मध्यम परिवारकी छोरी म हाल कक्षा एघारको परीक्षा कुरेर बसिरहेकी छु। मेरो बाबा सरकारी जागिरे हुनुहुन्छ भने आमा पढे-लेखेकी गृहणी हुनुहुन्छ। मैले सानैदेखि खासै दुख कष्ट भोग्नुपरेको छैन। साधारणतया मैले माग गरेको केहीछिन वा दिनमै मेरो माग अनुसारको सामान मिल्ने गरेको नै छ।
नमिठो खाने, भोकै सुत्ने , नराम्रा र मन नपरेका लुगा लगाउने भन्ने त मेरो कल्पनामै आएन भन्दा नि हुन्छ। बुझ्ने भएदेखि नै घरमा दुइटा दैनिक पत्रिका आउँथे। त्यसैले पत्रिका पढ्ने बानी सानैदेखि बस्न गयो।
परिवारमा थोरै राजनीतिक माहौल पनि भएको हुँदा अलि अलि राजनीतिमा चासो पनि छ। देशमा दैनिक घट्ने राजनीतिक, सामाजिक , आर्थिक घटनाले मेरो ध्यान तान्ने गर्छ।
सानैदेखि बानी लागेर होला बिहान उठ्ने बित्तिकै आँखाले पहिला पत्रिका नै खोज्छ। समय मिलेसम्म अनलाइन पत्रिका नि हेर्ने गर्छु। बेलुका नि टिभीमा कम्तिमा आठ बजेको समाचार हेर्ने र बिबिसी नेपाली सेवा सुन्नुका साथै अन्तर्राष्ट्रिय समाचार पनि हेर्ने गर्छु।
पत्रिकामा आफूलाई मन परेका समाचार, लेख आदिको कटिङ गरेर राख्ने गरेकी छु।
देशमा बन्दाबन्दी सुरू भएपछि हालको मेरो दैनिकी भनेको पत्रपत्रिका पढ्ने, टिभी हेर्ने र केही कोर्षका किताब पढ्ने अनि बाँकी समय अन्य किताब पढ्ने गर्छु।
बन्दाबन्दी भएको र घरमै बस्नुपरेको हुँदा त्यसको कारण कोभिड १९ ले त ध्यान तान्ने नै भयो।
खासमा आजकल त पत्रिका पल्टाउने वा रेडियो /टिभी खोल्ने बित्तिकै पहिला जाँचको समाचार कतै छन् कि भनेर आँखा जाने गर्छन्। त्यसपश्चात् कोभिड १९ महामारी, त्यसले बिरामी भएका र मृत्यु भएका मानिसको तथ्यांक, नेपालमा त्यसको असर र व्यवस्थापनसँग सम्बन्धित समाचारमा ध्यान जाने गर्छ।
यही दैनिकीबीच हालै पत्रिकाको अग्र पृष्ठमा आएका दुई समाचार शिर्षकले मेरो मथिंगल नराम्ररी रिंगाएको छ।
एक “रुकुम घटना” र दोस्रो “सरकार पेटभरि खान मन छ” भन्ने शिर्षक रहेको कान्तिपुर दैनिकमा प्रकाशित समाचार।
रुकुम घटनालाई मैले बुझ्ने प्रयास गर्दै छु तर “सरकार पेटभरि खान मन छ” भन्ने समाचार शिर्षक र त्यहाँ लेखिएको समाचारले मलाई धेरै नै दुखी र विचलित बनाएको छ।
यो “सरकार पेटभरि खान मन छ” भन्ने समाचार शिर्षक पढ्नु अघि मैले याक चिज र पाउरोटी खाएर पत्रिका पढ्न तल झरेकी थिएँ (कोरोनाका कारण आजकल पत्रिका गेटभित्र कम्पाउन्डमा बसेर पढ्ने गरेका छौं)।
त्यो समाचार पढेंपछि मलाई अतिनै ग्लानी भयो।खाएको त्यो याक चिज र पाउरोटीले दिग्मिग लाग्न थाल्यो। त्यसपछि मैले बन्दाबन्दी सुरू भएपछि हामीले घरमै बसेर खाएका परिकारहरू जति जति सम्झँदै गए उतिउति ग्लानी महशुसको गति बढ्दै गयो। युट्युबमा ‘रेसिपी’ हेर्दै थरिथरिका परिकार बनाएको अनि परिकारको ओरिजिनालिटी नआएको भन्दै त्यो परिकार फ्याँकेको, बाबा कार्यालय जाँदा यो ल्याइदिनुस्, त्यो ल्याइदिनुस् भन्दै माग गरेको र बेलुका बाबाले नल्याएको भए झगडा गरेको सम्झँदै गर्दा नरमाइलो लाग्यो।
लेखको अन्तिम हरफसम्म पुग्दा त म ज्यादै निराश र आफैंमा आक्रोसित हुन पुगें। यहाँ मलाई छानी छानी रोजी रोजी खाने सुविधा छ भने मेरै नेपालकी अर्की चेली र उनको बच्चाको त्यो अवस्था ? यसको लागिको जिम्मेवार?उनले किन खान पाइनन्? मलाई थाहा छ अहिले असामान्य अवस्था छ, तर यस्तै अवस्थाको लागि होइन सरकार चाहिने ? यी र यस्तै कुराले म बेचैन छु आजकल।
यसै त बन्दाबन्दीले घरमा बस्दा चिढिएको मेरो मनस्थिति त्यसमाथि यी र यस्ता समाचार पढ्दा धेरै पीडा हुने गरेको छ।
मेरो घरमा चौरासी गरेकी हजुरआमा हुनुहुन्छ। उहाँबाट सिकेर हामीले खान खानु भन्दा पहिले जहिले पनि भगवानलाई चढाएर अनि कागबली दिएर मात्र खाना खान्छौं। खाइसकेपछि अन्न उब्जाउने किसान, किनेर ल्याउने बाबा अनि पकाएर खुवाउने आमालाई धन्यवाद दिन्छौं। यसरी चल्दै आएकी मलाई ती पेटभरि खान नपाएकी आमा र कुपोषण लागेको बच्चाको अवस्था देखेर यी भगवान, सरकार, अभिभावक, समाज किन र कसका लागि भनेर घोत्लिन थालेकी छु म।
त्योभन्दा पनि अगाडि बढेर बढी दिक्दारी त केमा लाग्न थालेको छ भने मेरो बाबा सरकारी जागिरे भएको कारणले मैले खाने खानामा ती महिला र बच्चाले तिरेको करको अंश पनि परेको कुरामा।
मैले यस्तो पनि सोचें कि (त्यस्तो नहोस) कथमकदाचित ती आमा र बच्चाको खाना खान नपाएर मृत्यु भयो भने उनीहरूको मृत्यु दर्ता गर्दा लागेको दस्तुरको अंश पनि मेरो भान्सामा आउँछ। यो सोचेपछि त मलाई रिंगटा लागेर आयो अनि थचक्क बसेर रुन थालें।
आजकल मलाई आमाले केको तरकारी पकाम, खाजा के बनाम भन्दा नि जवाफ दिन र बोल्न मन लाग्दैन।
खाली त्यै समाचार र हाम्रो देशको अवस्था किन यस्तो भयो भन्ने कुरा मात्र दिमागमा खेलिरहन्छ।
यो अवस्था कोरोनाको समय सुरू भएपछि भयो कि पहिले देखिने यस्तै हो ? बाबाको अध्ययनको शिलशिलामा म विदेश पनि घुमेकी थिएँ। ती देश किन त्यस्तत भए अनि हाम्रो देश किन यस्तो भयो? यसको लागि जिम्मेवार को हो ? हप्ता हप्ता दिनसम्म चुल्हो नबल्दा ती घरका बालबच्चाको के हालत भयो होला, कसरी रात काटे होलान् ? कसरी निदाए होलान्? कति कुरा सुनेर अनि कति कुरा पढेर जानेकी छु कि नेपाल प्राकृतिक स्रोत सम्पन्न र प्रकृतिको वरदान पाएको देश हो। तर अवस्था हेर्दै जाँदा र बुझ्ने हुँदै जाँदा निराशा, अत्यास र बेथितिले आफ्नो बुझाइको धेरै अंश ओगटेको पाउँछु।
हाललाई राजनीति मेरो चासो र चिन्ताको विषय रहेन। नेपालमा रहेका म र म जस्ता सबै युवा, बालबालिका र सम्पूर्ण नेपालीले न्यूनतम दुई छाक पेटभरि खान, एकसरो लगाउन र जीवन उपयोगी शिक्षा लिन पाउने कुराको न्यूनतम ग्यारेन्टी त हुनु पर्यो नि। त्यो पनि परिश्रम गरेर, होइन भने किन चाहियो परिवार, समाज र सरकार अनि किन तिर्नु पर्यो कर?
यति कुरा जसले पढे पनि सम्बन्धित कहाँ पुर्याइ दिनुहोला है!