सडक विभागको एक अध्ययनअनुसार हाम्रो कुल राष्ट्रिय उत्पादनको ०.८ प्रतिशत क्षति सडक दुर्घटनाका कारण हुन्छ। यो तथ्यांक बर्सेनि उक्लिँदो छ। यसले हामीलाई आर्थिक तथा सामाजिक क्षति पुर्याइरहेको छ।
दुर्घटनाको प्रमुख कारण सवारी चाप बढ्नु हो भनिन्छ। हो पनि, तर लकडाउनमा समेत उल्लेखनीय सवारी दुर्घटना भएकाले सवारी चाप मात्र एकल कारण होइन भन्ने स्पष्ट हुन्छ।
तीव्र गति, मादक पदार्थ सेवन, क्षमताभन्दा बढी यात्रु लगायत कारणको पनि प्रशस्तै चर्चा हुन्छ। यीबाहेक अरू विविध कारणबाट पनि सवारी दुर्घटना हुन्छन् जसको चर्चा निकै कम हुन्छ।
सडक दुर्घटना निर्मूल पार्न असम्भव छ। तर सवारी चलाउने बानीमा सुधार, ट्राफिक नियम पालना, सडक अवस्था राम्रो बनाउने तथा राज्यको नीतिगत तहबाट सुधार गरिने हो भने दुर्घटना जोखिम कम गर्न अवश्य सकिन्छ।
मैले एक मेकानिकल इञ्जिनियर र 'फ्रिल्यान्सर इन्स्योरेन्स सर्भेयर' का रूपमा विगत ३ वर्षमा करिब १५०० दुर्घटनाबाट क्षति पुगेका गाडी अध्ययन गर्ने अवसर पाएँ। यस आधारमा कम चर्चा गरिने सडक दुर्घटनाका कारण र तिनको न्यूनीकरण गर्ने उपाय यहाँ प्रस्तुत गरेको छु।
हाम्रो तर्फबाट हुने कमजोरी तथा सुधारका उपायः
१. राति बालिने हाइ-बिम हेडलाइटः
हामी राति हाइ-बिम हेडलाइट बाल्छौं। कुनै गाडी अगाडि आयो भने लो-बिम गर्दैनौं। हाइ-बिम बालिरहँदा विपरीत दिशाबाट कुनै गाडी आयो भने चालकलाई असजिलो हुन्छ र दुर्घटना सम्भावना हुन्छ। त्यसैले राति विपरीत दिशाबाट गाडी आइरहेको छ भने तुरून्तै लो-बिम गर्नुपर्छ।
२. राजमार्ग तथा मुख्य सडकमा जथाभावी गाडी रोक्नुः
यात्रा गर्दा कतिपय ठाउँमा हामी आफ्नो आवश्यकता अनुसार ठाउँ नहेरी मुख्य सडकमै छेउ लगाएर गाडी रोक्छौं। यस्तो अवस्थामा आफ्नो ठीक पछाडि रहेको गाडीले रोकिरहेको गाडी ओभरटेक गर्न खोज्छ। विपरीत दिशाबाट गाडी आइराखेको भए ठोक्किने सम्भावना हुन्छ। त्यसैले गाडी मुख्य सडक नछोपिने गरी खुला ठाउँमा रोक्नुपर्छ।
३. अस्पष्ट ट्राफिक संकेतः
चलनचल्तीका केही ट्राफिक संकेत स्पष्ट नभएका कारण पनि दुर्घटना जोखिम बढेको पाइन्छ। जस्तो, राजमार्गमा आफूभन्दा पछाडिको गाडीलाई साइड दिँदा दायाँ साइड लाइट बालिन्छ। आफू दायाँतर्फ मोडिँदा पनि दाँया साइड लाइट नै बालिन्छ। यसले चालकहरू झुक्किएर दुर्घटना भएका थुप्रै उदाहरण छन्।
यस सम्बन्धमा ट्राफिक प्रहरीले सूचना जारी गरिसकेको भए पनि प्रभावकारी कार्यान्वयन भएको छैन। यस्ता समस्यामा सम्बन्धित निकायले धेरैभन्दा धेरै जानकारी फैलाउन अत्यन्त जरूरी छ। अनि हामीले पनि अगाडिको भाग खुला नहुन्जेल ओभरटेक गर्नुहुँदैन।
४. ब्याक-लाइट तथा लुकिङ ग्लासको अवस्थाः
सवारी पार्किङ गर्दा पछाडिको भाग ठोक्किने सम्भावना अधिक हुन्छ। यस कारण सबभन्दा क्षति ब्याक-लाइटहरूमै हुन्छ। यसरी क्षति भएका ब्याक-लाइट अधिकांश व्यवसायिक सवारीले मर्मत नगरी चलाइरहेका हुन्छन्। यसले गर्दा टर्न सिग्नल हुँदैन र थुप्रै दुर्घटना हुन्छन्।
त्यसैगरी प्रायः दुईपाङ्ग्रे चालकले लुकिङ ग्लास नहेरी चलाउँदा पनि थुप्रै दुर्घटना भएका छन्। यी लाइट चालु अवस्थामा राख्दा र लुकिङ ग्लास प्रयोग गर्दा दुर्घटना जोखिम घटाउन सकिन्छ।
५. सामान्य हेल्चेक्रर्याइँः
गाडी चलाएकै बेला मोबाइल चलाउने, पानी पिउने, फलफूल खाने जस्ता साना हेल्चेक्रर्याइँबाट पनि गम्भीर दुर्घटना भएका धेरै उदाहरण हामीले भेटेका छौं। यस्ता लापरबाहीबाट आफूलाई जोगाउनु पर्छ।
६. मोड र घुम्तीमा हर्नः
सहरी गल्लीका साँघुरा मोडमा हर्न बजाउन नपाउँदा विपरीत दिशाबाट गाडी आएको जानकारी हुँदैन र मोडमा ठोक्किने सम्भावना हुन्छ। आफू त्यस्ता मोडमा पुगेपछि आफ्नो छेउ च्यापेर गति कम गरेर विस्तारै चलाउनु पर्छ।
विशेषगरी पहाडी बाटा साँघुरा र धेरै मोड भएकाले विपरीत दिशाबाट आएको गाडीसँग ठोक्किएर थुप्रै दुर्घटना हुन्छन्। मोडहरूमा हर्न बजाएर आइरहेको गाडीलाई सचेत गराउनाले दुर्घटना जोखिम कम गर्न सकिन्छ।
सडकको दुरावस्थाः
१. मेटिएका लेन धर्काहरूः
सडक बीच तथा छेउमा भएका धर्काहरू मेटिँदा र पुनः कालोपत्रे गरिसकेपछि धर्का बनाउन बाँकी छाड्दा चालकलाई लेनको स्थान अन्दाज गर्न गाह्रो हुन्छ। यसले पनि दुर्घटना जोखिम बढाउँछ। सडक विभागले अवस्था हेरेर समय-समयमा धर्काहरू बनाउन जरूरी छ।
त्यसैगरी सडक संकेतहरूले चालकलाई बाटोको दिशा दिने भएकाले दुर्घटना जोखिम न्यूनीकरणका लागि महत्वपूर्ण हुन्छन्। श्रोतले भ्याएसम्म दुर्घटना जोखिमपूर्ण ठाउँमा विभागले संकेतहरू राख्नुपर्छ।
२. सडकका खाल्डाहरूः
हाम्रा राजमार्ग सडकका किनार र बीचमा विभिन्न कारणले खाल्डो परेको प्रशस्तै भेटिन्छ। यस कारण पनि धेरै दुर्घटना हुन्छ। खाडल समयमै मर्मत गरिनुपर्छ।
३. सहरी इलाकामा चल्ने साइकल तथा पैदल यात्रीहरूः
राजमार्ग वरिपरिका मुख्य सहर र साना बजारमा साइकल र पैदल यात्रीको बाक्लो उपस्थिति हुन्छ। यी स्थानमा राजमार्ग वरिपरि सहायक सडक नभएकाले साइकल तथा पैदलयात्री राजमार्गबाटै हिँड्छन् र दुर्घटना जोखिम धेरै हुन्छ। राजमार्गबाट लामो दुरीका सवारीलाई असर नपर्ने गरी यथाशीघ्र सहायक सडक निर्माण गर्नुपर्छ।
४. सडक मर्मत क्रममा हुने लापरबाहीः
सडक मर्मत क्रममा उक्त स्थानमा संकेत तथा चिह्न नराख्ने, निर्माण सामग्री यत्रतत्र छर्ने कारणले पनि धेरै दुर्घटना हुन्छ। मर्मतमा प्रयोग हुने सानो गिटीमा ब्रेक हान्दा चिप्लिने, कुनै चिह्न नराखिएकाले मर्मतका लागि तयार पारिएका खाल्डोमा गाडी पर्ने लगायत कारणले दुर्घटना हुने भएकाले विभागले सडक मर्मत गर्दा सुरक्षा प्रोटोकल बनाएर लागू गर्नुपर्छ।
नीतिगत सुधारः
क. गाडीको वर्गीकरणअनुसार नीति कार्यान्वयन नहुनुः
विशेषगरी निर्माण काममा प्रयोग हुने सवारी, कृषिजन्य सवारी र लामो ट्रली भएका ग्यास बुलेट लगायत सम्बन्धमा छुट्टै मापदण्ड आवश्यक छ। यस प्रकारका गाडीको आकार अरूभन्दा ठूलो हुने भएकाले चलाउँदा ब्लाइन्ड स्पट (गाडीबाट नदेखिने ठाउँ) धेरै हुन्छ। दुर्घटना भएमा यसले अरू गाडीमा ठूलो क्षति पुर्याउँछ। यस प्रकारका सवारीका लागि विशेष व्यवस्था जरूरी देखिन्छ।
१. राति समान बोकेका ट्रयाक्टरको ट्रली नदेखिने र त्यसैमा ठोक्किएर धेरै दुर्घटना हुने गरेकाले ट्रली पछाडि अनिवार्य रिफ्लेक्टर तथा साइड लाइट जडान गर्नुपर्छ।
२. निर्माणजन्य सामग्री ओसारपसार गर्ने टिपर लगायत गाडीको खुला ट्रेलरबाट सामग्री उछिट्टिएर अरू गाडीमा क्षति भएको र दुर्घटना निम्तिएका प्रशस्त उदाहरण भेट्न सकिन्छ। त्यसैले सामान ढुवानी गर्दा निर्माण सामग्री नउछिट्टिने गरी अनिवार्य ढाक्ने व्यवस्था लागू गरिनुपर्छ।
३. टिपरका सम्बन्धमा तीव्र गति पनि दुर्घटनाको मुख्य कारण हो। यसको अधिकतम गति निर्धारण गरी लागू गराउने।
४. यस प्रकारका गाडीलाई छुट्टै समय तोकेर (ट्राफिक चाप कम हुने समय) बाटो इजाजतपत्र जारी गर्न सकिन्छ।
५. ट्रलीभन्दा लामा सामग्री, जस्तै काठको मुढा, फलामको सरिया ढुवानी गर्दा रातको समयमा नदेखिने वा ब्याक-लाइटभन्दा पछाडि सामग्री पर्ने हुनाले झुक्किएर पनि दुर्घटना हुन्छ। ट्रलीभन्दा लामो वस्तु राखेर राति ढुवानी गर्न नपाइने नियम बनाएर लागू गरिनुपर्छ।
ख. गाडीको बढी ग्राउन्ड क्लियरेन्स र कम रोल स्टाबिलिटीः
नेपालमा ग्राउन्ड क्लियरेन्स (सडक र गाडीको पिँधबीचको दुरी) बढी भएका साना सवारी लोकप्रिय छन्। ग्राउन्ड क्लियरेन्स बढी भएका गाडीको रोल स्टाबिलिटी कम हुन्छ अर्थात् जति धेरै ग्राउन्ड क्लियरेन्स, गतिमा भएका बेला घुम्तीमा गाडी पल्टिने सम्भावना उति ज्यादा हुन्छ।
गाडी अनियन्त्रित भएर दुर्घटना भयो भन्नुको एक प्रमुख कारण यही हो। त्यसैले ग्राउन्ड क्लियरेन्स अनुसार गाडी वर्गीकरण गरी अधिकतम गति निर्धारण तथा निगरानी गर्न सके साना सवारी दुर्घटना कम हुन्छ।
ग. सवारी जाँचपास प्रभावकारी नहुनुः
यातायात व्यवस्था विभागको वर्तमान प्रावधान अनुसार वर्षमा एकपटक वारी जाँचपास गराउनु पर्छ। हाल यो प्रावधानले मूलतः गाडीको प्रदूषण मात्रै मापन गर्छ र मेकानिकल अवस्था मूल्यांकन गर्दैन। गाडी राम्रो अवस्थामा नभएकाले धेरै दुर्घटना हुन्छ। यस सम्बन्धमा निम्न व्यवस्था गर्न सकिन्छः
१. सरकारले गाडीको मेकानिकल जाँच सम्बन्धी छुट्टै कार्यविधि तथा मापदण्ड बनाउने।
२. मूलतः ब्रेक, स्टेरिङ, एक्सल र सस्पेन्सन फेलियरका कारण धेरै दुर्घटना हुन्छन्। यी र अन्य मेकानिकल पाटपूर्जा जाँच गर्ने वैज्ञानिक विधि तय गरेर बढीभन्दा बढी सवारी जाँच केन्द्र निर्माण गर्ने। साथै सवारी जाँच व्यवस्था सर्वसुलभ गर्ने र मापदण्ड पुर्याएका निजी संस्थालाई पनि 'भेइकल फिटनेस सेन्टर' सञ्चालन अनुमति दिने।
३. गाडी प्रयोग, कुदेको किलोमिटर र समय अवधिका आधारमा निश्चित समयमा अनिवार्य सवारी जाँच व्यवस्था गर्ने तथा कडाइका साथ पालना गर्ने।
४. सरकारले केन्द्रीय सफ्टवेयर प्रणाली अन्तर्गत सम्पूर्ण तथ्यांक अद्यावधिक गर्ने।
५. ठूला दुर्घटना भएका सवारी सामान्य मर्मतपछि बिक्री-वितरण र प्रयोग भइरहेका छन्। कुनै गाडी एकपटक दुर्घटना भइसकेपछि यसका विवरण राख्नु पर्छ। र मर्मत भएपछि जाँचपास गरेर मात्रै बिक्री-वितरण तथा प्रयोग खुला गर्नुपर्छ।
घ.सवारी चालक र दुर्घटनाको केन्द्रिकृत विवरण नहुनुः
दुर्घटनामा परेपछि चालक र दुर्घटनाको विवरण राज्यको केन्द्रिकृत प्रणालीमा रहँदैन। यसलाई सफ्टवेयर प्रणालीमा केन्द्रिकृत गरेको खण्डमा चालक अनुसार दुर्घटना जोखिम मूल्यांकन गर्न सकिन्छ। त्यसैगरी सवारी बिमा गर्दा सोही ड्राइभिङ अभिलेखका आधारमा बिमा रकममा छुट गर्न सकिन्छ। साथै बिमालेखमा घोषित चालक बाहेक अन्यले चलाइराखेको अवस्थामा दुर्घटना हुँदा सो चालकको ड्राइभिङ अभिलेख अनुसार बिमा दाबीबाट प्राप्त हुने रकममा काटिने रकम निर्धारण गर्न सकिन्छ।
ङ. ट्राफिक जरिवाना कम हुनुः
ट्राफिक जरिवाना कम भएकाले पनि सवारी चालकले लेन अनुशासन पालना नगर्ने लगायत विभिन्न लापरबाही गरेको पाइन्छ। ट्राफिकले समातेमा पैसा कमाउन गरेको लगायत गालीमा उत्रिएका प्रशस्तै उदाहरण पाउँछौं। तसर्थ ट्राफिक जरिवाना बढाएर सो रकम सडक सुधार कोष वा त्यस्तै निकायमा जम्मा गरी सडक सुधारमा प्रयोग गर्न सके सकारात्मक सन्देश जान्छ तथा चालक स्वयम् सचेत भई दुर्घटना जोखिम कम हुन सक्छ।
च. लिखित लाइसेन्स परीक्षा प्रभावकारी नहुनुः
हालको प्रणाली अन्तर्गत लाइसेन्स परीक्षामा सोधिएका ट्राफिक संकेत र चिह्नबारे ५० प्रतिशत मात्रै मिलाएको खण्डमा पास भइन्छ। यो अव्यवहारिक छ। यो परीक्षाको दायरा बढाएर कम्तिमा ९० प्रतिशत मिलाउँदा मात्र पास हुने प्रावधान राखेमा ट्राफिक नियम र संकेत तथा चिह्नबारे प्रष्ट हुन्छ। यसले दुर्घटना जोखिम कम गराउँछ।