एक्काइसौं शताब्दीको विज्ञानलाई समेत चुनौती दिँदै सिर्जित कोरोना महामारीले सारा संसार प्रताडित छ। यसको सुरूआत न मानिसले कल्पना गरेको थियो, न यसको अन्त्य कसरी होला भन्ने अनुमान लगाउन सकिएको छ।
कोरोना साम्राज्य कम गर्न प्रयोग गरिएको लकडाउन अस्त्रले दैनिक कामको व्यस्तताबाट ठूलो समुदाय टाढा रहन पुग्यो। एकातर्फ घरैभित्र निसास्सिनुपर्ने अवस्था, अर्कातर्फ सत्ताको डोरी हातमा लिएर बसेकाहरूको अकर्मण्यताले नागरिक समूहमा आक्रोश सिर्जना भएको छ।
कोरोना महामारीले विश्व थलिएको बेला सरकारले जनमानसलाई सान्त्वना दिनुको साटो यस्तो संवेदनशील अवस्थामा पनि भ्रष्टाचार र कमिसनखोरमा निर्लिप्त भएको देख्दा नागरिकमा असन्तोषको ज्वार फुट्नु स्वाभाविक थियो। फलस्वरूप सरकारको रवैयाप्रति खबरदारीको स्वर बुलन्द पार्दै यस्तो विभीषिकामा पनि युवा जमात सडकमा ओर्लियो।
सामाजिक सञ्जालबाट स्वतःस्फूर्त रूपमा राज्यलाई खबरदारी गर्न युवाहरू एकबद्ध भएर आउनुलाई साहसिक काम मान्नुपर्छ। आगामी दिनमा जागरूक युवाहरूले यो खबरदारी निरन्तर चलाइरहनुपर्छ। सरकारलाई ब्युँझाउन सडकमा सुनिने यस्ता साना वा ठूला स्वरलाई अन्यथा मान्न सकिँदैन।
सिर्जनशीलता र नवीन ऊर्जाले भरिएका युवाहरू राष्ट्रका मूल आधार हुन्। स्वभावैले विद्रोही चेत हुने र चलायमान भइरहने युवाहरूको नशा-नशामा क्रान्तिकारिता सल्बलाएको हुन्छ। विश्व इतिहास नियाल्यौं भने पनि सामाजिक, आर्थिक र राजनीतिक अभियानमा युवाहरूको त्याग, निष्ठा र बलिदानको योगदान अतुलनीय रहेको पाउँछौं।
नेपालमा भएका ठूल्ठूला राजनीतिक परिवर्तनमा युवाहरूले खेलेको भूमिका सधैं केन्द्रमा रहँदै आयो। राणाविरोधी आन्दोलनमा अँध्यारो कुनाबाट टुकी बाल्दै गंगालाल, शुक्रराजहरूले सुरू गरेको क्रान्तिको झिल्कोले २००७ सालमा मूर्तरूप पायो, प्रजातन्त्र स्थापना भयो। त्यसपछि पनि पटक-पटक भएका आन्दोलन र फेरिएका राजनीतिक व्यवस्थाको उतारचढावसँगै अहिले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको छ।
नेपालमा छोटो समयमा धेरै राजनीतिक व्यवस्था परिवर्तनमा युवाहरूको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ। अहिले तिनै व्यवस्था परिवर्तन गर्न लडेका व्यक्तिहरूले नै सत्ता सञ्चालन गरिरहेका छन्। तर सत्ता बाहिर हुँदाको जोसलाई सत्ताको केन्द्रमा पुगेपछि सार्थकतामा परिणत गर्न चुकेका दृष्टान्त हाम्रो वरिपरि पर्याप्त छन्।
राजनीतिमा आर्जन गरेको शक्तिलाई उसको कार्यक्षमतासँग तुलना गर्न नसकिने रहेछ। राजनीतिक परिवर्तनमा होमिएर व्यवस्था परिवर्तन गर्दैमा जनताले समृद्धिको फल चाख्न नपाउने रहेछन्। जुनसुकै तन्त्र आए पनि सामान्य नागरिकका दैनिक जीवनयापनमा तात्त्विक भिन्नता केही छैन। प्रशासनिक संयन्त्रको काम गर्ने शैलीमा कुनै फेरबदल छैन। भ्रष्टाचारले सिर्जना गरेको तुफानमा देश नै डुब्न लागेको अवस्था छ।
शिक्षित युवा मानसिक श्रम गर्न सम्पन्न मुलुक भनिएका देशमा जान तँछाडमछाड गरिरहेका छन्। शारीरिक रूपमा सक्षम युवाहरू रगत र पसिना बगाउन खाडी मुलुक जान विवश छन्। परिवारलाई दुई छाक जोहो गर्न, खोक्दै गरेकी आमाको उपचार खर्च र हुर्कँदै गरेकी छोरीको विद्यालय शुल्क तिर्न पनि देश छाड्नुपर्ने अहिलेको यथार्थ लुकाउन सकिँदैन।
इतिहासको वीरगाथा गाएर न भोको पेट भरिन्छ, न त भावी पुस्ताका लागि सुन्दर भविष्यको मार्गचित्र कोर्न सकिन्छ। वाद र सिद्धान्तका कुराले मात्र चिउरा भिज्ने भए देशका आधारस्तम्भ मानिएका लाखौं युवा 'योग्यताअनुसारको काम, क्षमताअनुसारको श्रम' खोज्दै आफ्ना सपना पूरा गर्न किन देश छाडेर हिँड्नुपर्थ्यो? सामान्य नागरिकहरूले दैनिक जीवनयापन चलाउन पनि कठिन अवस्थाको सिकार किन हुनुपर्थ्यो? बाँच्नका लागि संघर्ष वर्तमानमा गर्नुपरेको छ, तर अझै पनि उही वाद र क्रान्तिका कुरा?
वीरबलको कहिले नपाक्ने खिचडीजस्तो कहिले नआउने समाजवाद कुरेर अहिलेको युवा पिँढी आफ्नो ऊर्जा नास गर्न तयार छैन। अहिलेको युवा कुनै राजनीतिक सिद्धान्तमा अल्झिएर र फोस्रा कुराको कल्पनामा रम्न तयार छैन। उसले व्यवहारमा परिणाम खोज्न थालिसकेको छ भन्ने कुराको ज्वलन्त उदाहरण स्वतःस्फूर्तको युवा जागरणबाट प्रस्ट भइसकेको छ। यथास्थितिवादको चंगुलमा फसेका र रगत सेलाइसकेका असफल नेतृत्वको जयजयकार गरेर अबको राजनीति अघि बढ्न सक्दैन भन्ने दृष्टान्त खोज्न धेरै पर पुग्नै पर्दैन। माथि उल्लिखित घटनाक्रमलाई नै सर्सर्ती केलाए मात्र पुग्छ।
सचेत र शिक्षित युवा जमात अझै पनि राजनीतिक चेतनाबाट पन्छिँदै, तर्किँदै र जिम्मेवारीबाट भाग्दै जाने हो भने, महान् दार्शनिक प्लेटोले भनेजस्तै हामीभन्दा कनिष्ठ (कमजोर) हरूले हामीमाथि शासन गरिरहनेछन्। र, हाम्रो लगायत आउने पुस्ताको पनि हविगत यस्तै नै रहिरहनेछ। राजनीतिक सुझबुझसँगै निर्णायक कदम चाल्ने समय अब हामी युवाहरूको हातमा आइसकेको छ।
राजनीति गर्न परिस्थितिले प्रेरित गर्छ। हाम्रा अग्रजहरूले त्यति बेलाको प्रतिकूल व्यवस्थाविरुद्ध आफ्नो जीवन समर्पित गरेकाले हामी संघीय गणतान्त्रिक व्यवस्थासम्म आइपुगेका छौं। तर अहिलेको राजनीतिमा परिस्थितिभन्दा प्रवृत्ति जड बनेर रहेको अवस्था छ। यही प्रवृत्तिका कारण राजनीति लथालिंग छ।
राजनीति सम्पूर्ण नीतिमध्येको सर्वश्रेष्ठ नीति भए पनि राजनीति अस्तव्यस्त र फोहोरी देखिएको छ। यो सबै समयअनुसार परिवर्तन र परिमार्जित हुन नसक्ने अक्षम र अदुरदर्शी नेतृत्वको मानसिकताले सिर्जना गरेको हो। त्यसैले पनि अहिलेका मूलधारका नेतृत्वलाई विस्थापित गर्न आगामी दिनमा नयाँ सोच र नवीन चिन्तनका साथ युवा पुस्ताको नेतृत्व आवश्यक देखिएको छ।
राजनीति एउटा शक्तिशाली ठाउँ पनि हो, जहाँ राज्य इतरका सम्पूर्ण शक्तिहरूको खेल निरन्तर चलिरहन्छ। कहिले सकारात्मक रेखा कोर्दै त कहिले ढलजस्तै दूषित बन्दै राजनीति निरन्तर बगिरहन्छ। राजनीति कहिल्यै स्थिर भएर बस्दैन। समय-समयमा राजनीतिक शक्ति हत्याउन भइरहने रस्साकस्सीलाई यसैको उपमा लिन सकिन्छ।
नेपालमा नेकपा लगायत अन्य राजनीतिक पार्टीमा भइरहने (भइरहेको) शक्ति संघर्ष पनि यसैको उपज हो। बेला बेला चलिरहने यस्ता राजनीतिक मन्थनबाट उत्पन्न हुने छालहरूलाई नै ढाल बनाएर आइपर्ने चुनौती सामना गर्दै अब युवा पुस्ता नेतृत्वमा उदाउनुपर्छ। नेतृत्वमा स्थापित हुने युवाले विचार, प्रक्रिया, विधि र नीतिको जगमा टेकेर राजनीतिमा हस्तक्षेपकारी भूमिका चाल्दै अघि बढ्नुपर्छ। अहिलेको राजनीतिक नेतृत्वले दुर्गन्धित पारेको राजनीतिक चरित्रको मुहानलाई सफा पार्न पनि अबको युवा पुस्ताले आफ्नो शक्ति र क्षमता प्रयोग गर्नुपर्छ।
मागेर पाइने अधिकार हो, राजनीतिक नेतृत्व पाइँदैन। राजनीतिक दृष्टिकोण स्पष्ट पारेर समाजको गतिशीलता पकड्दै राजनीतिक क्षमता र कुशलता प्रयोग गरेर नेतृत्व आफ्नो मातहतमा ल्याउन सक्नुपर्छ। आम जनमानसका समस्याबाट सिर्जित हुने संघर्षबाट नै कालान्तरमा नेता जन्मिने हुन्।
राजनीति गरेर मात्र नेता बनिन्छ भन्ने कुरा अहिलेको परिवेशमा इतिहास भइसकेको छ। समाजका संवेदनशील विषयहरूलाई जीवन्त पारेर समस्याग्रस्त मानिसहरूका दबिएका आवाजलाई न्यायोचित तवरले बुलन्द पार्दै राजनीतिमा स्थापित हुन सकिन्छ।
पटक-पटक 'टेस्टेड' र 'फेलियर्स' नेतृत्वको अकर्मण्यता र अक्षमतालाई मात्र औंला ठड्याउँदै आफूलाई पानीमाथिको ओभानो बनाउने बुख्याँचाहरूबाट ठगिनुको परिणाम अहिले हामी भोगिराखेका छौं। यस्ता छद्मभेषीहरूले छर्ने भ्रमबाट मुक्त भएर अबको युवा नेतृत्व रणनीति र कार्यनीति स्पष्ट पारेर त्यसअनुरूप राजनीतिक दृष्टिकोणसहित अघि बढ्न सक्नुपर्छ।
अहिलेको आवश्यकता भनेको राजनीतिलाई सनक र लहडमा चल्ने, चलाउनेभन्दा विधि र थितिले राजनीति चलाउन सक्ने आँटिलो नेतृत्वको हो। देश र जनताको धरातलीय यथार्थभित्र लुकेका जटिलतालाई राजनीतिक चेतनासँग गाँसेर दिगो समाधान र समग्र परिवर्तन गर्न उन्मुख सक्षम युवा नेतृत्वको हो।
'भरिएको मस्तिष्कभन्दा भोको पेट खतरनाक हुन्छ' भन्ने कुराको मर्म बुझेर राजनीतिक रणनीति प्रयोगमार्फत् चुनौती सामना गर्दै समाजलाई गतिशील बनाइराख्न सक्ने युवा नेतृत्व स्थापित हुनु नै अबको एक मात्र समाधान हो।