जातिय विभेद र छुवाछुतको सवालमा अहिलेको आधुनिक भनेर कहलिएको समाज त्यत्ति अनविज्ञ छैन।
दलित समुदाय र गैरदलित समुदायबीच छुवाछुतको ठूलो खाडल रहेको पुष्टि विभिन्न घटनाक्रमहरुले गरिरहेका छन्।
सदियौंदेखि विभेद खेपिरहेको दलित समुदायका लागि जातका आधारमा समाजमा उपल्लो जाति कहलिएका गैरदलितहरुले भिन्न व्यवहार गर्नु कुनै नौलो विषय होइन।
जातिय भेदभावलाई दण्डित गर्ने कानुन बनेयता करिब नौ वर्षको अन्तरालमा घटेका घटनाहरुलाई केलाउने हो भने पनि अधिकांश घटनाहरु जातकै आधारमा घटेका छन् भन्ने कुरा सबैमा जगजायर नै छ।
२०६८ मा कालिकोटका मानबीरे सुनारको चुलो छोएको निहुँमा भएको हत्या भएदेखि २०७७ मा अन्तरजातिय प्रेम गरेका नवराज विकको हत्यासम्मलाई नियाल्ने हो भने पनि जातकै कारण दलितहरुको नरसंहार हुँदै आएकोमा कुनै दुविधा नै छैन।
जातका आधारमा घटेका घटनाहरुको न्यायिक निरुपण गर्नका लागि यो राज्य जहिलै पनि चुकेको छ।
तत्कालिन पञ्चायती व्यवस्थाद्धारा संशोधित मुलुकी ऐन २०२० देखि गणतन्त्र नेपालको संविधान २०७२ सम्मलाई जातिय विभेद विरुद्धका कानुनी व्यख्याहरु केलाउने हो भने त्यत्ति निराशाजनक हुनु नपर्ने देखिन्छ।
२०५८ मा जातिय छुवाछुत तथा विभेदका विरुद्धमा राज्यस्तरबाट नै संरचनागत राष्ट्रिय दलित आयोग गठन भएपछि विभेद विरुद्धका नीति, नियम ऐन तथा कार्यविधिको विकास चाहिँदो मात्रामा भएको छ।
समाजमा समग्र दलित समुदाय र गैरदलित समुदायका बीचमा हुने विभेद र छुवाछुतका व्यवहारहरु जसरी विस्फोट भइराखेका छन् तर दलित दलितहरुको बीचमा हुने छुवाछुतका सवालहरु भने गौण देखिएका छन्।
दलितभित्र पनि पहाडे मुलका दलितमा कामी, दमाई सार्की, गाइने, पोडे आदि छन् भने मधेशी मुलका दलितहरुमा दुसाध, धोवी, कलर, पासी, डोम मन्डल, मुसहर बाँतरलगायतका जातीहरुलाई राखिएको छ।
राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७१/०७२ का अनुसार दलित जातिहरुको सूची हेर्दा २६ वटा जातिहरु सूचीकृत भएको देखिन्छ।
राष्ट्रिय दलित आयोगले सूचीकृत गरेका २६ वटा दलित जातिहरुभित्र नै छुवाछुत र विभेदको ठूलो खाडल परेको छ।
कामीले दमाइलाई विभेद गर्ने दमाइले सार्कीलाई विभेद गर्ने सार्कीले वादीलाई विभेद गर्ने दुसाधले धोवीलाई विभेद गर्ने लगायतका जातिय विभेदहरु यो समाजमा जरा गाढेर नै मौलाइरहेका छन्।
दमाई जातिका युवायुवति र कामी जातिका युवायुवती बीचमा पनि अन्तरजातीय विवाह भयो भने ठूलै कहल हुने गरेको छ।
त्यसैले पहिला त अन्तरदलित विभेदको अन्त गर्न जरुरी छ। किनेभने बलेसी सफा नगरी छुठेल्नो सफा गरेर घर सफा हुदैन हो यो अन्तर दलित विभेदको विषय पनि यस्तै हो।
आफैंभित्रको विभेद नहटाइ गैरदलितहरुले गर्ने विभेद हटाउन मुस्किल छ। हामी मूल ढोका खुल्ला रहेको मात्रै देख्छौ जस्केलो खुला भएको प्रवाह नै छैन। आफैंभित्र विभेद छोडन नसकेपछि अरुले त विभेद गर्ने नै भए।
परियारले परियार उत्थान समाज बनाएको छ विश्वकर्माहरुले विश्वकर्मा उत्थान समाज बनाएको छ। बादीहरुले बादी समाज होला, मन्डलहरुले मन्डल उत्थान समाज बनाएको होला यसरी दलित भित्र पनि आआफना जातीलाई लक्षित गरी संगठन बनाएर जाती केन्द्रीत कार्यक्रमहरु गर्नेहरुको लर्को लामै छ।
विभिन्न राजनीतिक दलमा आवद्ध भएका दलित अगुवाहरुले पनि कामीले कामीको पक्षमा दमाइले दमाइको पक्षमा वकालत गर्नेहरुको पनि कम छैन यहा अनि कसरी विभेदको पर्खाल भत्काउन सकिन्छ?
आफ्नै पाटीभित्र पनि दलित अगुवाहरुले भेदभावको विरुद्धमा पेचिलो आवाज उठाउदैनन्। दलित अधिकारकर्मीहरुको पनि संगठित आवाज छैन। नागारिक समाजभित्र रहेका दलितहरुको पनि विभेद र छुवाछुतका बारेमा सशक्त प्रतिकार गर्ने आट देखिँदैन।
दलितहरुमा आफैंभित्रको विभेद र छुवाछुतको आगो नजानिदो तरिकाले समाजमा सल्कीरहेको हुनाले पनि गैर दलितहरुले विभेद गर्ने ठाउँ पाइरखेका छन्।
विभेद भनेको यस्तो एउटा डरलाग्दो धमिरा हो जसले समाजलाई भित्रभित्रै खोक्रोबनाउदै लगिरहेको पत्तै छैन।
हाम्रो समाजमा रहेका धर्म संस्कृति जातिय विभाजन वर्ग विभाजन शासन पद्धति, पुरातनवादी सोचका कारणले गर्दा अन्तरदलित विभेदको जरा समाजमा उखेलिन नसकेको कुरामा अलमलिनु पर्दैन।
अन्तर दलित बीचको विभेदको समस्या अन्त्यका लागि समाजको आर्थिक, सामाजिक तथा राजनीतिक अन्तरविरोधको जालोभित्र नै समाधान खोज्न जरुरी छ।
दलित भित्रको छुवाछुतलाई संरक्षित गर्ने तत्व र दलित भित्रकै ठालु कुलिन संस्कृतिक पछौटेपन र दलितभित्रकै घरेलु प्रतिक्रियावादी शक्तीलाई भत्काउन सबै दलितहरु एउटै छाहारीमा गोलबन्द भएर बहस चलाउन जरुरी।
अहिले समाजमा मौलाउँदै गइरहेको अन्तरदलित विभेदको लघुताभासले समातामुलक समाज विभेद विनाको समाजको परिकल्पना गर्ने भोलिको पुस्ताहरुको सुन्दर सपनालाई निमोठने काम भइराखेको यो राज्यलाई ख्यालै छैन।
अब दलितभित्रका जातीहरु कामी, दमाइ, सार्की, पोडे, मुसहर, मन्डल एक्लाएक्लै लडेर आआफ्नै डम्फू बजाउFदै हिFडेर यो विभेदको हिउFचुली ढलाउन सकिन्न।
यसरी ढल्ने भए त (१९५०–२०१२) को समयमा नै दलित आन्दोलनका अगुवा सर्वजित विश्वकर्माले पनि जातिय छुवाछुद तथा विभेदका विरुद्धमा आवाज छेडेका घटना इतिहासमा जिवितै छन्।
तर खोइ त आजसम्म विभेदले छोडेको, मौखिक रुपमा शब्द टुक्का मिलाएर जातिय विभेदमुक्त समाज हुने भए त वि स २००६ साल तिर नै तत्कालिन श्री ३ सरकारका प्रधानमन्त्री मोहनशमशेरले नै अब आइन्दा छुवाछुत भेदभाव नगर्ने र विश्वकर्माले जनै लाउन पाउन हुकुम भएको इतिहास पनि जिवितै छ तर खोइ त आज पनि अन्तरजालो जस्तै भएर समाजमा जातिय विभेद जिवित रहेकै छ त।
त्यसकारण आफैंभित्रको मैला सफा गर्नका लागि आमदलितहरुले एकजुट भएर नमुना बन्न सकियो भने पक्कै पनि भोलीको पुस्तालाई विभेदमुक्त समाज देखाउन नसकिने कुरै हुँदैन।
गैरदलितहरुले दलितहरुमाथि जातको आधारमा गर्ने विभेदपूर्ण व्यवहारलाई छिनाल्नु नै छ तर त्यसका साथसाथै दलित दलितबीचमा हुने जातिय विभेदको अभ्यासलाई र्निमुल पार्नका लागि हामी आम दलितहरुको एउटै धारणाको विकास गर्न ढिला भइसकेको छ।
प्राध्यापक कृष्ण खनालले एक आलेखमा जात व्यवस्थाको संरचनामा नै हान्नु पर्छ भने जस्तै अब अन्तर दलितभित्र जेलिएको जातीय विभेदको संरचनालाई पनि हान्ने आट हामी दलितहरुभित्र नै हुन जरुरी छ।
उदाहरणका लागि म विश्वकर्मा थरको दलित हुँ भनेपछि मलाई कुनै बाहुनले जातको आधारमा विभेद गर्दै गर्दा मैले दमाइलाई विभेद गरेको भुले भने सबैभन्दा व्यवहारमा नमिल्ने कुरा चाही यहि हुन्छ । भनिन्छ नि घरभित्र झगडा भएको छिमेकीले थाहा पाए भने हेप्न थाल्छन भनेर हो यो विभेदको सवालमा पनि त्यहि भइराखेको छ।
आफैंभित्रको विभेदको पर्खाल तोडन हामीले विर्सेका छौ अनि गैर दलितहरुको विभेदलाई कसरी तोड्न सकिन्छ त?
त्यसैले पहिला अन्तरदलित विभेदको पर्खाल भत्काउने अठोट गरौं आम दलित एक ठाउँमा उभिएर अनि गैरदलितविभेदका विरुद्धमा हाम्रो आवाज पेचिलो बन्न सक्छ।
नत्र यो जातिय विभेदको अभ्यास पुस्तापुस्तामा हस्तान्तरण भएर चटान जस्तै रहि नै रहने पक्का देखिन्छ।