हाम्रो नेपाली संस्कृतिअनुसार पुरूष घर बाहिरको काम धन्दामा व्यस्त रहने र महिलाहरू घर धन्दामा व्यस्त रहने परम्परा छ। पछिल्लो समयमा महिलाहरूले पनि घर धन्दाका अतिरिक्त विभिन्न कार्यालय, व्यापार व्यवसाय जस्ता विभिन्न कार्यमा संलग्न छन्। यसरी दैनिक जीवनमा व्यस्त रहने महिलाहरू घरधन्दामा व्यस्त रहनुका साथै महिलाको जीवनका लागि आवश्यक प्राकृतिक अवसर (रजस्वला र गर्भाधान) ले गर्दा पनि कहिलेकाहीँ शारीरिक समस्याले अप्ठ्यारो परिरहेको देखिन्छ।
विभिन्न पारिवारिक जिम्मेवारी सँगसँगै रजस्वला तथा गर्भाधानजस्ता क्रियाले गर्दा महिलाहरू शारीरिक वा मानसिक रूपमा कमजोर हुँदै गइरहेका हुन्छन्।
त्यसका साथै उमेर बढ्दै जाँदा पाठेघर समस्या, पाठेघर क्यान्सर, स्तन क्यान्सर , घुँडा खिइने, पेट दुख्ने, नशा च्यापिने जस्ता विभिन्न रोगले सताउने गर्छ।
एउटा घरमा एउटा महिला अस्वस्थ हुनु भनेको पूरै घर अस्वस्थ हुनु हो किनकी नेपाली समाजमा प्रायः जसो एउटा महिलामाथि पूरै घर निर्भर रहेको देखिन्छ। विभिन्न शारीरिक एवम् मानसिक अप्ठ्यारोमा पनि महिलाहरू घरायसी काममा व्यस्त हुन्छन्। झन् महिनावारी र गर्भावस्थामा उनीहरूको स्वास्थ्य अवस्था निकै कमजोर भएको हुन्छ।
यस्तो अवस्थामा महिलाहरूले विभिन्न योगादी कार्य गरे भने घर परिवारका सदस्यलाई पनि सिकाएर सबैलाई स्वस्थ राख्न सहयोग गर्न सक्छन्।
योगासनका माध्यमबाट हाम्रो श्वासप्रश्वासलाई ध्यान दिएर गर्यौं भने हाम्रो शरीरका सम्पूर्ण स-साना कोषहरूमा अक्सिजनको मात्रा पुग्दछ र सम्पूर्ण प्रणालीहरूमा सन्तुलन आउँछ र हामी स्वस्थ हुन सक्छौं।
किशोरावस्थामा पुगेपछि महिलाहरूमा शारीरिक परिवर्तन आउनुका साथै मासिक रजस्वला प्रक्रिया पनि सुरू हुन थाल्दछ। यस्तो अवस्थामा तल्लो पेट दुख्ने , कम्मर दुख्ने , जिउ लुलो हुने अथवा भारी हुने जस्ता समस्याहरू देखिन्छन्।
यस्ता समस्या कम गर्न पनि हामीले केही योगासन गर्न सक्दछौं वा यस्ता पीडाबाट छुट्न पनि हामीले दैनिक रूपमा योगासनहरूको अभ्यास गर्नु पर्दछ।
यस्ता योगासनहरू त धेरै हुन्छन् तर सबै आसन गर्नु पर्छ भन्ने छैन। आसन गर्दा आफ्नो क्षमता, समय र उपयुक्त विधिलाई ध्यान दिएर गर्नु पर्छ। यसरी योगासन गर्दा हामी शारीरिक र मानसिक स्वस्थता प्राप्त गर्न सक्दछौं।
रजस्वलाको समयमा गर्न सकिने केही आसन :
- उभिएर गर्न सकिने आसन : ताडासन
- बसेर गर्न सकिने आसन : सुखासन
- पल्टिएर गर्न सकिने आसनह : मकरासन
- अगाडि झुकेर गरिने आसन : पादहस्तासन
- मोडिएर गर्न सकिने आसन : मर्कटासन
- उत्तानो पल्टिएर गरिने आसन : विपरीतकरणी शवासन
महिलाहरूले अर्को भोग्नुपर्ने महत्वपूर्ण अवस्था भनेको गर्भासन हो। यो एउटा महिलाहरूको विशेष अवस्था हो। जुन बेला शरीरमा आइरहने परिवर्तनले मानसिक एवम् शारीरिक तनाव भइरहेको हुन्छ।
त्यस्ता प्रकारका शारीरिक समस्याबाट मुक्त हुन र सहज रूपमा बच्चा जन्माउन तथा आमा र बच्चा दुवैको स्वास्थ्य अवस्थालाई स्वस्थ राख्न पनि केही योगासनहरू अपनाउन सकिन्छ।
गर्भासनले योगासनको अभ्यास गर्दा सुरूदेखि नै योगाभ्यास गरिरहेको अवस्थामा गर्भावस्थाको सुरूदेखि अन्तिम अवस्थासम्म (४० हप्ता ) सामान्य योगासन गरेर निरन्तरता दिँदा कुनै शारीरिक असहजता आउँदैन। योगाभ्यास गर्ने बानी नभएका गर्भवतीहरूले सुरूको ३ महिनासम्म योगासन गर्नु हुँदैन किनभने यो अवस्था निकै नै खतरायुक्त अवस्था मानिन्छ।यस्तो विशेष अवस्थाबाहेक गर्भवती महिलाले थोरैभन्दा थोरै समय निकालेर नियमबद्ध रूपमा निरन्तरता दिएमा बच्चा जन्माउन पनि कुनै सर्जरी नगरी सहज रूपमा बच्चालाई जन्म दिन सकिन्छ।
- गर्भावस्थामा गर्न सकिने योगासन :
- उभिएर गरिने आसनहरू : वीरभद्रासन ,ताडासन, नटराजासन।
- बसेर गरिने आसन : पद्मासन, बद्धकोणासन जानुशिरासन ,सुखासन, मर्जरीआसन , पुतलीआसन |
- सुतेर गरिने आसन : मत्स्यासन , भुजंगासन |
मौरीको रानोको रूपमा रहेको एउटा महिला स्वस्थ भएमा उसले आफ्ना घर परिवारका सबै सदस्यलाई स्वस्थ राख्न सक्छन्। हामी महिलाहरूले पनि स्वस्थ रहनका लागि दैनिक रूपमा खान जसरी खान्छौं त्यसरी नै योग अभ्यासमा निरन्तरता दिनु अनिवार्य रहेको छ।
यसरी योगाभ्यास गर्दा महिलाको जीवनमा भोग्नुपर्ने रजस्वला, गर्भावस्था जस्ता अन्य समस्याहरू समाधान हुन्छन् र पाठेघरको समस्या , पेट दुख्ने , घुँडा खिइने, कम्मर दुख्ने जस्ता धेरै रोगहरूबाट बच्न सकिन्छ।योगासनको अभ्यासले गर्दा धेरै रोगहरूबाट बच्न सकिन्छ। योगासनको अभ्यासमा धेरै आसनहरू गर्नु पर्दछ भन्ने छैन। आफ्नो समयको व्यस्थापन गरेर यी आसनहरूलाई नियमबद्ध रूपमा निरन्तर गरेमा गर्भाधान र रजस्वलाको बेला हुने विभिन्न समस्याहरूबाट छुटकारा पाउन सकिन्छ।
(लेखक योगासनको अध्ययन शीर्षकमा विद्यावारिधि अनुसन्धानरत हुन्)