लकडाउका यी करिब तीन महिनामा युट्यूवबाट चाणक्य, चन्द्रगुप्त मौर्य, महाभारत, रामायणलगायत भारतीय टेलिसिरियलहरु हेर्ने अवसर मिल्यो। सबै सिरियलहरुमा गुरु र शिष्यबीचको भावनात्मक सम्बन्ध, सत्कार, प्रेम, उत्प्रेरणा, उत्साहहरु जगाइएको पाइन्छ।
गुरु र शिष्यबीचमा एक किसिमको अनुशासन र सम्मानहरु देख्न सकिन्छ। त्यतिबेलाका समयमा बच्चाहरुलाई गुरुकुलमा पढाइने साथै कडा नियमहरुबीच कठोर अनुशासनमा राखेर ज्ञानी बनाएपछि सम्बन्धित अभिभावक समक्ष सुम्पिने चलन रहेछ।
सिरियल हेर्दै गर्दा मेरा अधिकांश साथीभाइहरुसँग गफिने मौकाई मिल्यो। शिक्षकबीचको सम्बन्ध पढाइने विषयवस्तु सिकाउने र सिकाईने स्तर सँगसँगै विद्यालयको दैनिक कृयाकलापका विषयहरुमा समानस्तरका सहपाठीसँग छलफलगर्ने मौका मिल्यो। सहकर्मीहरुका कुराहरु सुन्दा, उनीहरुको भनाई के हुन्छ भने आजभोलि स्कूलमा विद्यार्थीसँग धेरैनै सावधान रहनु पर्ने हुन्छ।
थाहा हुन्न कुन बेला के गरिदिन्छन्। एकातिर आफ्नो इज्जतको सवाल छ भने अर्कोतीर आफ्नो जागीरको। दुबैलाई बचाएर पठनपाठन गर्नु शिक्षक शिक्षिकाको चुनौती बनेको भन्ने छ। यी दिनहरु र ती दिनहरुबीच धेरै नै अन्तर छ।
यद्यपि केही वर्ष अघिसम्म कलेजका दिनहरुलाई सम्झिदा त्यति बेलासम्म पनि हामीहरु कलेजमै सरहरुसँग डराउँथ्यौं। आदर गर्थ्यौँ। गुरु भनिसकेपछि गुरुसँग अथाह ज्ञानको श्रोत छ भन्ने कुरा दिमागमा बस्दथ्यो। तर आजदिसम्म आइपुग्दा विद्यार्थीहरुसँग शिक्षकहरु डराउने दिनका सुरुआत भएका रहेछन् भन्ने फिल भयो।
हुन त गैर सरकारीहरुबाट दिइने विभिन्न तालिममा विद्यार्थीलाई यसो गर्नु हुन्न, उसो गर्नु हुन्न भन्नेकुराहरु सिकाईएको हुन्छ। ती सबै प्राचिन शिक्षा पद्दतिभन्दा पनि पूर्विय सिकाईभन्दा पश्चिमेली सिकाईका आधारमा विदेशी डोनेसनबाट चलाइएका संस्थाका तालिमबाट दिइने सचेतना हुन्।
तर ती केवल औपचारिकतामा मात्र सिमित हुन्छन्। एक किसिमले तिनीहरुले आफ्ना डलर र भत्ता कसरी सिध्याउने? विभिन्न स्कूलमा गएर कार्यक्रम गरेजस्तो गरेर कार्यपत्र बनाएर बजेट स्वाहा पार्ने बाहेक प्राविधिकरुपमा विद्यार्थीका चेतनास्तर उकास्ने, जिम्मेवारीपूर्वक बहन गर्ने मनसाय देखिन्न।
फरक परिवेश, फरक वातावरण, फरक समाज र फरक परिवारमा हुर्केका, हुर्काइएका विद्यार्थीहरुलाई सिकाए जसरी सिकाईनु पर्दछ भन्ने युरोप र अमेरिकाका मानसिकतामा आधारित निर्माण गरिएको गैर-सरकारी संस्थाबाट लागू गरिएको सिकाई पद्दतिले बालबिकासमा कति प्रभावकारी भएको छ भन्ने कुरा सम्बन्धित स्कूलका ब्यबस्थापन, प्रधानध्यापकहरुले सोच्नुपर्ने र सम्बन्धित क्षेत्रले बुझ्नु पर्ने अभिभावकहरुले बहसमा उतार्नु पर्ने विषय बनेको छ। किनभने यो भोलिका दिनमा तिनै बालबालिकाका थाप्लोमा चढ्ने एउटा ऋण पनि हो।
यहाँ हाम्रो पूर्विय दर्शन हाम्रा वैदिक गुरुहरुको सिकाई पद्दति प्राक्टिकल र उच्चस्तरको रहेछ भन्नेकुरा चन्द्रगुप्त मौर्य सिरियललाई नजिकबाट हेर्दा थाहा हुन्छ। चाणक्यले त्यो सानो बालकलाई हरेक विषयमा योग्य बनाउँछन्। आफ्नो कौटिल्य अर्थशास्त्र त्यस बालकको राज्यबाट लागू गर्ने उनको महान अभिलासाले त्यो बालकलाई त्यही किसिमको शिक्षा दिएर योग्य बनाउँछन्। यसको व्याख्या भन्दा पनि त्यसबेलाको शिक्षा पद्दतिसँग यस लेखको सरोकार हो।
थियोरी र प्राक्टिकललाई कसरी प्रस्तुत गरेर बालकलाई जीवनपयोगी शिक्षा दिइन्छ। जीवनमा आइपर्ने हरेक संकट शिक्षासँग सम्बन्धित हुन्छ र शिक्षाले नै ती संकटहरुलाई दूर गर्दछ भन्ने ज्ञान त्यस बालकमा चाणक्यले टाटुझैं कोपेका हुन्छन्।
त्यसबेलाका पढाई-सिकाई प्रणाली ज्ञान लिने तरिका हेर्दा समाजभन्दा टाढा, एकान्त ठाउँमा जंगलका बीचमा गुरुकुलको स्थापना गरिदो रहेछ। जसबाट विद्यार्थीलाई प्रत्येक दिनको तनावलगायत अन्य किसिमबाट टाढा होस्। मनमा एकाग्रता पलाओस्। एकचित्त भएर ज्ञान आर्जन गर्न सकियोस्। प्रकृतिसँग प्रेम होस्।
प्रकृतिसँग सिक्ने अथाह चिज छ। प्रत्येक सिकाई प्रकृतिसँग सम्बधित छ। ऋतु परिवर्तन हुने। रुखमा नयाँ पालुवा पलाउने। झरनाहरु बग्ने। यी सबै सदैव हुँदैनन्। सुर्य अस्ताउँछन्। रुखका पात झर्छन। झरना नदिहरु सुक्छन्। अर्थात समय एकनास हुँदैन, जीवन पनि यस्तै छ। भन्ने विद्या र ज्ञान प्रकृतिबाट धेरै लिन सकिन्छ तब जीवनपयोगी विद्या ज्ञान आर्जन सकिन्छ भन्ने गुरुकुलको ध्येय रहेछ। यी सबैबाट पोख्त र ज्ञानी परिक्षणबाट उत्तिर्ण भएपछि पढाइ समाप्त हुन्छ र बल्ल गृहस्थ प्रवेशको मार्ग खोलिदोँ रहेछ।
आजभोलि परिस्थिति फरक छ। आजभोलिका बच्चाहरु घरको हरेक गतिविधिबीच विद्यालय र घर गर्छन्। टेलिभिजन, फिल्म, इन्टरनेटबाट उनीहरुको दिमागमा धेरै कुराहरु अटेका हुन्छन्, राम्रा-नराम्रा। यस्तो अवस्थामा विचरा शिक्षक शिक्षिकाले के गरुन्? एउटा बालकको दिमागमा घुसेका अनगिन्ती चिजहरुभित्र जो राम्रा नराम्रा छन्, यी चिजहरुलाई बुझेर शिक्षकशिक्षिकाले कसरी विद्यार्थी पढाउलान्? बच्चा पहिल्यै नै जीवनका अनगिन्ती रंगहरुसँग परिचित भैसक्छन् यी इन्टरनेटका माध्यमबाट।
यस्तो अवस्थामा कर्मकाण्डरुपले किताबी ज्ञान दिने शिक्षक त्यस बच्चाभन्दा पछाडि परेको हुन्छ। त्यस शिक्षकसँग समय पनि हुँदैन। ऊ इन्टरनेटमा अभ्यस्त बनोस् बाल-बच्चाझैं। हामी सुन्छौं मेरो बाबुलाई त फलानाको वाइफाई ह्याक गर्न आउँछ। मोबाइलले ब्याट्री लिएन भने हेर त बाबु के भो हामी आफैं सोध्छौं। त्यो बच्चाले यस्तो सोच्दो हो, यी पुरातन शिक्षक हुन्, जसलाई आधुनिक युगको केही थाहा छैन।
शिक्षक र विद्यार्थीबीच सिकाईको सम्मानको सम्बन्ध बन्न सक्दैन तबसम्म उसले शिक्षकलाई पिछडिएको ब्यक्ति ठान्न पुग्दछ। तर उसले शिक्षकको आदेशअनुसार पढाइ त गर्ला तर गम्भीररुपले गर्न सक्दैन। यस्तो अवस्थामा शिक्षकलाई एक–एक विद्यार्थीसँग बसेर सिकाईमा सहज अनुभव गराएर उसको व्यवहार परिवर्तन गराउँदै प्रभावकारी पठनपाठन गराउनु असम्भवमात्र होइन मनासिब देखिन्न।
कतिपय विद्यालयमा एउटा शिक्षकले बहुक्लास संचालन गर्नुपर्ने हुन्छ। दुई वा तीन क्लाससम्म हेर्नुपर्दा समय दिन भ्याइएको हुँदैन। यी यस्ता कुरा सरोकारवाला र अधिकारवालाले कहिल्यै बुझ्न सक्दैनन्।
शिक्षकलाई राजनीतिक शिकार नबनाइ, शिक्षण संस्था राजनीतिक थलो नबनाइ, अयोग्य शिक्षकलाई तुरुन्त निकाल्ने योजना नहुँदासम्म र सरोकारवालाई हेलचेक्राई र गहिरो अध्ययन नभएका कारण साथसाथै शिक्षा व्यवसायीकरण भइदिएबाट शिक्षकले आफ्नो पठनपाठन गराउने दायित्वलाई ‘कर्तव्य’ ठान्न थाले। कर्तव्य र जिम्मेवारी मात्रै ठानिदिएपछि, अन्य कुरा भुलिदिएपछि विद्यार्थीले सही ज्ञान पाउँदैनन्।
शिक्षा महान कार्य हो। शिक्षकले विद्यार्थीलाई सिकाउनु कर्तव्य र जिम्मेवारीभन्दा पनि एउटा महान धर्म हो, शिक्षा दिनु भन्ने ठान्नुपर्ने हो। त्यो वातावरण तयार गर्नु सम्बन्धित निकायको काम हो। यी वातावरण तयार नगरि सबै गुण अवगुण, महानता, त्याग त्यस शिक्षकभित्र खोज्नु गलत हो।
शिक्षक पनि यस समाजका हिस्सा हुन्। समाजमा आएका परिवर्तनका असर उनीहरुमा पनि पर्दछ। उनीहरु पनि समाजमा धनि हुन चाहन्छन्, सम्पन्न हुन चाहान्छन्, आफ्ना बच्चाको भविष्य देख्न चाहन्छन्।
अहिले हामी पुरातन शिक्षा प्रणाली र आधुनिक इन्टरनेटको प्रणालीबीच छौं। हाम्रा बच्चाहरु दूर शिक्षामा क्लास लिनसक्ने भैनसकेका अवस्थामा बच्चाहरुलाई कुन हदसम्म टिभी र इन्टरनेटको पहुँचमा राख्ने भन्ने पहिलो प्राथमिकता अभिभावकको हो। हाम्रा पालमा जस्तो स्कूलमा गएर खुरुखुरु पढ्यो, खुरुखुरु सार्यो, सरहरुका अगाडि शीर झुकायो, घर आयो, होमवर्क गर्यो, फर्क्यो। अब समय त्यस्तो पनि रहेन।
त्यसैले आजभोलिका बच्चा ती दिनका जस्ता पनि छैनन्। यिनीहरुका दिमाग त्यति खाली पनि छैनन् कि जे चाहियो त्यो भरिदिऔं। बाल बच्चालाई पढाउने र संस्कारिक बनाउन अब नयाँ तरिका निकाल्नु पर्ने हुन्छ। त्यो काम केवल स्कूलको मात्र होइन, घरको पनि हो। समाजको पनि हो। विद्यार्थीका नातापाता अभिभावकलगायत प्रत्येक सचेत नागरिकको पनि हो।
अबको पढाई इन्टरनेट, टेलिभिजनमा राखेर गराइने भन्दा पनि पुरातन र नयाँ शिक्षा प्रणालीबीच बहस हुँदै त्यस पढाई सँगसँगै अभिभावकहरुलाई सचेतनामूलक पठनपाठन र सँगसँगै तालिम दिन आवश्यक देखिन्छ। यसमा स्थानीय तहको अहम् भूमिका हुन्छ। गैरसरकारी, स्कूल व्यवस्थापन, अभिभावकलाई जागरण, चेतना, र कस्तो सिकाई प्रणाली दिने? स्थानीय तहले सोच्ने हो।
(लेखक शिक्षिका हुन्।)