मेरी प्यारी हजुरआमा अर्थात् अंगुरबाबा जोशी (मामी) को आज १३ औँ पुण्यतिथि। उहाँको बारेमा कुरा गर्दा भन्ने कुरा त धेरै छन् तर ती भावनाहरुलाई शब्दमा उतार्न निक्कै गाह्रो छ। सायद मसँग शब्दहरुनै छैनन्। जे भने पनि कम जस्तो लाग्छ। म कहाँबाट सुरु गरुँ?
भनिन्छ, बल्यकालमा बिताएको समय बहुमूल्य हुन्छ रे। मेरो बल्यकालको सबैभन्दा हर्षमय र भावुक पलहरु पनि मामीको माया र ज्ञानको सम्झनामा नै डुबेको छ। मलाई याद छ, जाडोको महिनामा घाम तापेर हामी नाति-नातिनाहरु मामीको जीवन कथा सुन्थ्यौँ।
मामी बच्चामा धेरै बोल्नु हुँदैन थियो रे। सबैले उहाँलाई ‘लाटी’ भनेर बोलाउथे। मलाई लाग्छ, जो सुरुमा कम बोल्छन्, उनीहरु धेरै समय भित्री चिन्तनमा बिताउँछन् र आफूलाई विस्तारै सक्षम बनाउने बाटोमा निरन्तर रुपले लाग्छन्।
मामीले पनि आफूलाई यसरी नै तिखारेर निकै योग्य हुनु भयो र पछि गएर अन्याय र महिलाको हकको निम्ति आवाज उठाउन सधैं अगाडि बड्नु भयो। घरमा मामीको आमा र बुवाले छोरा र छोरी दुवैलाई समान रुपले माया गर्नुहुन्थ्यो रे। मामी त बुवाको प्यारी हुनुहुन्थ्यो रे। यस कारण त्यो बेला केटीहरुलाई पढाउने चलन नभए पनि मामीले घरबाट नै पढ्ने मौका पाउनु भयो।
मामीलाई अंग्रेजी पढ्ने ठूलो धोको थियो र आफ्नो दाइको अंग्रेजी किताब लुकीलुकी पढ्नु हुन्थ्यो रे र गुरुको अगाडि आफ्नो दाइले नसकेको अंग्रेजी प्रश्नको उत्तर पनि दिनुभयो रे। त्यो देखेर मामीको बुवाले पनि मामीको अंग्रेजी तालिमलाई बढाउनु भयो रे। मामीले पछि गएर धेरै तलिम प्राप्त गर्नु भयो र नेपालबाट एसएलसी दिने चार महिला मध्ये एक हुनुभयो रे।
यसरी मामीले ब्याचलर्स, मास्टर्स र बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा बार एट लसम्म पढेर डिग्री हासिल गर्नु भयो। नेपालको इतिहासमा यो स्तरमा विद्या पूरा गर्ने मामी पहिलो महिला हुनुभयो। बेलायतमा काम गर्ने मौका पाएर पनि उहाँ नेपाल फर्किनु भयो र पछि गएर उहाँले महिलाहरुको लागि भनेर नेपालको पहिलो कलेज पद्मकन्या स्थापना गर्दै त्यहाँको प्रथम प्रिन्सिपल पनि हुनु भयो।
मामीले आफ्नो भएभरको जीवन महिलहरुको सशक्तिकरण र समाज सेवामा नै समर्पित गर्नुभयो। उहाँको लक्ष्य नै आफूलाई नेपाल आमाको काखमा अर्पण गर्नु थियो। मामीले आफ्नो पढाई र समाजसेवाको यात्रामा धेरै संघर्षसँग जुध्नु पर्यो। तर मामीले कहिले पनि हार मन्नु भएन। मामीमा जुन आत्मबल, कठिनाइसँग लड्ने मनोभाव र भित्री अमर शक्ति थियो, त्यस्तो अटुट सामर्थ्य मैलेआफ्नो जीवन कालमा कसैमा देखेको छैन र सायद देख्ने पनि छैन।
मामी केटी भएको करणले उहाँको पढाईमा धेरै रोक लगाएको थियो। तर मामीले हरेक बाधाको बेदर्द समाना गर्नुभयो। मामीलाई आफ्नो माया गर्ने परिवारबाट पनि धेरै समर्थन र हौसलाप्रत भयो। उहाँको आमा, बुवा, श्रीमान् र खासगरी उहाँको सासुले सधैं मामीको हरेक पाइलामा सहयोग गर्नु भयो। यसरी मामीले बिहे भएपछि पनि आफ्नो पढाईलाई निरन्तरता दिनसक्नु भयो।
आफ्नो बच्चाहरुसँग टाढा बस्दा मामीलाई निकै गाह्रो हुन्थ्यो। मामीकी सासु र मेरी बुढी हजुरआमाले मामीको अध्ययनको समयमा बाल बच्चाहरुको रेखदेख गर्नुभयो। मामीलाई पढ्न प्रोत्साहित गर्नुभयो र मामीलाई भरपूर माया गर्नुभयो। मेरी बुढी हजुरआमा अहिलेसम्म, १०८ वर्षको उमेरमा जीवित हुनुहुन्छ र हाम्रो परिवारको उत्कृष्ट आदर्शको मूर्ति हुनुहुन्छ।
मामीको मेरो जीवनमा ठूलो प्रभाव र योगदान छ। उहाँबाट प्रभावित हुँदै मैले शिक्षालाई ठूलो मन्यता दिएकी छु। मैले पिएचडी सिध्याएर आज एमबिबिएस तालिमको अन्तिम साल पूरा गर्दै छु। पिएचडी अन्तर्गत मैले क्यान्सर सम्बन्धी अनुसन्धान गरेकी छु र यही विषयमा बिरामीको औषधी गर्ने मेरो लक्ष्य छ। मेरो पनि सपना नेपालको सेवामा मन लगाउनु हो।
मामी जत्तिको बलिदन दिने क्षमता त ममा छैन तर पनि म पूरा कोशिश गर्नेछु। नेपाललाई आफूले सक्दो रूपमा सहयोग गर्नेछु। मामी म भित्रको सधैं बलीरहने दियो हुनुहुन्छ। त्यो ज्योतिले मलाई सधैँ संघर्षसँग लड्न प्रोत्साहन दिन्छ। मामीबाट मैले गीताको आध्यात्मिक ज्ञान पनि पाएकी छु।
जीवन पालभरको मात्र हुन्छ। यहाँ कुनै पनि कुरा सधैंको लागि हुँदैन। सबै कुराको अन्त्य निश्चित छ। यसै कुराले हाम्रो मनलाई चोट दिन्छ। हाम्रो शरीर पनि सधैंको लागि हुँदैन। त्यो बुढो हुन्छ र एक दिन नाश पनि हुन्छ। हामीले आफूलाई शरीर भन्ठान्नु हुँदैन। हाम्रो पहिचान शरीरभन्दा धेरै श्रेष्ठ छ। त्यो पहिचानको नाम आत्मा हो र आत्मा नै उच्चतम चेतना अथवा हाइयर कन्सियसनेस हो।
यो चेतनाको ज्योति सधैं एक निष्पक्ष साथीको रूपमा जीवनको सबै बद्लीमा अटल र अपरिवर्तित भएर हाम्रो भित्रि शक्तिको प्रतिक हुन्छ। यही शक्ति नै मेरो लागि मामी हुनुहुन्छ। मेरो भित्रको चेतना र सत्यको आवाज नै मामी हुनुहुन्छ। मामीले जीवनमा सधैं सत्य र इमानदारीको बाटो लिनुभयो र म पनि यही सिद्धान्तमा विश्वाश राख्छु।
मामीले दुःख र पीडालाई पूर्णरूपले स्वीकार गर्नु भयो र आफ्नो गहना सम्झेर त्यसलाई गर्वले ओड्नुभयो। उहाँ दुई चोटी क्यान्सर भएर पनि कहिले गुनासो गर्नु भएन र ती रोगहरुसँग आफ्नो भित्रको असीम शक्तिले लडेर किनारा तर्नु भयो। उहाँले ८९ सालम, यो धर्तीमा आफ्नो माया र ज्ञान फैलाएर सबैको जीवनमा बिहानीको प्रभा लिएर आउनु भयो।
मलाई मामीको स्वरूपमा मेरी आमा, उहाँको छोरी हुनुहुन्छ। यसरी मामी सधैँ मसँग हुनुहुन्छ।