प्रिय साथी,
मानसपटलमा एकै पटक घुम्ने ती तमाम यादहरुलाई म एक-एक गरि सम्झिने कोशिश गर्दै छु, तर सकिनँ। ती प्रत्यक समयहरु मस्तिष्कमा यसरी आउछन् अनि भन्छन् कि 'के मेरो सम्झना अरु कुनै सम्झनाभन्दा कमजोर छ र? के मसँगको पल अरु पलभन्दा कम यादगार छ र?'
मैले कुनै पल, समय र घटनालाई २० को १९ गर्न सकिन साथी, म हारेँ। त्यसपछि ती दिमागमा आएका अनगिन्ती यादहरुलाई भनिदिएँ, आओ मसँग अब तिमीहरु बाहेक के नै बाँकी छ र?
म फेरि रोकिएँ, दिमाग शून्य भयो, एकछिनको लागि मुटु रोकिए झैँ भयो। फेरि दिमागमा यादहरु तछाड-मछाड गर्दै यसरी आउन थालेकी मेरो सानो मस्तिष्कले कहिले बोक्न नसक्ने भारी भएर। अहँ, मलाई त थाहा छैन, तिमीले पनि मैले जस्तै यादका भारीहरु बोकेर हिड्नु परेको छ कि सबै यतै बिसाएर गएको छौँ। कसलाई सोधौं साथी? तर म चाहान्न, ती फगत याद र प्रेमहरु तिम्रो अनन्त यात्रामा कठोर बाधा बनेर आउन्।
साथी, मैले एक पटक तिमीलाई सोधेको थिएँ, 'खुसी हुन के गर्न पर्छ?' तिमीलाई सायद याद पनि छैन होला, तिमी आफैले दिएको उत्तर 'खुसी हुन केही गर्न पर्दैन साथी, बस मलाई सम्झिए पुग्छ।' आज म अनुत्तरित छु, तिमीलाई सम्झिएर मैले कुन किसिमको खुसी प्राप्त गर्दै छु।
'चिन्तन गर, सोच अनि मात्र कदम चाल' तिमीले हरबखत मलाई सम्झाउदा भन्ने वाक्य हो यो। तिमी आफूले कति पालना गरेउ आफ्नो जीवनमा, साथी?
मिल्ने भए रिसाए रिसाउ भनेर गालामा मज्जाले एक थप्पड हानेर भन्न मन लागेको छ 'अरुलाई अर्ती दिन आयो, त्यसलाई पालना गर्न किन आएन किन?' तर म लाचार छु, चिताबाट धुवा अनि विस्तारै हावामा बिलाएको तिमीलाई म सायद नै स्वर्गमा भेट्छु होला। साथी, कुनै दिन तिमीले तिमी प्रति जाग्ने घृणाको केही अंश दिएको भए पनि त त्यै कुराहरूले आफ्नो मनलाई कठोर बनाएर आगामी जीवन बाच्न सक्थे होला, तिमीले त्यो गल्ती पनि गरेनौ।
'सपना, कस्तो सपना देख्नु पर्छ भनेको? सपना देख्ने हैन, पूरा गर्ने हो।' तिमीले बोलेका शब्दहरुले तिमीलाई कति अर्थ राख्यो राखेन मलाई थाहा भएन, तर मलाई देखेका सपना पूरा गर्न हरेक पल घच्घच्याउने काम गरिरह्यो। तिमी पनि सपना पूरा गर्न दौडिएको बेला केमा ठेस लागेउ यार? कस्तो ठेस लाग्यो, लडेछि सधाका लागि बिदा हुने गरि।
सोच्छु, मेरो मन र मस्तिष्कमा अहिले कुदेका या भनौ दौडेका यी सारा भावना, आवेग र यादहरुभन्दा धेरै तिम्रो दिमागमा थिए होला। त्यसैले त तिमीले सारा संसार त्यागेर अर्कै संसार रोजेउ। तर, हामी बीच हुने घन्टौँ संवादहरुमा तिम्रो मनका ज्वारभाटाहरु किन अटाउन सकेनन्? मैले तिम्रो पीडा लिन नसके पनि मलम लगाउन सक्थे होला, केही हलुका गर्न सक्थे होला वा तिमीलाई हिम्मतका साथ लड्न पठाउने होला। तर तिमीले त्यो एउटा झिनो अवसर पनि दिएनौ।
आज म हरेक दृष्टिकोणबाट केलाएर हेर्ने प्रयास गर्दै छु तिम्रा विगत अनि तिमीले देखेका सपनाहरुलाई। म एउटा कठिन प्रयास गर्दै छु जहाँबाट मैले तिम्रो मृत्यु प्रति आफ्नो चित्त बुझाउन सकौँ। तर, कुनै पनि कुरा सम्झेर तिमीले यो कारणबाट आफूलाई यो संसारबाट यति चाडै बिदा लिन्छु भन्ने सोचेउ होला भन्ने नै पत्याउन गाह्रो हुन्छ। घरिघरि लाग्छ, तिमीले यो निर्णय लिनु अघि बनाएको कठोर हृदयलाई जित्न म मेरो हिर्दयलाई अझ कठोर बनाउछु, र त्यो भनेर प्रयास नगरेको पनि हैन, तर अहँ सकिएन।
तिम्रा हरेक सोचलाई म कति मूल्यांकन गरेर सल्लाह दिन्थेँ अनि आवश्यक परे बुझाउने पनि। कति स-साना कुराहरुमा हामीले कति ठूला-ठूला छलफलहरु गर्यौँ। तर तिम्रो मनको त्यति ठूलो आधिबेहरीलाई हामीले एक पित्को पनि कुरा गर्न सकेनौँ है।
तमाम समस्याहरुसँग लड्ने क्षमता भएको तिमी आफ्नै मनको पिरसँग लड्न सकेनौ है? तिमी कमजोर भयौ कि तिम्रो समस्या धेरै जटिल भयो साथी?
तिम्रो मृत्युले म जति जलेको छु, जति गलेको छु, जति हारेको छु, त्योभन्दा विशाल पीडा भएको आमा, बुबा र भाउजुलाई हेरेर चित्त बुझाउने प्रयास गर्दै छु। तर खै कति बुझाउन सक्छु होला र म? पहिला पो तिमी थियौ र सबै कुरा तिमीलाई सुनाएर हलुका महशुस गर्थेँ।
साथी, तिमीले प्रेम सिकाएर गयौ, तर मुटु टुक्रा-टुक्रा हुँदा कसरी जीवन जिउने सिकाउन भुलेछौ है। माया प्रेम मात्र हैन, यो दुनियाँमा तिरस्कार पनि हुन्छ भनेर देखाएको भए आज केही हलुका महशुस हुन्थो होला। खैर, तिमीले जे गर्न हुँदैनथ्यो, त्यै गरेउ। मेरो साथीले वुद्धि बिगारेछ, एक पटकलाई माफ दिन्छु भन्न नि पाइएन। कस्तो गल्ती गरेउ साथी, जसलाई माफ पनि गर्न सकिएन।
तिमीसँग बसेर मलाई सबै घटनाक्रम एक-एक गरि सुनाउन मन छ। तिम्रो मृत्यमा देखिएको सबै दृश्य सुनाउन मन छ। ९३ वर्षको हजुरबुबा अनि दुई महिनाको छोरीको धैर्यता तिमीलाई सुनाउन मन छ। आमाको माया अनि बुबाको स्नेह कति रहेछ भन्न मन छ। भाइहरुको आशा अनि तिमी प्रतिको विश्वास सुनाउन मन छ। सबैको कुरा सुनाएपछि मेरो नि कत्ति कुरा बताउन मन छ। साथी, मेरो निम्ति एकछिन समय निकाल्न मिल्दैन?
थाहा छ, यो मायाले बेरेको, समाजले घेरेको, भाग्यले कोरेको जीवन चक्रमा तिमीलाई बस्न मन नभएर हिड्यौ। जानु आगाडि म जादै छु, यहाँभन्दा अर्कै संसारमा जहाँ म सबैलाई देख्छु, सुन्छु अनि महशुस गर्छु तर मलाई कसैले देख्दैन, सुन्दैन अनि भेट्दैन भनेर भनेको भए मलाई कति कुरा सोध्न मन हुन्थो होला, तिमी जाने नयाँ संसारको बारेमा। तिमीले एउटा फोन किन्दा त म हजार प्रश्न गर्थे, झन् अर्को संसारको बारे कति कुरा सोध्ने थिए होला।
एकदिन म मेरो मनमा उठेका तमाम प्रश्नहरु लिएर तिम्रो आगाडस आएर सोध्ने छु, त्यसको निम्ति तयार भएर बस ल। तिमीलाई स्वर्गमा भए पनि भेट्छु भन्ने अभिलाषा मनमा राखेर बसेको छु। मलाई डर छ साथी, कतै मैले सत्कर्म गर्न नसकेर मेरो निम्ति स्वर्गको ढोका त बन्द हुने हैन?
साथी, तिमी बसिरहेको ठाउँ कति सुन्दर होला है। तिमी गएपछि झन् कति सुन्दर बनेको होला। तिम्रा नि त्यहाँ साथी भए होलान्। समाज छ होला। तर बिन्ति त्यो नयाँ संसारमा तिमीलाई मन लागेको कुरा गर, पृथ्वीमा तिमीले गर्न नसकेका वा नपाएका सबै सपना पूरा गर, खुसी भएर बस। तिम्रो आत्माको चिर शान्तिको कामना।