करिब तीन महिनाको लामो पर्खाइपछि अलि कान नसुन्ने पल्टिएको हाम्रो नेपाल सरकारले बंगलादेश लगायत प्राथमिकतामा परेका अन्य मुलुकहरूबाट नेपालीहरुलाई स्वदेश फर्काई सकेको छ। हामी पूर्व तयारी गरेर मात्र विदेशमा रहेका नेपाली नागरिकलाई फिर्ता बोलाउँछौ भन्ने सरकारको भनाइ उसको गराइसँग त्यति मेल खाएको भेटिएन।
ढिलै भएपनि देश फर्किन पाइयो हामी आभारी नै छौँ तर पनि सोचेको जस्तो समय र परिस्थिति अनुसारको पर्याप्त तयारी भेटिएन। कस्तो थियो त उडान र अन्य तयारी? आउनुहोस् धेरथोर बुझौँ।
पहिलो उडान १४ जुनको, निर्धारित समयभन्दा चार घण्टा ढिला भयो। ढाकाको एयरपोर्टमै काम कुरो नमिलेर ढिलाइ भएको कुरा बुझियो। करिब २५० नेपाली बोकेर ढिलै भएपनि उडान भयो। दुबै तर्फ एयरपोर्टमा भीडको राम्रो व्यवस्था हुन नसकेको देखियो। काठमाडौं बस्नेहरूका लागि अलि सजिलै भए पनि अन्य प्रदेश पुग्नेहरुका लागि भन्ने यात्रा गारो नै भयो भन्ने खबर आयो।
प्रदेश जाने गाडीमा टन्न टन्न मान्छे कोचेर लगियो रे। आर्मीले ठाउँ-ठाउँमा जिम्मेवारी हस्तान्तरण गर्दै लाने हुँदा धेरै ढिला भएको गुनासो पनि आयो। गारो सारो पर्दा, भोक प्यास लाग्दासम्म पनि गाडीबाट ओर्लिन पनि नदिएको कुरा गर्थे साथीहरु। गाडी पनि पुराना बिग्रीराख्ने त्यसैमाथि भाडा पनि धेरै लिएको भन्दै गुनासो पोख्दै थिए उनीहरु।
कोही-कोहीलाई त अलपत्र पर्ने गरि गन्तव्यसम्म नपुर्याई छोडियो भन्ने कुरा पनि आयो। अब आफै मूल्यांकन गर्नु होला सरकारको पूर्व तयारी बारे।
दोस्रो उडान पनि त्यति फरक रहेन। उडानमा ढिलाइ, पहिलेको उडान झैं अव्यवस्थित एयरपोर्ट अनि प्रदेश प्रदेश पुग्नको असहज यात्रा। सबै जना गार्हो नै गरेर घर पुगे।
तेस्रो उडान सोचेको भन्दा सजिलै र समय मै भयो। तर चौथोमा फेरि पहिलेकै कथा दोहोरियो। यसरी, चार वटा उडानले बंगलादेशबाट करिब ८०० नेपाली स्वदेश फर्कायो।
यसरी, सरसर्ती हेर्दा सरकारले न त आफ्नो पट्टीको व्यवस्था नै दरिलो बनाउन सक्यो नत अन्य देश तर्फको एयरपोर्टमा राम्रो सहकार्य नै गर्न सक्यो। सरकार विदेशमा रहेका नागरिकलाई सोचे अनुरूपको पूर्व तयारी र सुरक्षित गरेर भित्राउन त्यति सफल देखिएन भन्दा फरक नपर्ला।
कता चुक्यो त सरकार र के गर्न सकिएला त?
पिसिआर नेगेटिभ छ भन्दैमा ढुक्क हुने अवस्था छैन। पिसिआर नेगेटिभ भएकाहरू आउने क्रममा पनि संक्रमित हुन सक्छन् भन्ने कुराको हेक्का हुनु पर्ने हो। कति दिन अघिको पिसिआर रिपोर्ट हो र कताबाट गरिएको हो? यो पनि मूल्यांकन गरिनु पर्ने हो। सकिन्छ भने पिसिआर बोकेर आएकालाई आरटिडी मात्र भए पनि गरिनु जरूरी देखिन्छ।
सम्बन्धित दूतावाससँग हातेमालो गरेर दुवै पट्टीको एयरपोर्टमा भीडभाड कम गराउन र अन्य प्रक्रियामा सहजीकरण गरिनु पर्छ। फर्कने सबैलाई पिपिई अनिवार्य गरिनु पर्छ। अन्य समय जस्तो तडक भडकले देश छिर्ने अवस्था रहेन अहिले। सेनाको र प्रहरीको सक्रियता बढाएर एयरपोर्ट भित्र हुने भीडभाड न्यूनीकरण र व्यवस्थापन गरिनु पर्छ। होल्डिङ सेन्टरबाट प्रदेश जाने गाडीको संख्या बढाउन जरुरी देखिन्छ। गाडी धेरै अनि यात्रु थोरै गरेर लगिनु पर्छ।
सरकारले स्थानीय सरकारसँग तालमेल मिलाउन पनि नसकेको जस्तो देखिन्छ। आफ्नो प्रदेशमा भित्रिएका सबैको तथ्य सहित कडा निगरानी गर्न स्थानीय सरकारलाई सचेत गरिनु पर्छ। होल्डिङ सेन्टरमा बाडिएका सिम कार्डबाट भित्रिएकाहरूको हिँडडुल र अन्य गतिविधि बारे जानकारी राख्न सकिन्छ।
आजको दिनसम्म आइपुग्दा देशको सबै कुना काप्चामा कोरोना फैलिसकेको छ। लकडाउन नामको मात्र हुन थालिसकेको छ। अब झन् बाहिरी देशबाट आएका नागरिकको भार पनि थपिएको छ सरकारको टाउकोमा। होम क्वारेन्टाइन भनी अनुमति दिएकाहरुलाई कतिको निगरानी गरिन्छ? त्यो त हेर्नै बाँकी छ। अझै फर्किन चाहनेहरूलाई के कसरी बन्दोबस्त मिलाइन्छ? त्यो समय ले बताउला।
अब सरकार मात्र पनि नभनौं विदेशबाट आएका हामी सबैले क्वारेन्टाइन पालना गरौं। कोरोना रोकथाम सबैको जिम्मेवारी पनि हो। भर्खर बाहिरबाट आएको छु, फेरि कोरोना चेकअप गराउन जाँदा अरूले नानाथरी भन्लान् भनेर सोच्नु पर्ने केही छैन, कोरोना जो-कोहीलाई सावधानी अपनाउँदा अपनाउँदै पनि हुन सक्छ। आउनुहोस आफ्नो तर्फबाट गर्न सकिने गरौं, सचेत बनौं र कोरोना रोकथाममा हातेमालो गरौं।
विदेशबाट आएकालाई कोरोना पछिको तयारी छ त?
अहिले भित्रिएका नेपाली प्रायः विदेशमा भिसा सकिएर, कामबाट निकालिएर वा अब विदेश नफर्किने गरी आएका छन्। यिनले विदेशमा गुमेको रोजगारी अब स्वदेशमै पाउलान् त? यो ठूलो प्रश्न हो।
गरिबी र बेरोजगारी जस्ता समस्या निकट भविष्यमा देखिने पक्का छ। गतिलो नेतृत्व भएर कोरोनालाई पछार्दै विस्तारै सामान्य बन्दै गएका न्यूजील्याण्ड, ताइवान, जर्मनी जस्ता थुप्रै देश छन्। अझै पनि केही बिग्रिएको छैन्, नेतृत्व तहबाट नै जागरूकता देखियोस्। नेपालले पक्कै यो कठिन खडीलाई पार लगाउन सक्छ।
यो समय हाम्रो लागि चुनौती मात्र होइन, अवसर पनि हो भनेर बुझौँ। टन्नै युवा देश फर्किदै छन्, विकास गर्ने हात पाखुरा थपिँदै छन् जुन राम्रो संकेत हो। पहिले भित्रेका सबैको उचित व्यवस्थापन होस्, कोरोना रोकथाम होस् अनि अवसर दिइयोस्।