धेरै झैं म पनि यतिबेला बेरोजगार भएको छु। अहिले मनमा अनेक थरिका कुरा खेलाएर बस्ने राम्रो फुर्सद छ मसँग। नचाहँदा नचाहँदै जति नै आफूलाई व्यस्त राख्छु भने पनि कुनै न कुनै बेलामा दिमाख खाली भैहाल्ने रैछ। खाली दिमाग सैतानका घर भने झैं दिमागमा केही न केही सैतान पसिसकेको हुन्छ।
आफ्नो घर सम्झेर आजकाल मेरो दिमागमा कुदिरहने सैतानी कुरा मध्यको एक हो, घरभाडा अनि घरबेटी। अनि लकडाउनकै कारणले हुनु परेको बाध्यात्मक बेरोजगारी। भाडा तिर्ने दिन नजिकिँदै जाँदाको मेरो सोचाईको बेग यति बढी हुन्छ कि यो बेगलाई आफ्नो बसमा ल्याउन टाउको नदुख्ने औषधिको साहारा लिनुपर्ने हुन्छ।
हिजो घरबेटीकोमा भाडा बुझाउन गएको, घरबेटी भाउजूले हातमा पैसा लिनु भएपछि निकैबेर उभिएरै अहिलेको परिस्थितिको बारेमा गन्थन गर्नु भयो। त्यस्तो घरबेटी भैकन पनि भाउजूबाट हामीले राम्रै व्यवहार पाईरहेका छौं। काठमाडौंमा घरबेटीसँग भाडावालाको राम्रो सम्बन्ध देख्न त विरलै पाइन्छ। यस अर्थमा त हामी भाग्यमानी नै छौँ।
भाउजू भन्दै हुनुहुन्थ्यो, 'अहिले विभिन्न क्षेत्रका कर्मचारीहरू बेरोजगार हुनु परेको छ या त बेतलबी बिदामा घरमै बस्नु पर्ने बाध्यता छ। लकडाउनका कारण बेरोजगार बस्नु परे जस्तै खान पनि नपर्ने हुन्थ्यो भने त केही सहज हुने थियो होला।'
भाउजूको कुरामा होमा हो थपें मैले। भनेँ 'हाम्रो जस्तै दुई जनाको कमाईमा एउटाको मात्र बन्द भएको र अर्कोको जागिरले खान बस्न पुगिरहेको भए त जसोतसो जीविकोपार्जन भइरहेको हुन सक्छ तर सबैका घरमा दुई जनाको जागिर नभएको पनि हुन सक्छ। यदि एक जनाको मात्र जागिर छ र त्यही जागिर पनि अब रहेन भने त्यो परिवारले काठमाडौं जस्तो ठाउँमा कसरी पो गुजारा गरिरहेको छ?'
भाउजू र मेरो गफको विषय बनेको यो तितो सत्य हो जसले धेरै परिवारको दैनिकी कति दर्दनाक हुँदै गईरहेको छ, हामी कल्पना पनि गर्न सक्दैनौं। जागिरबाट निकाल्ने कार्यलायलाई त पर्वाह हुने कुरै भएन। त्यस्तो परिवारको अवस्थाको बारेमा अब सोच्ने कसले?
यो लकडाउनको बेलामा काठमाडौंका घरबेटीका बारेमा अनेक थरिका कुरा भए। कोही घरबेटी लकडाउनभरीको भाडा नलिने घोषणका साथ महान घरबेटीको दर्जामा पुगे त कसैले एक रुपियाँ पनि नछोडेकोमा लोभी कहलिए। महान् हुने जति भाइरल भए, समाजको उदाहरणीय पात्र बने भने लोभी जति गुमनाम भए।
यता सबै बहालवालाले उदाहरण हुने घरबेटीसँग आफ्नो घरबेटीलाई दाँज्न थाले। मेरा घरबेटी पनि यस्तै मनकारी भैदिनु नि, पूरै नभए पनि आधा मात्र भएपनि भाडा छुट गरिदिनु नि बरु। म पनि मेरो फेसबुकमा एउटा फोटो पोस्ट्याउँदै मेरा घरबेटीले पनि दिए भाडा छुट भनेर भाइरल बनाइदिने थिएँ भन्ने खाले मिठो कल्पना गरे।
कसैको कल्पना साकार पनि भयो भने कति कल्पनामा मात्र सीमित भए। एकजना दाजुले त घरबेटीसँग घुमाउरो तरिकाले 'फेसबुकमा त एकजना भाडा नलिएको भनेर खुब भाइरल हुनुभएछ है दाइ, अनि हजुरहरूको विचार के छ नि' मात्र भन्नुभएको रे।
घरबेटीले झोक्किँदै 'त्यस्तो उदाहरणीय काम मान्छे कि त उ त्यस्तै भाइरल हुन गर्छन् कि त ऋण नै नलागी घर बनाउनेले गर्छन्, हामी जस्तो महिनैपिच्छे खन्खन्ती बैंकलाई ब्याज बुझाउनु पर्नेले सक्दैनौं। बैँकले हामीलाई हेर्देको भएपो हामी पनि सोचौं न त भन्नु' भन्देछन्। विचरा दाजुको झिनो आस पनि हुरीले झैं उडाइदिएछ घरबेटीको कुराले।
यहाँ बहालवालाको मर्म नबुझ्नुको पछाडि पनि घरबेटीको आ-आफ्नै बाध्यता हुने रहेछ। घरबेटीहरू पनि छुट्टा-छुट्टै समूहका हुने रहेछन्। कसैको लाखौं ऋण गरेर बनाएको घर हुँदो रहेछ। बैंकबाट लिएको ऋणको ब्याजले नै थला पारिसकेको यो समूहका घरबेटीले भाडा लिदै ब्याज बुझाउनु पर्ने जसले गर्दा उनीहरुले चाहेर पनि भाडा छुट गर्न नसक्ने रैछन्।
अर्को थरि घरबेटी जसले भाडा उठाएर आफ्नो जीवन चलाउनु पर्ने यो समूहका घरबेटीलाई त झन् अरुले गाँस कटाएर दिएको भाडाले आफ्नो छाक टार्नु पर्ने बाध्ययता हुने रहेछ। यो समाजमा अर्को यस्तो घरबेटीको पनि समूह छ जहाँ देखाउनलाई उनीहरूसँग केही कुराको पनि कमी छैन तर उनीहरुलाई यस्तो बेलामा अरुको समस्याको वास्ता पनि हुँदैन।
सायद उनीहरुले जीवनमै अभाव भोग्नु नपरेकोले पनि अभाव नबुझेको हुनसक्छ या त हामीले भन्ने खालको मनकारी हुँदैनन्। अनि अर्को समूह जो अहिले समाजको उदाहरणीय व्यक्ति जसले भाडा छुट दिनुको साथसाथै बाँकी भाडा पनि आफूसँग हुँदा मात्र दिनु भनेर बहालवालाको मन जितिरहेका छन्। यो समूहमा आफ्ना घरबेटी कुन समूहका हुन् भन्ने त आफैंले अनुमान लागाउने कुरा हो। के थाहा, कतै घरबेटी नै बहालवालभन्दा बढी समस्याको फन्दामा छन् कि? एक पटक विचार गरौं।
हिजो तरकारी किन्ने ठाउँमा एउटा बहिनीसँग भेट भयो। उनी सधैंभन्दा केही निराश देखिन्थिन्। हाम्रो चिनजान त्यही तरकारी पसलमा तरकारी किन्ने क्रममा नै भएको हो। उसको निराश अनुहारको कारण सोधेँ मैले। मैले अहिले लेखिरहेको विषयभन्दा केही फरक कथा थियो उसको तर प्रसंग उही।
कतिखेर मैले सोध्छु र मनको कुरा खोलुला भनेर बसेकी जस्तैगरी उसले एक सासमा बर्बराउन थाली।
'हेर्नु न दिदी, हिजो तरकारी किन्न जाँदा बाटोमा बुढाले ठट्यौली शैलीमा भन्नुभयो- तिमी त भाग्यमानी रैछौ म जस्तो बुढा पाएर जसको यस्तो बेलामा पनि महिनैपिच्छे स्यालरी त आएको छ। जागिर खुस्केको छैन।'
तर मलाई बुढाको यो ठट्टा पटक्कै मन परेन। उल्टै नरमाइलो लागेर आयो। मन चिसो भयो। आज जिस्किएको कुरा भोलि साँचो भइदियो भने? अस्थाई जागिरमा यस्तो ढुक्क हुन सकिन्छ त दिदी? बुढाको मजाकमा मलाई रिस उठिरह्यो। आजसम्मलाई हेरेर मात्र पनि त हुँदैन। परिस्थिति सुध्रिएको छैन। यो समय अझै पार भएको पनि छैन।
अर्काको हातको जागिर भोलिबाट नआइज भन्यो भने खाने के? बस्ने कहाँ?'
सासै नरोकी सारा दुखाई मसँग पोखी उसले। तर म अब उसको कुरामा के प्रतिक्रिया दिने होला सोच्दै मात्र थिएँ, अगाडि हामी छुट्टिने दोबाटो आइपुगेछ। मेरो मौनता तोड्दै उसैले भनी 'ल दिदी, गएँ म। भोलि पनि यतिखेरै आउनुहुन्छ नि तरकारी किन्न?'
हो भन्दै आफ्नो बाटो मोडिएँ म। उसँग छुट्टिएर घर आइपुगेँ तर मनमा उसले भनेका कुराले डेरा जमाउन भ्याइ सकेछन्।
हुन पनि अहिले त्यो बहिनीको मात्र हैन, उनीहरु जस्ता लाखौं नेपालीको चिन्ताको विषय हो यो। यदि जागिर भएन भने बस्ने कहाँ, खाने के?