तीन वर्षअघि जसरी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भयो, त्यसरी नै पर्यटकीय नगरी पोखरा र आसपासमा सुविधासम्पन्न र स्तरीय होटल निर्माणले तीव्रता पाउन थाल्यो। त्यसमा पनि सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेर २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सोही अनुसारको योजना अघि बढाइरहेको थियो।
यसबाट पर्यटन कर्ममा लागेकाहरू थप हौसिन पुगी लगानी बढाउन थाले। त्यसका लागि कतिपयले विदेशमा वर्षौं लगाएर आर्जन गरेको रकम त कतिपयले बैंकबाट ऋण लिएर अनि कतिपयले आफ्नो श्री-सम्पति बेचबिखन गरेर यस क्षेत्रमा धमाधम लगानी गर्न थाले।
सामान्यदेखि सुविधासम्पन्न होटल, रिसोर्ट, रेष्टुराँ, होमस्टे निर्माण भए, कतिपय निर्माणको क्रममा छन्। यी सबै विमानस्थलले जगाएको आशा थियो। अन्तर्राष्ट्रिय विमानस्थल सारा पोखरेलीको लामो समयदेखिको माग थियो। लामो तपस्या र आन्दोलनको शृंखलापछि अन्ततः विमानस्थल निर्माण पनि सुरु भयो। यसकै जगमा सुरु गरिएको हो पर्यटन क्षेत्रमा व्यापक लगानी।
तर सन् २०२० सुरु भएलगत्तै विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसले सबैभन्दा प्रभावित बनाएको क्षेत्रमध्ये एक हो, पर्यटन क्षेत्र। एकखालको जोशले अघि बढिरहेको पर्यटन त्यस यता ठप्प छ। र यो शृंखला हामीले अझै लामो समय झेल्नु पर्ने निश्चत छ।
पोखरा र आसपासकै कुरा गर्नुपर्दा, विमानस्थल र भ्रमण वर्षलाई लक्षित गरेर निर्माण सुरु गरिएका होटललगायत पूर्वाधारमा भएको लगानीले लगानीकर्तालाई हतोत्साहित मात्र बनाएको छैन, त्यस्ता पूर्वाधार सम्पन्न हुन नपाई अलपत्र नै पर्ने अवस्थामा पुगेको छ।
(तस्बिरः पोखराको काहुँडाडाबाट देखिएको निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल।)
प्याराग्लाइडिङ, जिप फ्लाएर, बन्जीजम्प, केबुलकार, हट बेलुनलगायत मनोरञ्जनात्मक र साहसिक क्षेत्रमा पनि करोडौंको लगानी गरिएको छ। पर्यटकलाई आकर्षित गर्ने र उनीहरुको पोखरा बसाईं लम्ब्याउने यस्ता क्षेत्रमा समेत कोरोनाको असर पूणरुपले परेको छ।
पोखरा आसपासका डाँडाकाँडामा समेत करोडौंका लगानीमा होटल, रेष्टुराँ, होमस्टे खुल्नेक्रमले तीव्रता पाएको थियो। पछिल्लो समय पर्यटकका रोजाई पनि यस्ता क्षेत्रमा बढ्दै गएको थियो। व्यवसायीले लेकसाइडबाहिरका क्षेत्रमा पनि भौतिक पूर्वाधार निर्माण गरेर यो क्षेत्रमा लगानी गरिररहेका थिए। पोखरा आसपास लेखनाथ, धम्पुस, घान्द्रुक, साराङकोट, पामे, काँडे, लुम्लेलगायतका क्षेत्रमा समेत व्यापक लगानी विस्तार हुने क्रममा थियो।
नयाँ खुल्ने होटल, रेष्टुराँ र अन्य पूर्वाधारहरू सुविधासम्पन्न, आधुनिक र भूकम्प प्रतिरोधी रहेकाले पनि लगानी धेरै हुने गर्दछ। पर्यटनमा गरिएका पछिल्ला लगानी अप्रत्यासितरुपमा बढिरहेका थिए। सबै सेवा-सुविधासहित व्यवसायिक प्रतिष्पर्धाका लागि पनि लगानीकर्ताले लगानीमा कुनै कन्जुस्याईं गर्दैनथे।
पछिल्लो समय पर्यटन सवारीमा पनि अर्बौँको लगानी भएको छ। अहिलेको प्रतिकूल परिस्थितिले त्यस्ता व्यवसायीहरू पनि चिन्तित बनेका छन्। पर्यटनका सबै गतिविधिसँगै सवारी साधन पनि नचल्ने भएकाले व्यवसायीहरू पुरानै अवस्थामा फर्किन लामो समय लाग्ने मात्रै होइन, कतिपय विस्थापित नै हुनुपर्ने अवस्था आउने सम्भावना छ। बैंकको ऋणले सबैलाई तर्साइरहेको अवस्था छ।
कोरोना भाइसरका कारण उत्पन्न जटिल परिस्थितिको सबै साना-ठूला लगानकिर्ता र व्यवसायीले गम्भीर सामना गरिरहेका छन्। खासगरी अहिले ठूला लगानीकर्ता ठूलै चिन्ता र सानालाई पनि सोही अनुसारको चिन्ता छ। ठूलालाई मजदूर व्यवस्थापन, बैंकको ऋणको सावा र व्याज भुक्तानी, बिजुली, खानेपानी, सरसफाई खर्च, राज्यलाई बुझाउनुपर्ने नियमित करलगायतका चिन्ता छन्। जुन व्यापारै नभए पनि व्यवसायीका अनिवार्य दायित्वभित्र पर्दछन्।
यसमै करोडौं खर्च हुने गर्दछ। सानालाई पनि बिजुलीबत्ती, खानेपानी, सरसफाई र अन्य नियमित खर्च बहन गर्नुपर्ने बाध्यता छ। ठूलाको तुलनामा साना होटलहरूलाई कर्मचारी व्यवस्थापनमा त्यति ठूलो समस्या अहिलेसम्म देखिएको छैन।
अधिकांशले घर भाडामा लिएर होटल चलाइरहेका छन्। होटल सञ्चालकहरूले लकडाउन अवधिभर र अझै ६ महिनादेखि एक वर्षसम्मको भाडा मिनाहा गर्न घरधनीहरूलाई आग्रह गरिरहेका छन्। कतिपय मनकारी घरधनीले यो कुरालाई स्वीकारेको अवस्था छ। कतिपयले भाडा जसरी पनि पाउनुपर्ने अडान राखेका छन्। केही लकडाउन अवधिभरको ५० प्रतिशतसम्म भाडा छुट गर्ने पक्षमा छन् भने केही घरधनीले अझै मुख खोलिनसकेको अवस्था छ।
घरधनी र होटल सञ्चालकको विवादका कारण लकडाउनकै बीचमा पनि कतिपय सञ्चालकहरूले घर खाली गरेर घरधनीलाई जिम्मा लगाइसकेका छन्। व्यवसायनै शून्य भएको अवस्थामा ऋणबाट चलेका होटल तथा रेष्टुराँहरू घरभाडा तिर्न सक्ने अवस्था नरहेकाले घरधनीसँग घरभाडा मिनाहको सहजीकरण गरिदिन व्यवसायीहरुले स्थानीय, प्रदेश र संघीय सरकारलाई विभिन्न माध्यमबाट आग्रह गरिसकेका छन्।
यसबाहेक पनि कर छुट, स्थानीय निकायलाई तिर्नुपर्ने सम्पति कर र व्यवसाय कर, बैंकको ऋणमा ब्याज छुट, सावा तथा ब्याज तिर्नुपर्ने समय लम्ब्याउनु पर्ने लगायतका विषयलाई सम्बोधन गर्न पनि व्यवासायीले आग्रह गरिहेका छन्। तर यसबारे तीनै तहका सरकारका तर्फबाट ठोस् पहल अहिलेसम्म भएको छैन।
पर्यटन गतिविधिलाई चलायमान गराइरहने सबै पक्ष आगामी दिनमा निस्क्रिय हुने देखिएको छ। विदेशी पर्यटकहरूले तत्काल भ्रमणको योजना नबनाउने, आन्तरिक पर्यटक पनि तत्काल ननिस्किने, सबैको आम्दानी खुम्चिने, विदेशबाट आउने रेमिट्यान्स घट्ने, लामो समयसम्म शैक्षिक संस्थाहरु बन्द भएकाले कलेज र विद्यालयका भ्रमण सिमित हुने, सहकारी, कृषि, सामुदायिक वनहरूले गर्दै आएका अध्ययन तथा अवलोकन भ्रमण पनि नहुने, विभिन्न संघसंस्थाको भ्रमण तथा गतिविधि पनि ठप्प हुने, सरकारी तथा गैरसकारी संस्थाका सभा, समारोह, गोष्ठी, तालिम, नहुने, सामाजिक दुरीको कडा प्रावधान, संक्रमणको सदैव त्रासलगायतका विविध कारणले यो एक वर्ष नै पर्यटन क्षेत्र शिथिल बन्ने निश्चित छ।
विदेशमा रहेका नेपालीहरु स्वदेश फर्किंदा घुमघाममा निस्किने, स्वदेशमै रहेकाहरू पनि वर्षको एक-दुई पटक परिवारसहित भ्रमणमा निस्किने प्रचलन केही वर्षयता बढेको थियो। अब त्यो पनि तत्कालका लागि टरेको छ। लगभग एक वर्षसम्म शिथिल बन्न पुग्ने यो क्षेत्रलाई कसरी पुनर्जीवन प्रदान गर्ने, व्यवसायी र मजदूरलाई कसरी टिकाइरहने भन्ने अहिलेको मुख्य सरोकारको विषय हो। राज्यको सहयोग र व्यवसायीको स्वयम् आफ्नो क्षमताले जो टिक्न सक्यो उही टिकिरहने र बाँकी अरू यो क्षेत्रबाटै पलाउन हुनुपर्ने अवस्था नआउला भन्न सकिन्न।
तहसनहस भएको व्यवसायालाई जीवित राख्नु अहिलेको मुख्य आवश्यकता हो। यसका लागि राज्यको भूमिका महत्वपूर्ण हुने छ। तर व्यवासायीमा राज्यले आफूअनुकूल नीति ल्याउला भन्नेमा शंका छ। मन्त्रीहरुका अभिव्यक्ति र सरकारको क्रियाकलापले व्यवसायीलाई राहत, सहुलियत दिएर टिकाउने काममा सहयोग होला भन्ने विश्वास कम हुँदै गएको छ। बलिया टिक्ने र कमजोर आफैं विस्थापित हुने अवस्था निकट भविष्यमै आउने निश्चित छ।
पोखरा र आसपासको पर्यटनलाई लय दिने आश गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम लकडाउनकै बीचमा पनि भइरहेको छ। ५९ प्रतिशत काम सम्पन्न भइसकेको छ। पछिल्लो परिस्थिति नआएको भए चाँडै विमानस्थलबाट सेवा सुरू हुने थियो। तर त्यो सम्भावना पनि अब केही पछिका लागि सरेको छ। पोखरा र आसपासको पर्यटनलाई विमानस्थलले ठूलो आश देखाएको थियो। तर हामीले कहिल्यै कल्पनासम्म नगरेको भाइरसका कारण हाम्रो आशालाई क्षणभरमै निराशामा परिणत गरिदिएको छ। यो निराशाबाट पार पाउन तत्काल सहज छैन।
विमानस्थल निर्माण सुरुसँगै नयाँ किसिमले जाग्न थालेको पोखरा र आसपासको पर्यटन फेरि पुरानै लयमा मात्र होइन, झन् झांगिएर आउने व्यग्र प्रतिक्षा गर्नु बाहेक अर्को विकल्प रहेन।
(लेखक पर्यटन व्यवसायमा आवद्ध छन्।)