म नेपाल वायुसेवा निगममा सेवा प्रवेश गर्दा १५ दिन बिहान अनि १५ दिन दिउँसो १२ बजेदेखि रातको १२ बजेसम्म ड्युटी थियो। पछि बिहान दिउँसो अनि राति गरि तीन सिफ्ट गरि चल्यो र चलिरहेको छ। यो देखेर लाग्छ जिन्दगी कति चलायमान छ।
योसँगै चल्दा-चल्दा नेपाल वायुसेवा निगममा १० वर्ष बितेको पत्तै नभएको जस्तो लाग्छ। दिन, महिना अनि वर्ष यति छिटो बित्यो। साच्चै १० वर्षलाई फर्केर हेर्दा उही लोड कन्ट्रोल अनि उही लोडसिट गरेर बसिरहेको छु।
कहिलेकाहीँ त अन्त अर्को विभागमा जान पाएँ नयाँ कुरा सिक्न पाइन्थ्यो जस्तो लाग्छ तर हामी लाइसेन्स होल्डरलाई कहाँ भन्ने वित्तिकै सरुवा हुन पाइन्छ। एयरलाइन्सहरुको लोडसिटको लाइसेन्स लिने काम हरेक दुई वर्षमा आउँछ। मलाई धेरै छिटो आएको जस्तो लाग्छ। तर दुई वर्ष पनि लामै अवधि रहेको कुरा, सिल्क एयरको ट्रेनिङमा रहँदा आएको ट्रेनरले म दुई वर्ष अघि आउँदा तिमी गर्भवति थियौ, अहिले त दुई वर्षको भयो होला भन्दा पो लाग्यो त।
साँच्चै, त्यो २ वर्षमा मैले छोरा जन्माएर हुर्काएर हिँडने बोल्ने बनाइसकेको पो थिएँ त। तर समय जति नै आफ्नो गतिमा हिँडे पनि मलाई भने छिटै हिँडेको लाग्दछ।
हिजो जस्तो लाग्दछ लोडकन्ट्रोल अफिस छिरेको अनि ड्युटी अफिसरले गणित पढेर को-को आएको भनेर सोध्नु भएको अनि उहाँले हामीलाई एयरक्राफ्टको व्यालेन्स कसरी राख्ने भनेर सिकाउनु भएको। सम्झिदा अझै ताजै लाग्छ। सबै सरहरुले अनि दाजुहरुले मलाई नानी भनेर बोलाउनु हुन्थ्यो। म सबैको नानी थिएँ। नानीबाट परिवर्तन भएर अहिले म सबैको दिदी भएको छु।
भाइहरुले जिस्किएर लोकसेवाले लिने हाम्रो अफिसको परीक्षामा नेपालको एक मात्र अन्तर्राष्ट्रिय लेडी लोड कन्ट्रोलर को? भनेर सोध्न लगाउनु पर्यो भन्दा खुशी लाग्छ। साँच्चै विगत १० वर्षदेखि नेपाल वायुसेवा निगममा म मात्र एक्ली महिला लोड कन्ट्रोलर रहदै आएको छु।
लगभग ५०/५५ जनाको समूहमा म मात्र एक्लै महिला भएर पनि काम गर्न सकेकोमा अनि मसँग नेपालमा आउने हरेक एयरलाइन्सको तथा नेपालमा नआउने ड्रिम लाइनरको समेत लाइसेन्स छ भनेर भन्न पाउँदा गर्व लाग्छ। सबै सहकर्मी पुरुष हुँदा उनीहरुले मेरा अगाडि अपनाउने संयमता अनि म नहुँदा अझ म छैन भनेर बोल्ने शब्द सुनेर पनि नसुनेको जस्तो गरेर बस्नुपर्दा चाहि आफैलाई हाँसो उठ्दछ, कहिले काहीँ आफै जिस्कन्छु।
म गर्भवति हुँदा सबैले देखाएको माया र सहयोग म कहिले भुल्ने छैन। नेपालमा आउने हरेक जहाजमा सामान र मानिस के कति रहेको र त्यसलाई हामीले कसरी मिलाएर राखेको छौँ भन्ने लोडसिट कोरेर जहाजमा सवार क्याप्टेनलाई सही गराउन जानुपर्ने जिम्मा मेरा सहकर्मीले लिएर मलाई सहज र सरल ढङ्गले काम गर्ने वातावरण बनाइदिएका थिए।
यही ठाउँमा अरु महिला सहकर्मी हुने हो त त्यति सहयोग पाउँदिन थिएँ होला। काम गर्नलाई कहिले अल्छि लागेन तर काम गर्दा गल्ती भने नभएको होइन। मानव हो, मानव भएसी मानवीय गल्ती हुनु स्वभाविक नै हो। अनि मबाट भएको गल्तीको मैले कहिले ढाँकछोप पनि गरिन किनकि मलाई थाहा छ कि मैले काम गर्ने क्षेत्रमा पहिलो प्राथमीकता सुरक्षालाई दिइन्छ। त्यसैले गत वर्ष मालिन्दो एयरको जहाजको रजिस्ट्रेसन फरक पर्दा मैले टावरमा फोन गरेर पुस ब्यााक भएको जहाजलाई फिर्ता बोलाएर फेरि नयाँ लोडसिट बनाएर उडाएको थिएँ।
हुनत म सदैव सर्तक र सजक रहन्छु तर पनि काम गर्ने मान्छेले नै गल्ती गर्छ, नगर्नेले त कहाँ केही गर्दछ र? कसैले तिमी कसलाई धेरै माया गर्दछौ भनेर सोधे, म मेरो कामलाई माया गर्दछु किनकि यही काम गरेर मैले मेरो परिवार अनि आफूलाई पालेको छु। यही काम गरेर मेरो परिवार खुशी छ।
मेरो परिवार खुशी छन् त म पनि खुशी छु। कामले नै हामीलाई खुशी दिन्छ भनेर मेरा बुबाले सधैँ भन्नु हुन्थ्यो। उहाँको यो भनाइ म कहिले बिर्सिदिन। बुबाले भन्नु भएको जस्तै मेरो जीवनको सबैभन्दा खुशीको क्षण, जहाज सि चेकमा गएको जहाजलाई सिंगापुरबाट लेराउने जिम्मा मलाई सुम्पिएको थियो।
सिंगापुर जान पाउने खुशी त आफ्नो ठाउँमा थियो नै, त्यसैसँगै मेरो जिवनमा सबैभन्दा खुशीको क्षेण म आमा बन्नुमा थियो। म सिंगापुर जाने दिनमा नै आमा बन्ने कुरा थाहा पाएको थिएँ। त्यसैले भनिन्छ नि तिमी आफ्नो काम गर, भगवानले तिम्रो कुरा सुन्छन्। सिंगापुर धेरै घुम्न नपाए पनि मन त्यसै खुशी थियो। पहिलो पटक सिंगापुर गएको थिएँ। यसअघि पनि लोडसिट गर्न भनेर नयाँ दिल्ली, हङकङ, कलकत्ता, मलेसिया पुगेर आएको हो तर देश घुम्ने मौका सि चेकले दिएको थियो।
अहिलेको कोरोना महामारीको समयमा धेरै समय घरमा बिताउन पाएको छु। छोरासँगको साथले मलाई पूर्णरुपमा आमा हुनुको अनुभूति दिएको छ। मेरो छोराले प्रत्यक्ष जहाज नदेखे पनि उसले मेरो पेटमा हुँदानै जहाज चढेर होला अनि जहाज सम्बन्धि काम गरेर होला, म बिहान सबेरै काममा जाँदा होस या म रातको १२ कि २ बजे घर पुग्दा, उसको मामु अफिस गएको कुरा गरेपछि चुप लागेर बस्छ। कसैलाई पिराउँदैन।
सन्तानले दिने खुशी एउटा काम गर्ने आमालाई योभन्दा अरु हुँदैन। कहिले बिहान कहिले दिउँसो त कहिले रातिको सिफ्टबाट आराम मिलेको छ। यो समयमा योग ध्यान र प्रणायम पनि गर्न थालेको छु। साथै कार्यालयको जिम्मेवारी सम्हालेर मेडिकल सामान लिन गोन्जाउ पुगेर आए भने यात्रु उद्दारमा ढाका पुगेर आएँ। बेलाबेलामा भइरहेको चाटर फ्लाइटमा पनि काम गर्न पुगेको छु।
एउटा राष्ट्रसेवक कर्मचारीले आफ्नो जिम्मेवारी संकटको घडीमा देखाउन पर्छ भन्दछन्, जुन म बाट देश नाकाबन्दीमा जाँदा तेल लिन जान होस् या देशले महा-भूकम्पको घडीमा २४ घन्टा एयरर्पोट खोल्दा भोक-भोकै आफ्नो जिम्मेवारी पूरा गर्न कहिले पछि हटिएन।
जे होस्, जिन्दगी चलाउने हो। त्यसलाई इमानदारीका साथ चलाउन पाउँ, त्यसैमा रमाउन सकुँ, यही भगवानसँग प्राथना छ। विगतलाई सम्झेर कहिले दुखी हुन नपरोस् अनि भविष्यलाई कल्पना गरेर पिर गर्न नपरोस्। वर्तमानमा रमाउन सकुँ, नेपाल वायुसेवाको सेवा गरिरहन पाउँ। जय आकाश भैरव।