संसारमा जब मानव सभ्यताको सुरुआत भयो तब विभिन्न कुराहरु (खान, लगाउन, बोलीचाली, भाषा, शब्द, ज्ञान आदि) को विकास भएको देखिन्छ। जसरी विकास हुँदै गयो सँगसँगै विनाश भएको पनि छ। अहिले २१ औँ शताब्दीमा आइपुग्दा मानिसहरुले प्राकृतिक चिजहरुलाई धेरै चुनौती दिदै आएका छन्।
यस्ता चुनौतीले विकास र विनाश दुवै भएको छ। एक किसिमले संसारको सर्वश्रेष्ठ मानिस नै हो भन्ने देखाउन, संसारमा धेरै प्राकृतिक विनाश गरिरहेका छन्। त्यस्तै अहिले विश्वकै समस्याको रुपमा देखिएको महामारी कोभिड-१९ बाट विश्व नै त्रसित भएको छ।
यस अवस्थामा यस्तो महामारीबाट बच्नको लागि सारा संचारका माध्यम तथा सरकारी निकायहरुसम्म एउटै शब्द बारम्बार प्रयोग भईरहेको छ। त्यो शब्द हो, क्वारेन्टाइन। यो क्वारेन्टाइन भनेको त्यस्ता व्यक्तिहरुको लागि हो जसलाई संक्रमणबाट बचाउनु पर्छ। अर्थात, कुनै पनि रोग वा महामारीबाट बच्नको लागि संक्रमितबाट टाढा नै बसेर संक्रमण हुनबाट बच्ने विधि नै क्वारेन्टाइन हो। यस्तो क्वारेन्टाइन दुई प्रकारका छन्। सेल्फ क्वारेन्टाइन र कम्युनिटी क्वारेन्टाइन।
सेल्फ क्वारेन्टाइन
यो मानिस आफैले रोगको संक्रमण भएको व्यक्ति वा वातावरणबाट सुरक्षित वा संक्रमण नभए पनि हुन सक्ने आशंका मा आफूले आफैलाई अलग राख्ने विधि नै सेल्फ क्वारेन्टाइन हो।
कम्युनिटी क्वारेन्टाइन
राज्य वा राज्यको तर्फबाट निश्चित स्थान तोकी संक्रमण हुन सक्ने खतरा देखेमा त्यस्तो संक्रमणको चपेटामा नपरुन् भनेर सुरक्षित स्थानमा राख्नु नै कम्युनिटी क्वारेन्टाइन हो।
कोरोना भाइरस रोकथाम गर्न यस्तो क्वारेन्टाइनमा कम्तिमा पनि १४ दिनसम्म सुरक्षित ढङ्गले बसोबास गर्नु पर्दछ। अनावश्यक चिन्ता लिनु भएन, मध्यपान, ध्रुमापन जस्तो कुरा लिनु भएन, कम्तिमा २-२ घण्टामा साबुनपानीले हात मिची-मिची (२० सेकेन्डसम्म ) धुनुपर्छ, बारम्बार हात मुखमा लाने गर्नु भएन, सकेसम्म मास्क लगाई राख्नुपर्छ, हाछिउ गर्दा वा खोक्दा रुमाल वा टिसु पेपर प्रयोग गर्नुपर्दछ र प्रयोग भईसकेपछि त्यस्ता सामानको सही व्यवस्था गर्नु पर्दछ।
शरीरमा प्रतिरोधात्मक शक्ति वृद्धि हुने किसिमको पोषणयुक्त शक्तिबर्धक स्वस्थ खाना लिने गर्नुपर्दछ। स्यन्टिाइजरको बारम्बार प्रयोग गर्नुपर्छ, भीडभाडमा नजाने रुघाखोकी लागेको मान्छेबाट टाढा बस्ने। खोकी लागेमा, ज्वरो आएमा, सास फेर्न गाह्रो भएमा तुरुन्त चिकित्सकको सम्पर्कमा जानु पर्छ।
घर-परिवार साथै बस्ने, राम्रा-राम्रा कुराहरु हेर्ने, सुन्ने सुनाउने गर्नुपर्छ। आफूमा भएको सीप सिर्जनालाई प्राथमिकता दिने, सेल्फ क्वारेन्टाइनमा बस्दा आफू र आफ्नो परिवारलाई सहज र रमाइलो वातावरण बनाई राख्नु पर्दछ। यस्तो महामारी जुनको औषधी आधिकारिक रुपमा पता लगाउन सकिएको छैन, जुन सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ भने त्यसबाट बच्ने एउटै उपाय हो, दुरी कायम गर्दै, रहन सहन, खानपान, सरसफाईमा ध्यान दिई सुरुमै सतर्कता अपनाउनु नै क्वारेन्टाइन हो।
त्यस्तैगरी यस्ता महामारीको चपेटामा परेको वा शंका भएमा वा लागेकालाई उपचार सँगसँगै निश्चित स्थान तोकी स्वास्थ्यकर्मीको निगरानीमा राख्नु नै आइसोलेसन हो। वा त्यस्तो महामारीको लक्षणसँग मिल्दो जुल्दो लक्षण देखिदा पनि चिकित्सकको निगरानीमा राखी उपचार गर्नु नै आइसोलेसन हो।
अहिले यो कोरोना महामारीको चपेटामा संसार नै पीडित भएको अवस्थामा हाम्रो देश नेपालले पनि कोरोनाको संक्रमणलाई कम गर्न वा संक्रमण हुन नदिन ठूला-ठूला अस्पतालमा ज्वरो क्लिनिक संचालन गरेको छ। यस्ता क्लिनिकमा रुघा खोकी र ज्वरो आएको बिरामीलाई त्यही अस्पतालमा राखी उपचार गर्ने व्यवस्था गरेको छ।
यस्ता बिरामीको पटक-पटक थ्रोट स्वाब लिएर ल्याबमा आरटि पिसिआर टेस्ट गरिन्छ। यदि पिसिआर रिपोर्ट पोजिटिभ छ भने उनीहरुलाई आइसोलेसनमा राखेर उपचार गरिन्छ। यदि रिपोर्ट नेगेटिभ आएमा उनीहरुलाई घरमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्न सुझाव दिइन्छ।
हुन त क्वारेन्टाइनको सुरुआत इशापूर्व सातौँ शताब्दीमा वाइवालिय पुस्तक लेवीमा लेखिएको थियो। जुन पुस्तकमा ठूलो रोगको महामारी फैलिनबाट जोगाउन संक्रमित मानिसहरुलाई अलग राखी उपचार गर्ने कुराको व्याख्या गरिएको छ। त्यो समयको महामारीमा यदि छालामा चम्किलो सेतो दाग जस्तो घाउ छ, त्यो घाउ छालाभन्दा गहिरो भएको छैन र त्यो घाउ भएको ठाउँमा रौंहरु सेतो भएको छैन भने त्यहाँको मुख्य पुजारीले त्यस्तो घाउ भएको व्यक्तिहरुलाई ७ दिनसम्म अरु व्यक्तिहरुबाट छुटै राख्ने चलन थियो।
त्यसपछि त्यसलाई जाँच गर्दा घाउमा कुनै परिवर्तन आएको छैन र छालाहरु तिर पनि घाउ फैलिएको छैन भने उसलाई अरु ७ दिनसम्म आइसोलेसनमा राखी हेरिन्थ्यो। त्यसपछि पनि घाउमा त्यस्तो कुनै फैलिएको वा परिवर्तन नदेखिएमा मात्र घर पठाइन्थ्यो। यस कुराबाट के बुझिन्छ भने यो क्वारेन्टाइन र आइसोलेसन धेरै पहिलेदेखि नै त्यस्तो महामारीमा अपनाउदै आएको देखिन्छ।
कुनै पनि अभिलेख गरिएको महामारीभन्दा धेरै अगाडिदेखि नै नेपालको एउटा प्राचिन सभ्यताले क्वारेन्टाइनको थोर बहुत प्रयोग गरेको भेटियो। लगभग एक हजार बर्ष पहिले मानिसहरुको अलग-अलग मानव संस्कृतिमा क्वारेन्टाइनको अभ्यास भएको देखिन्छ। त्यो समयमा भीडभाड भएको सहरी वातावरणमा संक्रमक रोगहरु सर्नबाट रोक्ने यस्तो संस्कृतिको प्रयास गरिएको थियो।
नेपालको पुरानो सभ्यता अनुसार नेवार जातिहरु व्यापार तथा व्यावसायको लागि टाढा टाढा यात्रा गर्थे। लामो समयसम्म यात्रा गर्दा उनीहरुलाई विभिन्न रोगबाट संक्रमण हुने ठूलो सम्भावना हुन्थ्यो। कतिपय व्यक्तिहरु विभिन्न रोगबाट संक्रमण हुन्थे र अन्य निरोगी व्यक्तिहरुलाई पनि सारिएको पाइएको थियो।
त्यसकारण कोही पनि मानिसहरु व्यापार व्यावसाय वा अन्य उद्देश्यबाट लामो यात्रामा बाहिर गई फर्केपछि कम से कम दुई हप्ता क्वारेन्टाइनमा बस्नु पर्थ्यो। यदि त्यस्ता व्यक्तिहरुमा संक्रमणको कुनै लक्षण देखिएन भने सहरको प्रधान पुजारीले प्रमाणित गरेर उनीहरुलाई धार्मिक विधि अनुसार नुहाई-धुवाई गरे शुध्द पारी घर पठाइन्थ्यो। आधुनिक चिक्त्सिा अघिका दिनहरुमा समाजमा संक्रमण फैलिन रोक्नको लागि अलग-अलग रहनु नै एक मात्र उपाय थियो।
कहिलेकाहीँ पुरानो रीति रिवाजले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ। हाम्रा पुर्खाहरुले त्यो समयमा अपनाएको कतिपय कुराहरु विज्ञानले समेत प्रमाणित गरि सकेको छ।
२०७६ फाल्गुन ३ गते चीनबाट उद्धार गरि १७५ जना नेपालीलाई भक्तपुरको खरिपाटी स्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन राखिएको थियो। विश्वभरी कोरोनाको महामारी फैलिने बित्तिकै नेपाल पनि यो महामारीबाट अछुतो रहन सक्दैन भन्ने सोचले देशको विभिन्न स्थानमा मापदण्ड २०७६ निर्माण गरेर क्वारेन्टाइन स्थापना गर्यो। यसरि निर्माण भएको क्वारेन्टाइन विश्व स्वस्थ संगठन र नेपाल सरकारको मापदण्ड समेत नपुर्याई लापरबाही गरेको पाइन्छ। यस्ता क्वारेन्टाइन संघ, प्रदेश र स्थानीय सरकारहरुले व्यवस्था गरेका छन्।
नेपालमा हाल ५४ हजार ९०४ जना राख्न सक्ने क्वारेन्टाइन शैया छ। त्यसमध्ये ३० हजार शैया मात्र गुणस्तरका छन्। अन्य शय्या गुणस्तरहीन भएको नेपाल सरकारले समेत स्वीकारी सकेको अवस्था छ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टाइनमा न्यूनतम निम्न व्यवस्था हुनु पर्ने भनेको छः
१. क्वारेन्टाइनमा उपयुक्त र पर्याप्त खाना, पानी सरसफाईको प्रबन्ध हुनुपर्ने, संक्रमण रोकथाम तथा नियन्त्रणका न्यूनतम उपायहरुको कार्यन्वयन गर्नुपर्ने हुन्छ।
२. क्वारेन्टाइनमा रहेको व्यक्तिहरुको स्वास्थ्य अवस्थाको अनुगमन तथा न्यूनतम आवश्यकता पूर्तिको शुनिश्चितता गर्नुपर्ने।
३. क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई सम्भव भएसम्म पर्याप्त रुपमा हावामा ओहरदोहर गर्न सक्ने किसिमको एकल कोठा उपलब्ध गराउनु पर्ने।
४. क्वारेन्टाइनमा रहेको व्यक्तिहरु बिचमा समेत शारीरिरक दुरी कायम हुनु पर्ने।
५. क्वारेन्टाइनमा रहेको व्यक्तिहरुलाई बाहिर रहेका सदस्यहरुसँग कुराकानी र संचारको प्रबन्ध मिलाउनु पर्ने।
६. यथासम्भव इन्टरनेट, समाचार तथा मनोरंजनको व्यवस्था मिलाउनु पर्ने।
७. मनोसामाजिक सहायता उपलब्द गराउनु पर्ने र बालबालिका, अपांगता भएका व्यक्ति तथा जेष्ठ नागरिकलाई विशेष ध्यान दिनु पर्ने।
नेपाल सरकारको मापदण्ड २०७६ अनुसार क्वारेन्टाइनमा निम्न व्यवस्था हुनुपर्छः
१. सम्भव भएसम्म घनावस्तीबाट छुट्टै (टाढा) रहेको, संचार , स्वास्थ्य , सडक, पानी, बिजुलीको पूर्ण व्यवस्था भएको।
२. सम्भव भएसम्म सय जनाभन्दा बढी व्यक्तिलाई राख्न सक्ने क्षमता भएको।
३. विशेषगरी सम्भव भएसम्म शौचालय सहितको कोठा र सो नभएमा न्यूनतम प्रति कोठा अधिकतम तीन जनाको दरले छ जनाका लागि एउटा साझा शौचालय र स्नान गृह भएको।
४. न्यूनतम टेलफोन सेवाको व्यवस्था।
५. कोठाको व्यवस्थापन (प्रति व्यक्ति ७५ वर्ग फिटको स्थान वा एक खाटदेखि अर्को खाटको बीच न्यूनतम दुरी ३.५ फिट हनुपर्ने)
६. क्वारेन्टाइन स्थलमा स्वास्थ्य सामग्री सहितको प्रति १०० जनाको लागि मेडिकल अधिकृत (एक जना), स्वास्थ्य परिचारिका (एक जना), प्यारामेडिक (एक जना), ल्याब टेक्निसियन (एक जना, आवश्यकता अनुसार), फर्मासिष्ट (एङ्क जना, आवश्यकता अनुसार), क्वारेटाइनमा २४ घण्टा एम्बुलेन्स संचालनार्थः तालिमप्राप्त प्यारामेडिक (दुई जना), एम्बुलेन्स चालक (एक जना)
यस्ता मापदण्डहरु नेपाल सरकार लगायत विश्व स्वास्थ्य संगठनले व्यवस्था गरेता पनि कतिसम्म कार्यान्वयन भएको छ त? मोजुदा क्वारेन्टाइन सम्बन्धी व्यक्ति बस्न सक्ने के कस्तो अवस्था छ त? यस सम्बन्धमा देशमा रहेको विभिन्न स्थानको क्वारेन्टाइनको स्थितिले देखाएको छ। विभिन्न संचार माध्यमबाट क्वारेन्टाइनको भयावह स्थिति दिनहुँ जसो हेर्न र सुन्नमा आएको छ।
रुपन्देहीको बुटवल उपमहनगरपालिका तामनगर स्थित कोरिया नेपाल टेक्निकल इन्स्टिच्युटको क्वारेन्टाइनमा केही दिन अगाडि ११३ जना व्यक्तिहरु राखियो। एउटा मात्रै जनस्वास्थ्य निरीक्षक बाहेक अरु जनशक्ति कोही केही नभएको, शौचालय, खाना पानी आदि सब अव्यवस्थित छ भनेर विभिन्न समाचारमा पाइयो। त्यसैगरी बाँकेको नरैनापुर स्थित क्वारेन्टाइनमा २५ वर्ष युवाको मृत्यु भयो।
किनकि एम्बुलेन्स चालकले पिपिईको व्यवस्था छैन, राति अस्पताल जान नसकेको बताएपछि र बिहान मात्रै अस्पताल लगेकोले ढिला भएर मृत्यु भएको समाचारमा विष्लेशन गरेको पाइयो। कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा केही हप्ता अगाडि भारतबाट आएको ३०० जनालाई राखिएको थियो। उनीहरुलाई १० वटा कोठामा अटाएर राखिएको थियो। न उनीहरुको स्वास्थ्य परीक्षण राम्रोसँग गरियो, झन् कोचाकोच गरेर एउटै कोठामा धेरै जना राखिएका थियो।
यसरी कोचाकोच गरेर राख्दा अन्य संक्रमणको त्यत्तिकै जोखिम भएको पाइयो। सो क्वारेन्टाइनमा न सुत्ने राम्रो, न त खाने व्यवस्था राम्रो छ। सामाजिक दुरी, स्वास्थ्य परीक्षण लगायत मापदण्डको व्यवस्था नभएको धेरै संचार माध्यमले उल्लेख गरेको छ।
विभिन्न अनलाइन खबर पत्रिका, न्यूज च्यानलबाट केही हप्ता अगाडि कपिलवस्तुको यसोधरा गाउँपालिका स्थित क्वारेन्टाइनबाट ४६ जना मनिसहरु भागेको खबर सुन्नमा आएको थियो। सोको कारण पनि सुत्ने, खाने, बस्ने, सरसफाई, स्वास्थ्य परीक्षण आदिको उचित व्यवास्था नहुनु नै थियो। यसरी आधिकांश विद्यालय र सामुदायिक भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्दा र सामाजिक दुरी नअपनाउँदा संक्रमण नहुनेलाई पनि संक्रमणको खतरा बढिरहेको छ।
प्रदेश नं. १ मा जम्मा ११७८ वटा क्वारेन्टाइन स्थापना गरिएको छ। यस्ता क्वारेन्टाइन अधिकांश स्थानीय तहले बनाएको छ। सामाजिक विकास मन्त्रालयको भनाइ अनुसार धेरैजसो क्वारेन्टाइन नेपाल सरकारको मापदण्ड विपरीत भएको देखिन्छ। प्रदेश नं. २ मा ३४५१ वटा क्वारेन्टाइन स्थापना गरिएको छ, अधिकांश क्वारेन्टाइनमा आधारभूत व्यवास्थापनको समेत व्यवास्था नगरेको देखियो।
वागमती प्रदेशमा ३०२२ वटा क्वारेन्टाइन स्थापना भएको छ, प्रायःजसोमा सरसफाई, स्वास्थ्य, पानी ,खाना, बस्न आदिको न्यूनतम मापदण्ड समेत पूरा नगरी क्वारेन्टाइन स्थापना गरेको देखियो। स्वास्थ्य सामग्रीको त्यति नै अभाव, ल्याब जाँचको सही व्यवास्थापन नभएको देखियो। गण्डकी प्रदेशमा ३५९ क्वारेन्टाइन छ, यस प्रदेशको क्वारेन्टाइनमा पनि अन्य जस्तै खासै कुनै कुराको व्यवास्थापन नगरी स्थापना गरेको देखियो।
प्रदेश नं. ५ मा ७१० क्वारेन्टाइन स्थापना भएको छ, यस प्रदेशको विभिन्न जिल्लामा क्वारेन्टाइनको भयवाह स्थितिको बारेमा माथिनै उल्लेख गरिसकेका छौँ। क्वारेन्टाइन सम्बन्धी मापदण्ड २०७६ को एक अंश पनि व्यवास्था नगरिकन क्वारेन्टाइन स्थापना गर्दा त्यसको परिणाम के हुन्छ होला? यो सबैले मनन गर्नुपर्ने कुरा हो। सुदुरपश्चिमको क्वारेन्टाइन झन् एकदम नाजुक अवस्थाको पाइयो।
सुत्नलाई बेड छैन, खाने पानीको त्यस्तै अभाव, बत्ति, शौचालय, सरसफाई आदिको कुन व्यवास्था नभएको, कतिपय मानिसहरुको स्वास्थ्य परीक्षण नै नगरी घर पठाएको र सानो ठाउँमा बिना बेड धेरै मानिसहरुलाई भेडा बाख्रा सरि कोचेर राखेको देखियो। यस्तो अवस्थाले क्वारेन्टाइनबाट मान्छे भाग्नु कुनै नौलो कुरा हैन। स्वास्थ्य मानिस पनि त्यस्तो ठाउँमा लामो (१४) दिनसम्म बस्दा विभिन्न रोग लाग्दैन भनि रहन सकिन्न।
धेरैजसो क्वारेन्टाइन स्थापना गर्दा कुनै पुर्वाधार समेत तयार नगरी हचुवाको भरमा स्थापना गर्दा त्याहाँ बस्ने मानिसहरुलाई असहज परिस्थिति सिर्जना हुनु स्वाभाविक हो। भारत तथा तेस्रो मुलुकबाट जुम्ला आउने नागरिकलाई त्याहाँका स्थानीयले जो कोहीले क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था गरेपनि मापदण्ड अनुसारको क्वारेन्टाइन नभएको भन्दै उच्च अदालत सुर्खेतमा रिट दायर भएको छ।
नेपालको धारा १४४ (१) (२) बमोजिम विषेश तथा उपयुक्त्त अन्तरिम आदेश सहितको परमादेशको आदेश जारी गरि पाउँ भनि रिट समेत दायर भएको छ।
यस्ता विभिन्न ठाँउबाट क्वारेन्टाइन सम्बन्धि जनगुनासो बढेपछि राष्ट्रिय मानव अधिकारबाट पनि केही क्वारेन्टाइन स्थलको अनुगमन भएको थियो। उक्त अनुगमनबाट साच्चिकै मापदण्ड बिपरितको क्वारेन्टाइन भएको, पर्याप्त मात्रामा पोषणयुक्त खाना, पिउने पानी, शौचालय, उचित बसोबास, स्वास्थ्य हेरचाह जस्ता कुराहरु पूरा हुन नसकेको पाइएको थियो।
क्वारेन्टाइनमा व्यक्तिहरुको मानव अधिकार समेत अन्यायमा परेको देखियो। सामान्यभन्दा सामान्य कुराहरु समेत क्वारेन्टाइनमा व्यवास्था गर्न नसक्दा त्याहाँ बस्न नचाहने, बसेकाहरु पनि सुरक्षाकर्मीको आँखा छली भाग्ने र यसरी भाग्दा समाजमा संक्रमण झन् बढी फैलिने अवस्था सिर्जना भएको छ।
वास्तवमा के हो त क्वारेन्टाइन? अहिले देशको क्वारेन्टाइनको अवस्था हेर्ने हो भने कोरोना संक्रमण रोक्ने अथवा फैलन नदिने माध्यमको रुपमा प्रयोग गरेता पनि यसको व्यवास्थापनमा चरम लापरबाही र अव्यवस्थित ढंगले प्रयोग हुँदा कही संक्रमण फैलाउने माध्यम त हैन भनि यहाँ नेर प्रश्न चिन्न खडा हुन्छ।
अव्यवस्थित क्वारेन्टाइनबाट बस्न नसकेर मानिसहरु भाग्ने, समयमा स्वास्थ्य जाँच नपाउदा क्वारेन्टाइनमा नै मर्ने, निराशा छाउने, खान, बस्न, सरसफाई, स्वास्थ्य, खानेपानी, बिजुलीको उचित व्यवास्था नभएको प्रायःजसो समाचार तथा देशका विभिन्न संचार माध्यमबाट दिन दिनै सुन्नमा आएको छ। सानो ठाउँमा धेरै मानिस एकै ठाउँ कोचाकोच गरेर बस्नु पर्ने, संक्रमित र संक्रमित नभएको समेतलाई एउटै स्थानमा राखेको पनि देखिएको छ।
क्वारेन्टाइनमा बस्दा पनि कतिपयलाई स्वास्थ्य जाँच नगरी घर पठाइदिने, बहिरबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्नु परेता पनि अलिक समाजमा नामचलेका त्याहाँको स्थानीय प्रतिनिधीका आफन्त भए बस्न नपर्ने अवस्था सिर्जना भएको छ। क्वारेन्टाइन बस्दा कति त बाहिर हिड्डुल समेत गरेर झन् समाजमा संक्रमणको सन्त्रास फैलिएको देखिन्छ।
त्यसकारण क्वारेन्टाइनलाई समयम व्यवस्थित नगर्ने हो र त्यहाँ बस्नेले पनि मेरो आफ्नो लागि हो भनेर नसोच्दा झन् भयवाह स्थिति सिर्जना नगर्ला भन्न सकिन्न। क्वारेन्टाइनमा संक्रमण छ कि भनेर बसिने हुँदा क्वारेन्टाइनमा उचित स्वास्थ्य, सरसफाई, खाना, बस्न, बत्ति, पानीको उचित व्यवस्थापनमा तीनै तहको सरकारको ध्यान जान जरुरी छ। यसमा सबैभन्दा ठूलो बजेटको कुरा पनि आउछ, यो एक साल हामी विकास निर्माणको कामलाई प्राथमिकता नदिई नागरिकको जीउ-ज्यानलाई ध्यान दिउँ।
विकास निर्माणमा लगाउने बजेट स्वास्थ्यमा खर्च गरौँ, कडाभन्दा कडा अनुगमन गरौँ। सही ठाउँमा सही समयमा बजेट खर्च भएको छ/छैन? हेरौँ। नागरिकको ज्यान रहे मात्र विकास शिक्षा तथा अन्य कुराको अवाश्यक हुन्छ, ज्यान नै नरहे के काम? देशको अनावश्यक खर्च कटौती गरौँ, देशलाई चाहिने जनशक्ति मात्रै प्रयोगमा ल्याऊँ, आफन्त र सोर्सको आधारमा आफ्नो मान्छेलाई अनावाश्यक नियुक्ती नगरौँ, नियुक्ती गर्न अवाश्यक भएमा प्रतिस्पर्धा अनुसार क्षमतावन व्यक्तिको छनोट गरौँ, जसले देशलाई सहयोग मिलोस्।
विशेषगरी स्थानीय जनप्रतिनिधिहरुले स्थानीय निकायलाई आफ्नो नातेदार र कार्यकर्ताहरुलाई जागिर खाने भर्ती केन्द्र बनाएको हुँदा सो कुरालाई रोकौँ। राजनैतिक पदाधिकारीमा अनावश्यक ठूलो खर्च देखिन्छ, त्यसलाई सिमित गरौँ। नागरिकको स्वास्थ्यमा विषेश जोड र नागरिकको जीउ-ज्यानको सुरक्षा दिनु पर्ने अहिलेको जल्दो बल्दो आवश्यकता देखिन्छ।
क्वारेन्टाइनमा बस भनेउ, सेवा केही छैन
के हामी निमुखाको जीउ-ज्यान हैन?
कोरोनालाई रोक्ने भन्दै खाद्यौ स्कूल तिर
निरोगी त थिए म, रोगी हुन्छु भन्ने पिर।
कोरोना नियन्त्रणमा कोष छ कति-कति
साच्चै नियन्त्रण गर्ने भए पुग्छ आधाले नै जति।