सात सालको आन्दोलन देखेको म सडक, ३६, ४६ हुँदै ६२/६३ सत्तानै परिवर्तन गर्ने आन्दोलन भोगेको म सडक कोरोनाले गर्दा केही समय सवारीको चापबाट आरामको लामो सास फेरेको छु। सामन्यतयाः मानिसलाई कालो वस्तु मन पर्दैन, कालो तत्व अशुभको संकेत लिने गरिन्छ भने कसैको खराब नजर रोक्ने कवजको रुपमा मान्छन्। तर म सडक कालो भएता पनि सबैको प्रिय भएको छु।
आक्रोश पोख्ने अन्तिम गन्तव्य म भएको छु। सरकारसँग चित बुझेन, शासनसँग चित बुझने भने मानिस तुरुन्त मेरो शरणमा आइपुग्छन्। घमण्डबस कहिलेकाही सोच्ने गर्छु, म (सडक) कतै म नै यो संसारका लागि अन्तिम शरणदाता हुँ कि म नै भगवान पो हुँ कि। गन्तव्यको सारथी म नै भएकोले मानिसलाई जीवनको पथप्रर्दशकनै मै हुँ जस्तो भान हुन्छ।
मेरो शरणमा को छैन? धनि, गरिब, राजा, रंक, नेता, सबै छन्। त्यसकारण म निर्जीव भएता पनि सर्वश्रेष्ठ छु, प्रतित हुन्छ। यतिसम्म हेर्नुस् न, कोरोनाको समयमा सरकारले व्यक्तिगत दूरीको नीति अवलम्बन गरेको छ। लगभग ६० भन्दा बढी दिनको कडा लकडाउन नै गर्यो। त्यसपछि केही खुकुलो भएको लकडाउन देखिने बितिकै मानिस मेरो सामिप्यताको न्यास्रोले तुरुन्त मसँग आईपुगे। त्यो पनि अचम्मको कुरा, युवा वर्ग जसलाई राजनीतिसँग खासै चासो छैन। समाजभन्दा व्यक्तिगत कुरामै धेरै समय व्यतित गर्ने यो वर्गलाई मेरो धेरै न्यास्रो लागेर (म) सडकसँग आएको देख्दा मलाई ताजुव लागेको छ।
निर्मला पन्तको बलत्कारको घटनाको छानबिन तथा दोषीलाई कारबाहीको माग राखेर मसँग आएका युवा वर्ग धेरैपछि मकोमा आएका छन। तर ती युवा वर्गको स्वतःस्फूर्त मागको के मतलब जब त्यहाँ राजनैतिक रंग हुँदैन भन्ने लाग्यो म सडकलाई। न निर्मला पन्तले न्याय पाइन् न मेरो प्रयोग गरेर दोषीको खोजी तथा कारबाही गरिदिने मागको सम्बोधन भयो। निराश युवा वर्ग केही दिनपछि मेरो साथ छोडिदिए। त्यसपछि अवोध निर्मला पन्तको कुरा मेरोमा आएर उठाइदिने पनि कोही भएन। त्यो त्यतिकै सेलाएर गयो।
मेरो साथ रुकुमका युवाहरुको निर्मम हत्यापछि पनि कही मानिसले लिने प्रयास गरे तर त्यसलाई कोरोनाको डरले तथा मानिसमा त्यति चासो नभएकाले आकार लिन पाएन। तर हिजो आज म खुबै तातेको छु। मेरो माग एकदमै बढेको छ। 'अब त अति भो’ भन्ने के लहर चल्यो सबै युवा कोरोनाको डर त्यागेर मेरो समिपमा आउन थालेका छन। मेरो स्थान पिछे श्रेणि छ। देशका अति विशिष्ठ व्यक्ति बस्ने क्षेत्रमा मलाई साथ लिने भनेर कोही आए शासकको टाउको दुखाई हुन्छ।
मेरो त्यो श्रेणि अतिनै संवेदनशील क्षेत्र हो। जसतो मानिसका संवेदनशील क्षेत्र हुन्छन्, त्यसतै मेरो पनि ती क्षेत्र अतिनै संवेदनशील मानिएको छ। त्यही संवेदनशील क्षेत्र मध्येको एक क्षेत्रमा युवा वर्ग आरडिटी टेष्ट हटाउनु पर्यो अनि पिसिआर मात्र हुनु पर्यो भन्ने माग राखेर मेरो समिपमा आए मलाई तताउने प्रयास गरे।
मलाई डर लाग्यो, यो बेला कोरोनाको लहर छ। त्यसै त सरकार यसलाई नियन्त्रण गर्न असफल भइरहेको छ। म हुँदै हिडने विज्ञ तथा मानिस सरकारका मानिस मुखले एउटा कुरा गर्ने तर कार्य अर्को गर्ने गर्दैछन्। महामारीको यो समयलाई अवसरका रुपमा लिएर अकुत कमाउने योजना बुन्दै छन भन्ने चर्चा गर्दै हिँडेको सुन्छु। भ्रष्टचार गर्दिन तथा गर्न दिन्न भन्ने सस्तो नारा हो भन्ने मनुवा धेरै म भएर हिँडेको छन्। विचरा ती युवा आफ्नो जीवन दाउमा राखेर समाज कल्याणको माग किन यो बेलामा लिएका हुन? त्यसले उनीहरुमा कोरोना संक्रमित हुन सक्छ भन्ने पिर मनमा छाएको छ।
यदि मेरो साथ लिए बापत मेरो समिपमा कोही संक्रमित युवा आए अनि उनको सम्पर्कमा अरु मनुवा आएमा समाजमा कोरोनाको कहर भयावह हुने निश्चित छ। सरकार धृतराष्ट भयो नीति सही छैन। कोरोना नियन्त्रण गर्न सकेन भन्ने विज्ञ मनुवाहरुको किन कुरा नसुनेको हो यो देशको सरकारले अचम्ममा सोच्ने गर्छु। किन युवा मनुवालाई मसँग आउन (मेरो शरणमा) आउने वातावरण बनाउँदै हो यहाँको सरकार? मलाई तजुक लागेको छ।
यो देशका अस्पतालमा भने जति भेन्टीलेटर छैन। दिनको लगभग छ सय कोरोना पोजेटिभ संक्रमितको संख्या थपिदैछ। तीन करोड मनुवा भएको यो देशका एक प्रतिशत मात्र मानिसलाई कोरोना पोजेटिभ आयो यानी तीन लाखलाई तथा त्यो पोजेटिभ आएको एक प्रतिशत यानी तीन हजारलाई मात्र भेन्टीलेटर चाहियो भने यो देशको सरकारले के गर्ने होला भनेर मेरो कालो दिमागले कालो अवस्था देख्छ। यहाँका विज्ञहरुले भनेको सुन्छु, सरकारको कुनै अल्पकालीन तथा दीर्घकालीन अनि हरेक हप्ताको योजना छैन अरे।
यो बेला समेत अस्पतालका निर्देशकको सरुवा गर्ने कार्यमा सरकार लिप्त छ अरे। विज्ञ चिकित्सकलाई मन्त्रालयले सल्लाह लिनु राम्रो हो तर सरुवा नै गरिरहँने खेलमा लाग्नु हुन्न भन्ने गरेको सुन्छु। यो देशको एउटा निष्पक्ष तथा अन्तिम भरोसाको संस्था सेना हो अरे तर त्यसलाई पनि व्यापारी बनायो अनि घोटाला गर्ने खेलमा ल्याएर घोटला गर्न सिकाएर बदनाम गराउँदैछ मनुवाहरुले नै भन्ने गरेको सुनेको छु।
यही कोरोनाको कहरकै बखतमा यो देशको सरकारलाई मनुवामा आक्रोश उत्पन्न गराउने राष्ट्रपतिको गलैचा काण्ड, मन्त्रीको जिमहल बनाउने कुरा निकालेर किन मनुवालाई म सँग आएर कोरोनाको जोखिम बढाउने कार्य गराएको होला लागेको छ। संकट तथा महामारीको यो घडीमा यो देशका गरिब मनुवा भोकै तड्पिरहेको, विदेशबाट आउनेलाई सरकारले खसी व्यापारी जस्तो व्यवहार गरेर महंगो भाडा असुल गरेको कुराले आक्रोश भएको बेला सानो कुरा निस्कने बितिकै मनुवा मसँग शरण लिन आईपुग्छन् भन्ने कुरा नीति निर्माताले हेक्का राख्नु पर्दैन भन्ने विज्ञ मनुवा धेरै कुरा गर्छन्, म अदृश्य श्रोताको अगाडि।
मनुवा जीवनबाट आजित भएको सुनिन्छ, धेरैले आत्महत्या गर्दै छन र त्यो बढीरहेको छ अरे तर सरकारले केही राहत दिएन भनिन्छ। उघोग व्यावसाय सबै चौपट भएको छ अनि मनुवालाई घरमा थुनेर व्यावसाय संचालन नगरी व्यावसायको कर तिर भनेर भन्दा मनुवा आक्रोशित भएर मेरो शरणमा आए झन् कोरोना बढदैन र खै त बुझेको? धन्न सर्वोच्चको निर्णयले गर्दा मनुवा मेरो शरणमा आउनु परेन। बैंकको व्याजमा राहत दिने, ज्यालादारीमा काम गर्नेलाई आर्थिक प्याकेज दिने तथा कोरोना प्रभावित क्षेत्र जसतो मेनपावर, कन्सल्टेन्सी, फिल्महल, होटल, हस्पिटल, पर्यटन जसता क्षेत्रलाई राहतको प्याकेज दिनु पर्नेमा सरकार कर्मचारीको तलब दिन पैसा भएन भनेर बन्द भएका व्यावसायलाई कर बुझाउन बाध्य पार्ने कार्यमा कम्मर कसेको तथा त्यसको प्रतिकारको अवाज आउँदै गर्दा अहिले अदालतको निर्णयले केही समयलाई राहत पाएको छु।
अछामको बयलपाटामा एक मनुवालाई जागिरबाट निकालिएपछि उनले अनेक हार गुहार गरे तर सुनवाई नभए पछि अस्पताल परिसर भित्रै आत्मदाह गरेछन। यो महामारीको बेला यसतो निदर्यी कार्य हुँदा किन सरोवारवाला मौन छ भनेर मेरो मनमा आएको छ। मर्नु अन्तिम विकल्प होइन तर मर्न बाध्य गरिबीले गरायो। भएको जाँगिरबाट पनि हटाइँदा सन्तान तथा परिवारलाई केले पाल्ने भन्ने पीडाले ती मनुवाले आत्मदाह गर्दा अन्य मनुवा किन चुप भन्ने मनमा लागेको छ। भोलि यस्तै अवस्था हुँदा अन्य संस्थाले समेत कर्मचारी हटाउन सक्छन्।
विदेशबाट कैयन बेरोजगार भएर फर्कने अवस्था श्रृजना हुनेछ। देशमा रोजगारीको अवसर श्रृजना भएका छैन त्यस बेला यी भएका सिमित रोजगारदातालाई समेत सरकारले बचाउने कुनै नीति लिएको छैन। यसले कति मनुवालाई बेरोजगार बनाउने हो तथा कति मानसिक रोगी हुने हुन कल्पना गरेर नसकिने कुरा गरिएको सुन्छु।
सुरुका दिनमा परीक्षणको दायरा बढाउनु पर्थ्यो, बढाइएन। अहिले पनि कवरेन्टाइनमा भएकाको पिसिआर गरेर क्वारेन्टीन व्यवस्थापनको खर्च घटाउने तथा संक्रमितबाट अन्यमा सर्ने संख्या रोक्ने कार्यमा तथा व्यवस्थापनमा सरकार चुकेको चर्चा सुन्ने गरेको छु। पिसिआर नेगेटिभ आएकालाई क्वारेन्टनिमा राखेर खर्च किन बढाएको हो भन्ने हल्ला सुन्छु बजारमा।
क्वारेन्टाइनको मापदण्डलाई लत्याएर त्यही क्वारेन्टाइननै मृत्युको स्रोत तथा संक्रमण को स्रोत बनेकोले क्वारेन्टाइनको चुस्त व्यवस्थापनको माग विज्ञले गरेको सुनेके छु। तर माग मागमै सिमित रहेर सरकार आफ्नै गतिमा अगाडि बढेको तथा चुक्तै गएको धमिलो पानीमा माछा मार्ने कार्य गर्दै गरेको बजारी चर्चा छाएको छ।
सधै फोहोर फाल्ने अन्तिम भण्डारण स्थल मलाई प्रयोग गरिन्थ्यो। त्यो अस्पतालबाट उत्पादित अति हानिकारक फोहोर होस् वा घरबाट उत्पादित साधरण फोहोरनै किन नहोस् तर अहिलेको महामारीको समयमा अस्पतालबाट उत्सर्जित हानिकारक स्वास्थ्यजन्य फोहोरको निर्मलीकरण तथा क्लोरिन झोलको माध्ययमबाट निःसंक्रमण नगरी (म) सडकमा फाल्ने हो भने त्यसले भयावह निम्तन सक्छ। उपचारमा प्रयोग गरिएको सुइजन्य पदार्थको जथाभावी विर्सजन अतिनै घातकसिद्द हुने कुरा मनुवाले बुझन अतिनै जरुरी छ।
अन्य समयमा गफ लगाएर फोहोरको अन्तिम विर्सजन सडकमा ल्याएर गरे जस्तो लापरबाही यो महामारीको समयमा हुनु हुँदैन। फोहोर व्यवस्थापनमा कार्यरत कर्मचारीलाई समेत सुरक्षा पहिरनको उचित प्रबन्ध हुनु आवश्यक रहन्छ। नत्र तिनै फोहोर व्यवस्थापनमा काम गर्ने मनुवाको माध्ययमबाट कोरोना समाजमा फैलन सक्छ।
सुत्केरी महिलालाई अपरेसन गर्नु पर्दा पिसिआर रिपोट खोजिएको, आईसियु चाहिने बिरामीलाई पिसिआर रिर्पोट नभएर आलटाल गरेर आकस्मिक विभागमै ज्यान गएको समाचारहरुको पनि चर्चा सुन्नमा आएको छ। यो देश अहिले संक्रमणको प्रारम्भिक चरणमै रहेको तथा व्यवस्थापनमा सुधार नभएमा तथा नीति निर्मता इमान्दार नभएमा यसले भयावह निम्तने विज्ञको चर्चा सुनिन्छ। भोलि आउने समयलाई आजै प्रक्क्षेपण गरेर योजना तर्जुमा हुनु पर्छ नत्र कोरोना संक्रमितको चाप थेगी नसक्ने हुनेछ।
पिसिआर टेष्टको दायरा बढाउन मलाई तताउने युवा तथा जनस्वास्थ्य विज्ञको मागको कही सम्बोधन गरेर तार्किक परिणाममुखी कार्यमा नीति निर्माता लागे मात्र मनुवा मेरो शरणमा आउने छैनन्।
यो संकटको घडीका वास्तविक भगवान चिकित्सक तथा अस्पतालकर्मी तथा स्वाास्थ्यकर्मीको हातपातको कुरा पनि सुनेको छु। मेरो शरणमा यी पेशाका मानिस यो समयमा आउनु देश तथा जनताको लागि लाजमर्दो कुरा हो। यो बेला यी पेशाका मनुवाको हौसला बढाउने कार्य गर्ने समय हो। सबै मनुवालाई यो महामारीबाट निकाल्ने तथा जोगाउने मनुवा यिनै मात्र हुन्। यी मनुवाहरुलाई काम गर्ने वातावरण दिनुपर्छ। मेरो शरणमा यिनी आउने यो बेला होइन, त्यस कारण सडकमा आउन यी पेशाका मनुवालाई बाध्य नपारियोस्।
कोरोना महामारी चाँडै हटोस्, कुनै मनुवाको मृत्यु नहोस्, सबैले मास्कको प्रयोग गरी दूरी कायम गरेर आफु बाँच्ने तथा अरुलाई पनि बाँच्ने दिने वातावरण श्रृजना होस्। मेरो (सडकको) शरणमा कसैले पनि आउनु नपरोस्। सबैको जय होस्। यो कालो मनबाट सबैको उज्यालोको कामना छ।
धन्यवाद!