आफ्नो जन्मदिने घर, बाबुआमा, आफन्त सबलाई छोडेर बाँकी जिवन बिताउनलाई आएकी हुन्छिन् नारी। विवाहको पवित्र बन्धन अनि त्यो बन्धनलाई मन वचन र कर्मले लगाउने प्रण गरेर आफूले सकेको माया ममता अनि बलले सकेसम्म आफूलाई समर्पित गरेकी हुन्छिन्। अनि त्यही विश्वासमाथि विश्वासघात गरेर उनको सहनशक्तिलाई डगमगाउने काम गरेको पाइन्छ।
यसमा महिलाको नि गल्ती हुन सक्ला तर आज ती पुरुष जसले आफ्नो घरकी देवीलाई लत्याएर परत्रीसँग सम्बन्ध गाँस्न पुगेका छन्। उनलाई बिना कुनै गल्ती सजायको भागिदार बनाएको हुन्छ। उनले बिना कुनै स्वार्थ घर-परिवार अनि छोराछोरीको हेरविचार गरेकी हुन्छिन्। यसमा उनको के गल्ती?
कुरा यस्तै ४ महिना अगाडिको हो। धेरै पछाडि मैले मेरो अत्यन्त मिल्ने साथीलाई भेटेको थिएँ। सधै हाँसिरहने उ (आफ्नो नाम नराख्ने सर्तमा) त्यस दिन निकै उदाश देखिन्थिन्। के भयो भनेर सोध्दा, सुरुमा त उनले केही बताउन चाहिन। पछि निकै कर गरेर आफ्नो पीडा आफ्नो मन मिल्नेलाई सुनाउँदा मन हल्का हुन्छ भनेपछि बताउन राजी भई।
सामान्य परिवारमा हुर्केकी उ एक सफल पढेलेखेकी जागीरे महिला हो। उसले मलाई कतै बसेर कुरा गरौंन भनी र भोक पनि लागेकाले खाजा घरमा गयौँ। उसैले पहिला चिया अडर गरि र आफ्नो कथा भन्न थाली। ‘आफूलाई बुज्ने श्रीमान् भए पुग्छ लाग्नु स्वभाविक नै हो। मलाई पनि त्यस्तै लाग्यो र घरको बुबाआमाले खोजेको केटासँग विवाह गरेँ। सुरुको वर्ष सब ठिक थियो।
एउटी नारीका लागि आफ्नो बुबा जस्तो माया गर्ने श्रीमान पाउँदाको खुसी कसलाई नहुँदो हो त? त्यसमाथि पहिलो वर्षमै गर्भवती हुँदाको खुसी मेरा लागि त्यो समय सधैभरीलाई भैदिए हुने थियो। समयसँगै म पनि आमा भएँ। घर परिवारको साथै बच्चा प्रतिको जिम्मेवारी पनि थपियो।
घरमा सासुससुरा, छोरीको हेरविचार, अफिसको काम यति भएपछि आफ्नो मोबाइल हेर्न पनि मलाई फुर्सद हुँदैन थियो। त्यो बेलामा कहाँबाट श्रीमानको मोबाइल हेर्नु। दिनहरु घरको काम धन्दा छोरीको स्याहारसुसार अनि कार्यलय गरेरनै बितिनै रहेको थियो। कहिले आफूलाई थकाइ लाग्नु त कहिले काही रहर लाग्दा पनि श्रीमानले आफूसँग सुत्न नमान्दा श्रीमान निकै अल्छी हुनुभयो भन्दै आफैलाई मन बुझाउदै आएकी थिएँ।
अस्ति राति छोरीलाई दुध खुवाउँदै थिएँ। श्रीमान मोबाइल चलाउँदा चलाउँदै निदाएछन्। मलाई भने निन्द्रा लागेन र उनको मोबाइल चलाउन मन लाग्यो। महिनौ दिनसम्म नि मसँग सुत्न नमानेकाले मोबाइल चेक गरौंन भन्ने लाग्यो र हेर्दै जादाँ भाइबरमार्फत तुल्सी (नाम परिवर्तन) नामकी केटीसँग उनको गहिरो सम्बन्ध रहेको पत्ता लाग्यो।
श्रीमानको यो विश्वासघात मेरा लागि असैह्य भयो। भोलि बिहान सबै परिवारका अगाडि यस विषयमा कुरा गर्ने हो भनि उनको र त्यस केटीसगँको भाइबर गफलाई फोटो खिचेँ। त्यसपछि मलाई रातभर निन्द्रा नपर्ने छाटँकाटँ देखेँ। किनकी जति सुत्न खोज्छु त्यति उनले दिएको धोका याद आइनै रह्यो।
जसरी माइति घर छोड्दा रुन नसकेको म, त्यस रात पनि न त रुननै सकेँ न त सुत्न नै। छटपटीले यताउता पल्टिदा-पल्टिदा रातको २ बजे उनी उठे र के भो भनि सोधे। उनले सोधेपछि उनको अघि रोएँ र सोधेँ ‘को हुन् तुल्सी?’ उनले सजिलै आफ्नो साथी भनेर स्वीकारे किनकी उनीसँग म निकै विश्वास जो गर्थेँ। उनले मोबाइलमा के गर्दै छन् मैले कहिले साधखोज जो गरिनँ। आज आएर यो धोका मेरा लागि ठूलो बज्रपात थियो।
मैले भोलि बिहान सासुससुराको अघि सब कुरा राख्ने र आफ्नो बाटो लाग्ने कुरा पनि गरेँ। त्यसपछि उनले बुबा बिरामी हुनाले जे पनि हुनसक्ने, अबदेखि यस्तो गल्ती नहुने भनेर भनिनै रहे र बिहान भो। मैले केही भनिनँ तर मेरो मुटु टुटेको थियो, मन रोइनै रह्यो। बिहान नुहाउन छिर्दा पोते फुकालेकी मलाई फेरी घाँटीमा पोते भिर्न मन लागेन।
कुन मन अनि कुन धर्मले मैले उनले दिएको पोते लगाउने भयो। मनमा अनेक कुरा खेलिनै रहे जसको उत्तर उनले मलाई दिएका थिएनन्। को हो त्यो केटी? कति समयदेखि उनीहरु बीच नाजाएज सम्बन्ध थियो? प्रेम मात्र हो कि शारीरिक सम्बन्धनै भइसकेको हो कि? यस्ता अनगिन्ती प्रश्नहरु मेरा मनमा खेलिनै रहे त मन पनि रोइनै रह्यो।
उनी हरेक रात अब यस्तो गल्ती हुन्न भनिरहन्थे। उताबाट यिनले घरकी बुढीले थाहा पाएको भनि लेखि पठाएछन्। त्यसले घरि आफ्नै मोबाइलबाट त घरि नयाँ प्रोफाइल बनाएर मलाई सरी भन्दै अनेक म्यासेज लेखि पठाइनै राखिन् भने मेरो भएर पनि हुन नसकेको श्रीमानले दिएको चोटको पनि राम्ररीनै बेलिविस्तार लगाइन्।
कहाँ उनीहरु भेट्ने, कहाँ सुत्ने सब भनी। त्यसपछि थाहा भो, बच्चा पाएपछि मेरो श्रीमानमा म प्रतिको रहर तृष्णा आवेग सब हराएछ र अरु केटीको पछि लागेका रहेछन्।’
साथीले यति भनिरहँदा उनको आखाँभरी टल्पिएको आँसुले मलाई समेत रुवाउने बनायो र हामी दुई एकछिन मजाले रोयौँ। पसल खाली भएको र हामी कुनामा बसेकाले हामीलाई कसैले देखेका थिएनन् र खाजा खान मन पनि लागेन। त्यहाँबाट हिड्ने तरखर गर्यौँ। बाटोमा मैले अब के गर्ने विचार छ भनेर सोधेँ।
उनको ठाउँमा म भएको भए भोलिपल्टै छोरी बोकेर जान्थेँ जस्तो पनि लाग्यो। अनि एउटा विवाहित पुरुष भनेर थाहा पाउँदा पाउँदै सम्बन्ध राख्ने त्यस केटीलाई के भन्यौँ नि भनेँ। उनको उत्तरले म निकै सोचमग्न भएँ।
उनले भनिन् ‘मैले उनलाई केही भनिनँ। उनी पनि त पतिको मायाबाट विमुख भएर मायाको लागि भौतारिरहेकी केटी होलिन्। भन्न पनि के नै भनुँ? जसलाई सारा जीवन सुम्पिएर आएको थिएँ, उनैले यति ठूलो धोका दिए भने उनी त नचिनेको पराए आइमाइ थिइन्। उनले पनि आफू नारी भएर अर्को नारीको घर बिर्गानु हुन्न भन्ने सोचेको भए हुने भएको छ। अब के गर्ने? कसो गर्ने? भनेर सोच्नै सकेको छैन। हेर्दै जाउँ केही दिन के भन्छ यो मनले’ भनिन्।
उनलाई सही सल्लाह दिउँ वा गलत, मैले नि केही बोल्नै सकिनँ र केही क्षेणको गफ पछि हामी छुटियौँ। शरीर छुट्टिए पनि मन भने उनको कुरामा अनि उनको आफ्नालाई चिन्न नसक्ने धोकेबाज बुढामा अनि त्यस आइमाइमा नै गइरह्यो र घृणा पनि लागिनै रह्यो।
समय बित्दै गयो, कोरोनाको महामारी पनि फैलियो। उनले के निर्णय लिइन् होला भन्ने खुल्दुली पनि भइनै रह्यो। फेसबुक नचलाउने मेरी साथीलाई फोन गरेर सोध्यौ भने नि उनले के सोच्लिन भन्ने भयो। एक दिन उनले आफैले फोन गरिन् र भनिन्, ‘छोरीको भविष्य, माइतिको इज्जत, अनि आफ्नो समाज प्रतिको हेर्ने दृष्ट्रिकोण सब कुराको विचार गरेर म आफू सबल र सक्षम भएपनि उनलाई आफ्नो श्रीमानको रुपमा नस्वीकारे पनि छोराको बाबुको रुपमा स्वीकारेको छु।
छोरीको आमाबाबु दुवैको माया पाउने अधिकार खोस्न मनले मानेन। अनि तिमी खुसी छौ नि भनेर सोधेँ। मुटुमा लागेको चोट हो, भरिन त समय लाग्छ नै तर मेरो छोरीको बाबुले आजकल यो लकडाउन भएर होला आफ्नो गल्ती स्वीकारेर होला, माया गरेका छन्। सबको आआफ्नो भाग्य छैठीमै लेखेर आएको हुन्छ रे। त्यसैले आफ्नो जिवनको त्यो काल रातलाई त्यसै भाग्यलाई दोष दिदै अघस बढ्न चाहन्छु।‘
उनले यतिभन्दा उनको जिवन सम्झेर भारी भएको मेरो मन ४ महिनापछि हलुका भयो र सोचेँ, साचै नारी धर्ती हो। सारा दुःख, कष्ट सहेर पनि हाँस्न सक्ने, बाँच्न सक्ने, सहनशीलताकी खानी हो। मैले सुनेँ, उनको जिवनमा घटेको घटना त उनले त आफैले भोगेकी छ। आवेशमा आएर चालिने कदमले कस्तो परिस्थिति निम्त्याउछ भनेर उनले राम्ररी बुझिन् पनि होला।
उनको त्यो महान आत्मालाई म हृदयदेखि सम्मान दिन चाहन्छु। यदि त्यही ठाउँमा मेरो साथीले त्यस्तो गल्ती गरेको भए, के उनको श्रीमानले उनलाई माफी दिने थिए होलान् त? कदापि सक्दैनन्। उनको श्रीमानलाई समाजको डर थियो। उनको अनैतिक सम्बन्धबारे सबैले थाहा पाउनेछन् र उनलाई गाली गर्ने छन् भन्ने डर भएर होला, उनले माया गरे तर यो डरको नि पर्वाह नगरी सौता लेराउन अनेक दुख कष्ट दिएर सम्बन्ध विच्छेद गर्ने पुरुषको कमि छैन।
यस्तो नाजायज सम्बन्ध राखेर कतिले श्रीमान् त कतिले आफ्नो श्रीमतीको हत्या गरेको घटना सुन्नमा आइरहन्छ। अहिलेको युग आत्मनिर्भर बाँच्ने हो। यो समयमा धोका हुन्छ त स्वभावले, सम्बन्ध बिच्छेदले आफ्नो ठाउँ ओगट्दछ। अझ पनि यहाँ धेरै महिला छन् जसलाई आफ्नो श्रीमान अरु केटीसँगको अनैतिक सम्बन्धमा छ भनेर थाहा हुँदाहुँदै पनि सहेर आफ्ना छोराछोरीको हेरविचार गरि बसेका छन्।
अहिले पनि कति घरमा हरेक रात आफ्नो इच्छा विपरित यौन हिंसाको शिकार भएर पनि बिहान भएपछि आफ्नो घरधन्दा गरिबसेका र आफ्नो रहर हुँदाहुँदै पनि श्रीमानले उनको इच्छा पूरा नगरिदिँदा पनि उनैलाई पति परमेश्वर मानेर उनका लागि मिठा-मिठा परिकार बनाएर खुवाइरहेका नारी असङ्ख्य छन्।
ती सारा सहनशील नारीलाई म आदर र सम्मान दिन चाहन्छु। एउटा आमा भएपछि नारीको शरीर भद्दा, मोटी हुन्छ त त्यसमा नारीको के दोष? जीवन बाचुञ्जेलीलाई हो। त्यसलाई लोभ, मोहको पछि लागेर आफ्नो परिवार सन्तानको खुसी खोसिने बाटो कसैले नरोजौँ। एउटी नारीलाई मायाको साथै सम्मानको पनि खाँचो हुन्छ र माया र सम्मान हरेक सबै पुरुषलाई म हृदयदेखि नमन गर्न चाहन्छु।