अहिलेको परिवेशमा हामी सम्पूर्ण मानवजाति एकदमै जटिल अवस्थाबाट गुज्रिरहेका छौं।
सबैलाई एउटै मात्र कुराले पिरोलिरहेको छ - कोरोना कहर।
एकातिर कोरोनाको त्रास त छँदैछ, तर त्यो भन्दा पनि कोरोना बाहेकका अरु विभिन्न रोग तथा बिमारीको उचित उपचारको अभावका कारण दिनहुँ हुने अकाल मृत्यु झन् भयावह स्थिति हो।
साथसाथै देशभित्र रहेका क्वारेन्टिनहरूको अवस्था अझ उदेकलाग्दो छ। न त राम्रो खानपानको व्यवस्था, न त राम्रो सुत्ने ठाउँको नै, न त उचित जाँचकै व्यवस्था छ।
कहिले सर्पदंश त, कहिले बलात्कारका कहालीलाग्दा घटना हाम्रासामु नआएका होइनन्। यी सब कुरामा जिम्मेवार निकायको ज्ञान नभएको कि ध्यान, यसलाई हामीले कसरी बुझ्ने?
रात दिन यस्तै खबर सुन्न हामी बाध्य छौं। दिनानुदिन क्वारेन्टिनहरू कालघरमा परिणत भइरहेका छन्, जहाँ मानिसहरू एक गिलास पानी र एउटा सिटामोल नपाएर मृत्युवरण गर्न बाध्य छन्। योभन्दा दर्दनाक दृश्य अरु के हुन सक्छ!
यी सम्पूर्ण कुरा एकातिर छँदैछन्, यो सँगसँगै अर्को संक्रमणबारे पनि ध्यान दिनुपर्ने बेला आएको छ, त्यो हो डेंगी संक्रमण, जो हरेक वर्षायामसँगै सक्रिय हुने गर्दछ।
नेपालमा कोरोना संक्रमितको संख्या उकालो लाग्दै गर्दा डेंगीको जोखिम पनि बढ्दै गइरहेको छ।
खासगरी घर आँगनमा वर्षातको पानी जम्ने टिनका वा रंगका खाली डब्बा, गमला, पानीका ड्रम, थोत्रा टायर अथवा अरू कुनै पानी जम्ने भाँडा आदिमा यसले फूल पार्ने गर्दछ।
डेंगी सार्ने लामखुट्टेले खासगरी हलचल नभएको स्वच्छ सफा पानीमा फूल पार्ने गर्दछ। त्यसैले हामीले हाम्रो घर वरपरका साथसाथै क्वारेन्टिन क्षेत्रहरूको सरसफाइ गरिराख्ने, झारजंगल अनि जमेको पानी हटाउने आदि कामहरू गरिरहनुपर्छ।
डेंगीको मुख्य लक्षण भनेको एक्कासि हनहनी ज्वरो आउनु, टाउको दुख्नु, आँखाको गेडोको वरिपरि वा पछाडितिर दुख्नु, जीउ दुखनु,थकित हुनु, जिउमा मसिनो (सियोको टुप्पो झैँ सानो) आकारको रातो दाग आउनु, बान्ता हुनु र होला जस्तो हुनु, खाना रुचि नहुनु, झाडापखाला हुनु इत्यादि हुने गर्छन्।
अहिलेको महामारीमा मलाई पनि आफ्नो विगतको भोगाइ साट्न मन लाग्यो।
कुरा २०६४ सालको हो।
चाडपर्व नजिकिँदै गर्दा मनमा छुट्टै किसिमको रमाइलो थियो। हामी काठमाडौं नै बस्ने गर्थ्यौं, तर दसैं आउँदा आफ्नै गाउँघरको यादले सताउँथ्यो, जसकारण म पनि त्यो साल आफ्नै जन्मस्थानतिर हान्निएँ। दसैं आयो ठूलाबडासँग टीका थाप्नुको साथसाथै, रमाइलो भेटघाटमै दिनहरू बितिरहेका थिए।
जब दसैं सकियो, मलाई ज्वरो आउन सुरू भयो। भोलिपल्टदेखि बिस्तारै बढ्दै गयो, आफूलाई छुट्टै किसिमको कमजोरी महशुस भयो, अनि म र मेरो साँहिलो मामा काठमाडौं फर्कने निधो गर्यौं। बाटोभरि पनि ज्वरो आइरह्यो, खान र बोल्न सक्ने अवस्था रहेन। काठमाडौं आइपुग्दा पनि ज्वरोले छोड्ने नाम लिएन।
कुनै औषधिले पनि छोएन। नजिकै एउटा क्लिनिकमा गएर देखायौं, जहाँ टाइफाइडको शंका गरेर औषधि दिइयो।
ती औषधिले मलाई झनझन गल्दै गएको अनुभव भयो, असाध्यै टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरका हड्डी दुख्ने हुन थाल्यो। त्यो दुखाइ कुन हदसम्मको थियो भन्ने म वर्णन गर्न पनि सक्दिनँ।
एकरात म रातभर निदाउनै सकिनँ, हत्केला र पैताला एकदमै चिलाउन थाल्यो, चिलाउँदा चिलाउँदै यति पोल्न थाल्यो कि रातभर हातखुट्टा पानीमा डुबाएर राख्दा पनि सहज भएन।
भोलिपल्ट बिहानै जब आफ्नो हत्केलामा नजर पुग्यो, तब त्यहाँ ससाना रगतको थोपा जमेको जस्तो देखें, जुन सर्दैसर्दै माथिसम्मै पुगिसकेको रहेछ।
त्यसपछि तुरुन्तै नजिकैको ओम अस्पतालको इमर्जेन्सीमा गएँ। ती स-साना बिमिराजस्ता रगतका थोपा फैलँदै फैलँदै पूरै शरीर ढाकिसकेका थिए, आँखाभित्र समेत देखिन थालिसकेका थिए। गिजाबाट समेत रगत बग्न थालेको थियो।
यो सब देख्दा डाक्टरहरूलाई क्यान्सरको शंका भयो, र तुरुन्त रगत जाँच गर्न लगाइयो। रिपोर्ट भने नेगेटिभ आयो।
अब सबैलाई एउटै कुराले पिरोल्न थाल्यो – यो के रोग होला, उपचार गर्ने कसरी? सबै डाक्टर अलमल्लमै।
मेरो नाकबाट रगत बग्न थालिसकेको थियो, नाथ्री फुटेजस्तै गरेर; सँगसँगै वान्ता पनि हुन थाल्यो। सलाइन पानी दिइरहेको थियो, शरीर पूरै काँपिरहेको थियो, दुई चार जनाले थिच्दा पनि रोक्न नसकिने गरी काँपिरहेँ एकनासले।
नौलो रोग देखेर सबै नजिक आउन डराए। त्रास नहोस् पनि किन नहोस्, मलाई के भएको छ भन्ने पत्तो लागेकै थिएन। दिन बित्दै गए, मलाई झनझन् व्यथाले च्याप्दै गयो, तर बिडम्बना के भने, न त रोग पत्ता लाग्छ, न त औषधि नै चलाउन सकिन्छ।
शरीरभित्रका स-साना नसा सबै फुट्दै गए, छालाभित्र नसा फुटेर रगत जम्न थाल्यो। शरीर पूरै ससानो जमेको रगतको थोपाले भरियो। गिजाबाट बगेको रगत निल्न थालें। सबैतिर रगत बग्न थाल्यो नाक, मुख, गिजा अनि दिसा पिसाबमा, महिनावारी जसरी...
यी सबै हुँदै गर्दा मलाई आफ्नो शरीर हलुका भई हावामा उडेजस्तो अनुभव भैरहेको थियो। स्थिति झन् भयावह हुँदै गयो, नीलो आकाशमा एक्कासि कालो बादल मडारिए झैं भयो।
के गर्ने भनेर कसैले भेउ पाउन सकिरहेका थिएनन्। अस्पताल पूरै मेरै आफन्तले भरिराउ थिए।
यत्तिकैमा मलाई भेट्न आउनुहुने थुप्रै आफन्तमध्ये एक जना, जो भर्खरै भारतबाट आउनु भएको थियो, अनि पेशाले चिकित्सक नै हुनुहुन्थ्यो, उहाँले मेरो स्थिति देख्ने बित्तिकै डेंगी भनेर थाहा पाइहाल्नु भयो। मेरो बिमारीबारे यहाँका डाक्टरहरूलाई जानकारी गराउनुभयो। सँगसँगै यसको उपचार भनेकै रगत चढाउने हो भन्ने बताउनुभयो।
त्यसपछि हतार हतार टेकु अस्पतालमा रगत पठाएर परीक्षण सुरू भयो, अनि सबैतिर हल्लीखल्ली सुरू भयो नेपालभित्रै देखिएको यो नयाँ रोगबारे।
लाग्छ म नै पहिलो केस थिएँ नेपालभित्रै डेंगीको संक्रमण भएको।
त्यसैले होला मेरो विषयलाई लिएर ओम अस्पतालमा वरिष्ठ चिकित्सकहरूको मिटिङ बस्यो र त्यसपश्चात मेरो उपचार सुरू गरियो। मलाई हतार हतार आइसियू लगियो।
डेंगीको असर तीन प्रकारका हुने रहेछन्, त्यसमध्ये मलाई चाहिँ रक्तश्राव हुने डेंगी भएको रहेछ, जुन धेरै डरलाग्दो र एउटा वयस्क मान्छेलाई मृत्युको मुखसम्म पनि पुर्याउँदो रहेछ।
त्यसमाथि मेरो उपचारमा त यसै पनि धेरै ढिला भैसकेको थियो। हेमोरेजिक डेंगीमा हुने मुख्य असर भनेको भाइरसले रगतमा रहेका प्लेट्लेट्सलाई नष्ट गर्दै जाने रहेछ।
रगतमा प्लेट्लेट्सको मुख्य काम भनेको रगतलाई शरीरबाट बाहिर बग्न नदिने हो। जब १,५०,०००-४,००,००० को बीचमा हुनुपर्ने प्लेट्लेट्सको गणना घटेर ५०,००० भन्दा कम हुन थाल्छ, तब आन्तरिक रक्तश्राव हुन थाल्छ (वा हुने सम्भावना बढ्दछ)।
मेरो केसमा भने ७४८ (ठ्याक्कै याद नभए पनि ७०० देखि ८०० को हाराहारी) सम्म पुगेको थयो, जुन भनेको अन्तिम अवस्था नै हो।
आइसियू बाहिर रुवाबासी बाहेक केही पनि थिएन, कुन बेला के हुने हो अनिश्चित।
यसमा बिरामीलाई ताजा रगत चढाउनु पर्ने रहेछ, जसले गर्दा प्लेटलेट्स सँगसँगै अति जरुरी रातो र श्वेत कोशिका पनि बढ्थ्यो। मेरो भाग्य भनौं कि हामी नेपालीको सहयोगीपन, मलाई रगत दिने सहयोगी मन फटाफट भेटिनुभयो।
तर जति रगत दिए पनि भाइरसले केही समयमै प्लेट्लेट्स घटाइहाल्ने। रगत चढाएपछि बल्लतल्ल ५०,००० जति पुगेको हुन्थ्यो, तर केही समयमै ७००-१००० को हाराहारीमा झरिहाल्थ्यो। चाहिए अनुसार, कहिले ताजा रगत त, कहिले ताजा रगतबाट छुट्टयाइएको डब्लुबिसी अथवा प्लेट्लेट्स दिने क्रम जारी रह्यो। तर यति गर्दा केही पार लागिरहेको थिएन।
एकातिर जति रगत ‘ट्रान्सफ्युज’ गर्दा पनि उपाय नलाग्ला जस्तो हुन थाल्यो भने, अर्कोतिर डेंगी हुने बित्तिकै फोक्सोमा पनि संक्रमण सुरू हुने रहेछ, जसले गर्दा फोक्सोमा पानी भरिन थाल्यो। संक्रमण बढ्दै जाँदा फोक्सोले पनि कामै गर्न नसक्ने स्थिति आइपुग्यो। डाक्टरहरूले पनि हार मानिसक्नु भएको थियो। र परिवारलाई सान्त्वना दिन थालिसक्नु भएको थियो। त्यतिबेलाको मेरा बुवा-आमाको स्थिति, कल्पना पनि गर्न सक्दिनँ।
यसरी लगभग १ महिना आइसियूभित्रै बिते मेरा दिनहरू।
एउटा मुर्दा जसरी अस्पतालको आइसियूको बेडमा लडिरहेँ। आइसियूमा सधैं अलि जटिल केसहरू देखिन्थ्यो। अनि पालैपालो एक एक गरी सबैलाई भेन्टिलेटरमा लगिन्थ्यो, जहाँ उनीहरूले अन्तिम सास लिन्थे र अन्त्यमा ‘डेथ सर्टिफिकेट’ बनाउनेबाहेक अरु विकल्प रहँदैन थियो।
मेरो स्थिति पनि साह्रै नाजुक भइसकेको थियो। भोलिपल्ट मलाई पनि भेन्टिलेटरमा सार्ने कुरा भयो। म अत्तालिएँ। मनमा अनेकौं तर्कनाहरू खेल्न थाले।
सधैंजस्तै आँखामा मीठो निद्रा आइरहेको थियो, तर जब म निदाउन खोज्थें, आफू हावामा उडेको जस्तो अनि एक्कासि झरेर कहाँ कहाँ पुगेको जस्तो भान हुन्थ्यो।
मलाई लाग्यो अब मेरो मर्ने बेला भयो, अनि एक्कासि अत्तालिँदै ब्युँझिएँ। र सिस्टरलाई बोलाएँ।
‘प्लिज मलाई अब सुत्नु छैन’ भनें।
‘मलाई राम्रोसँग थाहा छ, अब पनि म मीठो निद्रा सुतें भने म फेरि कहिल्यै पनि नबिउँझिने गरी निदाउनेछु। त्यसैले प्लिज यो बेडलाई बस्न मिल्ने गरी उठाइदिनु बरु म यत्तिकै बस्छु’ भनें।
यसरी ननिदाएर बसिबसि नै त्यो रात मैले बिताएँ, न त आँखाले नै राम्रोसँग देखिरहेका थिए, न त कानले नै सुनिरहेका थिए, र पनि म मृत्युसँग लडिरहेको थिएँ।
अनि भगवानलाई पुकारिएको थिएँ, ‘साँच्चै तिमी छौ भने प्लिज मलाई भोलि त्यो भेन्टिलेटरमा जान नपरोस्।’
मेरो भाग्य भनौं कि के, भोलिपल्टबाट मेरो ‘प्लेट्लेट्स काउन्ट’ एक्कासि बढ्दै गएको रिपोर्टमा देखियो। डाक्टरहरू पनि खुसी हुँदै अब भेन्टिलेटरमा जानू नपर्ने खबर दिनुभयो।
म मख्ख पर्दै भगवानलाई मनमनै धेरै धेरै धन्यवाद दिएँ।
भाइरस १४-१५ दिनपछि शायद निष्कृय हुँदै गयो र भाइरसलाई मेरो शरीरले जित्न थाल्यो। अब मेरो शरीरले बनाउने रक्तकोशिका र प्लेट्लेट्सहरू बिस्तारै बढ्दै गयो।
यो खबरले सबैमा खुसीको लहर छायो। यसरी करिब ४८ जनाको रगत दिइसकेपछि मेरो शरीर भाइरस विरूद्धको यो लामो युद्धमा विजयी भयो।
यो अवधिभर मेरो उपचारमा संलग्न सम्पूर्ण चिकित्सकजनहरू र अन्य स्वास्थ्यकर्मीप्रति म सधैं आभारी रहने छु। उहाँहरूमध्ये एक जना डाक्टर जो सधैं म र मेरो परिवारका लागि ठूलो ढाडस भएर उभिन भएको थियो- डा प्रकाश पौडेल।
यसैगरी मेरा सबै आफन्तजन, साथीभाइ तथा सम्पूर्ण सुभेच्छुकहरूप्रति पनि म सदैव आभारी रहनेछु।
म मेरो बुवा र ममीप्रति पनि एकदमै आभारी छु, जसले मलाई यो पुनर्जीवन दिलाउन सधैं लागि पर्नुभयो। अस्पतालबाट डिस्चार्ज हुनु एउटा कुरा थियो भने आफ्नो रगत सकिएर, झण्डै ४८ जनाको रगत लिएर सामान्य जीवनमा फर्किनु अर्को ठूलो चुनौती थियो, जुन चुनौती पार गर्न मलाई झण्डै २ बर्ष लाग्यो।
अन्त्यमा, हामी सबै यस्ता संक्रमण र यसबाट कसरी बच्नेबारे जानकार हुन जरुरी छ। किनकी कोरोना र डेंगी सँगसँगै देखिँदै गर्दा थप चुनौतीपूर्ण हुनसक्छ।
यी दुवैका केही लक्षण आपसमा मिल्दाजुल्दा हुन्छन्। त्यसैले डेंगी संक्रमितलाई पनि कोरोना संक्रमित जस्तै सोचेर यत्तिकै छाडिदिने हो भने, झन् स्थिति भयावह हुनसक्छ। डेंगीका बिरामीले पनि उचित उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने अवस्था नआउला भन्न सकिँदैन।
डेंगीका बिरामीलाई पनि कोरोनाको जस्तै सम्झेर घरसमाजमा टाढा बसाउने, उचित उपचारको व्यवस्था नगर्ने जस्ता गतिविधिहरू नहोऊन्। जुन उपचार र माया मैले पाउन सकें, सबैले त्यस्तै स्नेह र उपचार प्राप्त गरुन्।
यस्ता कुराहरूमा सरकार, स्वास्थ्यकर्मी, संचार जगतलगायत, टोलछिमेक, गाउँसमाज हामी सबैको ध्यान जान जरूरी छ।