‘बलिउडका कलाकार ‘सुशान्त सिंह राजपुत’ले आत्महत्या गरे रे।’ अफिसमा कुनै सहकर्मीले खबर सुनायो। म स्तब्ध भएँ। आत्महत्या नै जिन्दगीमा आइपर्ने समस्याको समाधान होइन। यस्तै सन्देश दिने चलचित्रमा जसले अभिनय गरे। जसले सारा दुनियाँलाई जीत सफलताभन्दा पर पनि जिन्दगी छ भनेर सन्देश दिने चलचित्र अभिनय गरे। आज तिनै नायकले यस्तो गरे। अहँ! पत्याइनँ। हो, होइन एकिन गर्न हतार-हतार ट्विटर स्क्रोल गरे। अब नपत्याइ रहन सक्ने अवस्था रहेन। टाइमलाइन उनको मृत्युको खबरले भरिसकेको रैछ।
बलिउडको एउटा उदाउदो कलाकारले यसरी आत्महत्या गर्नैपर्ने कारण। जसको करियरको ग्राफ निरन्तर बढिरहेको थियो। आखिर उसले आत्महत्या गर्नुपर्ने कारण के? टाइमलाइनमा आत्महत्यासँगै त्यसको कारण लेखिएको थियो। ‘डिप्रेसन’ म झन् झसंग भए। निरन्तर सफल चलचित्रमा अभिनय, बलिउडजस्तो ठूलो चलचित्र उद्योगमा काम गरिरहेको चल्तीको नायकलाई डिप्रेसन। बाहिर ठिकठाक जस्तो देखिने, सहज अवस्थाको मानिस भित्रभित्रै डिप्रेसनमा छैन भन्न सकिन्न कि।
डिप्रेसनबाट तंग्रिदै गरेको मलाई आत्महत्याको कारण देखेर मन उद्धेलित भयो। के उनले डिप्रेसनबाट गुज्रिरहेको कुरा चिकित्सिक, साथीभाइ र आफन्तलाई जानकारी गराएका थिए वा उनी आफैले त्यो कुरा थाहा नपाउँदै भित्र-भित्रै यो अवस्थासम्म पुगिसकेका थिए। आखिरमा मानिस डिप्रेसन र आत्महत्याको अवस्थासम्म कसरी पुग्छ?
गाउँघरमा मेरो जत्तिको नतिजा ल्याउने अधिकांशको रुचिको विषय थियो कि डाक्टर कि इन्जिनियर। एसएलसीमा आएको नतिजाले साइन्स छोडेर अरु विषय तिर हेर्नै नहुने भन्ने मानक स्थापित गर्यो। साइन्समा प्लस टु सकेपछि सरकारीमा नाम ननिस्के पनि प्राइभेटमै इन्जिनियरिङ पढ्नु पर्ने भयो। प्राइभेटमै इन्जिनियरिङ गर्नुपर्ने विभिन्न कारण थिए। ती मध्ये प्रधान कारण थियो, गाउँमा मभन्दा कमजोर भनिएका थुप्रै विद्यार्थीहरुले इन्जियिरिङ गरिरहेकै थिए। साथीभाइ, आफन्त सबैको चाहाना इन्जिनियरसम्म त बनोस् भन्ने नै थियो।
१७ वर्षमा नै प्लस टु सकेपछि रुचि अनुसारको करियर बनाउने भन्ने कुराको निर्णय म आफैले लिन सकिन। परीक्षामा आएको नम्बर गौण हो, प्रमुख कुरा आफ्नो रुचि हो भन्ने हिम्मत नै आएन। आफन्त र साथिभाइले इन्जिनियरिङसँगै देखाएका सपना थिए राम्रो तलब, गाडी, सुविधासम्पन्न जीवन। यी र यस्तै भौतिक सुविधाको ललिपपको अगाडि मेरो सोसल कन्टेक्स्टको इतिहास र समसामयिक राजनीति जान्ने तीव्र इच्छा र चाहाना प्रकट हुनै सकेनन्। ती बाहिर कसैसामु भन्ने हिम्मत नहुँदै त्यसै लुप्त भए। कहिल्यै प्रकट हुने अवसर पाएनन्।
आखिरमा इन्जिनियरिङमा भर्ना भएँ। सुरुआती दिनमा साथीभाइ र आफन्तले देखाएका सपनाहरु सामुन्ने आउँथे राम्रो तलब, लक्जरियस जीन्दगी, मान सम्मान... इत्यादी। एउटा मिठो सपना बोकेर इन्जिनियरिङको अध्ययन सुरुआत गरे। पढ्दा पढ्दै पछाडि बढ्दै गरे बुढेसकालका आमाबुबाप्रतिको जिम्मेवारी, प्राइभेट कलेजको फि, असाइन्मेन्ट, भाइबहिनीको करियर, आफ्नो जीन्दगी यी र यस्तै कुराहरुले मनमा डेरा जमाइरहन्थ्यो।
कलेजमा साथीसँगीसँगको संगतबाट स्पष्ट हुन्थ्यो म तुलनात्मक रुपमा कमजोर वर्गको विद्यार्थी थिए। उनीहरु पढाइ सक्ने वित्तिकै विदेश, फलाना विजनेसम्यानको कम्पनीमा बा, काका र मामाले अहिले नै भनिदिएको कुरा गर्थे। यस्ता कुरा सुनेपश्चात म सोच्थेँ, मलाई कसले भनिदेला? मेरो त कोही पनि छैन यस्तो ठाममा। कलेजमा अर्को हट टपिक हुन्थ्यो, इन्जिनियर पास भए नि जागिर नपाउने अवस्थाको। म भन्थे इन्जिनियर भए नि जागिर नपाउने। कारण मेरो गाउँमा उकाध व्यक्ति त हुन्थे इन्जिनियर। तर काठमाण्डौंमा इन्जिनियरको के गन्ति?
इन्जिनियर पास भएर पनि बेरोजगार हुनुपर्ने कुरा सोच्दासोच्दै मन पढाइतिर जान छोड्यो। पढाइ राम्रो गर्नुपर्छ भन्ने तर मनमा अरुनै कुरा खेलिरहने। थाहै नपाई मनमा कुरा मात्र खेलाएर बस्न थालेको थिए। पढाइबाट नजाँनिदो तरिकाले मन बहकिन थालेको थियो। सेमेष्टरका नतिजाले त्यसको वास्तविकता देखाउन थालिसकेको थियो। मनमा एउटा डर थियो। आखिर इन्जिनियरिङ सकेर पनि बेरोजगार हुनुपर्ने हो भने? यी र यस्तै कुराहरुले गर्दा पढाइ यतिसम्म खस्किसकेको थियो कि ब्याक पेपर नदिनुपर्ने कुनै सेमेष्टर थिएन। घरमा भने निरन्तर पास भैरहेको भन्थेँ।
बा-आमालाई म प्रति यति धेरै विश्वास थियो। त्यसैले उहाँहरुलाई लाग्थ्यो म पास नै छु। यता मलाई एउटा थप चिन्ता थपिन थाल्यो। ब्याक पेपर अन्तिम सेमेष्टरसम्म सकिएन भने मेरो करियर, बा-आमाको म प्रतिको भरोसा, मेरो जीन्दगी। म भित्र-भित्रै हारिरहेको थिए। साथिहरुसँग बोल्न त बोल्थेँ तर पनि मलाई विस्तारै एक्लोपनजस्तो महशुस हुन थाल्यो। इन्जिनियरिङको पढाइ पनि सक्कियो। ब्याक पेपर बाँकी नै थियो। घरमा छोराले इन्जियिर बनेर जागिर गर्दै घर हेर्ला भन्ने बुवा आमाको रहर थियो। यता मेरो ब्याक पेपरको बाँकी नै थियो।
अन्तिम सेमेष्टरको नतिजा पर्खेको छु भनेर धेरै दिन भन्न सक्ने अवस्था रहेन। होस्टेलको कोठामा भित्रभित्रै गुम्सिएर बसेको ममा एक प्रकारको बेचैनी, उकुसमुकुस भैरहेको थियो। कसैसँग कुरा गर्न मन नलाग्ने, खान मन नलाग्ने, चिटचिट पसिना मात्र आउने हुन थाल्यो। साथीभाइ आफन्त यो दुनियाँ सबै बेकार जस्तो महशुस हुन थाल्यो।
लाग्थ्यो यो संसार हुनु र नहुनुसँग मलाई कुनै सरोकार थिएन। म आफैलाई महशुस हुन सकेको थिएन कि। आखिर म बारम्बार मेरा सपनाहरु र महत्वाकांक्षा सम्झन्थे। अनि मेरो वर्तमान। मेरो अगाडी सबै शुन्य शून्य झै लाग्थ्यो। यो संसारमा बाँच्नुको कुनै अर्थ छैन। यस्तै सोच्दै मेरा दिनहरु बित्थे। मेरो शरीर त थियो। तर जिउँदो लास जस्तो।
यो अवस्थाबाट छुटकारा पाउन खोज्थेँ। म सबै कुरा बिर्सन चाहाँन्थे। पुरानै अवस्थामा फर्कन चाहान्थेँ। तर पनि बारम्बार त्यही कुराहरु मनमा खेलिरहन्थ्यो। जुन घरपरिवार मेरै साहारामा बसेको छ। जसले आफ्नो जीवनमा सारा दुःख कष्टहरु सहेर मेरो सुन्दर भविष्यका खातिर यो सबै गरे उनैलाई कसरी भनु म डिप्रेसनबाट ग्रसित छु। ठ्याक्कै डिप्रेसन हो भन्न पनि गाह्रो पर्ने रहेछ। बेला-बेला हसमुख देखिन खोज्छु। साथीभाइसँग भेटघाटमा ठिकठाक देखिन धेरै प्रयत्न गरेँ। तर पनि खोइ कसो कसो ममा भएको नैराश्यता, कमजोरीपना र लघुताभाष प्रकट भइहाल्थ्यो।
सामाजिक सञ्जालमा पोष्ट गरिएका मेरा सामग्रीहरु हेरेर सञ्जालमा जोडिएकाहरु सहजै अनुमान गर्न सक्थेँ कि म कुन अवस्थाबाट गुज्रिरहेको छु। मेरा नजिकका सहकर्मीहरुले बारम्बार सम्झाउथे। एक दुइ वर्षमा तिमिले ब्याक पेपर कटाइहाल्छौं। त्यसपछि सबै ठिकठाकसँग चलिहाल्छ। अरुले जति सहजै भाषमा सम्झाउछन्। त्यति सजिलो गरि डिप्रेसनमा गएको मानिस तंग्रिने अवस्था नहुने रैछ। उनीहरुले सम्झाउँदासम्म र साथमा रहेर कुरा गर्दा सम्म मात्र हो जस्तो लाग्ने रै छ। एक्लै हुँदा पुरानै कुरा मनमा खेलिरहने। मन भुलाउन छोटा छोटा भिडियो सम्म हेर्थेँ। तर लामो मुभिमा म एकाग्र हुन नसक्ने अवस्थामा थिए।
एक दिन साउने झरीमा एका बिहानै भिज्दै बागमतीको किनारै किनार हिँडिरहेँ। नदीमा हाम फाल्ने र नफाल्ने बीचको दुविधाले एकाध किलोमिटर नदीको कोरिडोर हिडिरहे। बुढेसकालका बा-आमा र भाइबहिनीको यादले बेस्सरी सतायो। फेरि फर्केर होस्टेल आए। एक दिन मानिसक डाक्टरसँग गएर सल्लाह लिएँ। उनले पनि ३० मिनेट जति काउन्सिलिङ गरिन्। उनी सामु रहँदा मात्र हो रै छ लाग्यो। हस्पिटलबाट बाहिर आउँदा समस्या ज्यू का त्यू।
म आफ्नो लागि बाँच्ने रहर मारिसकेको थिए। तर २२ वर्षे कलिलो छोरोले डिप्रेसनबाट आत्महत्या गर्यो रे भन्ने सुनेपछि बा-आमा र कलिला भाइबहिनीको हालत के होला? आत्महत्याको सोच र यस्तो कुरा पटकपटक मथिंगलमा सँगै आउन थाल्यो। ३।४ महिनासम्म यस्तै अवस्थाबाट गुज्रिरहे। डाक्टरले लेखिदिएको औषधी एकाध दिन खाएर छोडिदिए। मनोवैज्ञानिक रुपमा आफूलाई सबल बनाउन तिर लागे। अब मलाई साच्चै यो समस्याबाट पार पाउनु थियो।
विस्तारै १ वर्षे अवधिमा अलि-अलि ब्याक पेपर कट्यो। सिनियर ब्याचको दाइले आफ्नो चिनेको ठाममा काम लगाइदिनु भयो। अलि-अलि गर्दै काममा व्यस्त हुन थालेँ। अब दिउसोको समय त जसोतसो बित्थ्यो। तर राति मनमा उहीँ कुरा खेलाउन छोडेको थिएन। यद्यपि आत्महत्या नै गर्ने मनस्थिति भने विस्तारै हटाइसकेको थिए। समस्याबाट छुट्कारा पाउ जस्तो लाग्थ्यो तर नजानिदो तरिकाले त्यसैमा अल्झिन्थे। आभाष त हुन्थ्यो तर केही गर्न नसक्ने अवस्थामा थिएँ। सातौ वर्ष पुग्दा जसोतसो इन्जिनियरिङ सकेँ। विस्तारै अलिकति बढी तलब आउने ठाउँ काम गर्न थालेँ। गत वर्ष स्थानीय तहमा इन्जिनियरिङ् क्षेत्रमा विज्ञापन खुल्यो। इन्जिनियरमा असफल भए नि सब-इन्जिनियरमा सिफारिस भएँ।
सरकारी कर्मचारीको न्यून तलब त जगजाहेर छ। सदाचारी त बच्चैदेखि छु। खैर अचेल इन्जिनियरिङ सुरु गर्दाताका पहाडबाट सहरमा घर, गाडी, बाआमालाई सुख चयनमा राख्ने, भाइबहिनीको करियर, धुमधाम साथ बिहे बिहेको भव्य पार्टी...। यी र यस्तै रहरहरु मैले बागमतीमै सेलाएर बसेको छु। बाआमालाई गाउँमै हलो कुटो कोदालो ठिक छ। भाइबहिनीले सरकारीमै न्यून फि लाग्ने विषय जसोतसो आफ्नै मेहनतले पढिराखेकै छन्। मलाई पैदल नै ठिक छ। अब मैले आफ्ना सबै महत्वाकांक्षा विस्तारै घटाउदै लग्ने निर्णय गरेँ।
सबैभन्दा बाहिरी दुनियाँमा अरुले गरेको तडकभडकबाट दूर रहन खोज्छु। विस्तारै डिप्रेसनबाट ठिक अवस्थामा आइपुगेको छु। पूर्णरुपमा ठिक भैसके जस्तो लाग्दैन। कहिलेकाहीँ एकान्तपन र राति अनिन्द्राले सताइरहन्छ। फेरी सोच्छु, यहाँसम्म आइपुगिसके अब त के नै होला र?
नजाँनिदो गरि डिप्रेसनको शिकार भएर मैले थाहा पाए डिप्रेसन धेरै कुराले लाग्छ। त्यो मध्ये एउटा कारण हो, ‘अनावश्यक महात्वाकांक्षा’। आफ्नो करियर र त्यसपछिको जिन्दगीलाई लिएर राखिने थुप्रै आकांक्षाहरुले भित्र-भित्रै थुप्रै युवाहरुलाई डिप्रेसनको शिकार बनाएको छ। विस्तारै थुप्रै आकांक्षाहरुलाई बिर्सिएर यथार्थतामा बाँचेर रमाउने प्रयत्न गरिरहेको छु।
मैले त जसोतसो आफ्ना थुप्रै महत्वाकांक्षा बिर्सिएर डिप्रेसनलाई जित्दैछु। अचेल लाग्न थालेको छ। यति सुन्दर संसार, आमाबा, साथीभाइ छोड्न लागेको रहेछु।