अल्बर्ट आइन्स्टाइनको नाम सुन्दा सायद हामीलाई पेले र म्याराडोनाको भन्दा कम प्रख्यात लाग्दैन। बढी नै होलान् बरु। सन् १९९९ मा टाइम म्यागेजिनले आइन्स्टाइनलाई त शताब्दीको व्यक्ति घोषणा गरेको थियो। हामीहरुमा पेले राम्रो फुटबलर कि म्याराडोना राम्रो भनेर वादविवाद चल्छ। कोही त अझ मेस्सीले उछिनो भन्ने नि छन्।
मेस्सीभन्दा रोनाल्डो राम्रो भन्ने जमात पनि ठूलो छ। तर अहिलेका दशकका महान् वैज्ञानिक को हुन् त? नाम सम्झन गाह्रै पर्छ। सोही क्षेत्रमा काम गर्नेहरुलाई आफ्नो क्षेत्रका वैज्ञानिक थाहा होला, तर जनजीवनको जिब्रोमा झुन्डिने गरेर कुनै नाम आउदैन। यसको दुई कारण हुनसक्छ, कि त सबै विख्यात वैज्ञानिकहरु उन्नाईसौ वा बिसौ शताब्दीमा जन्मे कि त हामीले वैज्ञानिकहरुलाई पहिले जस्तो उचित स्थान दिन सकेनौँ।
पहिलो सम्भावना कम छ किनकि गत दुई दशकमा विज्ञानले जति फड्को मारेको छ, सायद यति विकास विरलै भएको थियो होला। यो कालमा विज्ञानमा भएको अभूतपूर्व विकासले हामी हाम्रो आनुवंशिक अनुक्रम मात्र थाह पाएका छैनौँ, मानवीय भ्रुणमा आनुवंशिक अनुक्रम बदलेर प्राण घातक रोग हटाउन सक्ने भएका छौँ।
आइन्स्टाइनले परिकल्पना गरेको गुरुत्वाकर्षण तरंग प्रमाणित गरेका छौँ। हामी कृतिम अंग बनाउन मात्र हैन, पूर्ण अनुहार प्रत्यारोपण गर्न सक्षम भएका छौँ। 'डार्क म्याटर' को अस्तित्वलाई प्रमाणित गर्ने प्रमाण मात्र फेला परेको छैन, ब्लैक होललाई खिच्न सकेका छौँ। मंगल ग्रहमा पानी पत्ता लागेको छ। एड्स जस्तो घातक रोगलाई लगभग निर्मूल पारेका छौँ।
यस्ता अभूतपूर्व घटनाहरुले प्रेसमा स्थान नपाउने हैनन्, अवश्य नै संसारभर हेडलाइन बन्छन्। यस्ता उपलब्धि हासिल गर्ने वैज्ञानिकहरुलाई वर्षेनी नोबेल पुरस्कारले सम्मान गरिन्छ। तिनका समाचार पनि बन्छन्। तर हामी यदि हाजिरी जवाफ प्रतियोगितामा जाँदै छैनौँ भने उनीहरुको नाम विरलै याद हुन्छ। के हाम्रा जीवनयाँपन सहज पार्ने, प्राण-घातक रोगको औषधि दिने वैज्ञानिक रक-स्टारभन्दा कम छन्?
आधा शताब्दी अनुसन्धान गरेर जीवन बचाउने औषधि बनाउन सहयोग गर्ने वैज्ञानिकलाई किन जस्टिन बिबरको 'बेबी' गीतले ओझेलमा पार्छ? अनि किन ती वैज्ञानिकको कमाई युट्यूबमा 'प्र्यांक' भिडियो बनाउनेको भन्दा निकै कम हुन्छ?
जब कोरोना कहर बढ्दै गयो, एउटा फोटो इन्टरनेटमा भाइरल भयो। त्यो फोटोमा एक स्पेनिश जैविक अनुसन्धानकर्तालाई उद्धरण गर्दै लेखिएको थियो- 'तपाई फुटबलरलाई एक महिना १० लाख युरो र जैविक अनुसन्धानकर्तालाई प्रतिमहिना १८०० युरो दिनुहुन्छ, र अहिले कोरोना भाइरस उपचारको खोजीमा हुनुहुन्छ। क्रिस्टियानो रोनाल्डो वा मेस्सीमा जानुहोस् र तिनीहरूले तपाईंलाई उपचार दिनेछन्।’
पछि त्यो फोटोमा भएको मान्छे जैविक अनुसन्धानकर्ता नभएर एक मन्त्री भएको र उनको प्रयोग गरिएको फोटो कोरोना महामारी सुरु हुनु अगाडिको भन्ने कुरा आयो। त्यो भनाइ कसको र के भन्ने अर्कै पाटो रहला, तर यो भाइरल हुनुले भने एउटा कुरा प्रष्ट परेको छ, वैज्ञानिकहरुलाई राम्रो तलब र सुविधा दिईएको छैन। न त उनीहरुले नाम र प्रसिद्धि नै पाएका छन्।
तर जब कोरोनको कहरले संसारलाई टक्क रोकिदियो, वैज्ञानिकहरु रथी बनेर अगाडि आए। कोरोनाको लकडाउन चल्दै गर्दा कोही चले त तिनै हेलामा परेका वैज्ञानिकहरु। कोरोनाको कहर सुरु हुँदादेखि नै वैज्ञानिकहरु अहोरात्र कसरी निदान गर्ने र कसरी उपचार गर्ने भनेर घोत्लिरहेका छन्। न त प्रिमियिर लिग चले, न त ला-लिगा, न त कन्सर्ट नै। न त टिभिमा रोनाल्डो-मेस्सी छाए , न त टम क्रुज र एन्जेलिना जोली वा न त बेयोंसे र जस्टिन बिबर।
बरु फाउचिका रिपोर्ट सुनेर मान्छे व्यग्रता काट्न थाले। नेपालमा पनि अनुप सुबेदी छाउन थाले, सन्दिप लम्मिछानेको बारेमा बिरलै सुन्न थालियो। सर्वसाधारणहरुलाई औषधि बनेका खबरहरुमा उच्छुकता जाग्न थाल्यो, डाक्टर दासको स्क्यान्डल छवि ओझाको भन्दा प्यारो लग्यो नेपालमा।
ढिलो चाँडो वैज्ञानिक, डाक्टरहरुको मिहेनतले हामी कोरोनको कहरबाट पार पाउला, संसार पुरानै गतिमा फर्केला, के त्यो बेला यो महामारीबाट पार लाउने वैज्ञानिकहरु मेस्सी, रोनाल्डो जस्तिकै सेलेब्रेटी होलान् त? के उनीहरुको मिहेनत हामी सम्झने छौँ? कि फेरि अर्को महामारी कुर्नुपर्ने छ?
कोरोनाको कहर त केवल एक ट्रेलर मात्र हो। कोरोना धेरैमा सर्ने भए पनि यसको मृत्युदर त्यस्तो धेरै छैन। यसबाट मर्ने पनि रोग प्रतिरोधक क्षमता कमजोर भएका मात्र छन्। भविष्यमा यस्तो भाइरस आउनसक्छ जुन कोरोना, मिजल्स जत्तिकै संक्रामक हुनसक्छ अनि इबोला, एड्स जत्तिकै घातक हुनसक्छ। त्यस्तो परिस्थितिसँग जुध्न पूर्व तयारी बिना असम्भव छ। अहिलेको जस्तै महामारी सुरु भएपछि लड्ने हो भने संसारको आदि संख्या मर्ने अवस्था आउन सक्छ।
यदि भविष्यको लागि तयार हुने हो भने कोरोनाको कहरबाट मुक्ति पाएपछि हामीले थकाई मार्ने फुर्सद हुने छैन। किनकि अर्को विश्व युद्धको लागि तयारी सुरु गर्नुपर्ने छ। बिल गेट्सले भनेझै सो विश्वयुद्धमा सबै देशको साझा सत्रु कसैले नदेख्ने संक्रामक र घातक जीवाणु हुनेछ। हाम्रो हतियार भनेको गोला र बारुद हुने छैन, निदान र उपचार गर्ने प्रविधि हुनेछन्, हाम्रो सेना भनेका वैज्ञानिक र डाक्टर हुनेछन्। सो विश्वयुद्धसँग लड्न के हामी रक्षा बजेटको प्रमुख अंश छुट्याउन तयार छौँ? के हामी हाम्रो शरीर र शरीरले प्रकृतिसंग गर्ने अन्तरक्रिया बुझ्नका लागि हाम्रो स्रोत, समय, र उर्जा खर्च गर्न तयार छौँ?
यसो त जीवविज्ञान अन्य विज्ञानका क्षेत्रहरू मध्ये सबभन्दा हेला गरिएको विषय हो। अरु क्षेत्रको दाँजोमा यस क्षेत्रका वैज्ञानिकले कम तलब पाएको भेटिन्छ। विद्यावारिधी गरेको जीव वैज्ञानिकको तलव स्नातक गरेको कम्प्यूटर विज्ञको भन्दा पनि कम भएको भेटिन्छ। यसले गर्दा राम्रा विद्यार्थी यो विषयमा आकर्षित हुँदैनन्। यस्तो अवस्थामा हामी महामारीसँग लड्न सक्षम जनशक्ति तयार हुने छैन।
त्यहीमाथि हामीले सरुवा रोगलाई अविकसित देशको रोग भनेर बसेका थियौ। नत्र इबोलाको कहरबाट हामीले चेत लिनुपर्ने थियो। कोरोनाको कहरले हामीलाई फेरि एक पटक झक्झकाई दिएको छ। अब हामीले प्राथमिकता तय गर्न आवश्यक छ किनकि सम्पूर्ण आविष्कार गरिएका मिसाइलहरू, विलासिता, र कल्पनाहरू व्यर्थ हुन्छन् जब सम्पूर्ण विश्व १०० न्यानोमिटर सानो भाइरसलाई नष्ट गर्ने औषधी वा खोपको लागि घुँडा टेक्छ।
के हामी वैज्ञानिक, डाक्टरहरुलाई फुटबल र हलिवुड ताराहरू जसरी मनाउन तयार छौँ? के हामी उनीहरुलाई उचित सम्मान र सुविधा दिन सक्छौँ? जसले गर्दा भर्खर हुर्कदै गरेको बालक/बालिकाहरु संचिन तेन्दुलकर वा रोनाल्डो वा मेस्सी मात्र हैन कि वैज्ञानिकहरुलाई पनि आदर्श मानुन्, वैज्ञानिक बन्ने सपना पालुन्, वैज्ञानिक बनुन् र भविष्यमा आउने अरु कहरबाट संसारलाई पार लगाउन्।
तर किन हुर्कदै गरेका बालक-बालिकाहरु वैज्ञानिकहरुलाई आदर्श नबनाएका होलान त? किन सर्वसाधारणहरुलाई वैज्ञानिक समाचार वा सामग्री प्रति इच्छा नभएको होला त? किन कुनै वैज्ञानिकको आविष्कारभन्दा कोही नायिकाको ड्रेसले महत्व पाउछन्। पक्कै पनि विज्ञान मनोरंजन वा संगीत हैन, वा कमसेकम अहिले त्यसरी प्रस्तुत गरिएको छैन। अवश्य विज्ञान र मनोरन्जनका मध्यमको तुलना गर्नु सुन्तला र स्याउको तुलना जस्तो हुन सक्छ।
विज्ञान सबैको रुचिको विषय नहुन सक्छ, न त कोही थकित भएको बेला वा अल्छि लागेको बेलामा यसबाट आनन्द प्राप्त गर्न सक्छ, भलै विज्ञानबाट मनोरंजन धेरै साधन बनेका छन्। अहिले जसरी विज्ञानलाई प्रस्तुत गरिएको छ, नयाँँ आविष्कारहरु वा अनुसन्धानहरु विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरुले मात्र बुझ्न सक्छन्।
केही विद्यार्थीको अवश्य रुचि होला तर प्राय विद्यार्थी जाँचमा राम्रो गर्न मात्र बाध्य भएर पढेको देखिन्छ। यस्तो अवस्थामा अनुसन्धान बारे मिडियामा आए पनि सबैको चासोमा पर्दैनन्, बालबालिकामा छाप पर्ने गरेर मिडियामा रहँदैनन् पनि। यस्तो अवस्थामा स्याउ र सुन्तलाको एउटै मूल्य माग्नु सान्दर्भिक नहोला। यस कारण कसरी विज्ञानलाई पनि सबैको रुचिको विषय बनाउने, वैज्ञानिकहरु त्यतातिर घोत्लिनु आवश्यक छ।
विज्ञानमा सर्वसाधारणको इच्छा जगाउन सर्वप्रथम त हाम्रो पाठ्यक्रम र पढाउने शैली सुधार्न आवश्यक छ। विज्ञानमा गरिएका प्राय नयाँ आविष्कार पुराना आविष्कारको जगमा भएका हुन्छन्। यसले गर्दा आधारभूत सिद्धान्तहरु नबुझी नयाँ अनुसन्धान बुझ्न गार्हो हुन्छ। यसले गर्दा माध्यमिक तहसम्म पनि हाम्रो पढाई न्युटन वा डार्बिनका सिद्धान्तहरुबाट धेरै बाहिर गएको छैन। वर्तमान समयमा भएका वैज्ञानिक प्रगति पढ्न कमसेकम स्नातक कुर्नुपर्ने हुन्छ। सबै स्नातकसम्म नपढ्ने र पढ्ने पनि सबैले विज्ञान नपढ्ने हुँदा सर्वसाधारणलाई न त भैरहेका वैज्ञानिक प्रगति बारे थाहा हुन्छ न 'ब्रेक-थ्रु' गर्ने वैज्ञानिक बारे नै।
अत: हाम्रा पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउन आवश्यक छ। माध्यमिक तहको पढाईमा वाटसन र क्रिकको ‘डबल हेलिक्स’ मोडेल बारे मात्र हैन, अहिले आएर भएको डिएनएको अनुक्रम बदल्न मिल्ने क्रिस्पर प्रविधि बारे पनि समावेश गर्न सकिन्छ। अवश्य नै यस्तो अवधारणालाई सरलीकरण गर्नुपर्छ। यसैगरी हाम्रो पढाउने शैली परिवर्तन गरी सरल बनाउन आवश्यक छ।
विज्ञान भन्ने बित्तिकै गाह्रो विषय भन्ने आम धारणा छ। अनावश्यक सिद्धान्त घोक्नु पर्नेबाट व्यवहारिक तथा उपयोगी कुराहरु पढाउनु उत्तम हुनेछ। त्यसैगरी, हामीले विज्ञानलाई सर्वसाधारणसम्म पुर्याउने राम्रा मध्यमको निर्माण गर्नुपर्छ। यस सम्बन्धी टिभि कार्यक्रमहरु निर्माण गर्न सकिन्छ्, एनिमेटेड भिडियो बनाउन सकिन्छ।
यस्ता सामग्री घोत्लिनु पर्नेभन्दा पनि सरल तथा मनोरञ्जनात्मक तवरले निर्माण गर्नुपर्छ। वैज्ञानिकहरु अब प्रकाशन गर्ने दौडमा मात्र नलागेर आफूले पत्ता लगाएको कुरा बुझाउन तथा त्यसको उपयोगिता प्रमादित गर्न लाग्नुपर्छ। यसले वैज्ञानिकहरुको अस्तित्व समाजमा स्थापित गर्न मद्दत गर्छ। समय-समयमा आउने चुनौतीका खाडल पुर्ने तथा समाज विकासमा ठोस मदत गर्ने वैज्ञानिकहरुलाई श्रेय दिने कुरामा सरकार, निजी समूदाय तथा नागरिक समाजले पनि कन्जुसाई गर्नु हुँदैन।
यदि कोही वैज्ञानिकले केही आविष्कार गर्छ वा उसको अनुसन्धानबाट केही उपभोग्य सामान (जस्तै औषधि) बन्छ भने त्यस्ता उत्पादनमा मुख्य योगदान दिने वैज्ञानिक वा अनुसन्धान संस्थालाई श्रेय दिने चिन्ह वा फोटो राख्न सकिन्छ। उनीहरुलाई प्रोत्साहन गर्न विभिन्न पुरस्कारको व्यवस्था गर्न सकिन्छ।
त्यस्ता पुरस्कार कार्यक्रमहरुलाई सर्वसाधारणसम्म पुर्याई विज्ञानको महत्व प्रकाश पार्न सकिन्छ। वैज्ञानिकहरुको मिहेनत र आविष्कारको बारेमा वृत्तचित्र निर्माण गर्न सकिन्छ। सर्वसाधारणहरुले पनि भैरहेका वैज्ञानिक गतिविधि बारे बढी चासो राख्न सक्छन। यसो हुन सकेमा वैज्ञानिकहरुले आफ्नो उचित स्थान पाउने छन्।
वैज्ञानिकहरु समाजका गहना हुन्, जसका आविष्कारले हामीलाई ढुंगे युगबाट यहाँसम्म ल्याएको छ। समयको चक्र अगाडि बढाउन उनीहरुले ठूलो तपस्या गरेका छन्। यसलाई मध्यनजर राख्दै उनीहरुको मिहेनत स्थापित गर्न केही कदम चालिएका छन्। जस्ता २०१३ देखि हलिवुड सेलेब्रिटीको साथमा 'रेड-कार्पेट' सहित 'ब्रेक-थ्रु' अवार्ड पुरस्कार दिन थालिएको छ।
यस्ता प्रयास सही दिशामा भएपनि अपर्याप्त छन्। सरकार, निजी क्षेत्र तथा आम जनस्तरबाट उनीहरुलाई सही स्थान दिन सकेमा विज्ञान क्षेत्रले प्रतिभाशाली विद्यार्थीहरु आकर्षण गर्नेछ, नयाँ आइन्स्टाइनहरु समाजमा स्थापित हुनेछन, र हामी भविष्यमा आउने कुनै पनि चुनौती सामना गर्न सक्नेछौँ।
(लेखक स्विस फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजी ज्युरिख, स्विजरल्यान्डमा कार्यरत क्यान्सर वैज्ञानिक हुन्।)