काठमाडौँ उपत्यकामा यातायात खुल्ला भएसँगै कोरोनाले तीव्रता दिएको छ। उपत्यका भित्रिने गाडीमा एकजना मात्र संक्रमित बसेर यत्रा गरेमा पनि राम्रो साबधानी नअप्नाउने हो भने काठमाडौँसम्म आइपुग्दा धेरैलाई सरिसकेको हुन सक्छ। यस्तो खालको महामारीमा यातायातको ज्यादै खराब भूमिका हुन्छ।
नेपालमा खपिनसक्नु प्रतिकुल तापक्रमका कारण झ्याल बन्द गर्नुपर्ने वा गाडीमा एसी लगाएर चलाउनु पर्ने अवस्था छैन। तर, सबैजसो गाडीहरु बिनाकारण झ्याल बन्द गरेर हावा गुम्साएर चलाइएका छन्। सम्बन्धित महासंघ र सरकार किन चुकिरहेछन्, रहस्यमय छ।
गाडीभित्रको हावामा श्वास धेरै मिसिनु फ्लू सम्बन्धी महामारी फैलिने प्रमुख कारण भएको इतिहासका महामारीले प्रमाणित गरेका हुन्। जुन कुरा पसलहरु खुलाउँदा पनि लागू हुन्छ।
लकडाउन हटाइँदा जर्जियन मोडल अनुसार हटाइँदैछ भन्ने हल्ला चलेको थियो। जसअनुसार रेष्टुरेण्ट तथा डिपार्टमेण्टल स्टोर आदि सबैभन्दा अन्त्यमा खुल्छन् भन्ने हो। खुल्ला हावा नभएको महल वा कक्षमा जम्मा हुन नदिई सबैले तान्ने श्वासको हावा स्वस्थ बनाउने कुरालाई जर्जियामा महत्व दिइएको बताइन्छ। त्यहाँ, यातायात चलाउँदा पालन गर्ने सशक्त नियम लगाइएको छ।
मानिसहरु जुट्ने कक्षहरुमा सूर्यको प्रकाश र खुल्ला हावाको महत्वका तथ्यहरु निरन्तर सार्बजनिक हुँदै आएका छन्। अरुको श्वास नलिन, विद्यालयका कक्षा कोठा वा जमघट स्थलहरुको र सवारी साधन भित्रको बन्द कक्षमा आपसी श्वासको हावा गुम्साएर नराख्न चेतावनी दिइएका छन्।
यस सम्बन्धमा विश्वका भाइरोलोजिष्टहरुले र विश्व स्वास्थ्य संगठनले के भन्दै आएका छन् र रिसर्चहरुले के देखाइरहेछन् भन्ने कुरालाई महत्व दिएर यहाँ प्रस्तुती राखिने छ।
प्रथम विश्वयुद्धको समापनताका सुरु भई छ वर्ष फैलिएको स्पेनिस फ्लूको महामारी फैलिनुमा तत्कालीन् रेल यातायातले सशक्त भूमिका खेलेको र द्वितीय विश्व युद्ध सकिएको पाँच वर्षपछि फैलिएको एसियन फ्लूको महामारीमा पनि सार्बजनिक यातायातले उस्तै भूमिका खेलेको हो।
यद्यपि, सिंगो विश्व हल्लाएका ती महामारीले नेपाललाई लछारपाटो लगाउन नसकेको देखिएकोमा त्यसको एउटा कारण त्यस बेलाको नेपालको शून्य यातायात पनि हुनुपर्छ।
स्पेनिस फ्लूले विश्वभरबाट साढे पाँच करोड मानिसको मृत्यु भएकोमा भारतमा मात्र एक करोड चालिस लाख र चीनमा मात्र एक करोड पचास लाख मानिस मरेका थिए। एसियन फ्लूले पनि विश्वभर फैलिँदै करोडौँको ज्यान लियो।
ती महामारीमा विश्वयुद्धको समयमा विदेशी सेनामा संलग्न भई विभिन्न देशमा खटिएका नेपालीहरुलाई उतैतिर बिमारले सताएको भएपनि कुनैपनि नेपालीको मृत्यु नभएको देखिन्छ। यता नेपालमा पनि चन्द्र शम्शेरले कुनै बजेट छुट्याउनु नपरेको र बीर अस्पताल तथा सिंहदरबार बैद्यखानामा सिकिस्त भएर आएका बिरामीहरु कुनैपनि देखा नपरेको अवस्था थियो।
यस पटकको यो चमेराको फ्लूमा भने नेपालीहरुले त्यो स्तरको इम्युनिटी क्षमता देखाउन नसकेको महशुस भएको छ। सायद, नेपालीहरु पनि आधुनिक युगमा भिजिसकेछन्। स्पेनिस फ्लू स्वाइन फ्लू थियो। तर त्यतिबेला विज्ञानको विकास भइनसकेकाले त्यो कुरा पछि थाहा लाग्यो।
बंगुरको मासु काटेर सेनालाई खुवाउने काममा खटिएको एकजना सिपाईबाट त्यो फैलिएको थियो। एसियन फ्लू बर्ड फ्लू थियो। उसबेला यी महामारी संसारभर फैलिनुमा यातायात नै मुख्य कारक भएको कुरामा कोही असहमत छैन।
अहिले काठमाडौँ र बाहिर पनि गाडीहरु वा निजी तथा सरकारी अफिस वा विद्यालय यसरी नै साबधानी नअप्नाई चलाइएमा कोरोना नियन्त्रणमा हालसम्म गरिएको दुःख र प्राप्त सफलता एकाएक तुहिन सक्छ। त्यसैले, यातायात ब्यबसायी तथा सबै सम्बन्धितहरुले कमजोरी खोज्दै सुधार्न आवश्यक छ।
अब अलिकति कोभिडको अनुसन्धानमा संलग्न विश्वका भाइरोलोजिष्टहरु तथा विश्व स्वास्थ्य संगठनका पटक-पटकका र संसोधित भनाईहरु जुन खुल्ला हावासँग र कम भाइरस लोडसँग सम्बन्धित छन्, यहाँ राखिने छ।
खुल्ला हावा
खुल्ला हावाको महत्वः खुल्ला हावा कति महत्वपूर्ण छ भन्ने कुरा हालै बेलायतका प्रधानमन्त्रीले कोरोनाबाट बच्नु छ भने साइकल चलाएर अफिस जान भनेका कुराबाट पनि बुझिन्छ। उनी कोरोनाबाट झण्डै ज्यान गुमाएर बँचेकाले पनि उनको कोरोना सम्बन्धी भनाई महत्वपूर्ण छ।
एसियन फ्लूको समयमा पैदलै अफिस जान माइकिङ गरिएको थियो। भाइरोलोजीका एकजना अमेरिकी प्रोफेसरले यो कोभिड-१९ को महामारीमा बन्द कोठा वा बन्द हलमा काम गर्नुभन्दा त बरु खुल्ला सडकमा धेरै जनासँग हिँडडुल गर्नु सुरक्षित हुने बताए।
न्युयोर्क टाइम्स र वालस्ट्रिट जर्नलहरुमा उनले राखेको कुरा अनुसार खुल्ला पसलमा लाइन लागेर किनमेल गरेको भन्दा दूरी कायम गरेर सुपरमार्केट वा डिपार्टमेण्टल स्टोरबाट किनमेल गर्नु ज्यादा असुरक्षित र जोखिमपूर्ण हुन्छ। बन्द कोठाको हावामा संक्रमितहरुको श्वास गुम्सिएर केही बेर तैरिने हुँदा जोखिम बढी हुने उनको भनाई छ।
संक्रमितले फ्याकेको ताजा श्वासमा हुने ज्यादा सकृय भाइरसहरु स्वस्थ व्यक्तिले सिधै तान्नु महामारीको प्रमुख कारण बताउँदै संक्रमितको फोक्सोबाट निस्केको भाइरस २५-३० मिनेटपछि जतिसुकै जीवित र सकृय भएपनि श्वासबाट तानेको ताजा भाइरसजस्तो खतर्नाक नहुने कुरा उनले औँल्याएका थिए।
अर्थात, सेनिटाइजर वा हात धुने कुराहरुको तुलनामा संक्रमितले फ्याकेको श्वास सिधै तान्ने कुरा ज्यादै नै बढी जोखिमयुक्त हुन्छ। उनका अनुसार विश्वभरमा यो रुपमा फैलिएको महामारीको प्रमुख कारण पनि संक्रमितको श्वास सिधै तान्नु नै हो।
'धेरै भाइरस लोड हुनु नै बढी असुरक्षा हो' भन्ने अवधारणा पनि उनले नै प्रचारमा ल्याएका हुन्। रोग सर्न एकैपटकमा एक हजार वटा भाइरसहरु नाकमुखबाट प्रवेश गर्नुपर्ने बताउँदै संक्रमितले एक पटक खोक्दा तीन सय वटा थुकका सूक्ष्म छिटा वा ड्रपलेट सरदरमा बाहिर निस्किने र एउटा मात्र छिटामा पनि एक हजार वटा भाइरस आउने तथ्य पहिलो पटक उनैले सार्बजनिक गरे। जसबाट एक पटक खोक्दा करिब ३ लाख भाइरस बाहिर निस्किने हिसाब आउँछ।
स्वस्थ व्यक्तिको नाकमुखमा एकैपटकमा धेरै भाइरस प्रवेश हुन नदिने उपाय अप्नाउँदा जोखिम घट्ने देखिन्छ। संक्रमितले खोक्दा र हाछ्यु गर्दा ठूलो मात्रामा भाइरस निस्किने कुरा नेपालमा धेरैलाई थाहा भइसकेको हो। तर, बोल्दा र श्वास फेर्दा पनि भाइरस निस्किने कुरा कमै सर्बसाधारणलाई थाहा छ।
संक्रमितले श्वास फेर्दा थुप्रै भाइरस निस्किने तथा बोल्दा अझै धेरै भाइरस परसम्म पुग्ने तथा चर्कोसँग बोल्दा झनै परसम्म र झन् धेरै संख्यामा भाइरस पुग्ने बताइएको छ। त्यो पनि बन्द कोठा अरु थप खतर्नाक हुन्छ।
हावाबाट भाइरस फैलिन्छ भन्ने कुरालाई विश्व स्वास्थ्य संगठन समक्ष पुष्टी गर्नको लागि भाइरोलोजिष्टहरुबाट बन्द कोठामा नै परिक्षण गरिएको थियो। त्यहाँ संक्रमितले खोक्दा ६ फिट र हाछ्युँ गर्दा ८ फिट परसम्म हावामा भाइरसहरु केहीबेर तैरिएको बताइएको छ। त्यसपछि मात्र विश्व स्वास्थ्य संगठनले हावाबाट भाइरस सर्दैन भन्ने उसको पहिलेको मान्यतामा परिवर्तन गर्यो। तसर्थ खुल्ला हावा नै कम भाइरस लोडको एउटा महत्वपूर्ण उपाय हो।
उसो भए तराईको गाउँमा किन युवा मरे त?
खुल्ला हावामा रहँदा रहँदै कोरोनाबाट मृत्यु भएका ग्रामीण इलाकाका एकाध व्यक्तिहरुको कुरा भिन्दै हो। सहरी इलाकामा सामुहिक मृत्युको जोखिम हुन्छ। दीर्घ रोग पनि नभएका र खुल्ला ठाउँमा बस्ने त्यस्ता एकाध ग्रामीण युवा व्यक्तिको कोभिडकै कारणले मृत्यु हुनुका विविध कारणहरु हुन सक्छन्। जस्तोकीः उनीहरुले पनि कुनै क्षण कुनै सम्भावित संक्रमितको श्वास ज्यादै नजिकबाट तानेको हुनसक्छ।
त्यस्ता एकाध व्यक्तिमा इम्युनिटी डिस्एबल हुने, इम्युनिटी डिस्अडर हुने वा यस्तै अन्य कारणहरु पनि हुन सक्छन्। आत्मबलको कमि तथा सामान्य प्रारम्भिक उपचारको कमिले पनि भयानक परिणाम दिन सक्छ। म्युटेसन भएर त्यहाँ आएको भाइरस बढी सशक्त हुन पनि सक्छ। यो सम्बन्धमा कुनै अनुसन्धान नभएकोले कारण अज्ञात छ।
जेसुकै भएपनि बन्द कोठा वा बन्द गाडीको यात्राको परिणाम व्यक्तिगत तहमा सीमित नभएर महामारीतिर जान सक्ने हुँदा हाम्रो ध्यान त्यता बढी जान जरुरी छ।
झरी र धुलोले चर्को समस्या नपारेको क्षणमा पनि गाडीहरुको झ्याल बन्द गरेर हावा गुम्साएर चलाउनु, भीडभाड हुने निजी तथा सरकारी कार्यालय, अड्डा अदालतहरुका कुनाकाप्चाका कोठाहरु झ्यालै नखोली चलाइनु आदि खराब कुरा हुन्। सबै कार्यालयहरुले त्यसमा ध्यान दिन र माथिल्ला निकायले तल निर्देशन दिनुपर्ने देखिन्छ।
विश्व स्वास्थ्य संगठनले खुल्ला ठाउँ र पर्याप्त प्रकाशलाई धेरै महत्व दिएको छ। परावर्तित प्रकाशमा समेत प्रकाशसँगै केही हदसम्म अल्ट्राभाइलेट रेज आउने भएकाले सूर्यको पर्याप्त उज्यालो पसेको कोठा तुलनात्मक रुपमा सुरक्षित हुने बताइएको छ।
पर्याप्त प्रकाश र दोहोरो हावा खेल्ने तथा सम्मुखमा नपारी छड्के सिट हुने गरी मिलाइएका कक्षा कोठाहरु तुलनात्मक रुपमा सुरक्षित मानिन्छ। गेट वा ढोकाबाट पस्दा र निस्किदा भीड नगर्ने र बस्दा दूरी कायम गर्ने कुरा जहाँसुकै र हमेसा पालन गर्न आवश्यक छ।
अब विद्यालयहरु खुलाउनु पर्ने अबस्था भएकाले आजैबाट यस्ता कुरामा ध्यान जानु जरुरी छ। अहिले कपिलबस्तुको शिवपुरको माविमा केही दिन पहिलेदेखि साबधानीपूर्वक चलाइएको भनिएको विद्यालयमा विद्यार्थी र शिक्षकहरुमा कोरोना फैलिएको कुरो आएको छ।
भीडमा नजाने र जानै परे भीडबाट भाग्न एकछिन श्वास रोकेर अन्यत्र तर्किएर पनि भाइरस लोड कम गर्न कहिलेकाहिँ सम्भव हुन सक्छ। विपरित दिशामा फर्केर श्वास फेर्दा पनि लोड कम गर्न सकिन्छ। एकजना भाइरोलोजिष्टको आलेखमा उल्लेखित भनाईलाई साभार गर्दा अरुको श्वासको तीरलाई पेस्तोलको गोली सम्झेर त्यसको मुख्य निसानाबाट छलिन प्रयास गरिनुपर्छ।
भीडमा नै श्वास तान्नु पर्ने भएमा थोरै तानेर भाग्ने प्रयास गर्न सकिन्छ। नजिकबाट तानेको अरुको कुनै एक ठूलो श्वास मात्र पनि रोगको लागि प्रयाप्त हुन सक्छ। मास्कमा भर परेर अरुको श्वास मास्कबाट समेत तान्नु हुँदैन।
मास्क
मास्क सम्बन्धी जहाँसुकैका विवादहरु साम्य भइसकेकाले यो निर्विवाद बनेको छ। विवाद झिक्ने बढे-बढे व्यक्तिहरुले पनि हारिसकेका छन्। तथ्यहरुले मास्क अनिवार्य र महत्वपूर्ण बस्तु सिद्ध गरिसकेको छ।
मास्क लगाएपछि सेनिटाइजर नलगाइ वा साबुनले हात नधोई मास्कमा वा नाकमुखमा हात लैजान हुन्न। लग्नै परेमा मासकको फित्तातिर समाउनु पर्छ। मास्क किन्दा तीन तह भएको वा क्लिनिकल मास्क छान्नु पर्छ।
ठिक किसिमको मास्क प्रयोगले नब्बे प्रतिशतसम्म भाइरस रोक्ने कुरा विश्व स्वास्थ्य संगठनले औँल्याएको छ। यसबाट पनि मास्कको महत्व बुझ्न सकिन्छ।
हावाबाट भाइरस फैलिन सक्छ भन्ने नयाँ मान्यता प्रमाणित भएसँगै श्वासबाट भाइरस नफैलिएर केबल हाछ्युँ वा खोकीका ड्रपलेटबाट मात्र भाइरस फैलिन्छ भन्ने पुरानो मान्यता खारेज भएको छ।
अर्थात, श्वाससित फोक्सोबाट आउने ओसिलो कणहरुसँगै भाइरसहरु केहीबेर हावामा तैरिन सक्छन्। जुन कुरा बन्द कोठामा बढी हुन्छ।
साबधानी नअप्नाइएका रेष्टुरेण्ट कति खतरा?
प्लेटमा खाना राख्ने वा खाना भएको प्लेट बोकेर टेबलतिर लैजाँदा उक्त प्लेट, कप, चम्चा वा काँटाहरु वेटरले समाउने छुने त गर्छ नै साथै यदि ऊ संक्रमित भएमा उसले फेरेको श्वासबाट ठूलो संख्यामा भाइरसहरु उसले समाएको खानामा खसेर मिसिने हुँदा रेष्टुरेण्टहरु बढी संवैदनशील मानिएको हो।
रेष्टुरेण्टहरुमा काम गर्ने सबै कुक र वेटरहरुले जिम्मेवार भएर राम्रो मास्क लगाएर मात्र काम गर्नु पर्छ। पसिना आयो भनेर मास्कबाट पन्छिन एकछिन पनि मिल्दैन।
भाइरस लोडकम गर्ने
संक्रमितको श्वास सिधै तान्दा अत्याधिक धेरै भाइरस तानिने मात्र होइन कि ज्यादा ताजा र सकृय भाइरसहरु ठूलो मात्रामा फोक्सोमा पुग्छन्। सिधै श्वासबाट जाने भाइरसहरुको अनुपातमा नधोएका हातहरुबाट कम संख्यामा र कम सकृय भाइरस जान्छन्।
थोरै भाइरस र कम सकृय भाइरस फोक्सोमा पुगेर त्यस्ता भाइरसहरुको संख्या वृद्धि हुने क्रमले गति लिन एक त तिनीहरुले धेरै नै संघर्ष गर्नु पर्छ, अर्को कुरा तिनीहरुलाई धेरै समय लाग्छ। भाइरसलाई धेरै समय लाग्नु भनेको हाम्रो शरीरले तयारी गर्न समय पाउनु हो।
शरीरले भाइरसलाई सजिलै गतिबिधि गर्न दिँदैन। शरीरमा पसेर पनि अप्रयाप्त संख्याका भाइरस मर्न बाध्य हुन्छन्। सुरुमै शरीरको छालाको बाहिरी भागमा रहेको प्रोटेक्टिभ लेयरमा रहेको केमिकल मिश्रित तेलीय वा बोँसीय पदार्थले अथवा फोक्सो तथा नली वा आन्द्राको बाहिरी परतमा रहेको केमिकल मिश्रित म्युकससँग भाइरसले संघर्ष गरेर त्यसलाई छेँड्न सक्नु पर्छ।
बाहिरी छालाहरुमा पनि केमिकल सहित पातलो लेमिनेसन हुन्छ। भाइरसलाई शरीरमा पस्दा जतासुकै प्रतिकुलता हुन्छ। हाम्रो इम्युनिटी सिस्टमसँग विद्यमान धेरै प्रकारका अस्त्रहरुबाट समन्वयात्मक रुपमा हमला हुन्छ। पछि आवश्यकता अनुसार नयाँ अस्त्र पनि बनाइन्छन्।
जब डोज नै पुग्ने गरी भाइरस पसेपछि थोरै पस्दैमा कसरी जोखिम कम हुन्छ?
फोक्सोमा थोरै भाइरस पसेपनि वृद्धि भइहाल्ने भएकाले थोरै प्रवेश गर्नु र धेरै प्रवेश गर्नुमा के फरक छ र, भन्ने लाग्न सक्छ। यथार्थमा त्यसो नहुने र कम सकृय भाइरस र बढी सकृय भाइरस प्रवेशले पनि फरक पार्ने तथ्यहरु आइरहेछन्।
भाइरस लोड धेरै भई धेरै संख्यामा र ज्यादा सकृय भाइरसहरु एकै पटकमा फोक्सोमा प्रवेश गरेमा त्यस्ता भाइरसहरुले शरीरले भन्दा छिटो युद्धको आधारभूमि तयार गर्न सक्छन्।
किनकी, धेरै भाइरस एकैचोटी पस्दा तिनीहरु विरुद्ध लड्नको लागि आवश्यक अस्त्रहरु एकत्रित गरी तथारी गर्न शरीरले समय पाउँदैन र बिमारले छिट्टै च्याप्दै गई बिरामीको मृत्यु हुन्छ।
त्यसको बिपरित भाइरस लोड कम भएमा तिनीहरु ठूलो संख्यामा वृद्धि भई फोक्सोमा फैलिन बढी समय लाग्ने हुँदा इम्युनिटी सिस्टमले एन्टिबडी नामक वाइ सेप प्रोटिन मलिक्युलको उत्पादन तथा तिनीहरुको प्रयोग गर्न र इम्युनिटी सिस्टमका टीसेलहरुले भाइरसलाई चिन्न र एक्सन लिन समय उपलब्ध हुन्छ।
इम्युनिटी सिस्टमका त्यसबाहेकका अनेकौँ अस्त्रहरु पनि समन्वयात्मक रुपमा सकृय हुन प्रयाप्त समय मिल्छ। यसर्थ, अरुको संक्रमित श्वास सिधैँ तान्ने कुरा ज्यादै धेरै खतर्नाक हुन्छ।
भाइरसबाट बँच्न सकिन्न, लोड कम गर्ने हो
अहिले विश्वमा अलिकति भाइरस देख्यो कि आतंकित हुने सुरुसुरुको चलन हटेको छ। एकजना संक्रमित हिँडेको बाटो भरी वा चढेको गाडीभित्र उसले करोडौँको संख्यामा भाइरस श्वासबाट फ्याक्ने वा खसाल्ने हुँदा सामान्य रुपमा भाइरस फैलिएको बस्तीका सडक किनारा वा ढलहरुको पानीमा समेत सकृय भाइरस छ्याप्छ्याप्ती भेटिनुलाई अहिले विश्वले सामान्य रुपमा लिन थालेको छ।
हाम्रो नाकमुखमा केही संख्यामा भाइरस दिनहुँ गइरहेका हुनसक्छन्। एउटै भाइरस पस्न दिन्न भनेर जोगिन वा बँच्न सकिने पनि होइन। तर एकैपटकमा एक हजारवटा भाइरसहरु फोक्सोमा पुग्नको लागि अरुको श्वास नतानी वा नधोएका हात मुखमा नलगी सम्भव नै छैन।
श्वास सिधैँ तानेमा भने एकपटक मात्र तानेको श्वासले पनि काम तमाम पारिदिन सक्छ। सामाजिक दूरी कायम नहुने अबस्थामा रहेको बेलामा अर्कोतिर मोडिएर वा टाउको अर्कोतिर फर्काएर सिधैँ श्वास लिनबाट केही हदसम्म बँच्न सकिन्छ। तर, जतिसक्यो छिटो भाग्नु पर्छ।
घरबाट निस्किनै पर्ने अबस्था आई कुनै ठाउँमा भीडबाट समेत क्रस गर्नुपर्दा आधा मिनेट श्वासै नतानी फुत्त निस्किएर पर गइ श्वास तान्न सकिन्छ। अथवा काम चलाउ श्वास तानेर भाग्नु पर्छ।
हालसम्म औषधी नबनेकाले अहिले स्वदेश/विदेश सबै ठाउँमा उपचार गर्दा ज्वरो आएमा ज्वरो घटाउने, शरीर दुखेमा नदुख्ने सामान्य औषधि दिएर तथा अक्सिजन नपुगे अक्सिजन आदि दिएर तत्काललाई सजिलो पार्दै समय लम्बाउने ताकि त्यतिबेलासम्म शरीरले पर्याप्त एन्टिबडी बनाइसकोस्, यस्तै उपाय नै मुख्य रुपमा अवलम्बन गरिएको बताइन्छ।
यसबाट पनि कम भाइरस लोड कति महत्वपूर्ण छ भन्ने कुरा हामी सबैले बुझेर अरुको श्वास तान्ने त के त्यसको नजिकमै नजाने, मास्क लगाउने, भीडभाड नगर्ने, सरकार र डाक्टरहरुले भनेका कुरालाई महत्व दिएर मान्ने गर्नुमै हाम्रो कल्याण छ।
स्पेनिस फ्लूको (वर्डफ्लूको) समयमा सर्बसाधारणलाई सुझाइएका केही सुझावहरु कोभिडमा पनि सान्दर्भिक लागेकाले यहाँ प्रस्तुत गरिएको छ:
१. अरु कसैको श्वास लिन हुँदैन।
२. नाकमुख छोप्ने गरी मास्क लगाउनु पर्छ।
३. अरु कसैसँग घुलमिल गर्नु हुन्न।
४. खोक्दा वा हाछ्युँ गर्दा अरुलाई जोगाउनु पर्छ र अरुले त्यसो गर्दा जोगिनु पर्छ।
५. हावा वा सूर्यको प्रकाश कम पस्ने साँघुरो ठाउँ र भीडभाडमा जानुहुन्न।
६. अरुसँग गिलाँसहरु र भाँडाकुँडा शेयर गर्नु हुन्न र साँझा टावेल वा कपडाहरु बनाउनु हुन्न।
७. हातहरु साबुनले धोइरहने र नुहाइधुवाई पनि गरिरहने गर्नु पर्छ।
८. शरीरलाई थकान, तनाव, कडा भोक, डिहाइड्रेसन आदिबाट बचाउनु पर्छ।
९. आफूलाई सानोतिनो बिमार लगाउन सक्ने कुराहरुबाट पनि बँच्न र ससानो बिमार लाग्दा पनि छिटो फिट अबस्थामा आउन कोशिस गर्नु पर्छ।
१०. न्यूनतम शारीरिक ब्यायाम, न्यूनतम मनोरञ्जन र सामान्य खानपानमा कमि हुन दिनुहुन्न।
११. चिसो मौसम वा चिसो ठाउँमा रहनेले चिसोबाट अध्याधिक बँच्नु पर्छ।
१२. एसी वा फ्रिजको चिसोबाट बँच्नुपर्छ।
१३. पर्याप्त मात्रामा पानी वा झोलिलो पदार्थ पिउनु पर्छ।
१४. खानामा साग, सब्जी, सलाद आदि बढाउनु पर्छ।ब