सानो हुँदा केटाकेटीलाई खाना खुवाउनु पर्यो, 'ऊ हाउगुजी आउछ, आँ गर। हाम्म!' कतै नहिँडेर एक ठाउँ बस भन्नु पार्यो, 'त्यता नजाउ, त्यहाँ हाउगुजी छ!' यसरी हेर्दा 'हाउगुजी' वास्तवमा तह लगाउन प्रयोग गरिने फगत एउटा शब्द हो जुन केटाकेटीले आफ्नो दिमागमा डरको रूपमा स्थापित गरेका हुन्छन्।
विस्तारै हुर्कदै गर्दा केटाकेटीले साथीहरुसँग अथवा घर-परिवारकै सदस्यसँग पनि भुतप्रेतका कुरा गर्न थाल्दा पहिलेको 'हाउगुजी'लाई त्यस्ता 'हरर् सिरिज'ले विस्थापित गरिदिन्छ। उमेर बढ्दै जाँदा यी केटाकेटीले चिन्ने हाउगुजी पनि परिवर्तित हुँदै जान्छ र विस्तारै केटा समूहले चिन्नेभन्दा भिन्नै प्रजातिको हाउगुजीसित केटीहरुको चिनापर्ची हुन्छ।
किशोर अवस्थासम्म आइपुग्दा नै तपाई-हाम्रा नानीहरुले यस्ता हाउगुजीको पर्याप्त बख्यान सुनिसकेका हुन्छ्न्। किनकी उसलाई सानै उमेरदेखि हाउगुजीको बारेमा सिकाइएको छ। उसलाई याद छ, ऊ सानै हुँदा बाबाले ल्याइदिएको रातो जामा। त्यो जामा लगाउदाको खुसी। अनि त्यो जामा लगाएर खेल्दा बस्दाको सकस पनि। उफ्! आमाले मुख रातो बनाएर 'छोपी गर!' भनेको पनि उसले कहाँ बिर्सेकी छ र। त्यो थियो हाउगुजीसँगको पहिलो परिचय।
उमेर हुर्कदै गर्दा उसले देख्ने हाउगुजी पनि ऊ सँगसँगै ठूलो हुँदै जान्छ। त्यसपश्चात त दैनिक अझै भनौँ, हरेक पल-पलमा ऊ हाउगुजीको त्रासमै रहन थाल्छे।
झमक्क साझ पर्दासम्म चौरमा खेले- हाउगुजी
ट्युसनबाट गल्लीहरु हुँदै एक्लै घर फर्किन पर्दा- हाउगुजी
कोही पुरुष साथीसँग अलिक नजिक भयो- हाउगुजी
अलिक छोटो कपडा लगाए- हाउगुजी
बाटोमा कसैले जिस्काउदा प्रतिकार गरे- हाउगुजी
कसैको प्रेम प्रस्ताव अस्विकार गरेमा- हाउगुजी
यसरी हरेक क्रियाकलापमा बन्देज लगाउने हेतुले समाजले छोरीहरुलाई तर्साउनकै निम्ति सिर्जना गरेको हाउगुजीले छोरी समूहलाई जन्मेदेखि नमरुन्जेल अपरिचित र अनिश्चित हाउगुजीको त्रासमै बाच्न बाध्य बनाउँछ।
ती नानीलाई हाउगुजीको साह्रै डर छ। उसकी आमाले उसलाई हाउगुजीबाट बच्ने अनेकन मन्त्र सिकाएकी छन्। आमा भन्छिन् 'नानी रम्ररी बस्। बाबाको अगाडि कसरी बसेको त्यो!' खुट्टा फिजाएर बस्दा- अर्को हाउगुजी। यसरी बारम्बार हरेक परिस्थितिमा हरेक पुरुष व्यक्तिमा त्यो नानीले हाउगुजीको अंश देख्न थाल्छे। आमाले हाउगुजी भगाउने जति-जति मन्त्र सिकाउछिन्, उति-उति त्यो-त्यो नानी हाउगुजीको डरको दलदलमा भासिदै गएकी हुन्छे।
२० वर्षको उमेरसम्म ती छोरीले अब हरेक छोरा मान्छेमा हाउगुजीको रुप देख्ने अवस्था भइसक्छ। माफ गर्नु होला, तर तपाईको 'नट् अल मेन आर दि सेम' जस्ता फेसबुके स्टेटसले उसको २० वर्षको तालिमलाई कत्ति पनि छुँदैन, असर वा फरक पार्दैन। उसले दैनिक जीवनमा भोग्दै आएको हाउगुजीको त्रासलाई निस्तेज पार्न त्यति सहज कहाँ छ र?
उसले त आफ्नो साथी, पसले अंकल, ड्राइभर दाइ, काका, मामा, भिनाजु, दाजु-भाइ यहाँसम्म कि आफ्नै पितासम्मलाई पनि हाउगुजीको संज्ञा दिरहेकी हुन्छे। त्यो हाउगुजीबाट बच्न ऊ साँझ नपर्दै घर फर्किन्छे, एक्लै गल्लीको बाटो हिड्दिन, सार्वजनिक यतायातका पछिल्ला सिटहरुमा ऊ बस्दिन, छोटा कपडा लगाउदिन, बाटामा जिस्काउनेहरुको प्रतिकार गर्दिन, खुट्टा फाटेर पनि बस्दिन।
तर हाम्रा आमाहरुले आफ्ना छोरीहरूलाई सजक बनाउन दिएको यस्तो तालिमले त ती छोरीहरुको मस्तिष्कमा हाउगुजीको बिजारोपन गरेको छ र दैनिक रुपमा यसको मलजलले अपरिचित र अनिश्चित हाउगुजी झांगिएको छ।
हाउगुजी वास्तवमा वस्तुगत रुपमा केही अर्थ नराख्ने मनोवैज्ञानिक रुपमा स्थापित भएको डर हो। महिलाहरुले भने बाल्यावस्थामै बिर्सनु पर्ने हाउगुजी, वयश्क हुँदासम्म पनि यसको डरलाई जित्न सकेका हुँदैनन्। महिलाहरुले चित्रार्थ गरेको हाउगुजी न उज्यालोसँग डराउछ, न त कुनै मन्त्र वा बुटिसङ नै।
त्यस कारण पनि महिलाहरुलाई लाग्छ, हाउगुजी सर्वव्यापी छ, ताकत्वर छ, जसका विरुद्ध उसले जीवन पर्यन्त एक्लै लडिरहन पर्छ। यो हाउगुजीको बारेमा पुरुषहरु अञ्जान छन्। यो हो नितान्त महिलाहरुको 'हाउगुजी'।