कुनैपनि वनस्पति आफ्नो प्राकृतिक उत्पत्ति तथा वितरणको क्षेत्रबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मानिसको माध्यमद्वारा ठूला प्राकृतिक तथा भौगोलिक अवरोधहरु जस्तै मरुभूमि, समुद्र, उच्च पहाड तथा हिमालहरू पार गरी नयाँ भौगोलिक ठाउँमा पुगेर स्थापित भएपछि विस्तार भएर वा फैलिएर त्यहाँको स्थानीय पर्यावरण प्रणाली तथा प्रजातिहरुमा नकारात्मक प्रभाव पार्दछन् भने त्यस्ता वनस्पतिहरुलाई बाह्य मिचाहा वनस्पति भन्ने गरिन्छ।
नेपालमा हालसम्म २६ प्रजातिका मिचाहा वनस्पतिहरु भित्रिएका पाइएको छ भने तीमध्ये चार प्रजातिका वनस्पतिहरु विश्वकै सय खतरनाक प्रजातिहरु हुन, जसमध्ये विशेष गरेर नेपालको पूर्वी तथा मध्य तराई क्षेत्रको वनजंगल तथा घाँसे मैदानहरुमा तीव्र रुपमा फैलिरहेको लहरे वनमारा पनि एक हो।
वनस्पतिको सामान्य विवरणः
लहरे वनमाराको वैज्ञानिक नाम 'माइकेनिया माइक्रान्था' हो। यसलाई साधारण अंग्रेजी भाषामा ‘अमेरिकन रोप' वा 'माईल अ मिनेट' पनि भन्ने गरिन्छ। नेपालमा स्थानीय स्तरमा यसलाई लहरे वनमारा, ट्याङ्ग्री लहरा वा प्याङ्ग्री लहरा पनि भन्ने गरेको पाइन्छ। यो वनस्पति एस्टेरेसी परिवार अन्तर्गतको बहुवर्षीय लहरे झार हो।
लहरे वनमारामा ठूलो मात्रामा बीउ उत्पादन गर्नसक्ने क्षमता हुन्छ, जुन एकदमै हलुका हुने भएकाले हावा तथा केही हदसम्म पानीको माध्यमबाट फैलने गर्दछ। यसको बीउको टुप्पामा एकदमै कोमल रौँ हुन्छ, जसको सहायताले यसको बीउ मानिस तथा जनावरहरूमा टाँसिएर लामो दूरीसम्म फैलन सक्दछ। एउटै आँख्ला भएको काण्डको एक टुक्रा मात्र पनि पुनः अङ्कुरण हुन पर्याप्त हुन्छ।
यो वनस्पति प्राय पर्याप्त प्रकाश, ताप र वर्षा हुने तराई क्षेत्रको खुला भूभागमा बढी मात्रामा पाइन्छ। यो वनस्पति मुख्यतः नदी तथा सडकको किनार, खेती गरिएका तथा बाँझो जग्गाका किनार, वनजंगलको किनारको क्षेत्र साथै प्राकृतिक वन तथा वृक्षारोपण गरिएको भूमिहरुमा भने कम छहारी भएको ठाउँमा बढी मात्रामा पाइन्छ।
उत्पति तथा फैलावटः
लहरे वनमारा उष्णकटिबंधीय मध्य तथा दक्षिण अमेरिकाको रैथाने वनस्पति हो। यो वनस्पति उष्णकटिबंधीय एसिया, पपुवा न्यू गिनी, हिन्द महासागरका टापु, प्रशान्त महासागरका टापु तथा संयुक्तराज्य अमेरिकामा फ्लोरिडाका केही भागहरुमा फैलिएको मिचाहा वनस्पति हो।
नेपालमा भित्रिएको इतिहासः
एसियामा लहरे वनमारालाई पहिलोपटक हङकङको प्राणी तथा वनस्पति उद्यानमा सन् १८८४ मा रिपोर्ट गरिएसँगै सन् १९१९ सम्ममा यसलाई प्राकृतिकृत (रैथाने क्षेत्रभन्दा बाहिर स्थापित) भइसकेको मानिएको थियो। यसलाई सन् १९१० मा चीनबाट र सन् १९११ मा भारतबाट रिपोर्ट गरिएको थियो भने दोस्रो विश्वयुद्धको समयमा भारतमा फेरि भित्राइएको तथ्य केही रिपोर्टहरुमा उल्लेख भएको पाइन्छ।
उत्तरपूर्वी भारतको आसामबाट यो पूर्वी नेपालमा सन् १९६० को दशकमा चियाको बेर्ना ओसारपसारको क्रममा भित्रिएर फैलिएको हुन सक्ने केही अवैज्ञानिक किस्सा पाइन्छ। यो वनस्पति नेपालबाट सन् १९६६ मा रिपोर्ट गरिएको हो। हाल यो मिचाहा वनस्पति नेपालको पूर्व तथा मध्यभागबाट पश्चिमतर्फ फैलँदै गएको देखिन्छ।
लहर वनमाराले पारेका असरहरुः
लहरे वनमारा संसारकै १०० अति खराब मिचाहा वनस्पति मध्ये एक हो भने यो नेपालको कृषि क्षेत्रको ६ उच्च जोखिम सम्भावित प्रजातिहरु मध्ये एक हो। खुला भूभागहरुमा यो जमिनमै फैलिएर बाक्लो कार्पेट वा कुशन जस्तै बनाउने गर्दछ भने बुट्यान तथा स-साना रुखहरुमा समेत चढ्न सक्ने क्षमता हुन्छ।
चितवन राष्ट्रिय निकुञ्जमा लहरे वनमाराले एकसिंगे गैंडाले चर्ने घाँसहरुको प्रतिस्पर्धी बनी तिनको विस्थापन गर्दै एकदमै लोपोन्मुख सङ्ख्यामा रहेको एकसिंगे गैंडालाई प्रतिकूल असर पारेको छ। चितवन राष्ट्रिय निकुञ्जमा यसलाई एकदमै गम्भीर बाह्य मिचाहा वनस्पतिको रुपमा लिइन्छ।
कोशीटप्पु वन्यजन्तु आरक्षमा यसको आक्रमण तथा फैलावटले घाँसेमैदानमा असर गरेको छ, जसले गर्दा जंगली अर्ना तथा बँदेल खानाको खोजीमा मानव बस्ती नाजिक खेती गरिएको भू-भागमा जान बाध्य भएको पाइएको छ।
(तस्बिरः झापास्थित लहरे वनमाराले ढाकेको जलथल वनक्षेत्र।)
पशुपालनका क्षेत्रमा लहरे वनमाराले, या त चरिचरण घाँसहरुसँगको प्रतिस्पर्धाबाट या त लहरे वनमारालाई खाएका कारण पशुहरु बिरामी भई आर्थिक घाटा निम्तिएको छ। वन क्षेत्रहरुमा पनि लहरे वनमारा यति फैलिएको छ कि यसले वनको प्राकृतिक पुनरुत्पादनमा समेत ह्रास ल्याएको छ। जसले गर्दा यहाँकै रैथाने वनस्पतिहरूको अस्तित्वसमेत संकटमा पर्ने देखिएको छ।
चाँडै बढ्ने स्वभावको हुनाले कृषि क्षेत्रमा लहरे वनमाराले कृषि बालीलाई ढाकेर सूर्यको प्रकाश तथा पर्याप्त हावाबाट बञ्चित गर्दछ जसका कारण कृषि उत्पादनमा ह्रास आउनुका साथै यसको नियन्त्रणको लागतमा वृद्धिका कारण ठूलो आर्थिक क्षति निम्त्याएको छ।
व्यवस्थापन
बढ्दो यातायात तथा व्यापारको विश्वव्यापीकरणका साथसाथै बाह्य मिचाहा वनस्पतिहरूको फैलावट र वृद्धिलाई सुस्त पार्न विगतमा गरिएको विश्वव्यापी प्रयासहरूको असफलताका कारण बाह्य मिचाहा वनस्पतिको व्यवस्थापनलाई एकदमै चुनौतीपूर्ण मानिन्छ।
रोकथाम, उन्मूलन र नियन्त्रणलाई बाह्य मिचाहा वनस्पतिको व्यवस्थापनको मुख्य तीन उपाय मान्न सकिन्छ। मध्य तथा पूर्वी नेपालमा बाहुल्यता रहेको यो लहरे वनमारालाई पश्चिम नेपालमा फैलन नदिन नियमित अनुगमनका साथसाथै नियन्त्रण गरि यसको फैलावट तथा प्रसारण रोकथाम गर्न सकिन्छ। प्रारम्भिक पहिचान तथा रोकथामको कमीको कारणले अमेरिकी रैथाने लहरे वनमारा नेपालमा स्थापित भई आफ्नो नकारात्मक प्रभाव बढाइरहेको छ।
उन्मूलन विधि एक प्रभावकारी विधि हो यद्यपि यो विधि सानो जनसंख्या भएको वा सानो भौगोलिक क्षेत्रमा मात्र सीमित भएको बाह्य मिचाहा वनस्पतिका लागि सम्भव र प्रभावकारी हुन्छ। त्यसकारण लहरे वनमाराको व्यवस्थापनका लागि नियन्त्रणको विधि नै बढी प्रभावकारी हुन सक्छ जसअन्तर्गत सांस्कृतिक, भौतिक, रासायनिक र जैविक विधिहरू पर्दछन्।
परम्परागत नियन्त्रणका उपाय अन्तर्गत लहरे वनमाराको कुल जैविक मात्रा (बायोमास) उपयोग गरेर या जलाएर अथवा वन व्यवस्थापनका अभ्यासहरू अपनाई वनजंगलमा हुने अनावश्यक अबरोध कम गरेर पनि गर्न सकिन्छ। भौतिक विधि अन्तर्गत लहरे वनमाराको पर्याप्तता कम गर्न त्यसको बायोमास लाई उखेल्ने, काट्ने, फाँड्ने हटाउने र हटाइएको बायोमास लाई पुनरुत्पादन हुन नदिने गरी उचित व्यवस्थापनको प्रयास अपनाउने गरिन्छ।
रसायनिक नियन्त्रणको विधिअन्तर्गत त्यसको बाहुल्यता कम गर्न विभिन्न रसायनहरूको प्रयोग गरिन्छ यद्यपि लक्षित वनस्पतिको नियन्त्रणमा यसको प्रभावकारिताको मूल्यांकन नभएको साथै गैह्र-लक्षित बोटबिरुवाहरुमा पनि रसायनको अनावश्यक प्रभाव पर्न सक्ने भएकाले यो विधि वातावरणमैत्री नहुन पनि सक्दछ।
जैविक नियन्त्रणको विधि भन्नाले बाह्य मिचाहा वनस्पातीको पर्याप्तता वा बाहुल्यता कम गराउन जीवहरूको प्रयोग गरेर नियन्त्रण गरिने विधि हो। यस्ता जीवहरु विशेषगरी बाह्य मिचाहा वनस्पतिहरु उत्पत्ति भएकै क्षेत्रमा ति वनस्पतिहरु संगै सह-विकसित प्राकृतिक दुश्मन हुने गरेको पाइएको छ। जैविक नियन्त्रणको विधि आर्थिक तवरले पनि दिगो मान्न सकिन्छ किनकी यस्ता जीवहरु प्राकृतिक वातावरणमा प्राकृतिक रुपमा नै फैलिन सक्षम हुन्छन्।
यद्यपि विधि वातावरण मैत्री भएतापनि लक्षित वनस्पति (होष्ट) को दायरा बढ्ने जोखिमका साथै त्यस्ता जीव आफै पनि मिचाहा हुन सक्ने जोखिम हुन सक्दछ। त्यसकारण परीक्षणपछि मात्र यस्ता जीवहरु भित्राएर विस्तार गर्दा नेपालजस्तो विकासशील देशमा प्रारम्भिक लागत बढी भए पनि दिगो रुपमा यो विधि प्रभावकारी मान्न सकिन्छ।
अन्त्यमा, लहरे वनमारालाई व्यवस्थापनको कुनै ज्ञात प्रभावकारी विधि नभए पनि यसको फैलावट तथा रोक लगाउन विभिन्न नियन्त्रणका प्रयासहरू अपनाइएको छ। लहरे वनमारा जस्तै अन्य यस्ता बाह्य मिचाहा वनस्पतिहरूको पहिचान तथा व्यवस्थापनका लागि स्थानीय स्तरमा जनचेतना, सार्वजनिक सहभागिता साथै राष्ट्रिय स्तरबाट नीति व्यवस्थापनका कार्यक्रमहरु सञ्चालन र अन्य यस्ता मिचाहा वनस्पतिहरु भित्रिन नदिन कडा क्वारेन्टाइन, जैविक नियन्त्रणका लागि परीक्षण र अनुसन्धान पनि एकदमै जरुरी देखिन्छ।
(लेखक वनस्पति शास्त्रका विद्यार्थी हुन्।)