केही महिनादेखि म कलम बिसाएर बसेको थिएँ। सामाजिक सञ्जालमा एउटा भयानक भिडिओ देखेँ। आँखा रसायो, मन काँप्न थाल्यो। कलम उठाएँ र मनमा उठेका ज्वारभाटाले शाब्दिक रूप लिन पुगे। म तिनै शब्दलहर सबैसामु पोखुँपोखुँ भो र पोख्दैछु।
मानिसले जन्मिएपछि बाँच्नको लागि सामान्य संघर्ष त गर्नैपर्छ तर नेपाली जनताको संघर्षको कथा बेग्लै छ; कहालीलाग्दो छ। यहाँ जनताले रोग र भोकसँग मात्रै होइन, यहाँको राज्यव्यवस्थासँग पनि पनि पलपल लड्नै परेको छ। देशका युवाले आफ्नो भविष्यको बारेमा ज्यादै चिन्तित छन्। त्यही चिन्तामा विदेश पलायन हुनु उनको प्राथमिक सरोकार बन्छ। जुन ठाउँमा यस्तो हुन्छ त्यहाँ राज्य असफल बन्दै गएको छ र असफलताले पूर्णता पाउने दिशा लिँदैछ भनेर भनिरहनै पर्दैन।
कुरा सामाजिक सञ्जालमा देखिएको भिडिओकै हो तर साह्रै मन च्वास्स पार्ने। सेक्युरिटी गार्डको काममा परदेशमा रहेका मानिसलाई त्यही देशका एक जना नागरिकले लठ्ठी र मुक्काले बेस्सरी कुटिरहेको दृश्य त्यो भिडिओमा छ। कुटाइ खाने मानिस सुरक्षापाल हो तर अति निरीह।
उ त्यही देशको हुँदो हो, प्रतिकार गर्थ्यो होला। अर्को मानिसभन्दा उसले शक्ति देखाउँथ्यो होला। परदेशमा नोकरी गर्न गएको थियो उ। जुन देशको थियो उ सायद उसले पनि त्यतिबेला देशको असफल राज्यव्यवस्थालाई नै धिक्कार्दै थियो होला।
त्यो दृश्यमा पिटिँदो मानिसमा हजारौँ विदेशीएका नेपाली युवाका चित्र देखेँ। विदेशीएका नेपाली दाजुभाइलाई सम्झिएँ जो पीडा खपेर खाडीको ५५-६० डिग्रीको तापक्रममा काम गर्न बाध्य छन्। त्यसरी कुटाइ खाएको देख्दा तिनका आमाबुबाको मन कति दुख्छ होला? सानोमा लड्छ कि चोट लाग्न लाग्ला कि भन्दै छोराछोरी हुर्काएकाहरूलाई!
ती श्रीमतीहरूको मन कति भक्कानिदो हो जसले आफ्ना काखमा दुधे बालक च्यापेर त्यही बालकको भविष्य खोज्न आफ्नो श्रीमानहरूलाई परदेश पठाए वा परदेश जान्छु भन्दा रोक्न सकेनन् र विदेशीन स्वीकृति दिए।
अनि मैले सम्झिएँ - पशुपति आर्यघाटको त्यो दिन जुन दिन एउटा छोराको लास ठूलो काठको बाकसमा परदेशबाट आएको थियो। केही मान्छे त्यो बाकस खोलिरहेका थिए र बुबा आफ्नो मृत छोराको अनुहार अन्तिम पटक हेर्न भावविह्वल! कोही अर्को मानिस ती बुबालाई पासपोर्ट र कागजात भएको क्लियर ब्याग थमाइदिदैँ थियो।
ती बुबा सायद इश्वरसँग भन्दै हुनुहुन्थ्यो 'हे ईश्वर, यो मेरो छोरा नहोस् जसलाई बिदाइ गर्न म त्रिभुवन विमानस्थलको त्यो गेटसम्म पुगेको थिएँ। जसको लागि मैले मेरा हजार इच्छा र चाहनालाई त्यागेको थिएँ, माया मारेको थिए। मैले पुरानै कपडा लगाएर भए पनि उसको लागि कापी, कलम र अन्य आवश्यक कुरा किन्ने पैसा जुटाएको थिएँ।
त्यो छोरा जसको लागि मैले मेरो जवानीका दिनरात अरूको भारी बोकेर बिताएको थिएँ। मैले यसको लागि धेरै त्याग गरे तर आज म कसरी यो बाकसभित्र उसलाई हेर्न सक्छु? जो मेरो बुढेसकालको साहारा थियो। मेरा खुसी किन्न अरब पुगेको छोरोलाई किन यस्तो नियति? अनि, मलाई यति ठूलो सजाय किन?’
म बागमती पुलमाथिबाट त्यो दृश्य हेरेर भावुक भएर सोच्दै थिएँ- म कहिल्यै विदेश जानु नपरोस्। त्यसैबेला त्यो बाकसको ढक्कन खुल्यो, बुबा नजिकै जानुभयो र अतालिँदै हेर्नुभयो। तर त्यसभित्र पनि चेन लगाएको अर्को ब्याग रहेछ जसमा लास थियो। अताल्लिएको बुबाको मनले सायद फेरि कामना गर्यो कि यो ब्याग खोल्दा मेरो छोराको अनुहार नहोस्।
तर जसै झोला खुल्यो ती बुबा जोडले रून थाल्नुभयो। म यस्तो दृश्य आफ्नो जीवनमा पहिलो पटक हेर्दै थिएँ। मेरो शरीर मैले थाहै नपाई काम्न थालिसकेको थियो। घर आएर आफैलाई अनेकौँ प्रश्न गरे। समस्या कहाँ छ? मेरो देशमा? के म यो देश छोडेर युरोप वा अमेरिका गएर उतै बसौँ? देशको हालत जे-जस्तो छ, परिवर्तन गर्न सकिँदैन भन्दै भागेर जाउँ? म आफैसँग निरीह बनूँ?
जब एउटा जल्दोबल्दो २०-२२ वर्षको युवाले देशमा आफ्नो भविष्य अन्धकार देख्छ र आफूले गर्न चाहेका हरेक कुरामा तगारा लगाइएको पाउँछ अनेक सिन्डिकेटका नाममा, तब देश पतनको बाटोमा हिडेँको कुरा किन अनुभूत गर्दैन र विदेश पलायनलाई नै समाधान देख्न उ बाध्य हुन्छ? हैन, युवा चाहन्छ देशमै केही होस् अनि उत्रन्छ विरोधमा, सत्याग्रहमा।
सरकार निराहार युवासँग सम्झौता गर्छ पनि। समस्या समाधानलाई होइन, लाखौँ युवालाई देश विकासमा सशक्त रूपले सक्रिय गराउन होइन, अवसर र सम्भावनाको सोचले होइन, आफ्नो कुर्सी जोगाउन मात्र। देश डुब्दैछ भनेर अर्को अब कुनै प्रमाण चाहिन्छ?
जनताले संघर्ष गरे। सम्पूर्ण राज्य व्यवस्था बदल्यौँ भनियो। हरेक राजनीतिक संघर्षमा जनताले साथ त दिएकै हुन्। नेतृत्व गर्नेले आन्दोलनताका एउटा आदर्श देखाए। सत्ता वा शक्तिमा आरोहण हुनसाथ लिस्नो बनाइएका तिनै जनता सत्ताको लातको शिकार भए। राजनीति राजनीति नै रहेन।
यो त एकाएक नाफा खोर ठूलो व्यापार घर (कर्पोरेट हाउस) मा रूपान्तरण भयो। राजनीति एउटा उद्योग पो बन्यो जुन उद्योगले जनताको रगतलाई पैसामा बदल्यो र ठालुहरू त्यही चुसेर जुकाजस्तै मोटाए। जनता भुईँमान्छे बने र खानै नपाएर सडकमै अस्ताउन थाले।
र, अहिले देशमा केही बचेको छ भने मान वव्यापार बचेको छ। मानव बेचबिखनका केही स्वरूप त अपराधी मानिए होला तर यहाँ थुप्रै मानव व्यापारका धन्दा चालु छन् सिन्डिकेटका नाममा।
हो, मानव व्यापार हरेक कुरामा सिन्डिकेट खडा गरेर जारी छ। महिनावारी तलबमा मानिस खाडीमा वैध रूपमा निर्यात भइरहेका छन्। अनि रगत चुसिसकेर फ्याकिएका लासहरू आयात भैरहेका छन्। यहाँभित्रै सिन्डिकेटका नाममा राज्यले अयोग्य मानिसहरू किनिरहेछ र तिनका छोराछोरी युरोप/अमेरिकामा पठाइरहेछ लगानी गरी-गरी।
धिक्कार! दानवरूपी मान्छेको मन। मान्छे! तिमीले सिन्डिकेट आफन्त र राजनीतिका नाममा चलाइरहेको मानव व्यापारको दोकान कहिले बन्द गर्छौ?