लोभिपापी गरुडलाई यसको सेतो घाँटीको कारण ‘उन जस्तो घाँटी भएको गरुड’ भनेर पनि चिनिन्छ। यही वर्णन अनुसार यसको अंग्रेजी नाम ‘उल्लीनेक्ड स्टोर्क’ हो। एसियामा मात्र पाइने भएर यसलाई ‘एसियन उल्लीनेक्ड स्टोर्क’ को नामले पनि चिनिन्छ।
यसको नेपाली नाम ‘लोभी पापी’ किन रहन गयो? के यो चराको व्यवहार लोभी र पापी भएकै हुनाले हो त? वास्तवमा यसको नामको अर्थ भने अझ पनि अनुसन्धानकै विषय बन्न गएको छ।
वरिष्ठ चराविद् डा. हेम सागर बराल अध्ययनको क्रममा नवलपरासीको गैँडाकोट पुग्दाको एउटा क्षण सुनाउनुहुन्छ। त्यहाँ यो चराले गुँड लगाएको देखेपछि दुरविन निकालेर अवलोकन गर्दै रहँदा एकजना स्थानीय महिलाले ‘के हेर्नु भा’को, लोभी पापीलाई हो सर?’ भनेर सोधेको डा. बराल स्मरण गर्नुहुन्छ।
(तस्बिर: राम थारु)
अनुसन्धानको क्रममा मैले धादिङको दक्षिण भेगमा स्थानीयहरूसँग सोधपुछ गर्दा त्यो समुदायमा धेरैले यसलाई भुँडीफोर भन्ने रहेछन् जबकी तराईतिर कतिपयले अर्कै प्रजातिको गरुडलाई भुँडीफोर भनेको पाइन्छ। हेर्दा बडेमानको यो पंक्षी गिद्धजस्तै ठूलो पँखेटाको साथै उचाईमा उड्ने तर हिलोमा चर्ने भएर यसलाई हिले गिद्ध समेत भन्ने गरिएको पनि मैले बुझेँ।
खेतबारीमा धान लगाएको बेलामा सेतो बकुल्लाको बीचमा चर्दै गरेको देखिने भएकोले यसलाई कतैकतै कालो बकुल्लाको नामले पनि चिनिने गरेको समेत पाइयो।
यसको ठुँडले ढुँङ्गा समेत फोर्न सक्छ भन्ने विश्वास गरेर गोर्खाको मायादेवटारमा यसलाई ढुङ्गीफोर पनि भनिने गरेको पाइयो। शरीरमा कालो कोट लगाएको जस्तो देखिने भएका कारण यसलाई भारतका केही राज्यहरुमा ‘वकिल साब’ भनेर पनि नामाकरण गरिएको छ।
हिन्दु धर्मशास्त्रमा गरुडलाई भगवान विष्णुको वाहनको रुपमा चित्रण गरिन्छ। विषालु सर्पलाई समेत आहारा बनाउने गरुडलाई हिन्दु धर्मावलम्वीहरु विषको निवारण गर्नसक्ने भनी पुज्दछन्। लोभीपापी गरुडको मात्र आफ्नो त्यस्तो छुट्टै महत्व भने उल्लेख छैन।
खाद्य चक्रको महत्वपूर्ण जीव भएको कारण पनि यसले आफ्नो अस्तित्वसँगै अन्य थुप्रै जीवजन्तुहरुको स्थितिमा अकल्पनीय परिवर्तन निम्त्याउन सक्छ। पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्नका लागि लोभिपापी गरुडको संरक्षण अत्यन्तै आवश्यक पर्छ।
आहारको रुपमा बालीमा लाग्ने सलह जस्तै घातक फट्याङ्ग्रा र करेत जस्तै विषालु सर्प समेत खाने हुँदा यस चरालाई लाटोकोसेरो जस्तै किसानको महत्वपूर्ण साथीको रुपमा लिइन्छ। स्वच्छ सिमसारमा आहाराको अभाव नहुने र यस्तो स्थानमा यसको संख्या बढी मात्रामा पाइने हुनाले, सिमसारमा आश्रित लोभिपापी गरुडलाई स्वच्छ सिमसारको सूचक पनि भनिन्छ।
सिमसार क्षेत्रमा चर्ने र त्यहाँ पाइने सर्प, भ्यागुताका साथै चिप्लेकिरा, शंखेकिरा र खेतबारीमा पाइने किराहरुलाई यसले आहारा बनाउँदछ।
हालसालै देखिएको सलह किराको प्रकोपको एउटा मुख्य कारणको रुपमा लोभीपापी गरुड जस्तै अन्य थुप्रै पंक्षीहरुको संख्यामा भारी गिरावट आउनु र लोप हुनुलाई पनि लिइएको छ। संरक्षणको कमिले गर्दा जुन गतिमा यस्ता महत्वपूर्ण पंक्षीहरु हराउँदै छन्, यसले निकट भविष्यमा सलह किराको प्रकोपभन्दा अझै जटिल समस्याहरु निम्त्याउन सक्ने देखिएकाले पनि लोभीपापी गरुड लगायतका पंक्षीहरुको संरक्षण अत्यन्तै आवश्यक छ।
गरुडको प्रजाति कति छन्?
विश्वमा १९ प्रजातिका गरुडहरु पाइन्छन् जसमध्ये नेपालमा पाइने ८ प्रजाति मध्ये लोभीपापी गरुड पनि एउटा हो। सन् २०१० अगाडि लोभीपापी गरुड एसिया तथा अफ्रिकामा पनि पाइने भनिन्थ्यो। टोवियश र समूह (२०१०) ले गरेको अध्ययनले यी प्रजातिहरू भिन्न-भिन्न भएको कुरा पत्ता लगायो र यिनीहरुलाई एसियन उलिनेक र अफ्रिकन उलिनेक भनेर वर्गिकरण गरियो।
संसारका कति राष्ट्रमा पाइन्छ?
आईयूसीएन् अनुसार लोभीपापी गरुड दक्षिण एसियाका भारत, नेपाल, पाकिस्तान (निकै कम देखिने), श्रीलंका, भुटान र बंगलादेशका साथै दक्षिणपूर्वी एसियाका म्यानमार, लाओस, कम्बोडिया, भियतनाम, मलेसिया, फिलिपिन्स (लोप भएको आशंका), इन्डोनेशियाको सुमात्रा र जाभामा पाइन्छन्। चीनको युनान प्रान्तमा समेत यसको अभिलेख रहेको पाइन्छ।
नेपालमा यसको अवस्था कस्तो छ?
यसको घट्दो अवस्थालाई मध्यनजर गर्दै आईयूसीएनको रातो सूचीमा लोभीपापी गरुडलाई ‘संवेदनशील’ को संज्ञा दिइएको छ भने नेपालमा यसलाई संकटापन्नको नजिक भनिएको छ।
संख्याको बारेमा विस्तृत अध्ययन नभएकाले नेपालमा यसको संख्या यति छ भनेर भन्न सकिन्न, तर जाडो मौसममा सिमसारमा हुने गणनाले यसको संख्या निकै कम भएको देखाउँछ। सन् २०१५ मा नेपालका विभिन्न ४२ ठाउँहरुमा गरिएको गणनामा ६२ वटा लोभीपापी गरुडहरु अभिलेख गरिएको अन्तर्राष्ट्रिय सिमसार संघको अभिलेखमा छ।
यस गरुडमा अनुसन्धान गर्दै आएका अनुसन्धानकर्मी प्रशान्त घिमिरे र उनको टोलीले गरेको अध्ययनले २०१७ मा ४१ वटा र २०१८ मा ४६ वटा लोभीपापी गरुड रुपन्देही–कपिलवस्तुमा फेला पारेका थिए।
योसँग सम्बन्धित कानुनी प्रावधान के-के छन्? राष्ट्रिय र अन्तर्राष्ट्रिय?
नेपालका ९ संरक्षित पंक्षीहरुमा गरुडका २ प्रजातिहरु पर्छन् तर लोभीपापी गरुडसँग सम्बन्धित त्यस्तो छुट्टै कानुनी प्रावधान भने बनेको छैन। भारतमा भने गरुडलाई भारतीय वन्यजन्तु संरक्षण ऐन १९७२ अन्तर्गत संरक्षित पंक्षीको सूचीमा राखिएको छ। साथै, भारतको कर्नाटाका र महाराष्ट्र राज्यहरुमा यसलाई राज्यको प्रमुख प्रान्त पंक्षीको रुपमा पनि मानिएको छ।
यो कस्तो ठाउँमा बसोबास गर्दछ?
यसले प्रायः बच्चा कोरल्न अग्ला रुखहरुको बीचको बाक्लो छहारी भएको बलियो हाँगामा गुँड लगाएको पाइन्छ जसले यसलाई शिकार हुनबाट र पानीबाट जोगाउन मद्वत गर्छ। तर भारतका केही राज्यहरुमा भने यसले अग्ला मोबाइल फोनका टावरहरुमा समेत गुँड लगाएको पाइएको छ भने श्रीलंकामा मानव वस्ती बीचको अशान्त स्थानमा समेत यसले गुँड बनाई बच्चा कोरलेको अभिलेख छ।
लोभीपापी गरुड प्राय एक्लो अथवा जोडीमा भेटिन्छन्, र कहिलेकाहीँ समूहमा समेत भेटिन्छ। विश्वव्यापी कोरोना संक्रमणको त्रासमा मानिस र मोटरगाडीको चहलपहल कम भएको बेलामा पूर्वी चितवनको बच्छौलीमा एकै ठाँउमा २८ वटासम्म लोभीपापी गरुड भेटिएको चराविद् बासु बिडारीले जानकारी दिए।
नेपालमा लोभिपापी देखिने सम्भावित क्षेत्र कहाँ हो?
यो गरुड पूर्वको झापादेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म तराईका जिल्लाहरुमा पाइन्छन् भने थुप्रै मध्यपहाडी जिल्लाहरुमा समेत भेटिन्छन्। सन् २०१७ मा मनाङको भ्राका गाउँ नजिक ३५४० मिटर उचाइमा यो गरुड अभिलेख भएको थियो जुन दक्षिण एसियामा सबैभन्दा अग्लो स्थानमा पाइएको अभिलेख हो। चीनको युनान प्रान्तमा भने सन् २०११ मा यसलाई ३७९० मिटर उचाइमा अभिलेख गरिएको थियो।
(तस्बिरः नहकुल भुसाल)
यसको संरक्षणको मुख्य समस्या वा चुनौतिहरु के के हुन्?
जनसंख्या वृद्विसँगै जंगल फडानी र वस्ती विस्तारसँगै लोभीपापी गरुडको बासस्थानमा प्रतिकूल असर परेको देखिन्छ। यसले खाने आहाराको कमी, विकासको रफ्तारमा देखिएको वृद्धिसँगै बासस्थानका रुखहरु मास्सिने क्रम, सिमसार क्षेत्रको खस्किँदो अवस्था, खेतबारीमा विषादीको बढ्दो प्रयोग, संरक्षणमा स्थानीय चेतनाको कमी, आदि यसको संरक्षणको मुख्य चुनौतीहरु हुन्।
यसको चोरी शिकारको अवस्था कस्तो छ?
दक्षिणपूर्वी एसियामा यसको समस्या नै शिकार भएको पाइन्छ। मानिस आफै यसको शिकार गरेर खाने गरेको पनि भेटिएको छ। चेपाङ् समुदायमा पनि त्यहाँका बासिन्दाले यसको बच्चा गुँडबाट निकालेर खाने गरेको सुन्न आएको छ। यसको गुडबाट बच्चा र अण्डा चोरी समेत गरि खाने गरेको कुरा यदाकदा सुनिन्छ।
अनुसन्धानकर्मी घिमिरेले कपिलवस्तुको कुन्दन गाउँमा यसको शिकारका निम्ति थापिएको पासो भेटी त्यहाँबाट हटाउन लगाएको कुरा आफ्नो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेका छन्। यसबाट मानिसहरुबाट लोभिपापी गरुडको शिकार हुने अड्कल गर्न सकिन्छ। यसको बच्चालाई मलसाप्रोले खाने गरेको पाइन्छ।
नयाँ पुस्ताले यसको अध्ययन् तथा अनुसन्धान किन गर्नुपर्ने?
देशको विभिन्न भागमा लोभीपापी गरुडको उपस्थितिको प्रमाण भेटिएको भएतापनि देशभरीको यसको अवस्थाको पूर्ण विवरण नहुँदा यो थप संवेदनशील बन्दैछ। पश्चिमी क्षेत्रका केही जिल्लाहरुमा यसको अध्ययन भएता पनि पूर्वी र मध्य पहाडी क्षेत्रहरुमा यसको अध्ययन आवश्यक देखिन्छ। बढ्दो मानव जगतको विकासका कारण संवेदनशील सूचीमा रहेको यो गरुडको अनुसन्धान र संरक्षण हुन जरुरी छ, अन्यथा आउँदो दिनमा यो लोप भएको सुन्न पर्ने अवस्था नआउला भन्न सकिन्न।
(लोभीपापी गरुड बारे अनुसन्धानरत् लेखक, वातावरण विज्ञानको विद्यार्थी हुन्।)