सम्माननीय प्रधानमन्त्री ज्यु नमस्कार!
आशा छ, आराम सकुशल हुनुहुन्छ। केही महिना अघि दोस्रो मृगौला प्रत्यारोपण गरेको त्यस्तो जिर्ण शरीर लिएर यत्रो शक्तिका साथ देश सरकार मात्र नभई नेकपाको नेतृत्व गरिरहनु भएको छ। हजुरको आत्मबललाई मान्नैपर्छ। सधैं यस्तै सबल रहोस् तपाईको स्वास्थ्य, हाम्रो कामना।
जहिल्यै त्यो कडा बोलीसँगै हजुरको उखान टुक्का शैली र आफ्ना विरोधीहरुसँगको प्रस्तुती सुन्दा हेर्दा मजा लाग्छ। मलाई मात्र हैन होला, मजस्ता धेरै युवाहरुलाई। तर पछिल्ला दिनमा जे जस्तो भइरहेको छ, त्यसले म जस्ता लाखौं युवाहरुको मनमा सरकारप्रति आक्रोश पैदा गरेको छ।
केही दिन अगाडि प्रधानमन्त्रीको बारे भारतीय सञ्चार माध्यमबाट प्रसारण तथा प्रकाशन भएका भ्रामक समाचारप्रति मैले खेद प्रकट गरेको छु। साथै सरकारले प्रकाशित गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्साका लागि सरकार र प्रधानमन्त्री ज्युलाई धन्यवाद नदिई बस्न सक्दिनँ।
प्रधानमन्त्री ज्यू, हजुरसँग आजको दिनमा म र मजस्ता लाखौं युवाहरुका हजारौं गुनासाहरु र आक्रोशहरु छन्। के ती गुनासोहरुको सम्बोधन गर्ने हिम्मत राख्न सक्नुहुन्न? आफ्नो आलोचना हुँदा केही बनी बनाउ, केही झुट बोलेर र केही विषयान्तर गरेर विषयलाई तोडमोड निकै खप्पिस हजुर, के साच्चिकै हामी युवाहरुको समस्यालाई व्यवहारिक रुपमा समाधान गर्न सक्नुहुन्छ त?
मलाई आशा छ तपाईले आम युवाहरुको समस्या समाधान गर्न त सक्नु तर इच्छाको आवश्यकता देखिएको छ। पछिल्लो समय कोरोना महामारीको चपेटामा विश्व परेको बेलामा नेपाल पनि अछुत्तो रहन सकेको छैन।
प्रधानमन्त्री ज्यू, कोरोना भाइरसको संक्रमण नेपालमा नफैलियोस भने चैतको पहिलो हप्ता दोस्रो व्यक्तिमा कोरोना देखिएसँगै चैत ११ गतेदेखि देशभर लकडाउन गरियो। सय दिनभन्दा बढी पूर्ण ठप्प रहेको हाम्रो देश केही दिन यता आंशिक रुपमा खुल्ला गरिएको छ। लकडाउनले नेपालको चलायमान अर्थतन्त्रको मुख्य स्रोत पर्यटन, उद्योग क्षेत्रमा पूर्णरुपमा असर गरेको छ, भने लाखौं श्रमिकहरुको रोजीरोटी गुमेको छ।
लकडाउनकै कारण नेपालमा मात्र करिब ५ लाखभन्दा बढी श्रमिकले बेरोजगार भएका छन् भने विदेशमा रोजगार गुमाएका तथा श्रम अवधि सकिएका ६ लाखभन्दा बढी श्रमिकहरु स्वदेश फर्कनका लागि निवेदन सम्बन्धि देशको दुतवासमा प्रेस गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
बेरोजगारीको तनावसँगै महंगो बजार अनि बन्द कोठामा नै गुम्सिएर बस्न पर्ने बाध्यतासँगै कतिपय मानिस मानसिक रोगको शिकार भएर आत्महत्या गर्न विवश रहेको समाचारहरु प्रकाशन भइरहेका छन्। अर्कातिर मनसुन सुरुभएसँगै आएको भारी वर्षातले बाढी पहिरोमा कयौँले ज्यान गुमाएका छन् भने सयौ परिवारहरु विस्तावित भएका छन्।
वस्ती नै डुवानमा छ तर सरकारले यो अवस्थामा सम्पूर्ण देश तथा विदेशमा रहेका पीडितको गुनासो सुन्नुको सट्टा रमिते बनेर हेर्ने काम गरिरहेको छ। के यस्तै निकम्मा शैलीमा टुलुटुलु हेरेर बस्ने सरकारको दायित्व होर? कि ‘काग कराउँदै जान्छ पिना सुक्दै जान्छ’ भने जस्तै हो
प्रधानमन्त्री ज्यू, भनिन्छ हाम्रो देश नेपाल कृषिप्रधान देश हो। तर पछिल्लो समय हाम्रो देश रेमिट्यान्स प्रधान देश बनेको छ, किनकि म र म जस्ता लाखौं युवाहरूले विदेश रगत र पसिना बगाएर पठाएको रेमिट्यान्सले हाम्रो देशको कुल ग्राहस्थ उत्पादनमा २५ देखि ३० प्रतिशतसम्म योगदान गरिरहेको अवगत नै छ होला। आज यसरी रेमिट्यान्स पठाएर देशको अर्थतन्त्र धानेका युवाहरु विदेशमा भिषा सक्किएको महिनौं भएको छ।
यहाँ विदेशमा भिषा सक्किएपछि काम गर्न पाइँदैन, गरेको थाहा पाएमा जेल जानुपर्ने वा अवैधानिक हुनुपर्छ। यति लामो समयसम्म उडान बन्द हुँदा आफूसँग भएको पैसा पनि सक्किएको खानपान, बासमा समेत समस्या हुँदा भोकभोकै छट्पट्याउन विवश छौँ। र कतिपय त डिप्रेसनको शिकार भई आत्महत्या समेत गरेका छन। यस्तो विचल्लित हुँदा, अर्काको देशमा अलपत्र हुँदा पनि उनिहरुको उद्धार गरेर नेपाल फर्काउने व्यवस्था गर्नु पर्दैन?
यसरी विदेशमा अलपत्र परेका युवालाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट उद्धार गर्न भनी सर्वोच्चले दिएको आदेश ‘घाम’ मै सुकाइ दिने होर? सर्वोच्चको आदेश नै अवज्ञा गरिदिने प्रधानमन्त्री ज्यू, के तपाई कानुनभन्दा माथि नै पुग्नु भयो? कि सर्वेसर्वा मै हुँ, मै हुँ सर्वमान्य जस्तो लाग्छ र?
ल ठिक छ, प्रधानमन्त्री ज्यू ढिलै भएपनि विदेशमा भिषा सक्किएका, विचल्लि परेका र बिरामी अनि अवैधानिकहरु गरि २६ हजार ३ सय ९६ जना स्वदेश फर्केका छन। तर उनीहरु आफ्नो देश फर्कदा पनि दोब्बर तेब्बर भाडा असुलिएको छ। नेपाल पुगेपछि होटल र आआफ्नो प्रेदेशमा जाँदा पनि दोब्बर, तेब्बर भाडा असुलिएको छ। के यही समय हो कमाउने भनेर महामारीको समयमा अनावश्यक शुल्क उठाउनेहरु लाई आर्थिक शोषणको मुद्दा लगाएर कारबाही गर्न सक्नुहुन्छ?
विश्व महामारीको रुपमा फैलिएको कोरोनाको बारेमा सोचिरहनु भएको छ? अब कोरोनाको विषयमा अनावश्यक तनाव लिन छाडिदिनु होला किनकी कोरोनाको भ्याक्सिन बेसार पानी मिलाएर निर्माण गरिँदैछ। अनि अस्ति भर्खरै ट्रान्सप्लान्ट गरेको मृगौला त बिग्रिएको छैन होला नि। यदि बिग्रेको भएमा मलाई भन्नुहोला म हाँसिखुसी दिन राजी हुनेछु।
प्रधानमन्त्री ज्यू, जतापनि हुँने खानेहरुकै रवाफ छ। हुने खानेहरु, दोब्बर तेब्बर भाडा तिर्न सक्नेहरु त स्वदेश फर्के तर हामी हुँदा खानेहरु स्वदेश कहिले फर्कन पाइन्छ तरु यसो सोच्छ, जन्मने बित्तिकै किन घाँटी निमोठेर मारिएन तरु कि आफ्नो जन्मभूमि फर्कन किड्नी नै प्रधानमन्त्री ज्यूलाई दिनुपर्ने होरु मलाई छिट्टै मेरी बुढी अनि बिरामी भइरहने आमालाई भेट्नु छ, अनि खेतबारीमा काम गर्दा हड्डी घोट्दाघोट्दै बुढा भएका बाबुलाई भेट्नु छ।
वर्षौँदेखि यी आँखाहरुमा दुखको आँसु भरिएको छ, त्यो आँसु पोख्न आमाकै काख चाहिने रहेछ। घरमा फोन गर्दा जहिल्यै दोहोरिने प्रश्नसघर कहिले आउने? परदेश अलपत्र लाखौं युवाहरू आखिर घर फर्कन पाउने कहिले?
प्रधानमन्त्री ज्यू, केही दिन अघिदेखि कोरिया जान पाउँ भनेर आन्दोलन भइरहेको छ। यस बारेमा केही सोच्नु भयो त? हामी विदेशमा भएकाहरु देश फर्कन चाहन्छौं तर फेरि युवाहरु परदेशीन तछाड मछाड गरिरहेछन्। आखिर किन त? कारण स्पष्ट छ, वर्तमान राज्य शैली, यो सरकार काम क्रियाकलाप प्रति युवाहरूको असन्तुष्टि छ, आक्रोस छ, युवाहरू बेरोजगार छन, रोजगारीको प्रत्याभूति छैन। मैले सुरुमै उल्लेख गरेको छु। हाम्रो देश कृषि प्रधान देश हो तर दुर्भाग्य आज रेमिट्यान्स प्रधान देश बनेको छ।
आज युवाहरु विदेशमा बेच्नको लागि दलालहरुको होडबाजी चलिरहेको छ। कोरोना महामारीले धेरै सिकाएको छ, जसमध्ये एउटा पाठ हो, सबैभन्दा उच्च पेशा नै कृषि पेशा रहेछ।
कृषिमा आधुनिकिकरण ल्याउने पैदा भन्दै सरकारले प्रधानमन्त्री रोजगार परियोजनालाई अगाडि सारेपनि त्यसको प्रतिफल खासै देखिएको छैन्। त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सरकारले वेरोजगार युवालाई रोजगारी दिने उद्देश्यले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको पहिलो वर्ष (२०७६/७६) को काम आलोचनात्मक भयो।
आर्थिक वर्ष २०७६/७६ प्रधानमन्त्री रोजगार कार्यक्रममा १ लाख ७७ हजार श्रमिकलाई रोजगार प्रदान गरेको थियो। जुन कार्यक्रमका लागि सरकारले ३ अर्ब ५ करोड रुपैयाँ सक्यो। त्यस्तै चालु आर्थिक वर्षमा गतवर्षको तुलनामा ६० हजार श्रमिकका लागि ५ अर्ब १ करोड रुपैयाँ सरकारले विनियोजन गरेको छ। तर यस वर्ष सरकारले के कुन क्षेत्रमा कति खर्च भयो भनेर सार्वजनिक गरेको छैन।
आगामी वर्षमा पनि सरकारले ७ लाख युवालाई रोजगारी दिने भनेर ११ अर्ब रुपैयाँ छुट्याएको छ जुन गत वर्षको तुलना उच्च बजेट विनियोजन गरेको छ। कोरोनाका कारण वैदेशिक रोजगारीमा रहेका नेपालीहरु स्वदेश फर्केनको संख्या बढ्ने हुँदा आफ्नै गाँउमा रोजगारी सिर्जना गर्नका लागि यस क्षेत्रमा धेरै बजेट छुट्याएको अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्दा जानकारी गराएका थिए। तर यसको स्पष्ट कार्ययोजना भने अझसम्म नि तयार भएको छैन्।
भनिन्छ, रेमिट्यान्स प्रधान अर्थतन्त्रभन्दा कृषि प्रधान अर्थतन्त्र आत्मनिर्भर र स्वावलम्बी हुन्छ। त्यसैले हामी युवालाई स्वावलम्बी र आत्मनिर्भर बन्न प्रेरित नगरेर फेरि किन विदेश लखेटिँदैछ?
हुन त कृषिमन्त्री घनश्याम भुषाल आफूले बनाएको कार्य योजनानुसारको बजेट कृषि क्षेत्रमा विनियोजन नभएको भनेर भन्दै आएका छन्। अब कसरी सम्भव छ त बिना योजनाको कार्यहरु?
प्रधानमन्त्री ज्यू, म चाहन्छु माथि उल्लेखित गुनासाहरुको छिटोभन्दा सम्बोधन र समस्याहरुको समाधान गरेर एक महान् नेताको रुपमा चिनिने कि एक वाहियात, निकम्मा भ्रष्ट नेताको रुपमा चिनिने, त्यो तपाईकै जिम्मा। हजुर जस्तो राष्ट्रवादी नेता, अझ हाम्रो मामाले भन्नू हुन्थ्यो हजुर त युगकै महान नेता होरे। म चाहन्छु हजुर जस्तो महान नेता अझै वर्षौँ वर्षसम्म बाँचेको देख्न पाउँ। तर भ्रष्टाचारी भएर हैन भ्रष्टाचारीलाई कारबाही गरेर।
झुटको खेती गरेर हैन, जनताका समस्याहरु व्यवहारिक रुपमा समाधान गरेर। अन्ध राष्ट्रवादी भएर हैन सच्चा देशप्रेम र राष्ट्रको लागि काम गरेर। म नै सर्वेसर्वा भनेर हैन देशको कानुन संविधानको पालना गरेर विकास र समृद्धिको उडान सफल अवतरण गरेमा मात्रै महान नेता बन्न सकिएला अन्यथा अहिले सडकमा उत्रिएका झोलेहरुको ब्यानर र फोटो मा मात्रै सिमित हुनुपर्नेछ, निकम्माको ट्याट मिल्नेछ।
(लेखक दक्षिण कोरियामा भिषा सक्किएको लगभग तीन महिनादेखि नेपाल फर्कने पालो कुरेर बसिरहेका छन्।)