अचेल मान्छेलाई निन्द्रा खुल्ने बित्तिकै मोबाइल चाहिन्छ।
मोबाइलभन्दा अनौठो मान्नेहरूका लागि लौ स्मार्टफोन नि भन्दिहालें है । हस्याङ्फस्याङ् गर्दै खाटको कुन कुनामा या सिरानीमुनि या सँगैको टेबलमा कता छ खोज्न थालिहाल्यो।
यस्तो मोबाइलको उत्कट चाहना हुनु पनि सामान्य हो, रातिको ६-७ घण्टाको ‘अपडेट’ जो छुटेको हुन्छ।
ती अपडेट प्राय: गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय समाचार भन्दा पनि, कुनै बौद्धिक छलफलमा सहभागी हुन भन्दा पनि मेसेन्जर र इन्स्टाका स्टोरीहरूमा कति प्रतिक्रिया र कमेन्टस् आए, फेसबुकको प्रोफाइल पिक्चर र कभर फोटोमा कति लाइक्स र हार्टस् आयो अनि इन्स्टा र फेसबुकमा कसले के पोस्ट्याए भन्ने विषयमा केन्द्रित हुन्छ।
यहाँ ट्विटरको चर्चा किन गरिनस्? भन्ने प्रश्न उठ्न सक्छ तर एकाबिहानै निद्रा खुल्ने बित्तिकै ट्विटरमा झुन्डिने कमै हुन्छन् अरु एपको तुलनामा।
अनि सुरू हुन्छ हरेकको मायावी सामाजिक सञ्जालको दिनचर्या।
कतिले त बिहानदेखि पोष्ट्याउन समेत थाल्दछन् भने बाँकी चाहिँ पोष्ट्याएका कुरामा आँखा दौडाउँदै अघि बढ्छन् ।
मानिस पिच्छे फरक हुन्छ बिहानी सत्रको मायावी सामाजिक सञ्जालको समय व्यवस्थापन।
काम हुने १०-१५ देखि ३० मिनेटसम्म चलाउँछन्, उठेर गरिहाल्ने काम नहुनेको त के कुरो गर्नू!
दिमागमा केही अरु चिज जानुभन्दा पहिले नै सामाजिक सञ्जालले आफ्नो पहुँच बनाइसकेको हुन्छ। यसमा पनि कुनै न कुनै वाद हावी भएकै हुनुपर्छ।
म किन पनि यसो भनिरहेको छु भने एकाबिहानै अरु काम कुरो छोडेर दिमागले सामाजिक सञ्जाललाई आफूमा पहुँच र प्रश्रय दिनु अचम्म छैन र?
यति सबै हेरिसकेपछि बिहान उठ्ने बेला खाली र ताजा मन लिएर उठाएको मान्छे अब खाली र ताजा हुँदैन । दिमाग कलुषित हुन्छ विभिन्न अवलोकनले भरिएर। कोही जिन्दगीमा अस्ट्रेलिया पुगेर नदीको किनारमा खिच्या फोटो पोष्ट्याउँछन् (बाँकी पाँच दिनको कामको फोटो चैँ किन नहाल्ने हुन् कुन्नि?), कोही कता घुम्न गको पोष्ट्याउँछन्, कोही कता खान गको पोष्ट्याउँछन्, कोही जिन्दगीको सफलता पोष्ट्याउँछन्। अनि लेख्न त कङ्ग्य्राट्स, बधाई छ भनेर लेख्छन् र जसै मोबाइल गर्छन् अनि सुरू हुन्छ जीवनको सिंहावलोकन।
आज केही गर्छु भनेर जुर्मुराउनु पर्ने मानिस अरुको सफलता हेरेर आफ्नोसँग दाज्छ। मानौं ती उसको जुम्ल्याहा दाजु, भाइ, दिदी बहिनी हुन्, मानौं उनीहरू एउटै स्कुल कलेज घरपरिवारमा हुर्के, मानौं उनीहरूले बराबर मिहिनेत गरेका छन् जीवनमा अनि मानौं उनीहरू जीवनको सबै हाइवे, गल्ली, कुना काप्चा सधैं सँगै हिँडेका छन्।
अनि ऊ त्यसै त्यसै निराश हुन्छ। आज त गौण भइहाल्यो अब जीवनमा के गर्ने र के हासिल गर्न सकिएला जस्ता यावत कुरा सोच्छ। यसरी उसका आदि दिन गइसकेको हुन्छ यही पिर र नैराश्यतामा।
मध्याह्न पछि उसलाई अलि सकारात्मक विचार आउन थाल्दछ। काम गरे पो सफल भइन्छ अनि सफलता अरुलाई देखाउन पाइन्छ सामाजिक सञ्जालमा हालेर।
ऊ यस्तै प्रकारका जोश जाँगर बोकेर मिहिनेत गर्न थाल्छ आफ्नो काममा। तर एकैछिनमा उसको एकाग्रता भंग हुन्छ । फेरि ध्यान दिन सक्दैन आफ्नो काममा अनि मन पनि लगाउँदैन। आफ्नो काम भए त ऊ टारिहाल्छ तर जागिरको काम रे छ भने त नगरेर सुख!
अनि साँझतिर उसले ठान्छ अब यस्तो तालले भएन अब दह्रो मिहिनेत गर्ने हो। नभन्दै ऊ लाइनमा लाग्छ। बीचमा फोन र एसएमएस आएन भनेर मानौं। कामकै सिलसिलामा ऊ इन्टरनेटमा केही खोज्न पर्ने भएकाले वाइफाइ/डाटा अन गर्छ। त्यसपछि आउँछ सामाजिक सञ्जालका बाढी पहिरो।
इन्स्टाग्राम, फेसबुक, ट्वीटरका ट्वाँङ् ट्वाँङ् आउँछन्। अनि त्यसपछि मेसेन्जरको ग्रुप च्याटको ट्वाङ ट्वाङ आउँछ पशुपति र मनकामनामा सेकेन्ड सेकेन्डमा घण्टी ट्वाङट्वाङ गरे जस्तै।
उसले यी बाढी पहिरोबाट पनि आफूलाई सुरक्षित राख्छ भनी मानौं र इन्टरनेटमा आफूलाई चाहिने चिज खोजी काममा फर्किन्छ। तर घन्टीको ट्वाङट्वाङले उसलाई यस्तो जोडदार उक्साहट दिएको हुन्छ कि दिमागमा ट्वाङट्वाङ गरिरहेको हुन्छ निरन्तर।
कतिन्जेल यी ट्वाङट्वाङलाई झेल्न सक्छ भन्ने परीक्षा हुन्छ। यसमा फेल या उत्तीर्ण उसैमा भर पर्छ।
उता ऊ भने बिहानभर सामाजिक सञ्जालको सेयर गरिसकेपछि त्यो दिन मोबाइल नचलाउने प्रण गर्छ। त्यो प्रण उसले राम्ररी कार्यान्वयन पनि गर्छ। भोलिपल्ट बिहान पनि सामाजिक सञ्जालको मोहबाट टाढा रहन सफल हुन्छ। अनि पुग्छ विद्यालय, विश्वविद्यालय अनि जागिरमा।
त्यहाँको वातावरण अरु बेलाको भन्दा फरक पाउँछ उसले। उसका मित्रहरू, सहकर्मीहरू के कुरामा यत्रो हल्लाखल्ला गरिरहेका छन् ऊ अनभिज्ञ रहन्छ।
अनि जान्छ सोध्न एउटालाई के कुरा भइरहेको छ म त बुझिरहेको छैन भन्दै।
“ल रँ हिजो बेलुका कहाँ थिस् फलानोको फलानोसँग ब्रेकअप भएछ, यी हेर् इन्स्टामा राख्या छ अनि टिकटिकमा पनि सिंगल लाइफ रक्स भनेर भिडिओ हाल्या छ” । उ केही बुझ्दैन के, कसो, कहिले, कसरी, किन! यावत प्रश्नले उसलाई लखेट्छन् । यति हुँदा पनि ऊ सामाजिक सञ्जालमा फर्किसकेको हुँदैन।
कक्षामा शिक्षक, कलेजमा साथी अनि अफिसमा हाकिम आएर उसको अगाडि उभिन्छन् कालो नीलो अनुहार लाउँदै।
शिक्षकले मेसेन्जरमा ग्रुप च्याटमा मेसेज गरेर दिएको गृहकार्य खोज्छिन्, हाकिमले २ बजे काम सकाउन भनेर ह्वाट्सएपमा गरेको मेसेज देखाएर सवा २ मा काम सकियो बनेर सोध्छ। उता साथीले मेरो घरमा हिजो पार्टी थियो मैले भाइबरमा मेसेज गरेर तँलाई बोलाएको थिएँ किन आइनस् भनेर सोध्छ।
उसँग यी प्रश्नको कुनै जवाफ छैन। हिजो दिउँसोदेखि मोबाइल चलाएको छैन भन्यो भने कसैले पत्याउने होइन, साथी हाँस्ला, उता शिक्षिका र हाकिम यसले नगरेको भएर ढाँट्यो भन्ने बुझ्लान्। खान कहिल्यै नबिर्सिए जस्तो, सुत्न कहिल्यै नबिर्सिएजस्तो उसले मोबाइल चलाउन बिर्सियो भनेर कसैले पत्याउने हैन। क्षमा मागी अबदेखि यस्तो हुन्न भन्न बाहेक उसले के पो गर्न सक्ने हो र!
बेलुका घर आएर लुगा पनि नफेरी सास पनि राम्री फेर्न नपाउँदै ऊ मोबाइलका ट्वाङट्वाङ घन्टीलाई आत्मसात गर्छ। उसले हिजो मोबाइल चलाउदिनँ भनेर चलाएन केही समय तर यसले त उसलाई झन् परिबन्दमा नै पो पार्यो। अनि हरेश खाएर सुम्पिन्छ आफूलाई मायावी सामाजिक सञ्जालमा।