भर्खरैजसो जन्मेको कलिलो शिशुलाई घारी, फोहोरको थुप्रो वा झ्याङतिर अलपत्र फालिएको समाचार सुन्दा, देख्दा वा पढ्दा, सबैको मन कुँडिन्छ। हाम्रो मनबाट गाली बर्सन्छ। नौ महिना कोखमा राखेर पनि फाल्न सक्ने कति दुष्ट आइमाई हो त्यो? पापिनी रहिछ। कसैको पाप बोकेकी थिइ क्यारे, त्यही भएर फालेकी हो। असत्ती। आइमाईको नाममा कलंक। मस्ती गर्दा आँखा देखिन… राक्षसनी आदि आदि।
ती गाली घटनास्थलदेखि फेसबुक, युट्यूब, ट्विटरहरूमा सलह झैँ छ्यापछ्याप्ती भेटिन्छ। केहीको सहानुभूति पनि हुन्छ। तर सहानुभूति गर्ने साह्रै थोरै हुन्छन्। उदेक लाग्दो विषय त महिला जो स्वयं एक आमा हुन्। मातृत्व र वात्सल्यको खानी हुन्। जसले हाम्रो पुरूषप्रधान सामाजिक संरचना बुझेका/भोगेका छन्, उनले समेत तथानाम गाली गरेका हुन्छन्।
एउटी आमाले नौ महिनासम्म कोखमा बच्चा राख्दा त्यस बच्चाप्रति उनको कतिसम्म भावनात्मक निकटता हुन्छ भन्ने कुरा आमा बन्ने सबैलाई अनुभव र बा बन्नेलाई अनुमान छ। आमालाई आफ्नो ज्यानभन्दा बच्चाको बढी माया लाग्छ भन्छन्। मानव मात्र नभएर अन्य स्तनधारी पशुहरूले पनि अफ्नो बच्चालाई धेरै माया गर्छन् भन्ने कुरा हामीले देखेका छौँ।
एउटा भर्खर ब्याएको गाइले पनि उसको बाच्छो/बाच्छीलाई खेलाउन खोज्दा हान्न खोज्छ। गाइबाख्रालाई त आफ्नो नवजात सन्तानको माया लाग्छ भने मानवलाई नलाग्ला त? मानव जाति र पशुबीचको मुख्य फरक भनेकै बुद्धि, विवेक र संवेदना हो भन्ने हामी जम्मैलाई थाहा छ।
संवेदना, करूणा, माया पुरूषमा भन्दा महिलामा बढी हुन्छ भनिन्छ। यसो विचार गरौँ त, त्यो महिलालाई आफ्नो प्राणभन्दा प्यारो सन्तानलाई जानी-जानी आफैले कालको मुखमा फालेर निष्ठुरी बनी हिँड्न कति गाह्रो भयो होला? उसको मन कति रोयो होला? उसलाई कति पछुतो भयो होला?
संसारमा त्योभन्दा अभागी मानिस को हुन सक्ला जसले नचाहँदा-नचाँहदै आफ्नो मुटुको टुक्राभन्दा पनि प्यारो, कलिलो, भर्खर जन्मेको मुनाजस्तो सन्तानलाई चटक्क फालेर हिँड्न परोस्? उनले आफ्नो मन कसरी बाँधीहोलिन्! उनलाई कस्तो भयो होल? तर हामी सभ्य, विवेकी, शिक्षितहरूले उनैलाई दोषी ठान्छौँ र सकेको गाली गर्छौँ।
ती गालीहरू पढ्न, सुन्न पर्दा ती परिस्थितिले ठगिएकी असहाय अबलाको मन कस्तो हुन्छ होला भनि अलिकति पनि सोच्दैनौँ। हामी मानव भएर पनि पशु झैँ व्यवहार गरिरहेका छौँ। अरूलाई दुःख पर्दा समवेदना प्रकट गरेर उसलाई हौसला दिनु त कता हो कता, उसैलाई दुत्कार्दै दुरूत्साहित गरिरहेछौँ। हाम्रा पुरातन सामाजिक आडम्बर कायम राख्न मानवीय संवेदनालाई अनवरत बलि दिइरहेका छौँ।
विवश नारी
स्त्री जाति सिर्जना शक्ति हो। तर उनको त्यो शक्तिलाई हामीले सभ्यताको विकासको प्रारम्भदेखि नै नियन्त्रण गरिरहेका छौँ। इतिहासको कुरा परै भयो, आज २१ औँ शताब्दीमा पनि उनको नैसर्गिक प्रजनन् अधिकारलाई कुण्ठित गरिरहेका छौँ हामी। समाजले लोग्ने भनेर तोकेको पुरूषले पितृत्व प्रमाणित नगरिदिएसम्म महिलाले मातृममताको प्राकृतिक सुखभोग गर्न नपाउने अप्राकृतिक, रूग्ण र पौरूष कानुनलाई कडाइका साथ पालन गरिरहेका छौँ।
हामीले यस्तो समाज बनाएका छौँ जहाँ पुरूषले बलात्कार गर्छ तर दोष महिलाले पाउँछिन्। यो त सतीप्रथाभन्दा पनि बर्बर र कठोर छ। सती त बरू एकछिन आगोमा छट्पटिनु परे पनि उनको देहान्तसँगै उनको यातना र पीडा पनि सधैँका लागि अन्त्य भएर जान्छ। तर त्यस नारीलाई आफूले गर्नु परेको शिशुत्त्याग/हत्याको पश्चात्तापले जीवनभरी भत्भती पोलिरहन्छ।
भयानक विपत्ति आइलागे पनि सहानुभूति व्यक्त गर्ने आफन्त साथीभाइहरूको समवेदनाले त्यस चोटको गहिराइलाई विस्तारै पुर्दै जान्छ। दुर्भाग्य, उनले यो कठोर नियति कसैलाई बताउन सक्दिनन् किनभने एकजनाबाट पनि सहानुभूति पाउने सम्भावना हुँदैन। ती समस्यामा परेकी महिलामा हामीले आफ्ना दिदीबहिनी, छोरी वा आमाको रूप देख्दैनौँ र देख्न पनि चाहदैनौँ। समस्या यहीँनेर छ।
स्वच्छन्द पुरूष
विवाहेत्तर शारीरिक संपर्कमा असावधानी नअपनाए त्यसले महिलामाथि पार्न सक्ने विकराल मानसिक र सामाजिक असर हरेक पुरूषले बुझेको हुन्छ। तर उसले यसलाई खासै मतलब गर्दैन किनभने उसले भोग्नुपर्दैन। उ निर्धक्क हुन्छ। केहीगरी गर्भ रहिहाल्यो भने पनि समाजको डरले उसको यौनसाथीले त्यो पुरूषको नाम भन्दैन भन्ने कुरामा उ निश्चिन्त छ। उ बिन्दास घुमिरहन्छ।
सके अर्की कुनैलाई त्यही नियति भोगाउन मायाको जाल थाप्ने प्रयास गर्छ। कति असमान छ हाम्रो सोच? एउटा पुरूषको लापरबाहीको मूल्य एउटी महिलाले जिन्दगीभर तिर्नुपर्ने? गल्ती गर्ने एउटा अनि सजाय भोग्ने अर्कै? यो अन्याय होइन?
निष्कर्ष
हो, समाजले बनाएका नियमहरू पालना गरिनुपर्छ। समाजको सदस्यका हितका निम्ति नै नियमहरू बनेका हुन्छन्। तिनलाई उल्लंघन गर्नु भनेको समाजमा अराजकता ल्याउनु हो भन्ने तर्क सही छन्। यस लेखको उद्देश्य ती सब नियम भताभुंग पार्नुपर्छ भन्ने होइन। तर असमान वा अन्यायपूर्ण भए तिनलाई समयानुकूल परिवर्तन गर्नुपर्छ भन्ने हो।
सतीप्रथा र बालविवाह पनि कुनै बेला समाजका नियम नै थिए तर तिनलाई हामीले मान्न छोड्यौँ। विधवा विवाह गर्नु हुँदैन भन्ने नियम पनि तात्कालिन सामाजिक नियम नै थिए तर ती आज मानिदैनन्। त्यसैगरी बच्चाको बाउ खोज्ने परम्परामा जोड नदिऔँ भन्ने यस लेखको आशय हो। त्यो गर्न धेरै गाह्रो छ।
हाम्रो संस्कारले हाम्रा विचारहरू थिचेका हुन्छन्। भन्नु र गर्नुमा धेरै फरक हुन्छ। व्यवहारमा लागू गर्न नसके पनि विचारमा सही हो भन्नेको संख्या बढे पनि विस्तारै परिवर्तन ल्याउँछ। त्यसको प्रारम्भ यस्तै अप्ठेरोमा पारिएका दिदी बहिनीप्रति सहानुभूति राखेर गरौँ। गाली नै गर्ने हो भने त्यस अवस्थामा पुर्याउने पुरूषलाई गरौँ।
धन्य हुन् हाम्रा दिदीबहिनी, छोरीहरू जसले रामायणकालीन कथित आदर्शलाई अनुकरण गरेर पाइला पाइलामा सीताले जस्तै अग्नि परीक्षा दिइरहेका छन् आज पनि, खुशीसाथ!