विद्यार्थीको सिकाइलाई मापन गर्न परीक्षा आवश्यक छ। किनभने राम्रो ग्रेड र अंक प्राप्त गर्न विद्यार्थीहरु परीक्षा अगाडि तत्परताका साथ पढाइमा लाग्ने गर्दछन्। यसका साथै विद्यार्थीले हासिल गरेको ज्ञानको परीक्षण र मूल्यांकनका लागि पनि परीक्षा आवश्यक छ।
त्यसकारण परीक्षालाई हामी नकार्न पनि सक्दैनौँ न त हटाउने सक्छौँ। तर अन्तिम मूल्यांकन गर्नका लागि तीन/चार घण्टे लिखित परीक्षा नै आवश्यक हुन्छ भन्ने जरुरी नहुन सक्छ। अन्तिम परीक्षाका आधारमा विद्यार्थीको दक्षता परीक्षण गर्नुपर्ने बाध्यतालाई सेमेष्टर प्रणालीले थोरै भएपनि कम गरिदिएको छ।
परीक्षाको कर्मले शिक्षकको धर्म पनि जोगाएको हुनसक्छ। किनभने आफूले सिकाउँदै गरेका विद्यार्थीले राम्रो नतिजा ल्याउन सकुन् भन्ने प्रेरणाले शिक्षकको सिकाइ पद्धतिलाई अझ मजबुत पार्छ र शिक्षकलाई जवाफदेहीताको धर्म पनि सिकाउने गर्दछ।
विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई र प्राध्यापकहरुलाई पनि यही सिद्धान्त लागू भएको देख्न पाइन्छ। तर पनि परीक्षा सुरु हुनुअघिका अन्तिम घडी विद्यार्थीका लागि निकै कष्टकर भएको देख्न पाइन्छ। अघिल्लो दिन मध्यरातसम्म परीक्षाको तयारी गरेर बसेको एउटा विद्यार्थीले वर्षको सुरुआतदेखिका पाठहरू छिचोल्न गरेको प्रयास हेर्दा निकै तनावपूर्ण देखिन्छ र तनाव हुन्छ पनि। सबै विद्यार्थी यसरी नै बसेका हुनसक्छन् भन्ने होइन तर प्रायः विद्यार्थीको कथा यही नै हो।
यही किसिमको परम्परागत परीक्षा प्रणालीलाई नै निरन्तरता दिनु वैज्ञानिक नहुन सक्छ। परीक्षाको केही समय अगाडिका अवस्थाले विद्यार्थीको भविष्य र समग्र जीवनलाई नै प्रभाव पार्ने गरेको छ। विद्यार्थीका आपतकालीन अवस्था, शारीरिक कठिनाइ, कठिनाइ र शारीरिक अवस्थाका कारण शिक्षक र विद्यार्थीको वर्षभरीको मेहनत र परिश्रम व्यर्थ सावित हुन्छ। यस्तै कारणले गर्दा कैयौं विद्यार्थीले आफ्नो जीवनसमेत टुंग्याउन पुगेका छन्।
यही तीन/चार घण्टे परीक्षालाई परिमार्जन गरेर लैजाने हो भने, विद्यार्थीको एकमुष्ठ तनावलाई हामी विभाजित गर्न सक्छौँ जुन कम पीडादायी हुनसक्छ र बढी प्रतिफल दिने खालको हुन्छ।
विद्यार्थीले गरेका कक्षा कार्य, गृहकार्य, विभिन्न समयमा लिएका वर्ग परीक्षण (क्लास टेस्ट), परियोजना कार्य, असाइन्मेन्ट, आंकलनहरु, व्यवहारिक परिवर्तन, मौखिक प्रश्न उत्तर, प्रस्तुतीकरणहरु, व्यक्तिगत विकास योजनाहरु, प्रामाणिक चुनौतीहरु, वास्तविक जीवन कार्यहरु, समस्या समाधान गर्ने कौशल, इत्यादिका आधारमा विद्यार्थीको परीक्षाफल प्रकाशित गर्न सकिन्न र?
यदि सकिन्छ भने लकडाउनकै कारण दर्शाएर विद्यार्थीका परीक्षा रोक्नु पर्ने आवश्यकता किन? विश्वविद्यालयहरुका लागि यी विभिन्न आधारहरु प्रशस्त हुनुपर्ने हो। एसइई र कक्षा ११ को परीक्षा नलिइकनै विद्यार्थीहरुलाई स्तरोन्नती गरियो। आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशित गर्ने भनियो। त्रैमासिक परीक्षाको केही प्रतिशत र २५ पूर्णाङ्कको व्यवहारिक अंकभन्दा, माथिका आधारहरूमा मूल्यांकन वैज्ञानिक हुन्छ कि भन्ने मेरो तर्क हो।
अनि कक्षा १२ र विश्वविद्यालयअन्तर्गतका स्नातक र स्नातकोत्तर तहका परीक्षाको अन्योलता कहिलेसम्म? प्रशस्त आधारहरु भएको अवस्थामा ती विद्यार्थीहरूको मूल्यांकन गर्न ढिलो नगर्नु नै उचित होला। किनभने चैत्र ७, २०७६ बाट स्नातकोत्तर दोस्रो सेमेष्टरको परीक्षा तोकिएको अवस्थामा चार महिना बितिसकेको छ।
२०७७ भदौमा तेस्रो सेमेस्टरको परीक्षा दिनुपर्ने ती विद्यार्थीहरूको पढाईलाई निरन्तरता दिन सकिन्थ्यो। बितेको समयलाई खेर त फालियो अब रहेको समयलाई सदुपयोग गर्नैपर्छ जस्तो लाग्छ मलाई। यो त एउटा उदाहरण मात्र हो, अन्य विभिन्न तहका विद्यार्थीहरूको अन्योलता पनि यस्तै रहेको छ।
विद्यार्थीहरूको शैक्षिक सत्र नै बिग्रिने गरि अल्मल्याएर राख्नु उचित कुरा हो भन्ने मान्यता कसैको पनि हुँदैन। तर यसको समाधान के त? तीन घण्टाको परीक्षा मार्फत नै विद्यार्थीको प्रगतिको बारेमा निर्णय लिन सकिन्छ भन्ने परम्परागत मान्यतालाई पहिला त्याग्नु पर्छ होला।
विद्यार्थीहरुले आफ्नो नतिजाका आधारमा नै भविष्यको योजना निश्चय गर्दछन् किनभने भविष्यको योजनाका आधारमा पढाइ समेत निश्चय गर्न नसक्ने अवस्था पहुँच र आर्थिक अवस्थाले गरेको पाइन्छ, नतिजा त धेरै टाढाको कुरा हो। त्यसकारण परीक्षा परिषद, बोर्ड र शिक्षा मन्त्रालय जस्ता निकायहरुले कसरी अगाडि बढ्ने भन्ने कुरा निर्धारण गर्नुपूर्व धेरै महत्वपूर्ण प्रश्नहरु सम्बोधन गर्नु आवश्यक छ।
विभिन्न कारणवश परीक्षा स्थगित गरि, लामो समयपश्चात कुन आधारमा परीक्षा स्थान, परीक्षाको प्रकार, पारदर्शिता, र निष्पक्षताको संरक्षण गर्न सकिन्छ? यदि परीक्षा अनलाइन सञ्चालन गर्ने हो भने सबै विद्यार्थीको पहुँचमा कसरी पुर्याउने, दुर्गम वा ग्रामीण भेगमा रहेका विद्यार्थीहरुले कसरी इन्टरनेटको सुविधा प्राप्त गर्न सक्छन् र इन्टरनेटमा परीक्षा दिने तरिकाका बारेमा कहाँबाट बुझ्न र सिक्न सक्छन् भन्ने कुरा निश्चय गर्नु आवश्यक छ।
साथै, त्यस्तो नयाँ ढाँचामा परीक्षा सञ्चालन गर्न गराउन सम्बन्धित सबैलाई अहिलेको ढिला भइसकेको अवस्थामा कसरी संभव हुनसक्छ भन्ने कुरा पनि सोच्ने पर्ने हुन्छ। यस्का अलावा विद्यार्थी र शिक्षकलाई संसाधनहरू उचित तथा प्रभावकारी संचार र त्यसको मूल्यका बारेमा पनि जानकारी दिएर मनाउन सक्ने समय र अवस्था हुनुपर्छ।
मार्च ३१ विश्व बैंकको ब्लग मा राखिएको जानकारी अनुसार यूकेमा छैठौं वर्षका मेडिकल कलेजका विद्यार्थीहरुले कोरोनाकै कारण पहिलोपल्ट अनलाइन परीक्षा दिएका थिए। प्रश्नपत्र र समय यसरी तयारी गरिएको थियो कि उनीहरुसँग विषयको पर्याप्त ज्ञान नभएको खण्डमा नेटबाटै जानकारी खोजेर उत्तर लेख्न समय पनि पर्याप्त थिएन र परीक्षा राम्रो हुन पनि सम्भव थिएन। उनीहरुले तीन घण्टाको समयमा १५० वटा प्रश्नहरूको उत्तर दिनुपर्ने थियो।
वस्तुपरक प्रश्नपत्र निर्माण गरेर ब्राउजरमा फ्ल्याश प्लगिन प्रयोग गरि अनलाइन परीक्षा लिन सकिन्छ। तर समय निकै बितिसकेको हुनाले यसको तयारीमा जुट्दा अझ ढिलाई हुन सक्छ र विद्यार्थीहरूको शैक्षिक सत्र अझ पछाडि धकेलिन सक्छ।
त्यस्तै संयुक्त राज्य अमेरिकामा प्रायः विश्वविद्यालयहरूले प्रवेश प्रक्रियामा प्रयोग हुने स्याट (एसएटी) परीक्षा नै रद्द गरेर नयाँ प्रवेश मापदण्ड समायोजन गर्दै छन्। साथै अन्तर्राष्ट्रिय स्नातक परीक्षाहरु विद्यार्थीको कोर्स् वर्क र स्थापित मूल्यांकनका आधारमा लिइँदैछ।
भारतको महाराष्ट्र सरकारले शुक्रबार २० जुन २०२० मा, कोरोना भाइरस महामारीकै कारण पेशागत पाठ्याक्रमहरूको अन्तिम वर्ष सेमेस्टर परीक्षा नलिने निर्णय गरेको थियो। त्यहाँको राज्य सरकारले विश्वविद्यालयले निर्णय गरेको सूत्रका आधारमा डिग्री दिने निर्णय गरेको थियो।
यदि केही विद्यार्थीहरु अन्तिम वर्षको परीक्षा लिखित रुपमा दिन चाहन्छन् भने, विश्वविद्यालयलाई निवेदन लेखेर परीक्षा दिन सकिने व्यवस्था मिलाइएको छ तर परीक्षा दिनका लागि, कोभिड-१९ को अवस्था साम्य भएको हुनुपर्ने भनिएको छ।
ग्रेड वृद्धि गर्न चाहनेले पुनः परीक्षा दिने प्रणाली सहित, अन्य माथि भनिएका आधारहरूमा विद्यार्थीहरुलाई डिग्री दिन वा सेमेस्टर अपग्रेड गर्न नेपालमा पनि सकिन्छ कि?
कोरोना भाइरसका महामारीकै बीचमा पनि दक्षिण कोरियाले १३९ भन्दा बढी रोजगार खोज्नेहरूको परीक्षा ५ मिटरको सामाजिक दूरी कायम गरी एउटा फुटबल मैदानमा लिएको थियो। खेल मैदानमै परीक्षा गर्नु, गराउनु पर्छ भन्ने जरुरी छैन, ठूला खालका खुल्ला स्थानमा पनि व्यवस्थित तरिकाले परीक्षा लिन सकिन्छ। तर प्राय सबैजसो विद्यार्थीहरु आफ्ना घर गाउँतर्फ लागिसकेको आवस्थामा 'अन्शान वा स्टेडियम' मा राखिएको जस्तो परीक्षा अहिले सम्भव नहुन सक्छ।
त्यसकारण अगाडि विद्यार्थीले गरेका कक्षा कार्य, गृहकार्य, विभिन्न समयमा लिएका वर्ग परीक्षण (क्लास टेस्ट), परियोजना कार्य, असाईन्मेन्ट, आंकलनहरु, व्यवहारिक परिवर्तन, मौखिक प्रश्न उत्तर, प्रस्तुतीकरणहरु, व्यक्तिगत विकास योजनाहरु, प्रामाणिक चुनौतीहरु, वास्तविक जीवन कार्यहरु, समस्या समाधान गर्ने कौशल, इत्यादिका आधारहरुलाई केन्द्रबिन्दु बनाएर, विद्यार्थीहरुलाई माथिल्लो लेभलमा अपग्रेड गरिनुपर्छ, भन्ने मेरो धारणा हो।
साथै परीक्षा दिन चाहने विद्यार्थीहरुले निवेदन दिएर महामारी शान्त भएपछि दिन पाउने व्यवस्था मिलाउने अहिलेका लागि राम्रो विकल्प हुन सक्ला।
परम्परागत परीक्षा प्रणालीलाई परिमार्जन गर्नका लागि यो उपयुक्त समय पनि हुन सक्दछ। यसलाई अवसरका रुपमा लिएर परीक्षाको ढाँचा परिवर्तन गर्ने हो भने, नेपालको शिक्षा प्रणाली र परीक्षा प्रणाली एउटा नयाँ उदाहरणसहित नयाँ थालनीको अग्रजका रूपमा परिचित हुन सक्छ भन्ने विस्वास म राख्दछु।