आज पूरा विश्वनै अदृश्य दुश्मनको विरुद्ध कठिन र डरलाग्दो युद्ध लड्दै छ। विश्व महामारी कोभिड-१९ दिनदिनै डरलाग्दो बन्दै गइरहेको बेला विश्वमा घरेलु हिंसामा पर्ने पीडितको संख्या पनि उस्तै गरि बढिरहेको अवस्था छ।
सबैको ध्यान कोरोनामा सिमित भैरहँदा लाखौं महिला बालबालिका, अशक्त, बुढाबुढी, र कतिपय पुरुष पनि शारीरिक, मानसिक, आर्थिक, यौनजन्य घरेलु हिंसाको शिकार बन्न बाध्य छन्। घरेलु हिंसा एउटा परिवारभित्र घरेलु सम्बन्धमा बसेका जोकोही कुनै एक सदस्यले अर्को सदस्यलाई गरिने हिंशा हो। अंश लिई वा नलिई भिन्न बसेका पति वा पत्नीको सम्बन्ध पनि घरेलु सम्बन्धमा पर्दछ।
सर्वप्रथम त कस्ता हिंसालाई घरेलु हिंसामा कानुनले समेटेको छ र हिंसामा सम्लग्न पीडित, पिडकलाई के-कस्तो कानुनी उपचार तथा कसुर र सजाय नेपालमा उपलब्ध छन्, यो बुझ्न अत्यन्तै जरुरी हुन्छ। पीडित पक्षले को समक्ष र कस्तो उजुरी वा निवेदन गर्न सकिन्छ? यी सबै जानकारी प्रत्येक व्यक्तिलाई हुन आवश्यक हुन्छ।
हिंसा आफ्नो आमा, दिदी, बहिनी, साथिभाइ, छरछिमेकी, आफन्त, जोकोहीले भोग्न या भोगिरहेका हुन सक्छन्। हिंसाका प्रकार धेरै हुन्छन्। मुख्यतः निम्न कुरा यसभित्र पर्दछन्ः
⦁शारीरिक यातना जस्तैः कुटपिट गर्ने, शारीरिक चोट पुर्याउने, गैर-कानुनी रूपमा बन्धक बनाएर राख्ने, तेजाब एसिड वा यस्तै प्रकारका अन्य घातक पदार्थले डाम्ने, छर्किने, दल्दिने, जीउमा लगाइ पीडा पुर्याउनु, छाला तासिदिने, कुनै पनि शरीरको अंग कुरुप पारिदिने वा अंग काटिदिने, भाचिदिने अथवा शारीरिक रूपमा पीडा हुने कुनै पनि कार्य गर्ने।
⦁ मानसिक यातना जस्तैः शारीरिक यातनाको डर धम्की देखाउने, गाली गलोज गर्ने, त्रासपूर्ण वातावरण सृजना गर्ने, झुटा आरोप लगाउने, घरबाट निकालिदिने, विभिन्न धर्म परम्परा सँस्कृतीको आधारमा भेदभाव गर्ने, शारीरिक बनावटको आधारमा हेला अपहेलना गर्ने, मानसिक सन्तुलन गुमाईदिने, आत्महत्या दुरुत्सहान गर्ने र आत्महत्या गर्ने परिस्थिति खडा गर्ने आदि हुन् जसले मानसिक वा भावनात्मक गहिरो आघात पुग्छ।
⦁ यौनजन्य प्रकृतिका दुर्व्यवहार, अपमान, वा आत्मसम्मानमा चोट पुर्याउनु, वा सुरक्षित यौन स्वास्थ्यमा आघात पुग्ने कुनै कार्य गर्ने, परिवारभित्र हाडनातामा शारीरिक सम्बन्धको दबाब दिने, जबरजस्ती गर्ने, फकाएर त्यस्ता कार्यमा सम्लग्न गराउने आदि पर्दछन।
⦁ आर्थिक यातना भन्नाले महिलाको हकमा दाइजो माग गर्ने, दाइजो ल्याउने दबाब दिने वा दाइजो नल्याएको भन्दै गरिने हेला, घृणा, तिरस्कार बुझिन्छ, यसका साथै सगोल वा निजी सम्पत्तिको प्रयोग गर्ने वा रोजगारी वा आर्थिक स्रोत र साधनको पहुँच वा प्रयोगमा बन्चित गर्ने भन्ने बुझिन्छ।
घरेलु हिंसा भएको भइरहेको वा हुन लागेको थाहा पाउने जोसुकै व्यक्तिले सो सम्बन्धि विवरण खुलाई प्रहरी कार्यलय वा राष्ट्रिय महिला आयोग वा स्थानीय तह समक्ष लिखित व मौखिक उजुरी दिन सक्छन्। घरेलु हिंसा विरुद्ध तुरुन्त आवाज उठाउन वा कदम चाल्न एकदमै जरुरी छ।
घरेलु हिंसा अपराध हो, अपराध भैरहेको देखेर मौन बस्ने मान्छे पनि अपराधी हो। माथि उल्लेखित कुनै किसिमको घटना घटेको अवस्थामा प्रचलित कानुन बमोजिम काम-कारबाही र सजायहरु उपलब्ध छन्।
नेपालको सन्दर्भमा घरेलु हिंसामा बढी महिलाहरु परेका छन्। लकडाउनको समयमा घरभित्र जुनसुकै प्रकारका महिला हिंसा भएको अवस्थामा:
♦ राष्ट्रिय महिला आयोगबाट संचालित ११४५ डायल गरि उजुरी गर्न सक्नु हुनेछ। हट्लाइन २४ घन्टाको लागि खुल्ला रहनेछ। एसएमएसमर्फत पनि सम्पर्क गर्न मिल्नेछ।
♦ मनोसामाजिक मनोविमर्शका लागि ११४५ वा बिहान ८:०० बजेदेखि ६:०० बजेसम्म टिपिओ नेपालको टोल फ्री नम्बर १६६० ०१० २००५ मा सम्पर्क गर्न सक्नुहुनेछ।
♦ आश्रय स्थलको लागि साथी संस्थाको फोन नम्बर ९८०१०३८४८२, ९८४१६०७८४६, ९८४९५४४९५० मा सम्पर्क गर्न सक्नुहुनेछ।
♦ बालबालिका सम्बन्धी सेवाको लागि सिविन नेपालको हेल्पलाइन १०९८ मा सम्पर्क गर्न सक्नु हुनेछ।
♦ आफ्नो घर छिमेक वा कही हिंसाको शंका भए महिला आयोगको हेल्पलाइन १४४५ वा १०० मा तुरुन्त खबर गर्न सक्नु हुनेछ।
♦ लैङ्गिक हिंसा सम्बन्धी उजुरी तपाईंले nwc.gov.np मा गएर दर्ता गराउन पनि सक्नु हुनेछ। तपाईंको उजुरी वा गुनासोहरू गोप्य रखिने छन्।
नेपालमा घरेलु हिंसा सम्बन्धी वर्षेनी धेरै मुद्दा दर्ता हुने गर्छन् तर जति पनि उजुरी आउछन् तीभन्दा धेरै हिंसा र यातना खपेर बसेका छन्। हामी शिक्षित छौँ, हाम्रो कर्तव्य आफूले जति सकिन्छ जनचेतना फैलाउने हो। पीडितलाई न्याय दिने हो वा न्याय दिने ठाँउसम्म पुर्याउनु हो। आफ्नो स्तरबाट हिंसा रोक्न चाल्न सक्ने कदम प्रत्येक शिक्षित नागरिकले चाल्न जरुरी छ।
अपराधीक सोच भएका तुच्छ जनावरलाई मानवताको पाठ पढाउन जरुरी छ। हामी जति चुप बस्छौं, अपराधीहरु नयाँ अपराध गर्ने योजना झन् बनाउछन्। यातना खपेर बस्नु पनि अपराध गर्नु वा सो सहर हो।
अपराधी, अपराधी नै हो, अपराधीलाई बचाउने तपाईं हामी कसैको अधिकार छैन। संविधानले प्रत्येक नागरिकलाई ३१ वटा मौलिक हक र कर्तव्य दिएको छ, अधिकार केहो बुझौँ तर अधिकार प्रयोग गर्दा आफ्नो कर्तव्य नभुलौँ। अधिकारको दुरुपयोग गर्ने अधिकार कसैलाई छैन।