करिब २० वर्षअघिको कुरा हो। गाउँमा अलि महत्वपूर्ण समाचार र मनोरञ्जनको साधन भनेको रेडियो मात्र थियो। त्यो पनि रेडियो नेपाल मात्र टिप्ने।
समाचार र गहन कुराहरूमा मलाई त्यति चासो थिएन। ध्यान थियो त केवल मनोरञ्जनतिर। त्यो उमेरमा सबैलाई हुने त्यस्तै हो। कोमल ओलीले पढेको समाचारले भने मेरो ध्यान खिच्थ्यो। साह्रै प्रस्ट बोली थियो उनको।
घरमा सबैको स्वाद फरक भए पनि रेडियो हुनु समाजमा प्रतिष्ठाको कुरा थियो। त्यही भएर बेटरीमा तागत छउन्जेल र किराकिरी पसेर नबिग्रिउन्जेल एउटा ठूलो फिलिप्सको रेडियो हाम्रो घरमा घन्किरहन्थ्यो।
त्यही बेला हरेक साता आउने एउटा कार्यक्रमको नाम थियो- पत्र मित्रता, अर्थात् चिठी आदानप्रदान गरेर आफूसँग मिल्ने मान्छेसँग साथी बन्ने। उमेर मिल्नेदेखि पाको उमेरका मान्छेलाई पनि चिठी पठाउने चलन थियो। कतिपय मान्छे पढ्न मनपर्छ भनेर आफूलाई असल रूपमा चिनाउन चाहन्थे। कोही भने नाच्न, खेल्न आदि कुरामा रुचि छ भनेर पठाउँथे।
अंग्रेजी किताबमा पनि 'पेन पल' भन्ने एउटा च्याप्टर थियो, पत्र मित्रताबारे। त्यही भएर मलाई त्यो कार्यक्रम रमाइलो लाग्थ्यो। त्यसमा पनि बीचबीचमा बज्ने गीत सुन्न म खुब रमाउँथेँ।
एकदिन कार्यक्रम सञ्चालक भन्दै थिए- नाम आशाकुमारी, उमेर १५ वर्ष, मनपर्ने खाना चाउचाउ, ठेगाना अर्घाखाँची, सन्धिखर्क (जिल्ला सदरमुकाम) यस्तै यस्तै।
आहा, के साह्रो मिल्यो! एउटै उमेर, केटा र केटी, दुवै जनालाई मनपर्ने एउटै खाना, अनि दुवै जना एउटै जिल्लाका।
अलि टाढाका मान्छेको बिहे भएको खासै सुनेको थिइनँ। वारि गाउँ र पारि गाउँका मान्छे मात्र सम्बन्ध जोड्थे प्राय: गरेर। त्यही कारणले पनि टाढाका मान्छेको कुरामा त्यति ध्यान दिने चलन थिएन।
मेरो घर सदरमुकामभन्दा अलि टाढा थियो। तै पनि आफ्नो जिल्लाभित्र त भेट्नुपरे पनि सम्भव छ भन्ने सोचेर मैले हत्तपत्त कापी-कलम खोजेँ। उसको नाम र ठेगाना टिपेँ।
के लेख्ने? कसरी लेख्ने? कापीका पाना धेरै च्यातिसकेपछि बल्ल पहिलो चिठी तयार भयो।
मैले हुलाकको ढ्वाङमा चिठी खसालेँ। तर, एउटा कमजोरी भयो, पाँच रुपैयाँको टिकट टाँसेर पठाउनुपर्ने रहेछ। मैले साधारण टिकट हालेर पठाएँ। यसरी पठाउँदा चिठी कतै हराउने पो हो कि, पुगे पनि समय बढी लाग्छ कि भन्ने भयो।
म उनको जवाफको प्रतीक्षामा थिएँ। जवाफ आउन ढिला भएपछि उनले पाउनुपर्ने चिठी उनको बुवाले भेटेर मलाई कुट्न पो आउने हो कि भन्ने डर लाग्यो। जवाफ आए पनि हजुरबाको हातमा पर्ला कि वा पठाउनेको नाम भन्देलान् कि भन्ने पनि थियो। जे भए पनि चिठी पढ्ने मै हो भनेर ढुक्क भएँ।
जवाफ आयो। जवाफ राम्रो थियो। त्यसपछि हाम्रो चिठी आदानप्रदानको क्रम चलिरह्यो।
एउटा चिठीमा उनले लेखिन्, 'हाम्रो एउटा सानो खाजा पसल छ। चाउचाउ, चना, नमकिनहरू बिक्री हुन्छ। म पनि फुर्सद बेला सहयोग गर्छु। चाउचाउ धेरै मन पर्छ। मेरो त खाजा नै चाउचाउ। मिल्ने भए पठाइदिन्थेँ।’
दसवटा चिठीमा यस्तै साधारण कुराकानी भए। एक-एकवटा फोटो पनि आदानप्रदान भए। हाम्रो कुरा मिल्दै गयो।
एकचोटि मैले एसएलसीपछि बिहे गर्नुपर्छ है भन्ने कुरा घुमाउरो पाराले लेखेर पठाएँ। सधैंजस्तो राम्रै जवाफ आउँथ्यो, त्यसपछि भने जवाफ आएन। मेरो पत्र मित्रतामा पूर्णविराम लाग्यो।
धेरै वर्ष बिते। मेरो बिहे भयो। एकदिन पत्र मित्रताको चर्चा हुँदा मलाई फेरि उनको याद आयो। फोन र फेसबुकको जमाना आइसककेको थियो। मैले उनलाई सर्च गरेँ। उनको नाम, ठेगाना र पुरानो फोटोको भरमा अनुमान लगाएँ। उनको प्रोफाइलमा 'इन रिलेसनसिप' लेखिएको थियो।
मैले मेसेज गरेँ। उही हो रहेछ। पुरानो कुरा अलिअलि सम्झिइन्। भनिन्, ‘म धेरै जनासँग कुरा गर्थें। मलाई धेरै साथी बनाउन मन पर्छ।’
कुराकानी गर्दागर्दै उनले एउटा संस्थामा काम गर्दै गरेको बताइन्। त्यो थियो, समलिंगीहरूको हकहितमा काम गर्ने संस्था। उनले आफू पनि समलिंगी भएको बताइन्। मलाई त्यो बेलासम्म समलिंगी भनेको मनोवैज्ञानिक समस्या हो कि भन्ने लाग्थ्यो। यो मान्छेको शरीरसँग जोडिएको प्राकृतिक कुरा हो भन्ने बुझेको थिइनँ।
उनले मलाई त्यस दिन इमानदार भएर आफ्नाबारे धेरै कुरा भनिन्। पछि मैले यसबारे अझ धेरै अध्ययन गरेँ। मेरो हेराइ बदलियो। उनीप्रति सम्मान जागेर आयो।
मेरी श्रीमतीले पनि उनलाई चिनेकीले लुकीलुकी कुरा गर्नु पर्दैन। आजभोलि उनी मलाई ‘पेन पल’ भन्छिन्। म उनलाई कहिले ‘पेन पल’ त कहिले ‘चाउचाउवाली’ भन्छु।