जब म 'जानकी' नाम सुन्छु, रामायणको सीता दोस्रो व्यक्ति हुन्छिन् मेरो दिमागमा आउने। सायद कलियुगको उपहार या आफ्नो प्रतिबिम्ब, म जानकीलाई अमिलो मन नपारी सम्झिन सक्दिनँ।
धनुषा गएको पनि नौ महिना भइसकेको थियो। सधैँ झैँ त्यो शुक्रबार पालो थियो 'राम बस्ती' जाने। म निस्किएँ घरबाट, अनि हात समात्न आईपुगे बच्चाहरू, जस्तो कि उनीहरूलाई पनि थाहा छ आज म कता जान्छु।
मेरो टुटेफुटेको मैथिली सुन्न उनीहरूलाई पनि मज्जा लाग्छ सायद, त्यसैले त झुम्मिन्छन् यसरी। पछिपछि घण्टी बजाउदै आयो राजविर र खुट्टाले साइकल रोक्दै भन्यो, 'सर आज मेरो घर जाने।' मैले पनि जिस्काउँदै 'तिमी जहिले स्कुल आउँछौ, त्यही दिन जाने म तिम्रो घर' भनेँ।
'नही सर, खेतमा काम थियो, से द्वारे स्कुल नआएको। आज त मेरो घर जानै पर्छ।'
'साँच्चि, राजविरको दाइलाई नभेटेको पनि धेरै भयो' सोच्दै मुन्टो हल्लाएर हुन्छ भने। अनि बच्चाहरूलाई घर पठाई हामी यादव बस्तीबाट अघि बढ्यौँ र विस्तारै मिसियौँ 'उसको देहातमा'।
घर बाहिरैबाट उ चिच्यायो 'माई, सरके लिए नास्ता परसु।' म पनि सँगै बोलेँ 'कुछ्छो नई करू माई, भुक नई छी।'
म पहाडीको मैथिली सुनेर भाउजूहरू हाँस्दै घर भित्र छिर्नुभयो। 'खै त दाइहरू?' मैले सोधेँ।
'विदेश गयो, दुइटै भैया' राजविरको उत्तरमा म भुल्दै थिएँ, त्यतिकैमा एक बालिका नास्ता लिएर आईपुगिन्।
नयाँ अनुहार देखेर मैले सोधिहालेँ 'कथि छि अहाके नाम?'
मैले सोचेको थिएँ कि उ लजाउदै भित्र जान्छे या 'हमर नाम...' भन्छे, किनकी त्यही त थियो महिनौदेखि देख्दै आएको कुरा।
तर मैले जे सुनेँ त्यसको लागि म तयार थिइनँ।
'मेरो नाम जानकी हो।'
यति समयमा पहिलो चोटि कोही महिलाले शुद्ध नेपाली बोलेको सुनेँ र मेरो नेपाली भाषा प्रति पूर्वाग्राही दिमागले सोच्यो 'जान्ने बच्चा रहेछ, पक्कै जनकपुर पढ्छे होला।'
उ भित्र गईसकेकी थिइ, मैले राजविरलाई सोधेँ 'कसको छोरी हो?'
'भाभीको माइकेकी लड्की', उसले भन्यो।
'कस्तो राम्रो नेपाली बोल्दी रहेछ, तिमी पनि सिक न उदेखि।'
'ज्यादा दिन बस्दैन त्यो यहाँ' राजविरले थप्यो।
'घर कहाँ हो र उसको?' सोध्दा राजविर जानकीसँग खासै बोलेको छैन भन्ने थाह पाएँ र आफै बोलाएँ, 'जानकी, जानकी' उसले ढोकाबाट हल्का टाउको निकालेर हेरी।
'यता आउ, लाज नमान।' उ म अघि बसी।
'कस्तो सफा नेपाली बोलेकी, कहा सिक्यौ?'
'मेरो घरतिर सबैले नेपाली बोल्छन्, मलाई आउँछ।'
'कतिमा पढ्छौ तिमी?'
'म स्कुल जादिनँ।'
'अहिले यहाँ आएर जान नपाएको?'
'कहिले पनि जादिनँ, घरबाट जान दिँदैनन्।'
'घरमा को-को हुनुहुन्छ?'
'आमा मर्यो, बुवा र दाइ इंडिया छ, घरमा भाउजू र म बस्छौँ।'
'कहिलेसम्म स्कुल गयौ नि? पढ्न आउँछ?'
'आउँछ पढ्न, आमा मरेपछि स्कुल जान पाइनँ।'
मैले राजविरलाई किताब ल्याउने इसारा गरेँ। कक्षा ८ को सामाजिक किताबको कभर उसको अगाडि राखिदिएँ, जानकीले हेरि मात्र रहि, केही बोलिन। उसको शून्यता मैले बुझेँ र मेरो मनको कुरा राजविरले, त्यसैले त आफै छिमेकीको घरमा गएर 'प्राइमरी' किताब लिएर आयो।
'क, ख, ग, घ' लेखिएको पाना पल्टाई फेरि जानकीलाई पढन दिएँ, तर उ अझै मौन थिई।
'किन झुट बोलेकी?' मनमनै चिच्याएँ।
तर आवाज निकालेँ, 'पढ्न सिक्न मन छ?'
उसले ‘छ’ भन्ने भावमा मुन्टो हल्लाई।
'कति दिन बस्छौ यहाँ?'
'४,५ दिन।'
'४ दिनमा सिक्न सक्छौ त?'
'तपाईँले सिकाए मैले सिक्न सक्छु।'
यी शब्द रामायणको जानकीले उठाएको शिव धनुष जस्तै भारी भए मेरो लागि, त्यसैले प्रण लिएँ जानकीलाई जसरी पनि पढ्न सिकाउँछु।
मैले राजविरलाई सुकुल लिएर घर बाहिर राखिदिन भनेँ, किनकी घर भित्र बस्दा कसले के अर्थ लगाउँछ भन्न गाह्रो थियो।
'घर गएपछि भाउजूलाई स्कुल जान मन छ भन न।'
मेरो यो कुरामा उसको जवाफ थियो 'भाउजूले धेरै कुट्छ, घरमा धेरै काम हुन्छ, सबै काम मलाई गर्न पठाउँछ, बाख्रा हेर्न जानुपर्छ। एक पटक दाइलाई पढ्छु भनेको...' उ रोकिई।
उसको भाउजूको बानीमा बुबा र दाजुको सहमतिमा पढ्न सक्थे।
'स्कुल जान नपाए पनि पढ्न त सिक्नुपर्छ बहिनी। आफ्नो नाम लेख्न सिक्ने, पढ्न सिक्ने, आफ्नो छोराछोरीलाई सिकाउने। आफै रिचार्ज गर्न सक्ने, पैसाको हिसाब गर्न सक्ने, सिग्नेचर गर्न सक्ने हुने। कतै हराए पनि फोन गर्न सक्छौ, काम गर्न सक्छौ। धेरै सजिलो हुन्छ जीवन पढ्न-लेख्न सिके।'
'तर भाउजू...' उसको अनुहार खुम्चियो।
'भाउजू तिमीले काम गरेन भनेर रिसाउनुभएको होला। झगडा नगर, भाउजूलाई धेरै माया गर, घरको सबै काम गरेर एकछिन पढ्छु भन, अनि पढन दिइहाल्नु हुन्छ नि।'
मैले भनेको कुरामा मलाई नै विश्वास थिएन, उसले के धोका खाओस्।
'हैन, मैले पढनेभन्दा नै भाउजू रिसाउनु हुन्छ, धेरै कुट्नु हुन्छ, फागुनमा बिहे गरिदिने भन्नु भएको छ।'
उसको त्यो बोलीमा धेरै आशा सुन्न सक्थेँ, मेरो सहयोगको। तर मेरो बोली हरायो, मसँग उत्तर त थिएन, सहयोग त टाढाको कुरा।
राजविरले सुकुल ल्याइसकेछ। मैले बस्दै भनेँ, 'होइन, बाबा र दाइलाई बिहे गर्दिनँ भन। आज हामी नाम लेख्न सिक्ने है त, बस।'
हामीले पहिलो पाठ सुरु गर्यौँ, स्वरवर्णदेखि। उ मसँगै दोहोर्याउदै थिई 'अ-अ, आ-आ, इ-इ', म खुसी थिएँ उसको आवाज सुनेर।
केही मिनेट मै जानकीको भन्दा वरिपरी झुम्मिएका बच्चाहरूको आवाज ठूलो भयो। भीड लागिसकेछ, त्यही त थियो मूल्य, घर बाहिर पढ्न बस्नुको। अब जानकी बोल्न पनि लजाइरहेकि थिइ, कारण? उभन्दा धेरै साना बच्चाहरू उसले भन्दा राम्ररी र छिटो मलाई क, ख, ग, घ सुनाउने प्रतिस्पर्धा गर्दै थिए।
राजविरले आफ्नो हात समाइरहेको बच्चालाई देखाउदै भन्यो, 'सर, उसको किताब फिर्ता गरिदिनु रे!' किताबको मालिक त रबि पो रहेछ। मैले हाँस्दै भनेँ, 'एकछिन है!' र हेरेँ जानकी तर्फ।
मेरो इसारा बुझी जानकीले घर गई पुरानो कापी खोजेर ल्याई, जसमा कुनै खाली पाना थिएन, त्यसैले लेखिदिए कभर पेजमा 'अ आ इ ई' र 'ए बी सी डी'।
'हामी अब कापीमा पढ्ने', सबै जनाले एकै स्वरमा 'हो' भने।
अँध्यारो हुँदै थियो, जानकीले गोठ छेउमा भएको बत्ती बाली, त्यसकै सहायतामा पढ्नु पर्ने मैले बुझेँ। बच्चाहरूको भीड अझै उस्तै थियो, म उनीहरूलाई पनि पढाउदै थिएँ। एक्कासी जानकी उठेर गई, केही बोलिन, चुपचाप दोमोहल्लाको छायामा गायब भई।
म अरू भाइबहिनीलाई सिकाउँदै थिएँ, तर सत्यता अर्कै थियो। खासमा जानकी फिर्ता आउली र म उसलाई नाम लेख्न सिकाएर घर जाउला भन्ने आशामा अल्झिएर बसेको थिएँ।
मेरो नजरले खोज्दै थियो उसलाई, राजविरलाई बोलाउन पनि पठाएँ तर जानकी आइन। रात धेरै परिसकेको थियो।
'खै, उसलाई पढन मन लागेन जस्तो छ, जबर्जस्ती पढाउन मिलेन' सोच्दै जुत्ता लगाएँ र राजविरको खाना खाने अनुरोध लाई 'पछि' भन्दै, सबै बच्चाहरूलाई आ-आफ्नो घर पठाएर म आफ्नो बाटो लाग्न थालेँ।
मन अन्धकार थियो। उसलाई सिक्ने इच्छा जगाउन सकिनँ, कि सायद मेरो केही कुरा नराम्रो लाग्यो उसलाई, थाहा थिएन। बाटो छेउमा सडक बत्ती बलिरहेको थियो, त्यही बत्तिले उज्यालो पार्यो मेरो मन पनि।
मैले जानकीलाई बुझेकै रहेनछु, उ पढ्न मन नलागेर होइन, पढन मन लागेर बोलाउँदा पनि नआएकी रहिछे। सडक बत्ति तल, उ त्यही थोत्रो कापी लिएर बोल्दै थिई 'अ, आ, इ, ई...' पहिलेको भीडभाडमा पढ्न गाह्रो भएको थियो कि उसलाई।
म भित्रको शिक्षक मुस्कुरायो, म केही बोलिनँ, मात्र 'बाई जानकी' भनेँ। उसको जवाफ आयो 'बाई सर।'
उ पनि मेरो विद्यार्थी भई अब, म उसको सर भएँ। मात्र आशा यो थियो कि, उसलाई पढाउने मौका धेरै दिन मिलोस, यस्तै यस्तै सोचमा म घर पुगेँ।
उसलाई केही किताब, कलम र कापी किनिदिएर घर पठाउने सपना देख्दै निदाएँ, निदाएपछि त झन् उसकै घर गएर परिवारलाई स्कुल पठाउन राजी बनाएको सपना देखेँ।
अर्को दिन ठूलो पानी पर्यो, छाता ओढेर गएपनि त्यो घर बाहिर बसेर पढ्न मिल्ने अवस्था थिएन। पर्खिएँ, सूर्य छेकियो तर वर्षा रोकिएन, अनि भावनालाई रोटीसँग पचाई, भोलि पढाउछु नि सोच्दै निदाएँ।
नयाँ दिन आयो, सधैं जस्तै बच्चाहरूसँग जिस्किदै स्कुल गएँ, फर्किएँ र लागेँ राजविरको घर तिर। सधैं गफ गर्दै हिँड्ने मान्छे, आज कतै नभुली चाँडै पुग्न खोज्दै थिएँ, कारण प्रष्ट थियो, जति चाँडै पुग्यो त्यति धेरै सिकाउने समय पाउने।
घर पुग्दा सुनसान थियो, दुई-तीन चोटि 'राजविर' भनेँ, कोही बाहिर आएन। छिमेकीलाई सोध्दा राजगिर जनकपुर गएको थाहा पाएँ, 'जानकी' भनि बोलाउन अप्ठ्यारो लाग्यो। परिवारको एक मात्र पुरुष घरमा नहुँदा कसरी घरमा छिर्नु? त्यसैले बाहिर बाटोमै कुरेँ राजविरलाई। मिनेट विस्तारै घण्टामा बद्लियो तर उ आइपुगेन, न त निस्कियो घरबाट कोही मान्छे।
उता कोठामा गृहकार्यले बाटो कुर्दै थियो, अनि टर्च बाल्दै लागेँ आफ्नो टोल, आज पनि नाम लेख्न सिकाउन नपाएको मा दुखी हुँदै।
अर्को दिन केही कारणले म धनुषा बाहिर जानुपर्ने भो। हतार-हतार एउटा चार्ट पेपर खोजी, ठूलो अक्षरमा 'क ख ग घ' लेखेँ, सोनु र निकाको सहयोगले। चौथो घण्टीमा राजविरको हातमा थमाएँ त्यो चार्ट पेपर र भनेँ 'म आउदासम्म जानकीलाई यो पढ्न भन, सके तिमी पनि सिकाउनु।'
र अटो चढेर गएँ जनकपुर, र त्यहाँबाट गुडेँ गाडीसँगै।
केही दिनपछि फिर्ता आई, सबैभन्दा सुरुमै राजगिरको घरतिर लागेँ। यो चोटि उसकै नाम ले बोलाएँ 'जानकी...जानकी' तर घर बाट निस्कियो राजविर मात्र।
'सर, जानकी त गइसक्यो। तपाईले दिनुभएको कागज लगेको छ।'
'एउटा कागज? एउटा कागज मात्र थियो त मैले उसलाई दिन सक्ने? म आउनुपर्ने फिर्ता त्यो दिन, नआए पनि राजविरसँग किताब कापी पठाइदिन सक्थेँ। जानकीसँग कुरा गर्न सक्थेँ, प्रयास गर्न सक्थेँ उसको बुबा र दाइलाई सम्झाउन, बोल्न सक्थेँ उसको लागि। तर मैले के गरेँ? एउटै कागज दाइजो दिएर पठाएँ उसलाई...।' मेरो दिमाग मैसँग लडदै थियो।
त्यो भीडबाट भागेर, सडक बत्ती मुनि गई पढिरहेको छाया नै अन्तिम याद बन्यो जानकीको।
थाहा छैन मैले यति लेखिराख्दा उ कहाँ, कुन अवस्थामा छिन्। तर म कल्पना गर्छु उसलाई निलो स्कुलड्रेसमा, झोला भिरी, मुस्कुराउदै 'बाई सर' भनिरहेको।
अनि बिर्सिन खोज्छु कि, त्यो १२ वर्षकि बच्चीको बिहे भई गर्भवती पनि भईसकेको हुन सक्छ, रात दिन रोएको हुन सक्छ। मलाई सरापेको हुन सक्छ; सहयोग नगरेकोमा, फेरि नभेटेकोमा...।
हो, म बिर्सिन खोज्छु, किनकी म स्वार्थी छु, अन्धो छु, आफूलाई दोषीको रुपमा हेर्न चाहदिनँ। तर वास्तविकता यो हो कि, जनककै देशमा उ जस्ता कैयौँ जानकीहरुको बालापन खोसिएको छ र त्यसको मात्र मुकदर्शक बनेँ म।
(लेखक टिच फर नेपालमा प्रज्ञाथीको रूपमा कार्यरत छन्।)