‘म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ।’ अमरसिंह थापाको यो भनाई अझैसम्म पनि जीवन्त छ। ‘बाघ’ शब्दको गर्जन उत्तिकै वजनदार रहिरहे पनि जंगलका असली बाघको गर्जन कमजोर हुँदै गएको छ। विश्वमै, सन् २०१० मा बाघको कुल संख्या ३२०० मा झर्यो।
यी बाघहरु आफ्नो बासस्थानको ५ प्रतिशत क्षेत्रमा सीमित भए। यसरी घटिरहेका बाघहरु बचाउन बाघ पाइने नेपाल सहित विश्वका १३ राष्ट्रहरू एकजुट भएर लाग्ने प्रतिवद्धता मात्र जनाएनन् अझ सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर गर्ने संरक्षण इतिहासकै सबैभन्दा महत्वाकांक्षी उद्देश्य अघि सारे।
छालाको पहेलो पृष्ठभूमिमा काला पाटाहरुले रंगिएको बाघलाई नेपालमा पाटे बाघ भनिन्छ। नेपालमा बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, दाङ, सल्यान, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर र डडेलधुरा गरी १३ जिल्लाहरूमा बाघको चिन्ह भेटिएका छन्। खाद्यचक्रको माथिल्लो तहमा रहेको बाघलाई छाता प्रजातिको रुपमा पनि हेरिन्छ। बाघको संरक्षण गर्नु भनेको त्यसको बासस्थानमा रहेका सम्पूर्ण जैविक विविधता संरक्षण हुनेमा दुईमत छैन।
बाघ हेर्ने मनसायले वर्षेनी आउने पर्यटकहरूले दिएको आम्दानी मध्यवर्ती क्षेत्रका स्थानीय समुदायको आर्थिक र सामजिक रुपान्तरणको स्तम्भ बनेका उदाहरणहरु नवलपरासीको अमलटारीदेखि बर्दियाको खाता कोरिडोरसम्म दर्जनौ देख्न सकिन्छ। बाघ दिवसलाई महत्व दिएर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिबाट पनि छर्लंग हुन्छ, बाघको संरक्षण राष्ट्रिय गौरवसँग जोडिएको छ।
नेपालमा बाघ पाइनुको उत्साहलाई एकातिर राखेर हेर्ने हो भने संरक्षणको चुनौती गरुङ्गो छ। एक वर्ग किलोमिटरको क्षेत्रफलमा बाघ बचाउन प्रति वर्ष ९३० अमेरिकी डलर खर्च हुने अनुसन्धानले जनाएको छ। यो खर्च नेपाल जस्तो गरिब मुलुकलाई त्यति सजिलो भने छैन। त्यसकारण संरक्षण क्षेत्र बाहिर बाघको निकै सम्भावना हुँदाहुँदै पनि बाघको अवस्था बारे अध्ययन निकै कम भएको हालसालै डडेलधुरामा भेटिएको बाघले पनि संकेत गर्छ।
सन २०१० मा गरिएको प्रतिवद्धता कायम हुँदै सन् २००९ मा १३५ को संख्यामा रहेको बाघ २०१८ मा २३५ पुग्यो। तर यी सफलताको बाटोमा बाघको मृत्युदर ठूलो चुनौती बनिदिएको विभिन्न अध्ययनहरुले देखाउँदछ।
सन् २००९ देखि २०१८ मा मात्रै ५५ वटा वयस्क बाघ मरेको पाइएको छ। बाघ–बाघ बीचको आपसी भीडन्त तथा सडक दुर्घटना यस्तो मृत्युको प्रमुख कारक बनेका छन्। यी कारकहरुले बाघको बासस्थान कै गुणस्तरमा प्रश्न चिन्न खडा गरेका छन्।
बाघको संरक्षणमा बाघ र मानिसको द्वन्द पनि चिन्ताको विषय हो। चितवन राष्ट्रिय निकुञ्जमा मात्रै २००७-२०१४ सम्म वर्षेनी ४ जना मानिसहरुले बाघको आक्रमणबाट ज्यान गुमाएको देखिन्छ। यस बाहेक बाघले घाइते बनाउने, घरपालुवा गाईवस्तु मारिदिने र घाइते बनाइदिने गर्नाले स्थानीयको बाघ प्रतिको धारणा नकारात्मक बन्न सक्ने देखिन्छ। जसका कारण बाघमाथि पनि हमला भैरहेका कुरा यदाकदा सार्वजनिक हुने गरेको पनि छ।
बाघको चोरी शिकार पनि बाघ संरक्षणको चुनौती हो। नेपालमा विभिन्न संरक्षणमूलक प्रयासको कारण बाघको शिकारको अवस्था अलि कम नै देखिएको छ। विभिन्न अध्ययनले बाघको आहारा प्रजाति बाह्र सिंगे, हरिणहरुको घनत्व घटिरहेको जनाएको छ।
अर्कोतिर मानिसको जनसंख्या वृद्धि र प्राकृतिक स्रोतप्रतिको निर्भरता जसको कारण घाँसपातदेखि काठ दाउराको उपयोगका लागि वनमा मान्छेको चापले बाघको बास्थानलाई प्रतिकुल असर पुर्याइरहेको देखिन्छ। यी बाहेक वन फडानी र यदाकदा सडक दुर्घटना पनि बाघ संरक्षणको चुनौती बनेको देखिन्छ। जलवायु परिवर्तनले बाघको आहारा, बासस्थानमा परेको प्रभाव भने अझ पनि अनुसन्धानकै विषय बनेको छ।
बाघ संरक्षणको चुनौती जति नै गरुङ्गो भएपनि यो भार थाम्न सक्ने क्षमता नेपालले बहन गरेको छ। सबैभन्दा पहिलो यो चुनौतीको काँध थाम्न सक्ने भनेको नेपालको हराभरा घना जंगलले नै हो। पूर्वको पर्सादेखि पश्चिमको कंचनपुरसम्मै वनक्षेत्र प्रचुर भएपनि बाघ टुक्रा टुक्राको संरक्षण क्षेत्र भित्र मात्रै सिमित छन्।
यस्तो सीमितताले बाघको भविष्य अन्योलमा राखेको वैज्ञानिकहरु बताउछन्। तराई भू–परिधि कार्यक्रमको धेय अनुरुप टुक्रिएका र हैसियत बिग्रेका वन क्षेत्रहरुलाई कोरिडोर संरक्षणबाट जोड्न सकियो भने बाघको बासस्थान, आहराको संख्या बढ्न सक्ने निश्चित छ। यी क्षेत्रहरुका सामुदायिक वनहरूमा समुदायले नै संरक्षणको जिम्मेवारी लिन सके भने त काँध नै हलुका हुने थियो।
यसलाई प्रोत्साहनमा आधारित संरक्षणको मोडलमा विकास गर्न सक्नुपर्छ। संरक्षणमा समुदायको सहभागिता मात्रै होइन, स्थानीयको दिगो जीविकोपार्जनलाई सुनिश्चित गर्दै लाने मोडल प्रभावकारी हुने देखिन्छ। मध्यवर्ती क्षेत्रहरुमा झै बाघ पाइन सक्ने अन्यत्र क्षेत्रहरुमा समेत स्थानीय जनताको सहभागितामूलक कार्यक्रमहरुको कायान्वयन गर्नु जरुरी छ।
यसरी समुदाय पर्यटनको विकासले आत्मनिर्भर पनि हुनसक्ने देखिन्छ। यो कदमले मानिसको बाघ प्रति सकारात्मक भावना पनि ल्याउने थियो। बाघ संरक्षणको अर्को अवसर भनेको संरक्षण कार्यक्रमलाई चुरे संरक्षणसँगै जोडिनु हो। भारतसँगको सहकार्यमा संयुक्त अनुगमन र स्मार्ट गस्ती गर्ने र बाघलाई पनि गैँडा जसरी पहिचानका आधारमा सर्वेक्षण गर्न सकियो भने बाघको संख्या बढ्ने मात्र होइन दिगो पनि रहने निश्चित प्रायः छ।
जति नै ठूलो चुनौती रहेपनि बाघको संरक्षण गर्न नेपालसँग प्रयाप्त स्रोत तथा जनशक्ति रहेको छ। बासस्थानका लागि जंगल, संरक्षणका लागि निकुञ्ज प्रशासन र स्थानीय समुदाय, सुरक्षाका लागि नेपाली सेना, अनुगमनका लागि विज्ञ र वन प्राविधिकहरु, प्राविधिक तथा आर्थिक सहयोगका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्था एवं सहयोगी हातहरू तम्तयार र कृयाशिल रहेका छन्।
यी सबै छ नेपालसँग। अतः जरुरी छ त केवल सबै सरोकारवालाहरुमा संरक्षण प्रतिको अठोट र दृढ संकल्पको। यदि यसो भयो भने नेपालको राष्ट्रिय गौरब पाटे बाघको संरक्षण दीर्घकालीन हुनेमा दुईमत हुँदैन।