद्ध चुइक्क नबोली रमिते बनेर बस्ने युवा हुन यी दुबै किसिमका युवाबाट देशलाई कुनै दीगो फाइदा छैन।
यदी युवाहरु आफ्नो नेतृत्व र संगठनप्रती अतिबादी बिचार लिएर हिँड्छन् भने उनीहरु सजिलै दुरुपयोग हुन्छन्। साथै अतिबादी भक्त प्रबृत्तीले राजनीतिक दलका गलत काम र प्रबृत्ति ढाकछोप हुने गरेको छ। साथै अर्कोतर्फ राजनीतिमा चासो नराख्ने वा राजनीतिक चेतना भएपनी स्वतन्त्र विचार राख्ने युवा नहुँदा राज्यको माथिल्लो स्तरबाटै गलत निर्णय हुँदा पनि त्यसको प्रतिबाद हुँदैन। अनि राज्यको नेतृत्व स्तरमा रहेका केहि पहुँचवालाहरुले सधैँ राज्यको स्रोत साधनको दोहन गरिरहन्छन्।
बुद्धको बाटो
भगवान बुद्धले भनेझैँ दुई फरक धारको अतिबादले ल्याएको समस्याको समाधान मध्यमार्गी बाटो नै हो।
अबको युवा पुस्ताले पनि यस सम्स्याको समाधान मध्यमार्गी बाटोबाटै खोज्न पर्छ। अहिलेको युवापुस्ता खासै राजनीतिमा आबद्द हुन चाँहदैन।
प्रविधिको नयाँ युगमा प्रवेश गर्दै गरेको विश्वसमाज होस् या उद्यमिताका सम्भावनाका अनेक पाटाहरुमा होस् नयाँ युवापुस्ता पुरातन समाज र सोँच भात्काउँदै फरक कोणमार्फत आफ्नो भविष्यको खोजी गर्दै छन्।
यो नै विकासको पहिलो चराण हो। तर यसो गर्दै गर्दा हामीहरु देशको राजनीती वा त्यसले निम्त्याउने परिस्थितिबाट टाढा रहन सक्छौँ भन्ने अवस्थाको परिकल्पना पनि गर्न सकिन्न। त्यसैले अबको युवापुस्ताले राजनीतिक चेतना हासिल गरेर स्वतन्त्र रही सहीलाई सही र गलतलाई गलत भन्न सक्ने सामर्थ्य राख्नु पर्छ।
छिमेकी राष्ट्र भारतका युवा माझ यो संस्कृती स्थापित भैसकेको छ। कुनै बेला नाम चलेका घरानीया, जवाहरलाल नेहरु विश्वबिद्याअलय र केहि सरकारी विश्वबिद्याका युवामा सीमित रहेको भारतीय युवा राजनिती अहिले आइआइटी र एनआइटीसम्म पुगेको छ।
दिल्लीका मुख्यमन्त्री अर्बिन्द केजरिवाल र आलोक अग्रवाल यसका उदाहरण पात्र हुन्। भारतीय युवाहरु आजभोलि आफ्नो कारियर र राजनीतिक बिचार र चेतनालाई सँगै अगाडि बढाउँदै छन्। उनीहरु राष्ट्रिय मुद्दामा खुलेरै बहसमा उत्रन्छन्।
युवा जब संगठित हुन्छन् तव अथाह ऊर्जा पनि संगठित हुन्छ। यदी यो ऊर्जालाई कुण्ठित गराउन खोजिन्छ भने बिष्फोट हुन्छ र पुरै ब्यवस्था नै ध्वस्थ हुन सक्छ।
त्यसैले युवा आवाजको उचित सम्बोधन र उर्जाको उचित सदुपायोग हुनु पर्छ। तर युवा भावना र क्षणिक आवेगमा बहकिने जमात पनि हो।
नेपथ्यको तथ्य के हो भन्नेमा भन्दा पनि कहिलेकाहिँ यो बर्गले मन्चमा देखिएको वा देखाइएको दृश्यलाई यथार्थ ठान्छ र दुरुपायोग हुन पुग्छ।
त्यसैले युवापुस्ताले कुनै पनि विषयलाई हरेक कोणबाट विष्लेषण गरेर त्यसभित्रको यथार्थ बोध गरेर अगाडि बढ्नु आवश्यक छ।
चाँदीको घेरो
हिजोसम्म भारतसँग हुने विवाद, सीमित राष्ट्रिय मुद्दा र विश्व खेलजगत र रङ्गमन्चका केहि मसालेदार घटनामा मात्र युवा खुलेर बहस गर्दथे। राजनीतिक विषयमा हुने अधिकांश बादविवाद स्वतन्त्र विचार राख्ने युवाका माझभन्दा पनि राजनीतिक कार्यकर्ताका माझ हुने गर्दथ्यो।
तर पछिल्ला केहि दिनहरुका घटनालाई हेर्दा अब युवाहरुको राजनीतिक विचारले नयाँ बिहानी पाउन लागेको हो कि भन्ने लाग्छ।
पछिल्ला केहि महत्वपुर्ण राजनीतिक र सामाजिक घटनाहरुलाई केन्द्रमा राखेर युवाहरु समाजिक संजाल र सडकमै बहस र खबर्दारीमा उत्रीएका छन्।
कहिल्यै बजेटमा चासो नराख्ने युवाहरुले यो वर्ष बजेटलाई नियालेर हेरेका छन्। साथै सरकार र प्रतिपक्ष दलको भूमिकालाई केलाउँदै छन्।
सिंगो राष्ट्र तब झास्कियो जब युवाहरु स्वतस्फुर्त रुपमा फेसबुकमा सल्लाह गरेर हजारौँको संख्यामा यस लकडाउनमा भएका लापरबाहीका बिरुद्ध देशको झाण्डा बोकेर बिभिन्न शाहरमा उत्रिए।
यस प्रदर्शनीले सरकार र सबै राजनीतिक पार्टीलाई आफ्नो कार्यशैली प्रति एकपटक सोच्न बाध्य गराएको छ।
साथै अबका युवा कुनै दलको ह्वीपमा भन्दा पनि आफ्नै चेतनाको आधारमा परिचालित हुनेछन् भन्ने सन्देश दिएका छन्।
देशका युवा यसरी स्वतस्फुर्त रुपमा एकजुट भई बिसंगतीका बिरुद्ध उठ्नु स्वतन्त्र राजनीतिक संस्कारको बिहानी हुन सक्छ।
यो प्रदर्शनीले अबको पुस्ताले कतै नयाँ बिकल्प त खोजेका होइनन् भन्ने प्रश्न उठाएको छ। तर यो प्रदर्शनीको नेतृत्व कसले गरेको छ, यसको संरचना र परिचालन व्यवस्थापन कसले गर्दै छ साथै बिकेन्द्रीकृत प्रदर्शनीको मीयो प्रष्ट नदेखिँदा यसप्रति आशंका जनाउने पनि उत्ति नै छन्।
अझ राष्ट्रिय महत्वका केहि निर्णयलाई ओझेलामा पार्न युवा बर्गलाई प्रभावमा पारी सारा राष्ट्रमा अस्थिरताको बतावरण निर्माण गर्न सुनियोजित रुपमा डिजाइन गरिएको प्रोपगाण्डा हो भन्ने आरोप पनि लागेको छ।
तर यसको जवाफ समयसँगै पाइएला। तत्कालका लागि युवाहरु आफैं संगठित भएर बिसंगतीका बिरुद्धमा उतृएको कुरालाई नकार्न सकिन्न।
तर उर्जा संकलन भन्दा पनि ऊर्जा परिचालन र ब्यवस्थापनले विशेष महत्व राख्छ। संकलित ऊर्जाको उतारचढावलाई व्यवस्थापन र नियन्त्रण गर्न सकिएन भने कुनै पनि बेला यसले आत्मघाती प्रहार गर्न सक्छ।
पछिल्ला घटना हेर्दा युवाहरुको आन्दोलन पनि यही रोगले ग्रसित भएको देखिन्छ। सुरुका केहि दिन ब्यपाक समर्थन पाएको यो आन्दोलनले पछिल्ला दिनहरुमा सम्पूर्ण आवाज हरुलाई संबोधन र व्यवस्थापन गर्न नसक्दा आन्दोलन नै तुहिने अवस्थामा पुगेको छ।
हिजो मेरा बाउबाजेले फलानो पार्टीको झण्डा बोकेका हुन् अब मैले पनि त्यसैलाई निरन्तरता दिनुपर्छ भन्ने मानसिकता आजका युवाले बोक्दैनन्।
अहिलेको युवा क्रमभंगमा विश्वास राख्ने पुस्ता हो। त्यसैले राजनीतिक दलहरुले अहिलेको युवा आवाज र भुमण्डलिकरण भित्रको युवा स्वतन्त्रता र अधिकारलाई बेवास्था गरी अघी बढ्न खोजे युवाहरुले नयाँ बिकल्पको स्थापना गर्न सक्छन्। अहिलेका युवाले संसारलाई नजिकबाट नियाल्न सक्छन्।
अन्य देशका युवाको तुलनामा आफूलाई आफ्ना अधिकार र सुबिधाबाट बन्चित गराइएको महसुस गरे उसले बिकल्पका बाटाहरु खोज्न थाल्छ।
देशका सबै युवाले उसैगरी सोच्न थाले व्यवस्था नै परिवर्तन हुन सक्छ। अब तपाईं सोँच्न सक्नुहुन्छ उत्तर कोरियाले इन्टरनेटमाथि किन नियन्त्रण लगाउँछ होला?
पछिल्ला चुनावमा केहि नयाँ दलले आफूलाई बैकल्पिक शक्तिको संज्ञा दिएर युवा उमेदवार लिएर चुनाबको मैदानमा आए।
सामाजिक संजाल र युवापुस्ता माझ ती दलले राम्रो छाप पारेको देखिन्थ्यो। उनीहरुका पक्षमा युवाले खुलेर बहस पनि गरे। तर त्यो आशा र चर्चा सामजिक संजाल मै सीमित रह्यो।
चुनाबको नतिजा आउँदा आफूलाई बैकल्पिक शक्ति ठान्ने कतिपय उमेदवारको जमानत नै जफत भयो।
न्युनतम राजनीतिक र सामजिक ज्ञान पनि नभएका उमेदवार खडा गरेको आरोप लाग्यो। पछि सम्पूर्ण युवा आवाजलाई एउटै छाता मुनी ल्याउने भनेर भएको पार्टी एकता लगत्तैको बिभाजनले ‘जति जोगी आए पनि कानै चिरेका’ भन्ने भनाइ मात्र सिद्द गर्यो।
यदी हामीले ‘समृद्द नेपाल, सुखी नेपाली’ भन्ने नारालाई यथार्थमा बदल्नु छ भने अबका युवाले आफूलाई राजनीतिका क्षेत्रमा पनि चेतनशील बनाउनु आवश्यक छ।
साथै राजनीतिक दलका नेतृत्वले युवा पुस्तालाई सधैं छाँयामा राखेर आफैं सर्वेसर्वा बन्न खोज्छन् भने त्यो उनीहरुको पतनको बाटो हो। आज भन्दा सय वर्ष अघि नै अमेरिकी युवाहरुले अपनाएको स्वतन्त्र राजनीतिक विचारले नै आज अमेरिका महान बनेको छ।
हरेक चार वर्षमा हुने राष्ट्रपतिय चुनाबमा कुन उमेदवारले कस्तो नीति बोकेको छ र राष्ट्रिय मुद्दालाई कसरी संबोधन गरेको छ भन्ने कुरालाई युवाहरुले ध्यान्पूर्वक विष्लेशण गर्छन्।
नेपालामा पनि यस्तै संस्कारको स्थापना नगर्दासम्म युवाहरु राजनीतिक दलका सत्ता प्राप्तीका मोहोरा मात्र बन्नेछन्। तर कहिँ न कहिँ सामाजिक संजालबाट स्वतस्फुर्त रुपमा राज्यलाई खबरदारी गर्न एकबद्द भएका युवाले कालो बादल चिर्दै गरेको चाँदीको घेरो देखाएका छन्।