वन विज्ञानको स्नातक तहको अन्तिम सेमेस्टर मेरो लागि अत्यन्तै महत्त्वपूर्ण थियो। किनकी अहिलेसम्म सिकेका धेरै कुरालाई व्यवहारमा उतारेर केही ठोस परिणाम दिनुपर्ने समय आएको थियो। अर्थात्, शोध (थेसिस) को लागि फिल्ड अनुसन्धान गर्नुपर्ने थियो। मन छुट्टै जोश जाँगर र उत्साहले भरिएको थियो। आफूले रोजेको विषयमा अनुसन्धान गर्न गइरहेको थिएँ, त्यो पनि आफ्नै जन्मथलो गोरखामा।
प्रकृतिमै जन्मे हुर्केका हामी मानिसहरू, परम्परादेखि नै प्रकृतिकै स्रोत साधनमा निर्भर छौं। तर पनि प्रकृति हामी मानिसहरूबाटै संकटमा परेकी छिन्। प्रकृतिले मानिसलाई लगाएको गुनको महिमा गरेर म कहिल्यै थाक्दिन र प्रकृतिलाई बुझ्ने उत्सुकताकै कारणले होला वन विज्ञान विषय मैले रोजेको।
अध्ययन गर्दै जादा म वन्यजन्तुको अनुसन्धान तर्फ अलि आकर्षित् हुँदै गए र त्यसै क्रममा मेरो चाख ओतमा बढ्न गयो जो वन्यजन्तु अनुसन्धान तथा संरक्षणमा निक्कै नै बेवास्ता गरिएको तर लोपोन्मुख जनावर मध्य पर्छ। ओतको संरक्षण तथा अनुसन्धान गर्न अब ढिलो गर्नु कदापी हुँदैन। हैन भने भावि सन्ततिलाई ओत पनि नेपालमा पाइन्थ्यो रे भनेर कथा सुनाउने दिन धेरै टाढा छैन भन्ने मलाई लाग्यो।
साना स्तनधारी प्राणी मध्य पर्ने ओत जसलाई हाम्रो जस्तो विकासशील देशमा महत्वेपूर्ण प्रजातिको रूपमा हेरिएको पाइन्न। अझ भन्ने हो भने ठूला संरक्षित र संकटापन्न वन्यजन्तु बाघ, हात्ती र गैंडाको संरक्षणमा निकै सफलता हासिल गरेका हामीले ओत जस्ता साना स्तनधारी प्राणीहरुको संरक्षणमा भने बेवास्ता गरेको पाइएको छ। मैले भने सर्वप्रथम यी ओझेलमा परेको ओतलाई नै बुझ्ने जमर्को गरें।
यसको जैविकता, यसको खाद्य चक्र, पारिस्थितिक प्रणालीमा यसले खेल्ने भूमिका, यसको बासस्थान, आहारा र मानव र ओत बीचको सम्बन्ध मेरो लागि चाखको विषय बन्यो।
अर्धजलीय, निशाचर अनि शिकारी वन्यजन्तु ओतको प्रमुख आहरा माछा हो। माछाको अलावा यसले किरा फट्याङ्ग्रा एवम् साना जीवजन्तु र साना चराहरूको पनि शिकार गरको पाइन्छ। तसर्थ यसलाई स्वच्छ जलीय पर्यावरणको सूचक पनि मानिन्छ। सिम्सार छेत्रको शीर्ष शिकारी ओत स्व्च्छ हावा पानीमा मात्रै पाइन्छ र यसको राम्रो संख्या हुनु भनेको यसका शिकारहरु सबैको राम्रो संख्या छ अनि त्यस वातावरण पनि स्वस्थ छ भन्ने जनाउछ। वातावरण सन्तुलनमा ओतको प्रमुख भूमिका हुने भएकाले यसको अनुसन्धान तथा संरक्षण पनि महत्त्वपूर्ण छ।
यसै क्रममा मेरो शोध–अनुसन्धान (थेसिस) को लागि साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसन (एसएमसिआरएफ) बाट अनुदान पाएँ। प्रपोजलको डिफेन्स सकिए लगतै फिल्डको लागि आवश्यक प्रश्नावली, क्यामेरा ट्राप, दुरबिन, क्यामेरा र अन्य सामाग्रीहरु जोहो गरेपछि अन्ततः म फिल्ड जान तयार भएँ।
मेरो अनुसन्धानको थलो गोरखाको भिमसेन गाउँपालिकाका र सहिद लखन गाउँपलिकामा पर्ने बुढीगण्डकीको भंगालोमा थियो जहाँ मैले १५ दिन बिताउनु थियो। र मैले त्यहाँ रहँदा प्ररम्भिक खोज अन्तर्गत मैले ओतको पद्छाप, दिसा र क्यामेरा ट्रापबाट ओतको प्रमाणहरु खोज्ने र मानव र ओत बीचको सम्बन्ध बुझ्ने जमर्को गरेकी थिएँ।
मेरो किताबी ज्ञान अनुसार, नेपालमा तीन प्रकारका ओत पाइन्छन्। गोर्खाको भिमसेन गाउँपाकिकाका र सहिद लखन गाउँपलिकाको भौगोलिक अवस्था र उचाईको आधारमा त्यस क्षेत्रमा कालो ओत पाइने मेरो अनुमान थियो। अनुसन्धानको क्रममा मैले बुढीगण्डकीको भंगालोमा ओत लोप हूने अवस्थामा पुगिसेकेको र केही स्थानमा पक्कापक्की लोप भैसकेको पत्ता लगाएँ। करिब दुई/तीन दशक उता त्यहाँ ओत धरै नै पाइने स्थानीयहरुले बताए।
तर चोरी शिकारी, मानवीय खतराहरु, जल विद्युत परियोजनाको बाँध, प्रदूषणको कारण ओत सो क्षेत्रमा लोप हूने अवस्थामा पुगिसेकेको रहेछ। त्यति हुँदाहुँदा पनि केही शिक्षित गाउँलेहरुले यसको महत्व बुझेको देख्दा संरक्षणको सम्भावना छ भन्ने मलाई लाग्यो। सर्वेक्षणको क्रममा बुढीगण्डकीको किनारामा पुस्तौदेखि बस्दै आएका नदीमा आश्रित माझी, कुमाल अनि दराई समुदाय र त्यही खोलामा माछा मारेर र माछा पालन गरेर जीवन गुजारा गर्दै आएका मानिसहरुले ओतलाई आफ्नो शत्रु नै मान्ने गरेको मैले भेटेँ।
संरक्षित प्रजातिलाई शत्रु मान्नुपर्ने कारण मैले पत्ता लगाउँने निधो गरेँ र समस्याको जरो बुझ्ने प्रयत्न गरेँ। ओतलाई मत्स्यपालनमा हस्तक्षेप गर्ने प्राणी भनी धेरैले अभियोग लगाएको थाहा भयो।
ओतले खोलाको माछा खान्छ तर जब गाउँलेलेहरुले माछा मार्न पासो थाप्छन् तब ओतले माछा मार्ने जालो काट्दिने र जालो भित्रको माछा सखाप पारिदिने देव कुमालले बताए। उनी भन्छन्, ‘ओतको कारण नदीमा माछाको सङ्ख्या घट्यो र माछा मारेर जीवनयापन गर्न र माछा पालन गर्न अफ्ठ्यारो भयो।’
माछा मारेरै जीविका चलाउने रामचन्द्र कुमाल त झन् ओत लोप हुँदै गएकोमा खुसी व्यक्त गर्दै थिए। ६५ वसन्त पार गरिसकेका कुमाल, दुई दशक पहिलेसम्म ओतले धैरै नै दुःख दिने गरेको तर आहिले भने ओतले माछा चोरेको थाह नभएको बताउँछन्। उनी ओतले माछा मार्ने भएतापनि गाउँलेहरुले ओत मारेको आफूलाई थाहा नभएको बताए।
‘ओत निकै चालाख र चतुर हुने भएकाले उसलाई कहाँ मार्न सकिन्छ र?,’ कुमालले भने। वास्तवमा ओतलाई मार्न उनीहरुलाई सजिलो पनि थिएन। निकै छिट्टो पानीमा पौडिने कुशल पौडिबाज ओत, मान्छेहरुले केही गर्नु अगाडि नै हराइसक्छ र त्यसमा पनि रातको समयमा सक्रिय हुने भएकोले गर्दा उनीहरुलाई ओत समात्न झनै मुस्किल पर्थ्यो। तसर्थ आफूहरु ओत पीडित भएको तर केही गर्न नसकेको कुमाल बताउँछन्। तर ओत लोप हुँदै जानुको मुख्य कारण भने माझी समुदायसँगको द्वन्द्व मात्र नभइ अन्य कारण पनि रहेको उनी बताउँछन्।
‘विगत १५–२० वर्ष अगाडि चीनबाट वर्षेनी भोटेहरु यहाँ आउँथे र ओतको खोजी गार्थे। उनीहरु खोलै खोला जान्थे, गाह्रो भीर, गल्छीसम्म पनि पुगेर पासो थापेर ओतको शिकार गर्थे। हामीलाई पनि ओतले धेरै नै दुःख दिन्थ्यो। अर्कोतिर हामीले आफ्नो क्षमताले ओतलाई तह लगाउँन नि सकेनम्। भोटेहरू आउँदा हामीलाई त ढुङ्गा खोज्दा देउता मिले झैं भएको स्थानीयको भनाइ छ।
उनीहरुका अनुसार विस्तारै गाउँलेहरुले पनि ओत कता पाइन्छ भन्ने जानकारी भोटेहरुलाई दिँदै गए। उनीहरु ओत सिध्याउन जान थाले। गाउँलेहरुका अनुसार तिब्बतका मानिसहरु ओतको छाला तथा रौबाट बनेको लुगा लगाउने रहेछन्। विभिन्न रीति रिवाज अनि चाँडपर्वमा यसको लुगा अनिवार्य नै रहेछ। यसको रौं र छाला प्रयोग गरि बनाइएको कपडा लगाउँदा उनीहरुको मान बढ्ने र र सामजमा उनीहरुलाई उच्च वर्गको नजरले हेरिने रहेछ।
यसरी सोध गर्दै जाँदा मानिससँग ओतको द्वन्द्वले नै ओत दिनानुदिन मासिदै जान थालेको र द्वन्द्वले नै त्यसको चोरी शिकारलाई बढावा दिएको मैले निश्कर्ष लगाएँ। इन्टरनेश्नल अटर सर्भाइबल फन्ड (आइओएसएफ) को स्रोतअनुसार चीनको तिब्बतमा ओतको छालाले बनेको कपड़ा प्रयोग हुने तथ्य पत्ता लगाएँ। यस्तो परम्परागत पोशाकलाई ‘चुपा’ भनिंदो रहेछ। उच्च पदका मानिसहरुको लागि यो बनाइदो रहेछ। सभा तथा समारोहहरुमा सरकारी कर्माचारीहरूले पनि सक्कली ओतको छालाको लुगा लगाउन अनिवार्य नै गरिएको र नलगाएमा पद नै गुम्न सक्ने सम्मको अवस्था रहेछ। यही कारणले गर्दा तिब्बतमा ओतको छालाको ठूलै बजार रहेछ। फुटपाथ बजारदेखि ठूला व्यापार व्यवसायमा ओतको माग उच्च रहेछ।
कालो ओतलाई नेपालको कानुनले संरक्षण गरेको छ। ओतलाई मार्नु, यसको चोरी शिकारी गर्नु र यसको बाँसस्थान विनाश गर्नु गैरकानुनी काम हुन्। इन्टरनेशनल युनियन फर कन्जर्भेसन अफ नेचर (आइयुसिएन) अनि नेपालको रेड डाटा लिस्टमा ओतलाई संकटको नजिक रहेको प्रजाति भनेर सूचित गरिएको छ।
ओतलाई लोप हुन नदिन, ओत र मानव बीचको दूरी मेट्न र सहअस्तित्वको लागि मुख्यतः जनचेतना जगाउन आवश्यक छ। ओतको वातावरणमा रहने भूमिका बारे जनस्तरमा पुगेर हरेकको ढोकासम्म चेतना पुग्न आवश्यक देखिन्छ। अवैध चोरी शिकारी रोक्न र उचित क्षतिपूर्तिको बेवास्ता हुन राज्यको ध्यानाकर्षण हुन जरुरी छ। अवैध रुपमा गरिने गिट्टी बलुवा उत्खनन रोक्न, र अन्य वातावरणमा असर पुर्याउने क्रियाकलापको उचित जाँचबुझ गर्न अविलम्ब लाग्नु पर्ने देखिन्छ।
यसको संरक्षणलाई जोड दिन सरोकारवालाहरुले अनुसन्धानका आधारमा निश्चित समयावधिको कार्ययोजना बनाएर कडाईका साथ लाग्नु पर्छ।
(लेखक साना स्तनधारी जनावर ‘ओत’ बारे अनुसन्धानरत् छिन्।)