श्रावनको एक दिन धुम्म मौसमबीच पारि वनमा कानै खाने गरी झ्याउँकिरी कराउदै थिए। निलो आकाशलाई सेतो-कालो बादलले ढाकेको थियो। हावाको वेगमा ती बादल कहिल्ये यो छेउ पुग्दथे त कहिल्ये त्यो छेउ। अनि तिनमा समेटिएका पानीका थोपाहरु कहिले यता छछल्किन्थे त कहिले उता।
पहाडी जिल्ला काभ्रेको सानो कुना कुशादेवीको दक्षिणतिर फर्केको घरको बार्तलीमा बसि म यी उडन्ते थोपाको कहानी लेख्न खोज्दै छु। बादलको आकार ठम्याउन खोज्दैछु। यो वायुको वेग बारे सोच्दै छु। यिनका प्रभाव, यिनका आनीबानी, अनि स्वरुपको बारे चर्चा गर्न खोज्दैछु।
बार्तलीमाथि जस्तामा ठोक्किएर बजेका यी थोपाका हरेक बुँदले मलाई बेलाबेलामा भावनात्मक बनाउछँन्, नोस्टाल्जिक बनाउँछन्। यी थोपाहरुसँग गहिरो सम्बन्ध बनेको जो छ। कहिले यो झरीसँग रुझ्दै रोपाइँ गरेको सम्झना छ, कहिले असिना खाँदै वस्तुभाउ सारेको व्यथा। स्कुलबाट दौडिदै घर आउदा निथ्रुक्क भिजेको पीडा पनि, अनि भिजी-भिजी फुटबलको खेल्नुको मज्जा पनि।
यी हावाहुरीसँगै झरेका पानीका थोपाले कति हो कति पटक यही बार्तलीमा फैलिएका मेरा कयौँ कपि-किताबहरु भिझेका छन्। मदेखि रिसाएका छन्। वैशाख जेठमा परेको असिनाका साना-साना दाना बटुली मुठ्ठीभरको डल्लो बनाइ साथिभाइहरुलाई बम बनाएर हानिन्थ्यो। पुष-माघतिर यही झरीले बेला-बेलामा हिउँ बोकेर ल्याउथ्यो।
घरबाट ठ्याक्कै अगाडि उभिएकी नागी डाँडालाई चिटिक्क सेतै पारेर सजाउथ्यो। सधैँ हरियो रंगमा सजिएकी नागीमा कसैले आएर पाउडर दले जस्तो। म यस्तै केही भनी नागीलाई जिस्क्याउँथे। नागी लाजाउथी अनि बादलहरू घुम्टो बनी आएर उसलाई छोपिदिन्थे। उसको त्यस्तो अवतार देख्दा म पनि दंग पर्थेँ।
स्कुलबाट हामी सबै त्यो समय हिउँ खेल्नै नागीको टुप्पामा पुगेको थियौँ। म पहिलो चोटि नागीको टुप्पोमा पुगेको ठ्याक्क त्यही बेलामा हो। आफ्नै गाउँमा हिउँमा चिप्लेटी खेलेको पनि त्यही बेला। हिउँले हानाहान गर्दै रमाएको क्षण। मौसमले त प्रकृतिलाई सिँगार्दो पो रैछ। मैले मौसमलाई मिलनसार साथि बनाएँ।
फेरि बालापनमा मलाई झरीको पनि आफ्नै पीडा हुन्थ्यो। असारमा नजिकैको सामुदायिक वन वरपर कराउने झ्याउँकिरीले त्यति झ्याउँ गर्दैनथ्यो जति बत्ति गएर मेरो फेवरेट कार्टुन छुट्दा हुन्थ्यो। कहिले रमाइलो कार्टुन मुमिन हेर्न पाइन्नथ्यो त कहिले फर्डी।
अझ म सम्झिन्छु, हजुरबुबाहरु भने खाली समाचार हेर्नुहुन्थ्यो। मलाई रिस उठ्थ्यो। फेरि समाचार पनि त्यस्तै आउथ्यो: पहाडतिर पहिरोमा परि यति जनाको मृत्यु भयो त तराईमा खेतबारी अनि वस्ती डुबान पर्यो। पक्कै त्यो बेला म बुझ्दैन थें किनकी मलाई त्यो नानाभाती समाचारभन्दा मुमिन फर्डी जस्ता कार्टुन प्यारो हुन्थ्यो।
पछि घरमा स्याटेलाइटको सिग्नलबाट चल्ने टिभी जडान गरियो। बेलाबेलामा फेरि कहिले बादलले आकाश छोप्थ्यो, झरी पर्थ्यो, अनि मेरा फेवरेट कार्टुनहरू छुट्थे। कहिले झ्याप-झ्याप बत्ति जान्थ्यो। कहिल्ये पोल लड्थ्यो त कतै रुखले तार छुन्थ्यो। कहिल्ये काहीं त म आफूलाई प्रार्थना गरिरहेको अवस्थामा पाउथे। बत्ति नजाओस भनेर।
प्रायः मेरो लोकालिटीमा पर्ने पानीको सम्बन्ध मेरो लागि कार्टुनसँग नै हुन्थ्यो। पानीले साधारण मानिस तथा किसानलाई दिएको पिर मर्काको मलाई केको चासो।
म त ५० साल आसपास जन्मेको मान्छे। मैले यो प्रकृति अनि मौसम आभाष गरेकै २०-२५ वर्ष मात्र भयो। अब यसका पुराना चर्तिकला बुझ्न मनलाग्यो। एउटा साथीको पुरानो कथा बुझ्न मन लागे झैं। अनि म विसं २००४ सालमा जन्मिएका मेरा हजुरबुबा तिर फर्किन्छु।
उहाँको सम्झनाअनुसार २८ सालमा साह्रै बिघ्न झरी परेछ। त्यो बेला कुशादेवी अनि पनौती आसपासका कयौँ पानीघट्टहरू नै बगेछन्। खेत-खेतका गहुँका मुठाहरु बगेर खोलाका बगरमा कुनिउ बनेझै थुप्रिएका थिए रे। खोलाको कहाली लाग्दो बहाबमा कयौ गाई, गोरुहरु समेत बगेका रहेछन्। आफ्नै घर नजिकैको पूल बग्दा त्यसपछि कति समय कम्मरसम्म डुब्ने खोला आरपार गर्नु परेको पीडा सुनाउनु हुन्थ्यो बुबा।
खडेरी भने बेला-बेलामा आई नै रहेको रहेछ। सायद १८ साल तिर अघिल्लो वर्षको मनसुन कटेपछि खासै पानी नै परेनछ। कुशादेवी राम्रै उजाड भएछ। त्यो साल जेठ १९ गते मात्र बल्ल पानी परेर मकै छर्न पाइएको रहेछ। हजुरबुबाको नमिठो अनुभव बोलिबाट झल्कीरहेथ्यो।
विचार गर्दा यति सानो कुशादेवी क्षेत्रमै बेलाबेलामा हुने गरेको मौसमी पीडाले स्थानीय बासिन्दा तथा किसानहरूको ढाड सेक्काएको रहेछ। म त सधै माया गर्छु यो प्रकृति, यो मौसमलाई। मिलनसार साथिी जस्तो गर्छु। तबपो बेला-बेलामा रिसाउछु, अनि खुसी पनि हुन्छु। सबै मानिसले यो प्रकृति, यो पृथ्वी, यो मौसमप्रति मित्रवत भावना राखेनन् कि क्या हो? बेलाबेलामा म सोच्छु।
करिब २ वर्ष अघिको गाउँकै कुरा हो। गाउँको स्थानीय बजार ‘चालिसे’ देखि माथि लेकको ‘नयाँ-गाउँ’ जोड्ने बाटोको लागि लगभग २५-२६ लाख आसपासको बजेट परेछ। बजेट बाटोको स्तरोन्नति गर्ने साथै थप फराकिलो बनाउने शीर्षकमा राखियो।
बाटोमा पहिल्ये नै खासै समस्या त त्यति थिएन यद्धपि यतिको बजेट छुट्याईसकेपछि अब यो बाटो गतिलोसँग नै बन्नेमा हामी ढुक्क थियौँ। काम पनि जोडतोडले भयो। डोजर, टिपर धमाधम चले। स्थानीय पनि दंग। राम्रै विकास हुन्छ भन्नेमा थिए। प्रायः मोटरसाइकल तथा दुध ओसारपसारमा सानातिना ट्रक चल्ने बाटोका भित्ताहरु कोतरेर फराकिला बनाइयो। अग्ला-अग्ला कान्ला अनि पहरा बने। २६ लाखको बजेट केही दिनमा झामझुम सक्कियो।
पानी नपरुन्जेल राम्रै देखिन्थ्यो। असारमा पानी सुरु भयो अनि बाटोको राम्रै हविगत भयो। बाटोका नजिकका अनि कोतारिएका अग्ला पहराहरु बाटोमै हाम फाले। रुख वनस्पतिहरूलाई पनि बाटो नै प्यारो, तिनीहरू पनि बाटोमै लम्पसार परे। अव्यवस्थित पानीका भेल जताततैबाट बग्न थाले। माथि-माथि गाउँदेखिको संकलित पानीका भलहरु एकै ठाउँमा निस्कन पुगे।
कयौँको खेतबारी गयो। लाएका अन्नबाली गयो। २६ लाख स्वाहा भयो। विपद तथा समस्या व्ययवस्थापनमा कयौं लाख अझै थपिनु पर्यो। अवस्था जिउको तिउ। त्यो बेलामा पनि गाउँका प्रायले दोष मौसमलाई नै दिए। दोषी प्रकृति नै भयो। आफ्नो गल्ति बुझेनन्।
जसै म बढ्दै गए, कुशादेवी बाहिरका मौसमको संगत गर्न थाले। म अब सानो कुशादेवी निस्केर पनौती-बनेपा अनि विस्तारै काठमाडौंतिर लाग्न थालेँ। त्यहाँको मौसम भने आफ्नै पाराको रहेछ। प्रायः महिना सधै तातिरहन्थ्यो, आगो हुन्थ्यो। उता गाउँ तिर त एकनास मुड देखिन्थ्यो उसको, यताको सानो काठमाडौं उपत्यकामा नै कहिले एक ठाउँमा एक्कासी बर्सिन्थ्यो, काहीं नमाज्जाले तताउथ्यो। एक्कासि हास्ने अनि रुने बानी गर्ने पागल मान्छे जस्तो।
मौसमको आनीबानी केही नमिले जस्तो। सायद उसलाई यो कंक्रिट सहरदेखि पो रिस थियो कि? ठूला-ठूला फ्याक्ट्री तथा कारखानाका कालो धुवा मन नपरेको हो कि? सधै चलायमान सवारीसाधन अनि धुवा-धुलोदेखि पो रिस थियो कि? उसको तातो रिसलाई सहने मेरो पनि हिम्मत थिएन। त्यसैले प्राय जसो छल्न खोज्थेँ। भागिरहन्थे म पनि। एसी अनि फ्यान खोज्दै। एकान्तमा बेलाबेलामा फेरि गनगनाउथे, यो मौसम के साह्रो रिसाको होला?
फेरि रिसाएको मौसमलाई खुसी बनाउने पनि आफ्नै तरिका रैछ। काठमाडौंमा हाइकिङको क्रममा म चम्पादेवीको डाँडा उक्लेको सम्झना गर्छु। घन्टौं लगाएर उक्त पहाड चढ्दा निकै रमाइलो भएको थियो। अनि डाँडामा थुप्रै मान्छे थिए। तर हामी जस्तो सबैजना रमाइलैकै लागि त्यहाँ पुगेका थिएनन्। चम्पादेवीमा वारिपारि गाउँका मानिसहरु खसी-बोकाको बली चढाएर जलदेवता खुसी पार्न आएका रहेछन्। त्यो वर्ष पनि मनसुन ढिला सुरु भएको थियो। जलदेवी खुसी बनाउन।
तर बेलाबेलामा जलदेवी साह्रै खुसी पो हुन्थिन क्यार, एकदम धेरै पानी पर्थ्यो। मनसुनको सिजन पहाडमा बसेका हामीलाई तराइमा झैँ डुबानको त पीडा थिएन। तर पछिल्लो समय यो वर्षालाई पनि के भयो भयो। कहिले पानी नै पर्दैनथ्यो अनि कहिले सहनै नसकिने गरी पर्दथ्यो।
यही वर्ष, महिना-दिन अघि कुशादेवी मै ४ घण्टा जति लगातार ठूलो पानी पर्यो। अघिपछि शान्त बग्ने लिलावतीलाई यो रिसाहा मौसमले नराम्ररी उक्सायो र उसको रुप ज्यादै उग्र थियो। भिषण बाढीको कारण, नदी आसपासका कयौँ घरहरु डुबानमा थिए। घरमा फसेका मानिसलाई सुरक्षित अवतरण गराउन नै धौ-धौ हुने अवस्था पुग्यो। पानीको बहाब कुशादेवी तथा चाम्लेबजारका अग्ला पूललाई नाघ्न थाल्यो। पनौती आसपासका कतिपय पूल त बगाए भन्ने खबर आउन थाले।
कतिका गाडी बगाएछन्। हामीले लगाएको काक्रो-फर्सी पनि नमाज्जाले चुटियो। सार्है नमज्जा लाग्यो। हरेकका खेतबारी लडेका थिए। मौसम अगाडि मान्छेको केही लाग्दैनथ्यो मान्छे भने कुलो या भल नखोलेको नाममा एकअर्कालाई दोष दिन मै व्यस्त थिए। यो सब दुखका बीच म फेरि एकान्तमा गनगनाउनथे 'ए मौसम, तँ किन यति साह्रो रिसाको भन त?’
जसै म केही बुझ्ने हुँदै गए प्राकृतिक विज्ञानमा मेरो रुची बढ्यो। जीवजन्तु, वनस्पति, वातावरणका विषय कहानी पढ्न अनि जान्न रुची लाग्यो। यिनको अध्ययनकर्ताहरुका विभिन्न सिद्धान्त पृथक लाग्न थाल्यो। पृथ्वीलाई बुझेका वैज्ञानिकहरु बारे पढ्दै, उनीहरूका विचारधाराको संगत गर्दै पढाई चलिरह्यो। सही अनि तथ्यपूर्ण दस्ताबेजहरु हेर्न थालियो। आज अलि-अलि केही बुझिने भइयो अनि आइयो अरुलाई पनि केही बुझाउन।
यो मौसम रिसाउदा क्षति भोग्ने भूभागमा नेपालपनि अग्र पंक्तिमा रहेछ। यो रापिदो मौसमले हाम्रो हिमाललाई धेरै असर गर्ने अवस्था रहेछ। अन्टार्टिका अनि आर्टिकको हिउँ पगाल्ने खतरा रहेछ। त्यहा बस्ने सेतो भालु अनि पेंगुनलाई बढी मार पारेको रहेछ। भविष्यमा यी हिमालयबाट बग्ने नदी सुक्ने खतरा रहेछ। जलस्रोतमा धनि नेपाललाई मरभूमि बनाउन सक्ने खतरा रहेछ। अनि त्यो भविष्य मेरै जीवनकाल भित्र हुनसक्ने खतरा रहेछ।
म त सोच्थेँ, मौसम जस्तो कुरामा कसको के लाग्नु। यति ठूलो पृथ्वीमा यति साना मान्छेको के शक्ति, हाम्रो के हिम्मत? तर मेरो सोचाइँले तब कावा खायो जब मैले थाहा पाए कि सन् १८५० यता वायुमण्डलमा कार्वन उत्सर्जन मात्रा व्यापक बढी रहेको छ र एउटा बलिरहेको स्टोभले प्रेसर कुकर तताएझै ती कार्वन लगायतका हरित ग्यासहरुले यो वायुमण्डल तताइरहेको रहेछ।
हाल पृथ्वीले बिगत ८ लाख वर्षयता कै सबैभन्दा धेरै कार्वन मात्रा आफ्नो वायुमण्डलमा बोकिरहेको रहेछ। त्यसमाथि हामी मानव भने अझै वार्षिक ३६ अर्ब टन कार्बन वायुमण्डलमा थुपारी रहेछौँ। स्टोभमा प्रेसर कुकर तताएझै यो रापिदो ग्यासहरूले मौसम फेरबदल गराउदो रहेछ। अहिलेको मात्राको ग्लोबल वार्मिङ तथा मौसम परिवर्तनलाई हेर्ने हो भने अबको ८० वर्षमा अर्थात सन् २१०० सम्ममा मेरा यी सुन्दर हिमालमा ५-६ डिग्रीको तापक्रम वृद्धि हुनेछ र यी हिमालयका दुई तिहाई हिउँ पग्लनेछ।
म त दंग यस अर्थमा पनि परेँ कि हामीले यो कार्बन उत्सर्जन मात्रालाई पूर्ण रुपमा बन्द गरेपनि हाम्रो अग्ला हिमालको एक-तिहाई हिउँ अबको ८० वर्षमा पग्लेर जानेछ (इसिमोड, २०१९ रिपोर्ट)। अर्थात् हामी सुध्रिन तयार भएपनि पृथ्वी आमालाई चोट पुर्याईसकेछौँ र यो आफैमा साह्रै नमिठो आभास हो। आखिर भावी पुस्तालाई हामी कस्तो पृथ्वी छोड्दै छौँ?
नेपाल जस्ता मुलुकहरूले कार्बन लगायतका हरित गृह ग्यासको उत्सर्जन कम गरेपनि मौसम परिवर्तन र ग्लोबल वार्मिङको चपेटाको असरमा अग्र पंक्तिमा छन्। अनेकौ पहरा, झरना, तराई साथै उच्च हिमालहरु, अनि ती हिमालकै फेदबाट बग्ने नदी नालाहरु र उन्नत भूमि, कति रमाइलोसँग सजाएको छ मिलनसार मौसमले।
तर जब यो मिलनसार साथी रिसाउछ, सजावट भाद्रगोलातामा परिणत हुछ। पक्कै कृषिको लागि निकै सुहाउदो जमिन भएपनि मौसमी जोखिमले यहाँको सम्भावनाका फुलहरु त्यत्तिकै ओइल्याउदै छन्। आंकलन नै गर्नै नसकिने मौसमलाई अंगालेर यहाँका मानिस बाढी, पहिरो, भूक्ष्यजस्ता प्रकोपसँग जुध्न तयार हुनु परेको छ। तर विडम्बना हामीलाई यो खतरा, यो जोखिमको नै आंकलन छैन।
के डोजर दौडाउदैमा विकास भयो भन्ने सोचका माननीय ज्युहरुलाई यो थाहा छ? के डाँडा पहाड कोतर्दैमा विकास हुन्छ भन्ने मानसिकता बोकेका जनाताले प्रकृति प्रतिको अवमूल्यन कहिल्यै ख्याल गरे? हामी सबैको वर्तमान तथा भविष्यमा टड्कारो देखिएको यो समस्याको जड आखिर के हो? के हामी चेतनशील भयौँ?
म कल्पना गर्छु, म ८० वर्षको वृद्ध हुँदाको क्षण: जब मेरा साना नाति-नातिनीहरुले यो प्रकृति, यो मौसमलाई मैले झैँ साथी बनाएका हुनेछन्। मेरो अनि मेरा छोराछोरीका पुस्ताले छानेका सबल नेतृत्वले प्रकृति र बदलिदो मौसमलाई ख्याल गर्दै विकासलाई अघि बढाएका हुनेछन्।
हाम्रो विकास ढाँचामा प्रकृति समाविष्ट हुनेछ र पुस्तौँ-पुस्तासम्म संरक्षणमा प्राथमिकता पर्नेछ। विश्व-समुदायमा नेपाल नमुना देश भएको हुनेछ। प्राकृतिक स्रोतको समुचित प्रयोग गर्दै अनि दिगो संरक्षण तथा विकासमा अग्रस्थान रहदै अघि बढेको हुनेछ।
वैकल्पिक उर्जालाई प्राथमिकता दिँदै वायोफ्युल त्याग्ने देशमा पनि नेपाल पहिलो हुनेछ। र जैविक-प्राकृतिक अध्ययन, अनुसन्धान तथा पर्यटनको विषयमा नेपाल एउटा ग्लोबल हब बन्नेछ। त्यतिन्जेलसम्म यो लडाई जारी राख्नु छ। यो कलमले अझै संघर्ष गर्नुछ।