आउँदै गरेको तिजको ब्रतको बहस ठूलै चलिरहेको छ। प्रायःजसो कलाकारले तीजमा गीत रेकर्ड गर्नु अवसरका रूपमा लिन्छन्। त्यस्तै सन्दर्भमा 'अबको तीज नो व्रत प्लिज' भन्ने सोफिया थापाको भर्खरै बजारमा आएको (हाल युट्युबबाट हटाइएको) गीतले धेरैको दिमाग तताइरहेको छ।
उक्त गीतका समर्थन र विरोध गर्नेहरू दुवै छन्। यसका समर्थक बौद्धिक वर्गका महिला र पुरुष दुवै छन्। विरोध जनाउने भने धर्मविरूद्ध भयो भनी आवाज उठाइरहेका छन्। उनीहरूका लागि तीजको महिमा नै पानी नखाई बस्ने ब्रत हो रे! यदि यो ब्रत महिलाले नबस्ने हो भने धर्म मासिन्छ रे!
यो गीतको विपक्षमा अभिमत जाहेर गर्नेका लागि मेरा मनमा केही प्रश्न उठे। तीजको ब्रतको पक्षपाती कति पुरुषको काँधमा जनै होला? तीजको यत्रो बहस गर्नेले जनै पूर्णिमाको कत्तिको बहस गरेका होलान्?
स्वस्थानी आउनु एक महिना अघिदेखि ब्रतकथा किताब बजारमा छ्यापछ्याप्ती पार्नेले जनै पूर्णिमामा गरिने पूजा विधिको वार्षिकी-रत्नावली किताब कति प्रति छापे होलान्? जनै पूर्णिमामा कुन कुन ऋषिको पूजा गरिन्छ भनेर कति पुरुषलाई थाहा होला? तीजमा ब्रत हराउला कि भनेर आपत्ति जनाउने कति पुरुषले जनै पूर्णिमामा ब्रत बसेका होलान्?
हामी नारीलाई हिन्दु धर्मशास्त्रका नारी जस्तै हुनुपर्छ भनिन्छ, विशेष गरेर सीता जस्ती। बाल्मिकी लिखित रामायणकी पात्र सीतालाई हिन्दु महिलाको आदर्शको प्रतीक मानिन्छ। उनी सहनशील 'पतिव्रता' नारी थिइन्। उनले धेरै हदसम्म सहेकी थिइन्। न्याय कम अनि अन्याय धेरै भोगेकी थिइन्।
वनबासकै बेला उनलाई रावणले हरेका थिए। रामले रावणसँग युद्ध जितेपछि उनलाई फिर्ता ल्याइएको थियो। तर अयोध्यावासीको मनमा सीताको पवित्रतामाथि सन्देह थियो। त्यही चर्चा अयोध्या राज्यभरी चलेपछि राम चिन्तित भए। त्यति बेला सीतालाई लगाइएको आक्षेपमाथि न रामले 'नो' भन्न सके न सीताले नै।
देशवासी र गुरुदेवको अनुरोधमा रामले सीतालाई त्यागे। हुन त रामले त्यसताका तिमीहरूले नारी विद्रोह गर्नुपर्छ भनेर नसुझाएका होइनन् तर सो सुझावलाई सीताले 'यस' भन्न सकिनन्। रामायणका कथाकारले सीतालाई वनबासतर्फ नै लगे। देशवासीमा सीता अपवित्रताको पाप काट्न वनबास गइन् भन्ने पर्यो।
रामको अश्वमेघ यज्ञ भंग भएपछि सीतालाई अयोध्या दरवार ल्याइयो। आफ्नो पवित्रता प्रमाणीकरण गर्न शपथ गर्न लगाइयो। उनको शपथपछि मात्र रामले उनलाई पुनः स्वीकार्ने कुरा चल्दै गर्दा सीतालाई अब परीक्षा धेरै भयो भनेर कसैले आवाज उठाइदिएनन्। त्यहाँ उपस्थित सबैजना सीताले के गर्लिन् र के भन्लिन् भनेर प्रतिक्षारत थिए। अन्त्यमा सीताले परीक्षा दिँदा-दिँदा थाकिसकेको र अब अरू परीक्षा दिन नसक्ने भएपछि धर्तिमाताको काखमा विलिन हुन पुगिन्।
हाम्रो हिन्दु समाजले हामीलाई त्यस्तै बन भन्छ। सीता त्रेता युगकी रामायणकी काल्पनिक पात्र अनि हामी कलियुगका यथार्थ जीवन भोगिरहेका नारी, के आधारमा तुलना गर्न मिल्छ?
हामी अन्यायविरुद्ध लडेर यही दुनियाँमा बाँच्छौ। हुँदै नभएका लाञ्छना स्वीकारेर जीवन अन्त्य गर्न हाम्रो स्वाभिमानले दिँदैन।
त्यही रामायणका दुइटी अरू पात्र पनि महत्वपूर्ण छन्।
एक रावणपत्नी मन्दोदरी जसले आफ्नो श्रीमानको कमजोरी औंल्याएरै पतिधर्म निर्वाह गरेकी थिइन्।
अर्की इन्द्रजीतकी पत्नी सुलोचना जो आफ्नो पतिको मृत्यु सुनिश्चित हुँदै गर्दा पनि सच्चासाथ दिएर पतिव्रता भएकी थिइन्।
मन्दोदरी र सुलोचना हाम्रो धर्ममा छायामा छन् भने सीता सबैसँग परिचित छिन् किनकी हाम्रो सामाजिकीकरणमा सीताको नाम हामीलाई हजारौं पटक रटाइयो।
यसभन्दा पछिल्लो द्वापर युगकी द्रौपदी भने व्यास ऋषिद्वारा रचित महाभारतकी अर्की काल्पनिक पात्र हुन्। उनी विद्रोही स्वभावकी थिइन्। उनी आफ्नो मत राख्नुपर्ने ठाउँमा राख्थिन्। हस्तिनापुर राज्यसभामा नारी अस्मितामाथि हुने दुराचारविरुद्ध उनले चर्काे स्वरमा आवाज उठाइन्। आफ्नो अनुमति बिना आफूलाई दाउमा राख्ने आफ्ना पाँच पतिविरुद्ध पनि आवाज उठाइन्।
उनको वस्त्रहरणको तमासा हेरेर बसेका सबै भद्र र विद्वानविरूद्ध औंला तेर्स्याइन्, भलै उनी राज्यसभामा एक्ली महिला थिइन्। उनले पाण्डव समक्ष यो घटना पटक पटक दोहोर्याइरहिन्। दुशासन (जसले द्रौपदीको वस्त्रहरण गरेको थियो) जिवीत रहेसम्म उनले आफ्नो कपाल नबाँध्ने निर्णय गरिन् ताकि उनको खुला कपाल देखेर पाण्डवलाई प्रतिशोधको भावना जागिरहोस्। महाभारत युद्धपश्चात युधिष्ठिरलाई गुमिसकेको हस्तिनापुर सिंहासनमा पुनः स्थापित गराइन्।
खै त हामीले यस्ती साहसी महिलाको साहस अवलम्वन गरेका? किन सिकाएनन् हाम्रा अग्रजले हामीलाई अन्यायमा द्रौपदी जस्तै आवाज उठाउन सक्ने हुनु भनेर? किन आउँदैन द्रौपदीको उदाहरण कतै?
एक युगअगाडि व्यासले देखेको नारी विद्रोह बिर्सेर दुई युग अगाडिको अन्याय सहेर बस्ने सीताको उदाहरण किन दिइन्छ हामीलाई पटक पटक?
स्पष्ट छ, महिलाहरू अनपढ, अशिक्षित र निरीह भएका जमानामा पितृसत्ता जोगाउन पुरुषरूपी जमातले सीतालाई हाम्रो रोल मोडल बनायो। यही धर्म हो र यो धर्मविरूद्ध बोल्नेलाई पाप लाग्छ भन्ने बनायो। पौराणिक कालको सीमामा घेराबन्दी लगायो। वैदिक कालका शक्तिरुपिणी नारीको पूजा मात्रै गर्नु तर जीवनयापन सीताको जस्तो गर्नु भनेर सिकायो। गेरुवा-वस्त्रधारी पुरुषले आफूलाई ती महिलाका अगाडि भगवानरूपी पुरुष बनायो। महिलाले पनि यसलाई आँखा चिम्लेर मान्दै आइरहे।
आजका शिक्षित नारी धर्मशास्त्रको विश्लेषण आफैं गर्न सक्छन्। आफूलाई सहज लाग्ने जीवन आफैं जिउन सक्छन्।
लकडाउन भएपछिकै कुरा हो, मेरा श्रीमान एउटा 'मोटिभेसनल वेबिनार' मा बस्नुभएको थियो। उहाँलाई चिया दिन जाँदा प्रस्तुतकर्ताले बोलीको प्रभाव बारे चर्चा गर्दै हुनुहुन्थ्यो।
द्रौपदीको 'अन्धाको छोरो पनि अन्धो' भन्ने कटु वाक्यका कारण महाभारत युद्ध भयो, त्यसैले बोल्नु अगाडि सधैं विचार पुर्याउनुपर्छ भनेर प्रस्तुतकर्ताले भन्दै गरेको अंश मैले पनि सुन्न भ्याएँ।
अरे! युद्ध हुने वातावरण त बीसौं वर्ष अघिदेखि दुर्याेधन र सकुनीले बनाउँदै आइरहेका थिए। भिमलाई खीरमा विष हालेदेखि लाक्षगृह हुँदै पासामा हराउने सम्मका सकुनीका षडयन्त्रहरू एकपछि अर्काे गर्दै मेरो दिमागमा आइरहे। द्रौपदी युद्धकी एक कारण त हुन् तर सबै दोष किन उनलाई? यदि उनलाई नै दोषी मान्ने हो भने पनि युद्ध त धर्मराज्य स्थापनार्थ भएको थियो। द्रौपदी खराब महिला थिइन् भन्ने दीक्षा अहिलेका पढेलेखेका जमातमा पनि रटाइँदैछ।
विश्व इतिहास हेर्ने हो भने दोस्रो विश्वयुद्धमा अष्ट्रियन राजकुमार फर्डिनान्ड ड्युक र राजकुमारी सोफी चोटेकको सर्वियन ब्ल्याक हेन्ड सोसाइटीका एक सदस्यले गरेको हत्या एक तत्कालीन कारण मात्र थियो। विश्व युद्ध गराउने कारण अन्य थुप्रै थिए।
'महाभारत युद्धमा द्रौपदी एक कारण', यही प्रसंग सोफियाको तीज गीतसँग जोड्न सकिन्छ।
धर्म र कुरिती छुट्याउन नसक्ने बुज्रुकका लागी 'अबको तीज नो ब्रत प्लिज' धर्मविरूद्ध भयो भनेर लाञ्छना लगाउनु एक 'इमिडिएट' कारण मात्र हो।
यस्ता धर्म जागरण अभियानमा लागेकालाई धेरै पहिलेदेखि नै महिला शसक्त हुँदै आएको परिवेशले पोलिरहेको थियो। आफ्ना श्रीमतीले हरेक कुरा बिर्सेर भए पनि आफूलाई पति परमेश्वर ठानिरहून् भन्ने भावना जागृत थियो अनि यही कुरा धर्मसत्य हो भन्ठान्ने धर्मभिरुहरूका लागि यो गीत धर्मविरोधी बन्यो।
बेतुक र अश्लील कमेन्ट लेखेर मजा लिने बज्रुकहरू हो, यदि तिम्री श्रीमती सबल र सशक्त भइन् भने आधा समस्या आफैं समाधान हुन्छ भनेर बुझेका छौ? तिम्रो जत्तिकै आर्थिक, सामाजिक, राजनैतिक हैसियत तिम्री श्रीमतीको पनि हुने हो भने सायद तिमीलाई पनि ठाडो शिर गरेर समाजमा हिँड्न मद्दत पुग्नेछ। तिम्री श्रीमती सक्षम भइन् भने उनका समस्या समाधान गर्ने सीप, निर्णयात्मक सीप विकासका साथै अन्य कैयौं पारिवारिक उल्झन आफैं सुल्झाउनेछिन्। तिम्रो सहयोग र समर्थन गर्नेछिन्।
यी कुरा बुझ्छौं भने आजैबाट यस्ता साना कुरा पहाड नबनाई पारिवारिक बहस गर। श्रीमतीको राय सल्लाह पनि लेऊ। होइन भने तिम्रा अरू २-३ पुस्ता पनि फेसबुके धर्म र गाली-गलौजमै आफ्नो समय व्यतित गर्नेछन्।
भाद्र शुल्क पक्ष द्वितीयाका दिन लिइने तीज ब्रत अघिल्लो रातको १२ बजेदेखि निरहार तृतीया तिथिका दिन बिहान नुवाइधुवाइ गरेर पूजापछि आफ्ना श्रीमानको गोडा धोएको पानी खाएर मात्र अरु खानेकुरा खानुलाई मानिन्छ। यो व्याख्या हाम्रो समाजले बनाएको हो, धर्मशास्त्रले होइन।
ब्रत बसेरै श्रीमानको आयु लम्बिने भए अधिकांश नेपाली महिला तीजमा ब्रत बस्ने हाम्रो देशमा किन महिलाको भन्दा पुरुषको औसत आयु कम छ? ब्रतका फाइदा अवश्य छन् तर यो व्यक्ति विशेष कुरा हो। जसलाई आवश्यक पर्छ उसले लिने हो।
'नो' भन्नुमा आत्मविश्वास हुन्छ। श्रीमानको मृत्युपछिका मासिक सांस्कारिक कर्म श्रीमानकै घरमा आएर गर्नुपर्छ भन्ने सासू, ससुराको प्रस्तावलाई 'नो' भन्न सकेकी भए हेटौंडाकी सुस्मिताले ज्यान गुमाउनु पर्ने थिएन। सती प्रथालाई योगमायाले 'नो' भनेकी थिइन्। अहिले हामीलाई सती जानुपर्दैन। सहिदहरूले निरंकुश राणा शासनलाई 'नो' भनेका कारण अहिले हामी प्रजातान्त्रिक व्यवस्थाको अभ्यासमा छौं।
त्यसैले सामाजिक सञ्जालमा अश्लील कुरा लेखेर समय बिताउने युवाहरू हो, हामीले 'नो' भन्नुपर्ने यस्ता धेरै कुरा छन्। पहिले पनि भनिएका थिए, अहिले पनि भनिँदैछन् र यो क्रमले भविष्यमा पनि निरन्तरता पाउने छ।
(लेखक सुलोचना न्यौपाने लुइँटेल, शिवपुरी मा.वि. महाराजगञ्ज, काठमाडौंमा शिक्षक छिन्)