मानवीय गतिविधिका कारण विश्वमा धेरैजसो वन्यजन्तुको बासस्थानहरु मानव वस्तिहरुको बीचको टापुजस्ता भएका छन्। यस परिप्रेक्षमा केही वन्यजन्तुहरु बाटो बिराएर वा आहाराको खोजिमा मानव वस्तीमा पस्नु आजभोलि सामान्य जस्तै बनिसकेको छ।
यसरी बाटो बिराएर वा आहारको खोजीमा वस्तीतिर पुग्ने वन्यजन्तुहरुबाट समुदायको मानिसले खतरा महशुस गरेर वा अन्य कारणले मार्ने वा घाइते बनाउने गरेको पाइन्छ। यसका साथै सडक दुर्घटनामा परेर घाइते भएका वा खाने वा सोखका रुपमा पाल्नका लागि पनि वन्यजन्तुहरुलाई प्राकृतिक बासस्थानबाट संकलन गर्ने गरिन्छ। यस्ता सम्भावित दुर्घटना टार्न र वन्यजन्तु जोगाउनका लागि वन्यजन्तु उद्दार गर्ने कार्यले अहम भूमिका खेल्ने कुरामा कसैको दुईमत छैन।
तर पछिल्लो समय बन्यजन्तुका उद्दारका नाममा भएका केही प्रतिनिधिमूलक घटनाले त्यस्ता गतिविधि नियन्त्रणका लागि उपयुक्त कदम चाल्न पर्ने टड्कारो आवश्यकतालाई इंगित गर्दछन्। यही २०७६ चैत २१ गते (२०२० अप्रिल ३), पोखराबाट मेरो एक जना आफन्तले फेसबुक म्यासेन्जरका माध्यमबाट एउटा भिडिओको लिंक पठाउनु भयो।
भिडियोमा सर्प संरक्षण समाजका रोहित गिरि जो पोखरा र आसपारका क्षेत्रमा सर्प उद्दारका लागि चिनिन्छन्, उनी मेरा ती आफन्तको पसलमा आएको सर्पको उद्दार गर्दै थिए। रोहित लगाएत सर्प संरक्षण समाज नेपालमा आवद्ध भएर वा स्वतन्त्र रुपमा सर्पका उद्दारमा खटिने व्यक्तिहरुका कारण नेपालका विभिन्न स्थानमा सर्पहरु घर वरपर आउने (देखिने) बित्तिकै मार्ने प्रवृतिमा कमि आएको छ। उनीहरुको भूमिका त्यतिमा मात्रै सिमित छैन, सर्प उद्दारकर्ताहरु धेरैले सर्प संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्न अतुलनीय योगदान दिएका छन्।
वन्यजन्तु उद्दारका कार्यहरु सर्पमा मात्रै सिमित छैन। देशका विभिन्न स्थानमा घाइते चराहरु, विभिन्न स्तनधारी जनवारहरु र सरिसृपहरुको उद्दार कार्यमा विभिन्न व्यक्ति तथा संस्थाहरु संलग्न रहेको पाइन्छ। मोरङको सुखानी जंगलमा स्थापित कछुवा उद्दार तथा पुनः स्थापना केन्द्रले कछुवाको संरक्षणमा विशेष भूमिका खेलेको छ साथै तत् प्रकारका उद्दार केन्द्र देशका अन्य भागमा पनि स्थापना गर्न सके लोप हुने अवस्थामा पुगेका कछुवा संरक्षण प्रयासमा अर्को इँटा थपिने थियो भन्ने आवश्यकता बोध गराउँछ।
यसका साथै काठमान्डौँ उपत्यकाका विभिन्न स्थानमा विभिन्न वन्यजन्तु मुलत स्तनधारी त्यसमा पनि विशेष गरि चितुवाको उद्दारमा सदर चिडियाखानाका भेटनरी प्राविधिक राधा कृष्ण घर्तिको योगदान विशेष छ। राष्ट्रिय प्रकृति संरक्षण कोषका विभिन्न तह र तप्कामा रहेका प्राविधिकहरु र वन विभागका कर्मचारीहरुले पनि वन्यजन्तुको उद्दारमा महत्वपूर्ण भूमिका निर्वाह गरका छन्।
देशभरि प्रतिवर्ष सयौंका संख्यामा साना ठूला जीवहरुको उद्दार गरिन्छ। यी सबै प्रयासहरुले वन्यजन्तु संरक्षण अभियानमा धेरै भरथेग गर्न मद्दत गरिरहेका छन्। सरकारले पनि वन्यजन्तु उद्दारले संरक्षणमा टेवा पुर्याउन सक्ने ठानेर नै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावलिको छैटौं संसोधनबाट वन्यजन्तु उद्दार केन्द्र स्थापनाको प्रावधान ल्याएको छ।
तर सबै उद्दारका प्रयासहरुका सकरात्मक प्रभाव मात्रै छैनन्। यही २०७७ साल जेष्ठ १९ गते राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले एउटा सूचना जारी गरि वन्यजन्तुहरुलाई लखेट्ने मार्ने वा उद्दारका नाममा बासस्थानबाट संकलन गर्ने कार्य बढेको प्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्तो कार्य नगर्न अनुरोध गरेको छ। साथै उक्त सूचनामा उद्दार गर्नै पर्ने भएपनि विज्ञहरुको उपस्थितिमा गर्न अनुरोध गरिएको छ।
उद्दारका नाममा प्राकृतिक बासस्थानबाट वन्यजन्तुका बच्चाहरु समात्ने, समातिएका वा उद्दार गरिएका वन्यजन्तुलाई विभिन्न रुपले छेडखानी गर्ने क्रममा वृद्धि भएको समाचारहरु आउन थालेपछि विभागको सूचना आएको हो। तर पनि यस्ता घटनाहरु रोकिएका छैनन्।
यही असार ९ गते सामाजिक सञ्जालमा पर्वतको मिलनचोकमा भएको चितुवाको उद्दारको भिडियो भाइरल भयो। भिडियोमा एक जना प्रहरी अधिकारी चितुवालाई कुकुरजस्तै गरि डोरीको सहायताले डोर्याउँदै गरेको देखिन्छन् भने स्थानीयहरु चितुवाको डम्मरुसँग छेडखानी गर्दै गरेको साथै फोटो भिडियो खिच्दै गरेको देखिन्छ। उद्दार गरिएको चितुवा सानो र बिरामी अवस्थामा भएकाले कुनै भवितब्य भएन तर अरु अवस्था भएको भए दुर्घटना घट्न सक्थ्यो।
तर त्यहाँ सावधानी अपनाएको देखिदैन। अझ दुखद पक्ष त अरुलाई त्यसो नगर्न लगाउनु पर्ने प्रहरी नै चितुवासँग सेल्फी खिच्ने पौरख गर्दै गरेको फोटोमा देखिन्छ। भविष्यमा यस्ता घटना नदोहोरिउन भन्नका लागि संलग्नलाई कुनै न कुनै प्रकारको नसिहत दिन जरुरी छ।
तस्बिरः उद्दार गरिएको चितुवालाई डोरीले बाँधेर कुकुरलाई जसरी डोर्याउँदै प्रहरी अधिकारी (स्रोतः सामाजिक सञ्जाल)
उद्दारका नामममा भएको यो एक मात्र घटना होइन। यसभन्दा अघि पनि २०७६ चैत तेस्रो सातातिर स्याङ्ग्जा जिल्लाको वालिङ नगरपालिका वार्ड नं. १ घर नजिकैको जंगलमा खेल्ने क्रममा बच्चाहरुले समातेर ल्याएको चरिबाघको डमरुपछि अलिक हिंस्रक व्यवहार देखाउन थालेपछि कास्कीको लेखनाथमा रहेको पोखरा प्राणी उद्यानमा बुझाइएको थियो। विभिन्न प्रयास गर्दा पनि त्यो बच्चो बाँच्न सकेन।
उद्दारका नाममा यसरी माउ आहारको खोजिमा निस्केको बेला प्राकृतिक बासस्थानबाट वन्यजन्तुका बच्चा संकलन गर्ने कार्य रोक्नका लागि जनचेतना अभिवृद्धि गनु जरुरी छ। साथै कसैले त्यसरी संकलन गरेको खण्डमा सकेसम्म संकलन गरिएको ठाँउकै नजिक पुनः छाड्न लगाउनु आवश्यक छ। सामाजिक सञ्जालमा फोटो राख्नका लागि मात्रै गरिने नक्कली उद्दार पनि पछिल्लो समय बढिरहेको सरोकारवालाहरुको धारणा छ। यसलाई पनि नियन्त्रण गर्न आवश्यक देखिन्छ।
तस्बिरः उद्दार गरिएको चितुवासँग फोटो खिचाउँदै प्रहरी अधिकारी (स्रोतः सामाजिक सञ्जाल)
समस्या नक्कल्ली उद्दारमा मात्रै सिमित छैन। उद्दार गर्नै पर्ने वन्यजन्तुको उद्दारमा पनि पर्याप्त सावधानी अपनाएको पाइँदैन। असार पहिलो सातामा मात्रै भक्तपुरको जगातीबाट सालकको उद्दार गरिएको खबर छापियो। सालकको उद्दार हुनु आफैमा राम्रो भएतापनि छाडिएको स्थानको सम्पूर्ण जानकारी र फोटोहरु सामाजिक सञ्जालमा र समाचारमा आए। सालक आफैमा विश्वमा सवैभन्दा बढी तस्करी गरिने जनावार साथै अति संकटापन्न जन्तु भएकाले त्यसरी सबै जानकारी सार्वजनिक गर्दा तस्करीका घटनालाई बढवा पुग्छ।
मेरो फेसबुकमा त्यही कुरा उल्लेख गरिराखिएको पोष्टमा वातावरण विज्ञान विभाग, त्रिचन्द्र क्याम्पसका विद्यार्थी दुर्लभ पराजुलीले गरेको कमेन्ट जानकारी गराएको विवरण अझ सोचनीय थियो। मकवानपुरको त्रिखण्डी क्षेत्रमा उद्दार गरिएको सालकलाई एउटा खोर बनाएर राखिएको थियो। विश्वभरि नै बासस्थानभन्दा बाहिर कृतिम रुपले पाल्नलाई गरिएको धेरैजसो प्रयास असफल भएको परिप्रेक्षमा त्यसरी सालक पालेर प्रर्दशनिका लागि राख्न खोज्नु तस्करी जत्तिकै ठुलो अपराध हो।
सालक मात्रै नभएर देशका विभिन्न ठाँउमा समुदाय स्तरम वन्यजन्तुहरु समात्ने र तिनीहरुलाई साना चिडियाघरका रुपमा कष्टप्रद रुपले राख्ने प्रचलन बढेको छ, जुन चिन्ताजनक छ।
मकवानपुरमा थुनेर राखिएको सालक (तस्बिर सौजन्यः दुर्लभ पराजुली)
वन्यजन्तुहरुको उद्दार आफैमा वन्यजन्तु संरक्षणका लागि अत्यावश्यक छ, यसमा दुईमत राख्न जरुरी छैन तर विधि र विधान नपुर्याई गरिने उद्दारका कार्यले वन्यजन्तुको संरक्षणमा टेवा पुर्याउनुको सट्टा चुनौती बढाउने काम गरेको छ। तर हामिसँग वन्यजन्तु उद्दार केन्द्रलाई नियमन गर्ने कानुन भए पनि उद्दार कार्यलाई नियमन गर्न कानुन छैन। त्यतर्फ ध्यान दिन जरुरी छ। यसका साथै उद्दारका नैतिक पक्षबारे पनि वन्यजन्तु उद्दारका सरोकारवालाले ध्यान दिन जरुरी देखिन्छ। अन्यथा अवोध जनवारहरु उद्दारका नाममा सताइने क्रम जारी रहने छ।
(लेखक वातावरण अध्ययन तथा संरक्षण केन्द्रका अनुसन्धानकर्मी हुन्।)