क्षतविक्षत डाँडाकाँडाहरु, लय गुमाएका नदीनालाहरु, उजाड वनपाखाहरु। सम्पदा रित्तिँदै छन्, डाँडाहरु भत्किँदै छन्, बनजंगल मासिँदै छन्। नदीनालामा पानीसँगै ढुंगा र बालुवा होइन, माटोको लेदो बग्न थालेको छ। वर्षामा सिंगै डाँडो भत्काउने सामर्थ्य राख्ने खहरेहरु हिँउँदमा सुख्खा भएर खानेपानीकै हाहाकार हुन थालेको छ।
डाँडाकाँडा, गाउँघर सबैतिर डोजर कुँद्ने क्रियालाई विकास भन्न थालिएको छ। कुन डाँडो वा कुन पाखो कोपर्ने, कता-कता कोपर्ने र कति कोपर्ने भन्ने निर्णय विज्ञ प्राविधिकले होइन, डोजर चलाउने चालकले गर्न थालेको छ। वातावरणीय प्रभाव मूल्यांकनको कुरा केबल कानुनी श्रृंगार बन्न पुगेको छ। प्रत्येक घरमा खाने चिज छ छैन थाहा छैन, तर घरलाई छुने गरि बाटो भने चाहिएको छ। घरको आँगनसम्म बाटो पुर्याउन पाएपछि सबै कुरा प्राप्ति भएको महशुस गर्न थालिएको छ।
यसैको परिणाम स्वरुप पहाडहरु भत्कने, तराई मधेशको समथर भूभाग पुरिने र डुब्ने अनि त्यसैमा परेर जनधनको अपूरणीय क्षति हुने पीडाले सिंगै मुलुक आक्रान्त हुने गरेको छ। तर यस्ता पीडादायी घटनाहरुका प्रतिको छटपटी प्रत्येक वर्षा सुरु भएसँगै प्रारम्भ हुने र वर्षा रोकिएसँगै अन्त्य हुने उपक्रम पनि वर्षौंदेखि अविश्राम चलिरहेकै छ।
खुला ठाउँ मासेर गगनचुम्बी टावर वा व्यापारिक मल वा त्यस्तै कुनै कंक्रिटको पहाड ठड्याउने हुटहुटीले सबैलाई गाँजेको छ। पूर्खाले छाडेर गएको विशाल टुंडिखेल टुक्रिँदै गएर साँघुरो भएको छ। खुलामञ्च व्यापारिक कम्प्लेक्समा रुपान्तरित भएको छ। सुन्धाराको मौलिकता धरहरा जीवित हुँदै थिल्थिलो भैसकेको थियो, नयाँ धरहरा बनाउने नाउँमा अहिले त्यो पूरै क्षेत्रको मौलिकता विसर्जन उन्मुख भएको छ।
काठमाडौं उपत्यकाको जीवनधमनीका रुपमा रहेका गोदावरी, गोकर्ण, चन्द्रागिरि, नागार्जुन, शिवपुरी लगायतका स्थानहरुमा अब जंगल होइन, व्यापारिक साम्राज्य फैलिएको छ। संघीय सरकारको मुख्यालय सिंहदरबार, सैनिक मुख्यालय भद्रकाली, प्रहरी मुख्यालय नक्साल लगायतका अति संवेदनशील क्षेत्रलाई बाहिरबाट सजिलै चियाउन मिल्ने गरी ठडिँदै गएका निजी अग्ला भवनहरुमा हाम्रो निरिहता छताछुल्ल भएर पोखिएको छ।
मान्छेको मनभित्र गहिरोसँग टाँस्सिएर रहेका मूल्य, मान्यता, आस्था, विश्वास, जात्रा, पर्व, परम्परा, कला र संस्कृतिप्रतिको अनुराग आधुनिक विकासका अभियन्ताहरुको अट्टहासभित्र दबिन पुगेको छ। भूमि व्यवस्थापनको विस्तारित क्षेत्राधिकारभित्र गुठी सम्पदा टाक्सिन पुगेको छ। त्यसैले त खोकना-बुङमती आफ्नो संस्कृति जोगाउन उद्वेलित हुँदा अरु सबै रमिते भएर बस्ने अवस्था सीर्जित भएको छ।
देवघाट क्षेत्रको पवित्रतामाथि धेरै पहिले नै स्वास्थ्य व्यापारका मालिकहरुले धावा बोलिसकेका थिए, त्यो उपक्रम भिन्न नाउँ र ठाउँमा निरन्तर चलिरहेकै छ। फेवाताललाई चारैतिरबाट घेराबन्दीमा पारेर पर्यटन प्रवर्द्धनका नायक भनिएकाहरु नै त्यसको अस्मिता लुट्न उद्यत भएझैं देखिएको छ। रारा तालमा त्यही खेल सुरु भैसकेको छ। खप्तड क्षेत्र पनि त्यही उपक्रमको पर्खाईमा छ।
विश्व सम्पदा सूचीमा परेका धरोहरहरुमा हुने अतिक्रमणका विरुद्धमा आवाज मुखरित गर्न हामी होइन, सात समुद्रपारिको युनेस्को अघि सर्नु पर्छ। सिरुबारी, सराङकोट, घान्द्रुक, बन्दिपुर, काउलेपानी, घले गाउँ, भुजुङ्ग, वारपाक, टुकुचे, मार्फा, ल्होमान्थाङ, चित्लाङ, भेडेटार, नाम्जे गाउँ, श्रीअन्तु जस्ता अनगिन्ती स्थानहरुलाई नियालेर हेरौं त, त्यहाँ प्रकृति, परम्परा र संस्कृतिको बेजोड संगम भेटिन्छ।
तर यतिखेर ती सबैमा अर्कै भोक जागेको छ, आफ्नो स्थानीय मौलिकता होइन, विदेशी परिकारको मेनु पस्किँदा उनीहरुलाई प्रसन्नता हुन थालेको छ।
देश भनेको भूगोल मात्रै होइन, जनता, उनीहरुको रहनसहन, भाषा, धर्म, चाडपर्व, जात्रा, कला, संस्कृति, परम्परा र इतिहास पनि हुन् भन्ने नबुझेसम्म, विकास क्षणिक रुपमा देखिने तामझाम होइन, दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्ने दिगो प्रकृया हो भन्ने नजान्दासम्म, विकास जनताको मन जित्ने, जनताको मनको भित्री कुनादेखिको सहभागितापूर्ण यत्न हो भन्ने नठम्याउँदासम्म त्यहाँ साँचो अर्थमा विकास हुन सक्दैन।
हामीसँग देशको मूल कानुनका रुपमा जनता स्वयंले बनाएको संविधान छ, त्यसैसँग संगति कायम हुने गरी बनाइएका अनगिन्ती ऐन, नियमहरु पनि छन्। तर हामीले के बुझ्नु जरुरी छ भने संविधान र कानुनहरु कागजका खोष्टा होइनन्, राष्ट्रिय प्रतिज्ञा हुन्। तिनले अधिकार मात्र दिँदैनन्, कर्तव्य पनि खोज्दछन्।
ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र विकासको संवैधानिक वाचा खोकना-बुङमतीमा देखिनु पर्दैन? मुक्तिनाथ र स्वर्गद्वारीमा झुल्किनु पर्दैन? टुंडिखेल, रानीपोखरी, सुन्धारामा अनुदित हुनु पर्दैन? राष्ट्रिय हित अनुकूल तथा अन्तरपुस्ता समन्यायको मान्यतालाई आत्मसात् गर्दै देशमा उपलब्ध प्राकृतिक स्रोत साधनको संरक्षण, संवर्धन र वातावरण मैत्री दिगो उपयोग र त्यसका प्रतिफलहरुको न्यायोचित वितरण गर्ने अर्को संवैधानिक प्रबन्ध गोदावरी, चन्द्रागिरी, नागार्जुन, शिवपुरी र गोकर्णमा प्रतिविम्वित हुनु पर्दैन?
त्यसले चुरे दोहनलाई रोक्ने सामर्थ्य राख्नु पर्दैन? राज्यको जिम्मेवार तहमा बसेकाहरुलाई फेवाताल, राराताल, खप्तडले भोगेको पीडाले दुख्नु पर्दैन? देशैभरीका फाँट र टारहरुमा पसेको विकासे लहरलाई खोकना-बुङमती विद्रोहले पाठ सिकाउनु पर्दैन? के हामी गजधम्म उभिने संरचनामा मात्र विकास देख्ने उत्कण्ठा पालेरै बसेका हौँ? के हामी पुराना कुरा सबै असान्दर्भिक हुन् भन्ने भाष्य स्थापित गर्न आतुर छौं?
के हामी विविधतापूर्ण एकतामा रमाउने विगतलाई बिर्सन उत्प्रेरित छौँ? के हामी उकालो चढ्न होइन ओरालो झर्न अभिसप्त छौँ? के हामी साँच्चिकै भत्किन र बिग्रन लालायित छौँ? यदि होइन भने, विकसित देसहरुले विकासको नाममा गरेका क्रियाकलापबाट उत्पन्न दुष्प्रभावलाई मध्यनजर गरि उनीहरु स्वयंले नै अर्को बाटो समात्न थालिसकेको बेलामा हामी भने तिनै असफल मोडललाई आफ्नो सर्वोत्तम अनि निर्विकल्प बाटो मानेर अघि बढ्न खोज्ने प्रवृत्तिमा बिराम लगाउन ढिलो भै सकेन?
हामीसँग सांस्कृतिक वैभवले भरिपूर्ण ठाउँहरु अनगिन्ती छन्, तर किन कुनै एउटा मात्र ठाउँलाई पनि हामीले सांस्कृतिक गाउँ वा सहर भनेर देखाउन, चिनाउन र उसकै मौलिक स्वरुपमा कायम राख्न सकेनौँ? त्यस अवस्थाले हामीलाई लज्जाबोध हुनु पर्दैन ?
यतिखेर भन्न थालिएको छ- नेपालीहरु आफ्नो काम बाहेक बाँकी सबैको कामका बारेमा जानकार छन् । आफ्नो कर्तब्य बाहेक बाँकी सबैको कर्तब्यका बारेमा सचेत छन् । यस्तो कथ्यलाई अब धेरै दिनसम्म कायम रहन दिनु हुँदैन । त्यसका लागि हाम्रो विकासको मोडलले देखाएको विद्रुप तस्बिरलाई मिल्काएर अर्को सुन्दर नक्सा कोर्न ढिला भैसकेको छ ।
वर्षा याममा गर्ल्यामगुर्लुम ढल्न थालेका पहाडहरु, उद्दाम उर्लिएका खहरेहरु, अतिशय दोहनको चपेटामा परेका नदीनालाहरु, भत्किने र पुरिने उपक्रमबाट गिजोलिएका सडक बाटाहरु, हरियालीशून्य सुक्खा पहाड झैं उजाडिएको चुरे अनि अतिक्रमित हुँदै गएर अस्तित्व जोगाउने सकसमा रहेका वन जंगलहरु, वर्षेनी पुरिने र डुब्ने नियतीमा बाँच्दै आएको तराई मधेश, आफ्नो प्राकृतिक लालित्य गुमाउँदै गएका तालहरु, मौलिक कला, पर्व, संस्कृति, रहनसहन र परम्परासँग रमाउन छाडेका पर्यटकीय गन्तव्य स्थलहरु, खोकना-बुङमतीका उच्छ्वास अनि गुठी अभियानले दिएको सन्देश नै हाम्रो विकासको आधारभूमि हो ।
त्यसैको आलोकमा हामीले अबको विकासको मार्गचित्र कोर्नु पर्छ र त्यसै अनुरुप हामीले विकासलाई हाम्रै शब्दमा परिभाषित गर्नु पर्छ ।