'मेरो छोरा यस्तो भैदिए हुन्थ्यो, मेरी छोरी यस्तो भैदिए हुन्थ्यो...!'
हो, हरेक अभिभावकका आ-आफ्नै सपनाहरू हुने गर्छन्। अभिभावकभित्र मुख्यत: आफूलाई जन्मदिने बुबाआमा पर्छन्। शिक्षा दिने गुरुहरु, आफ्ना दाजुभाइ दिदीबहिनीहरु, साथी तथा छिमेकीहरु पनि अभिभावक भित्र नै पर्दछन्। अभिभावकले निर्वाह गर्ने भूमिका नै अभिभावकत्व हो।
अभिभावक हुन पाउनु पनि एक सौभाग्य हो तर अभिभावक हुन त्यति सजिलो पनि त छैन। आर्थिक प्रबन्ध मिलाउने, सन्तानका इच्छा चाहनाहरु पूरा गर्ने, सन्तानका लागि समय दिने, एकाअर्काका खुसी साटासाट गर्ने, भावनाको कदर गर्ने, परिवारमा सहयोगी वातावरण सृजना गर्ने इत्यादि अभिभावकले गर्ने मुख्य जिम्मेवारीहरु हुन्।
आमाको कोखबाट जब एक नवजात शिशुको जन्म हुन्छ, तबदेखि उसलाई हुर्काउने, बढाउने, पढाउने तथा सिकाउने सम्पुर्ण जिम्मेवारी अभिभावकहरुको हुन्छ। जब त्यो नवजात शिशु विस्तारै ठूलो हुँदै जान्छ तब अभिभावकका सपनाहरू पनि विस्तारै परिवर्तन हुँदै जान्छन्।
जब एक बालक शिक्षा आर्जन गर्नको लागि विद्यालय प्रवेश गर्न सुरु गर्छ तब मेरो छोराले धेरै पढोस्, मेरी छोरीले धेरै पढोस् अनि ठूलो मान्छे बनोस् भन्ने चाहाना हरेक अभिभावकको हुन्छ। जब एक विद्यार्थी (छोराछोरी )ले आफ्नो अध्ययनलाई पूरा गर्न तरखर गर्दै गरेको हुन्छ तब एउटा राम्रो जागिर गरोस् भन्ने चाहाना आभिभावक हुन्छ।
मेरो छोराछोरी इन्जिनियर बनोस्, डाक्टर बनोस्, मेरा छोराछोरीले सरकारी जागिर खाओस् अथवा मेरा छोराछोरीले मेरो आफ्नै पूर्ख्यौली पेशा अंगालोस भन्ने हरेक अभिभावकको चाहाना हुन्छ। जब आफ्नो छोराछोरी एउटा राम्रो जागिरमा टेकिएको हुन्छ तब छोराछोरीको धुमधामसँग विवाह गरिदिने चाहाना पनि एक अभिभावकको हुन्छ।
यसरी इच्छा आकांक्षा तथा चाहानाहरु परिवर्तन हुँदै गर्दा अन्त्यमा मेरो छोराछोरीले हामी बुढाबुढीलाई राम्रोसँग ख्याल राखोस्, राम्रोसँग स्याहार-सुसार गरोस् भन्ने पनि सपना हुन्छ। हो, एक अभिभावकले आफ्नो छोराछोरी सबैभन्दा राम्रो होस् भन्ने चाहेको हुन्छ। एक असल अभिभावकले एउटा छोराछोरीलाई बढी माया गर्ने तर अर्को छोराछोरी कम माया गर्ने अथवा हेला गर्ने त्यस्तो कदापि गरेको हुँदैन।
एक अभिभावकले आफ्ना छोराछोरीलाई गर्ने माया/हेरचाह एकैनासको हुन्छ। र वास्तवमा धेरै अभिभावकका इच्छा चाहना तथा सपनाहरू पूरा भएका छन्। वास्तविक कुरा त के हो भने एक अभिभावकले आफ्ना छोराछोरीको भविष्य नराम्रो होस, यसलाई दुखकष्ट आइपरोस् कदापि भन्दैनन्।
एक अभिभावकले आफ्ना छोराछोरीहरुलाई कदापि नराम्रो कुराहरू सिकाउदैन र कदापि खराब बाटोमा हिड्न दिँदैन। आफ्ना छोराछोरीहरुको खुसीमा नै अभिभावकको खुसी लुकेको हुन्छ। एक अभिभावकले जतिसुकै दुखकस्ट गरेर भएपनि, एक छाक खाएर भएपनि आफ्ना छोराछोरीको खुशीहरु खोज्ने कोशिश गरिरहेको हुन्छ।
हुन त इच्छा चाहनाहरु कहिलै समाप्त हुँदैनन्। तर पनि एक अभिभावकले आफ्नो पूरै जीउज्यान लगाएरै भएपनि आफ्नो छोराछोरीहरुलाई हुर्काएको हुन्छ तर पछि त्यही छोराछोरीले आफ्नो अभिभावकको हेरचाह गर्ने समयमा ती बुढा बाआमालाई बृद्धाश्रममा लगेर छोडिदिन्छन्। म सबैले आफ्ना अभिभावकलाई वृद्धाश्रममा लगेर छोड्छ्न त भन्दिनँ तर पछिल्लो समयमा विस्तारै यो प्रवृत्ति बढ्दै गइरहेको भने म पाउछु।
म इश्वरसँग यो कामना गर्छु कि हरेक अभिभावकहरु उमेर ढल्किदै गएर कामहरु गर्न नसक्ने भएपछि वृद्धाश्रममा जान नपरोस् 'मातृ देवो भव, पित्रृ देवो भव!'