कोरोनाको त्रासले अहिले विश्व त्राहीत्राही भएको छ। आफू वा आफ्ना प्रियजनलाई कोरोना लाग्ने पो हो कि भन्ने मानिसमा एक किसिमको भय उत्पन्न भएको छ। मृत्युको त्रास एकातिर, अर्कोतिर महामारीको अन्तिम स्वरूप कस्तो हुने हो भन्नेमा मानिसहरू चिन्तित छन्।
तर काठमाडौं निवासी ८१ वर्षीया सुशीला (खरेल) भट्ट भने यो महामारीसँग खासै डराएकी छैनन्। यस्ता महामारी विभिन्न रूप लिएर आउने जाने क्रम चलिरहने भनेर आफ्ना अनुभव यसरी सुनाइन्।
‘यस्ता महामारीहरू आउने जाने क्रम पृथ्वीमा चलिनै रहेको हुन्छ। विभिन्न उपनामका प्लेग, इन्फून्जा, स्वेटिङ सिकनेस् लगायतका अनेक महामारी विश्वमा आउने गरेको सुनेका हौं। काठमाडौंलगायत देशका विभिन्न भागमा उहिले उहिले हैजा, बिफरजस्ता महामारी आउँथे। गाउँ समुदायमा कसैलाई मारेरै छोड्थ्यो, कसैलाई अपांग बनाउँथ्यो। महामारी रूप फेरर केही वर्षपछि फेरि आउँथ्यो र अर्को तान्डव मच्चाउँथ्यो। महामारीको स्वभाव नै यही हो,’ सरल भावमा उनले आफ्ना कुरा सुनाइन्।
मैले प्रश्न राखें, ‘तपाईंले यस अघि कुनै महामारी देख्नु वा भोग्नु भएको थियो?’
मेरो जिज्ञासालाई उनले यसरी मेटाइन्।
‘म ५ वर्षकी थिएँ मुमा भाइ पुरुषोत्तमका साथ कुना पट्टिको कोठामा बस्नु भएको थियो। म घरीघरी मुमा भएतिर च्याउन जान्थें। तर कसै न कसैले हतारिँदै मलाई रोकेको हुन्थ्यो। त्यसदिन मलाई रोक्नेले भने साँचो कुरा बताएका थिए ‘भित्र नजाऊ, भाइलाई बिफर आएको छ। बिफर भएको मानिसको नजिक गएमा सर्छ।’
२००१ साल, पुस महिना। काठमाडौंमा बिफरको महामारी फैलिएको रहेछ।
‘महामारी त्यसै डर र खैलाबैलाको विषय, अझ प्रचन्ड गर्मीका बेला आउने महामारी पुसको मध्यमा किन यो उल्का हो? मानिसहरू महात्रासमा थिए। जतिबेला पनि उहाँ रोइरहेको देख्थें। मेरो उमेर त्यो आँसुको भाव बुझ्ने भैसकको थिएन। मुमा सदाझैं किन बोल्नुहाँस्नु हुन्न? भन्ने मात्र लाग्थ्यो।’
सुशीला भन्दै गइन्, ‘त्यो बेला खोप वीर अस्पतालमा लगाउन पाइन्थ्यो। जनचेतनाको कमीका कारण अस्पताल वरपर तथा यसबारे बुझे,सुनेकाले मात्र खोप लाउँथे। हाम्रो बुवा सरकारी जागिरे भएका कारण हामीलाई भने घरैमा मानिस आएर लगाएका थिए। खोप अलि ठूलो भएपछि मात्र दिने चलन भएकाले होला म पछिका दुई भाइ श्याम र पुरूषोत्तमले भने लगाएका रहेनछन्।’
महामारी नलागोस् भनी मानिसहरू सितलामाईको पूजा गर्थे। परिवारका कसैमा बिफर,ठेउला, दादुरा जस्ताको संक्रमण देखिएमा सितलामाईलाई पूजा उठाइन्थ्यो। र बिरामीलाई निको भएपछि पशुपतिनाथ परिसरमा रहेको सितलामाईको दर्शन गराउन लग्ने चलन थियो। बिफर संक्रमण हुँदा ज्वरो अत्यधिक भई शरीर अथाह पोल्ने हुँदा बिरामीलाई सितल होस् भनी सितलामाईको पूजा गर्ने चलन चलेको हो भन्ने किम्दन्ती रहेछ।
‘हामी काठमाडौंको जैसीदेवलमा बस्थ्यौं। जैसीदेवल, असन, इन्द्रचोकलाई त्यतिबेला सहर भन्ने चलन थियो। ती ठाउँमा घर गुजुमुज्ज थिए। हाटबजार पनि भएका कारण सधैं मानिसहरूको भीडभाड हुन्थ्यो। टाढा टाढादेखि मानिसहरू सरसामान किन्न आउँथे। मेरो बुवा सरकारी ओहदामा हुँदा हाम्रो घरमा मानिसहरूको जाने आउने, जमघट भैरहेको हुन्थ्यो। घरमा आएका मानिसहरू कोठा बरण्डा जहाँतहीँ सुतेका पनि देखिन्थे। भाइहरूको बिमार बिफर हो भनी कविराजले बताएपछि घरमा मानिसको आउजाउ कम भयो। बाटोमा हिँड्ने, पसलतिर आउने मानिस पनि कम भए। त्यतिबेला पनि महामारी आउँदा मानिसहरू स्वतः लकडाउनमा बस्दा रहेछन्।
त्यसैले अहिलेको यो एकन्तबासलाई मैले सकस ठानिनँ। लकडाउन महामारीबाट जोगिने सही कदम हो।’
कुराको सिलसिला चल्दै गयो। सुशीला आफ्नै घरमा पसेको महामारीको दुःखद कथा सुनाउन थालिन्,
‘त्यो आवाज अझै मेरो कानमा टड्कारै छ, मुमा हिक्कहिक्क गरेर रोइराख्नु भएको थियो। मानिसहरू बोलिरहेका थिए ‘लगौं लगौं अब’
काँ जाने कुरा गरेको होला? म अलमल्लमा थिएँ। एकैछिनपछि त पुरुषोत्तमलाई बोकेर एकजना मानिस बाहिर निस्किए। उनको पछाडिपछाडि मुमा र अरु पनि साथै लागे। मुमालाई सहयोगी अन्य महिलाले दायाँबायाँ हात समाएर हिँडाइरहेका थिए।
‘मुमा, काँ जान लागेको?’ म पनि जान्छु न।’ मैले यसो भन्दा कसैले मेरो हात तानेर अर्को कोठातिर लगे। भाइलाई निको भएर कतै जान लागेको होला मुमा भन्ने ठानें ।’
‘कविराज लगायतकाले पुरुषोत्तम अब बाँच्दैन भन्ने निश्चित गरेछन्। तर आमाको मन सास जानलागेको बच्चालाई ‘लग अब अन्तिम संस्कार गर्न’ भनी सजिलै अर्कालाई सुम्पन्न कसरी सक्थ्यो र ? मुमा पचली घाटमा पनि भाइसँगै जानु भएको रहेछ। विफरले संक्रमित भएको १४ दिनको दिन बितेछ १५ महिने त्यो सुन्दर भाइ पुरूषोत्तम। संक्रमणमा बितेकालाई जलाउन नपाइने नियम त्योबेलामा पनि रहेछ। अझ भाइ त कर्मकान्ड नै नचलेको सानो नाबालकलाई जलाउने कुरै भएन। पुरूषोत्तम बितेको मैले कत्तिदिनसम्म थाहै पाएकी थिइनँ।’
‘केही दिनपछि, बाटोमा सेतो रुवा जस्तो सेतो कुरा देखें। त्यो त हिउँ रहेछ। मान्छेको जातै जिज्ञासु। केटाकेटीमात्र हैनन्, पाका मानिस पनि हिउँ हेर्न घर बाहिर निस्किरहेका थिए। मैले खुसी हुँदै मुमालाई बोलाएकी थिए ‘मुमा बाहिर आउनुस् त। कस्तो रमाइलो हिउँ छ बाटोमा।’ तर उहाँले मेरो भनाइको वास्ता राख्नु भएन।
उहाँ खास्टो ओढेर कोठामा झोक्राएर बस्नु भएको थियो। म वाल्ल परें, मुमा किन त्यसरी बस्नुभएको होला?’
‘अनि मैले भाइहरूलाई बोलाएँ। त्यसैबेला ‘पुरुषोत्तम भाइ अब छैन् छोरी।।।’ भन्दै मुमा क्वाँ क्वाँ रुनु भएको थियो।’
महामरीको हिम्मत कति दह्रो? धनी न गरिब, ठूला न साना सबैलाई पछार्न सक्ने। आमाको विलौनाको मर्म के थाहा त्यसलाई ? राणाकालका उच्च ओहोदामा रहेका ती बालकृष्ण खरेलले आफ्नै घरभित्र बिफर आइपुग्दा ढोका बन्द गर्न सकेनन्। आफूसँग लुटुपुटु खेल्ने हाँस्ने सुन्दर बालक छोरालाई सुम्पन बाध्य भए महामारीलाई। र आफैं शिर निहुराएर बाहिरिए त्यो घरबाट। पुत्र शोकमा दुबेकी पत्नीको दर्द विर्साउन बालकृष्ण खरेलको परिवार जैशीदेवल छोडेर नरदेवीमा बस्न गएछ।
हैजाको महामारी वर्षैपिच्छे आउने गरेको सुशीलाले सुनेकी थिइन्।
त्यसबेलाको एउटा रमाइलो कथा सुशीलाले सुनाइन्, नरदेवीमा उनकी एक छिमेकी बालसखा थिइन् कान्छिमाया।
ती सखाले सुनाएको कथा आजसम्म पनि उनी सम्झन्छिन् र रमाइलो मान्छिन्।
‘पूर्व र पश्चिम लागेका हैजाका दुई दाजुभाइको एकठाउँमा जम्काभेट भएपछि कुरा सुनाउन थालेछन्, ‘अनि काम फत्ते भो त तेरो दाइ?’ पूर्व गएकोले भाइले पश्चिम गएको दाइलाई सोध्यो।
‘अँ सोत्रर पारें। मज्जा आयो।’
‘अनि तेरो काम कति बन्यो त? पूर्वतिरका मान्छे त चट्टु पो रैछन्। सफा बस है नत्र कलेरा आउँछ भन्दा रछन् । सकिनँ तिनलाई ढाल्न मैले त।’
‘ए अनि अदुवा पनि त्याँकाले खुर्केर अनि धोएर खाँदा रहेछन?’
‘धुने त हैन खुर्केर मात्र खान्छन्।’
‘एऽऽऽ यति भए काम पुगिगो नि ल म फेरि जान्छु त्याँ सबलाई सोत्तर पारेर आउँछु। यति भन्दै भाई चाहिने पूर्वतिर हुत्तिएछ ।’
‘साथीले यो कथा सुनाएको केही दिनमै टोलमा कलेरा फैलियो। हैजाको महामारी त्यो समयमा बर्षेनी हुन्थ्यो र बस्तीमा धेरैको मृत्यु भएको कुरा सुनिन्थ्यो। हैजाको उपचार विधि मान्छेले जानेका थिएनन्। कविराजले औषधि दिन्थे। तर सामान्य झाडा पखाला हुँदा पनि पानी खान हुन्न भन्थे। यस्तो गतल सोचले नै धेरै मानिस मर्थे। हैजाका बिरामी मर्ने बेला पानी पानी भन्दै मर्थे रे।’
२०१६, १७ सालतिर विफरको अर्को महामारी सुशीलाले आफ्नै पहाडघरको गाउँमा देखिन्।
उनले देखेको त्यो महामारीको कथा भने दुःखद् मात्र हैन प्रेरणादयी छ।
‘हाम्रो पहाडघर पलान्चोक रमाइलो ठाउँ। दूध घिउ शुद्ध खान पाइने। आँप पाक्न थालेको। मेरा भाउजूहरू गाउँ जान लाग्नु भएको थियो। म २० वर्षकी थिएँ। विश्वविद्यालयमा एमए पढन भर्ना भइसकेकी थिएँ। स्कुल कलेज २ हप्ताको छुट्टी थियो। त्यही मौकामा भाउजूहरूका साथ म पलान्चोक पुगें । त्यहाँ पुग्दा थाहा भयो तत्कालीन पूर्व १ नम्बरमा बिफर महामारी फैलिएको रहेछ।
पलान्चोकमा पनि एक जना हाम्रो चिनजानका पुरेतका ७ छोराछोरीमा ६ जना यही महामारीमा बितेछन्। बिफरले गाउँमा अरु मान्छे पनि मरे भन्ने खबर सुन्दा साह्रै डर लाग्यो।’
‘हाम्रो काका रत्नप्रसाद खरेल काभ्रे जिल्लाबाट निर्वाचित राष्ट्रियपंचायतका सदस्य हुनुहुन्थ्यो। मैले माहामारी बारेमा एउटा चिठी काकालाई लेखें र मानिसका हात पठाएँ। बस्ती नभएको जंगलको बाटो गरी मानिस काठमाडौं पुगें। चिठी पाउनासाथ काकाले स्वास्थ्य मन्त्रालयका तत्कालीन निर्देशक भीम बहादुर प्रधानलाई खबर गरेर खोप तथा आवश्यक सामग्री त्यही मानिसका हात पलान्चोक पठाइदिनु भो। खोप लगाउने स्वास्थ्यकर्मी भने कोही थिएनन्। संकटका बेला निर्णय लिन ढिलाइ गर्नु थिएन। आखिरमा निर्देशिकामा भएको विधि अपनाएर मैले घरैमा भदाभदै, आफन्तहरूलाई खोप लगाइदिएँ। खोप दिने आधिकारिक व्यक्ति त म हैन। तर विपतका बेला आफन्त बचाउन दुस्साहसै सही, म सफल भएँ। खोप त धमाधम दिएँ तर राति सुतेपछि भने मन पोल्न थाल्यो। कथम कथाचित कसैको ज्यानमा तलमाथि भयो भने? सम्झँदासम्झँदै मलाई छटपटी भएर आयो। रात छर्लंग बित्यो।’
‘अर्को दिन गाउँवासीको दुखेसो मकहाँ आइपुग्यो, ‘हुने खानेकाले त खोप लाए, आफू र आफ्नाको ज्यान बचाए। हाम्रा सन्तान त मर्ने भए …’ मेरो चिन्ता गाउँका सबै बाँचुन् भन्ने थियो। यसपछि मैले तुरुन्त काकालाई नै चिठी पठाई काठमाडौंबाट खोप मगाएँ। खोप लगाउन क्याम्प राखें। गाउँभरका करिब ४०० जनालाई खोप दिएँ। खोप लगाएकामध्ये एक जनालाई बिफर आएको थियो रे उनलाई पनि कुनै अपांगता नभई छिटो निको भएछन्।
सुशीला भन्छिन्,‘जीवनमा सत्कर्म गर्ने त्यो संयोग आफूलाई जुरेकोमा सन्तोष लाग्छ।’
महामारीबारे सुशीला भन्छिन्, ‘महामारीका कथाहरू जुनसुकै पनि खतरनाक हुन्छ। महामारीमा ज्यान गुमाउने व्यक्ति अरुका लागि संख्या भए पनि पनि परिवारका लागि सर्वस्व हो अहिले जनसंख्या धेरै हुँदा धेरैलाई असर गर्यो, धेरैले ज्यान पनि गुमाए। तर प्रतिशतको हिसाबमा हेर्ने हो भने त्यो बेला संक्रमित हुने र मर्नेको दुबै बढी होलान्।’
सुशीला भन्छिन्, ‘पृथ्वीमा महामारी पटक/पटक रूप फेरी आइरहन्छ। यस्ता महामारीले कसैको जीवनमा ठूलो नाश गर्छ। कतिलाई भने आयो गयो सामान्य अवस्था रहन्छ। महामारीबाट कसरी जोगिने सुरूमा सबै अन्योलमै हुन्छन् र क्षति पनि बढी हुन्छ। भेऊ पाएपछि मानिस जोगिन्छन्। कोभिड–१९ को औषधि वा खोप अहिलेसम्म बनिसकेको छैन। त्यसैले यससँग सतर्क रहन जरूरी छ। तर उहिले उहिले महामारीबाट जसरी मानिस जोगिएका थिए अहिले पनि जोगिन्छन्। केही मानिस मर्ने क्रम त पृथ्वीमा अनेक कारणले भइनैरहेको हुन्छ। त्यसैले महामारीबाट बिचलित हुने, आफूसामु बज्र पर्छ कि भन्ने चिन्तामा अनावश्यक नैराश्य हुनुको कुनै अर्थ छैन। साह्रै जरुरी नभइ घर बाहिर ननिस्कने, मास्कको प्रयोग र हातको सरसफाइ गर्दै आत्मबलका साथ कर्ममा लागेमा यो महामारीलाई जित्न सकिन्छ जस्तो लाग्छ मलाई त।’